माछापुच्छ«े बैंक र ह्याम्स अस्पताल एंव सुमेरु अस्पताल बीच सम्झौता ।
काठमाडौं । माछापुच्छे बैंक लि. र काठमाण्डौँको धुम्बाराहि स्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत संचालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल बीच सम्झौता भएको छ । सम्झौताअनुसार माछापुच्छे बैंकका ग्राहकहरूले सुमेरू अस्पताल तथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ«े बैंकका डेविट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक महानुभावहरु तथा बैंकका कर्मचारीरुहरुले प्राप्त गर्न सक्दछन् । यसरी, बैंकले आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
रेविजविरुद्धको भ्याक्सिन सेवा शुरु
काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–४ भकुण्डेस्थित मेथिनकोट अस्पतालमा छिमेकी जिल्लालाई समेत लक्षित गरी रेविज रोगविरुद्धको भ्याक्सिन सेवा शुरु गरिएको छ । जिल्लाको एक मात्र उक्त सरकारी अस्पतालबाट छिमेकी रोशी, महाभारत र तेमाल गाउँपालिका, पाँचखाल नगरपालिका तथा छिमेकी जिल्ला रामेछाप र सिन्धुलीका सेवाग्राहीलाई लाभ मिल्नेछ । अस्पतालमा २४सै घण्टा रेविज रोगविरुद्धको भ्याक्सिन सेवा उपलब्ध गराइएको वडाध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले बताए । “यो सेवाबाट यही जिल्लाका तीन स्थानीय तहका साथै छिमेकी जिल्ला सिन्धुली र रामेछापका बासिन्दा लाभान्वित हुनुहुनेछ”, उनले भने । अस्पतालमा नगरपालिकाको सहयोगमा २४सै घण्टा स्वास्थ्य प्राविधिक राखिएको तथा विद्युत् अभावमा ७२ घण्टासम्म भ्याक्सिन सुरक्षित गर्ने फ्रिजको समेत व्यवस्था गरिएको काफ्लेले जानकारी दिएका हुन् । उनका अनुसार गुणस्तरीय सेवाका लागि थप स्वास्थ्य प्रविधिक राख्न सो सम्बन्धी तालिमको आयोजना गर्न लागिएको हो । नगरप्रमुख टङ्कप्रसाद शर्माले यस भेगका बासिन्दाले रेविजविरुद्धको भ्याक्सिनका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता टरेको बताए । उनले भने, “आफ्नो मात्र नभई छिमेकी जिल्लासमेतलाई लक्षित गरी भ्याक्सिन सेवा राख्न सकिएकोमा खुशी छौँ ।” प्राथमिक स्वास्थ्यचौकीलाई विसं २०६६ मा स्तरोन्नति गरी १५ श्ययाको क्षमता रहेको अस्पतालको रूप दिइएको थियो । अस्पतालमा २४सै घण्टा अन्तरङ्ग–बहिरङ्ग सेवा, गर्भ जाँच तथा प्रसूति सेवा उपलब्ध गराइँदै आइएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म जिल्ला अस्पताल छैन । रासस
प्रभावकारी बन्दै भरतपुर आँखा अस्पताल, दुई लाख बढीले लिए सेवा
चितवन । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा दुई लाख आठ हजार ८०६ जनालाई सेवा दिएको छ । अस्पतालले अघिल्लो वर्ष एक लाख ७६ हजार ४३१ को उपचार गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा ३२ हजार ३७५ जना बढी आँखाका बिरामीले सेवा लिएका हुन् । भरतपुरमा रहेको अस्पताल, विभिन्न स्थानमा गरिएका आँखा शिविर र अस्पतालबाट सञ्चालित आँखा उपचार केन्द्रहरुबाट बिरामीलाई सेवा दिइएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार अस्पतालबाट एक लाख ३७ हजार ५२५, उपचार केन्द्रबाट ४२ हजार २८९ र आँखा शिविरबाट २८ हजार ९९२ जनालाई सेवा दिइएको हो । जसमध्ये चार हजार २०९ को शल्यक्रिया गरिएको छ । अस्पतालमा आएका बिरामीमध्ये चार हजार २०९ र शिविरमा आएका तीन हजार २०४ जनाको आँखा शल्यक्रिया गरिएको हो । अस्पतालले चितवन, नवलपुर, पर्सा, धादिङ, बारा, गोरखा, रामेछाप, लम्जुङ, रसुवा, बर्दिया, तनहुँलगायतका जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । एक सय ४७ शिविर सञ्चालन गरिएको घिमिरेले जानकारी दिएका छन् । बीस शल्यक्रिया शिविर रहेका थिए । घिमिरेका अनुसार अस्पतालले चितवन, नवलपुर, धादिङ, पर्सा र तनुहँका ७५ विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको आँखा परीक्षण गरेको छ । सो क्रममा ३० हजार ८२३ विद्यार्थीको आँखा परीक्षण गरिएकामा एक हजार ५२ लाई निःशुल्क चश्मा वितरण गरिएको थियो । भरतपुर आँखा अस्पतालले चितवनको टाँडी, पर्सा, सौराहा, माडी र चनौली, पर्साको ठोरी, बाराको सिम्रनगढ, धादिङको सल्यानटार, नवलपुरको कावासोतीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । नेपाल नेत्रज्योति सङ्घका सभापति कृष्णराज धरेलले सबैतिरबाट आँखा उपचारमा सहयोग जुटेसँगै धेरै बिरामीको उपचार गर्न सकिएको बताए । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै आफ्ना नागरिकको आँखा परीक्षणमा ध्यान पुग्न थालेको बताउँदै उनले आउँदा वर्षहरुमा बिरामीको सङ्ख्या अरु थपिने अनुमान गरिएको जानकारी दिएका छन् । उपचार गरेर निको हुन्छ भन्ने नजान्दा कतिपय बिरामी घरमै रहेको भन्दै उनले सबैले आँखा उपचारका बारेमा बुझ्न र बुझाउन सकेमा अस्पतालसम्म आउनेको सङ्ख्या बढ्ने बताएका हुन् । रासस