चीनबाट फर्काइने नेपालीलाई राख्न भक्तपुरमा दुईवटा भवन खाली, स्थानीयवासीको विरोध
काठमाडौं । चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको हो । त्यस्तै चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइनका दुई भवन खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए । होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिएको र वातावरण विभाग भवनको सामान पनि सारिएको उनले बताए । भवन खाली गराउन होस्टेलमा रहेका बिरामीलाई फर्काइएको र दुवै भवनका सबै सामान झिकेर माथिल्लो प्रशासनिक भवनमा सारिएको छ । नेपाली सेनाको प्राविधिक, स्वास्थ्य मन्त्रालयलगायत टोलीले अध्ययन गरी उक्त ठाउँको छनौट गर्दै प्रतिवेदन बुझाएपछि सरकारले भक्तपुरको खरिपाटीस्थित प्राधिकरणमा आइसोलेशन वार्डका रुपमा क्वारेन्टाइन राख्ने निर्णय गरेको बताइएको छ । टोलीले अध्ययनका क्रममा १ सय २४ जनालाई यहाँ राख्न सकिने जानकारी गराउँदै ठाउँ खाली गराएको प्राधिकरणले जनाएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सवीन प्रधानलगायत सुरक्षा निकायको टोलीले शुक्रबार उक्त स्थानको अवस्था र तयारीको बारेमा अवलोकन गरी जानकारी लिएको कर्मचारीले बताएका छन् । टोलीले यो ठाउँको छनौट गर्दा स्वास्थ्य मन्त्रालयबाट आएका कर्मचारीले चीनबाट फर्काउन लागिएका नेपालीलाई राख्न आइसोलेशन मात्रै भएकाले माथिल्लो भवनमा कर्मचारीले काम गर्न सक्ने जानकारी गराएको बताउँदै सहनिर्देशक ओलीले सरकारको यो निर्णयसंगै यहाँका कर्मचारीमा त्रास फैलिएको बताए । कर्मचारीमा त्रास फैलिएकाले त्यस क्षेत्रमा बसेर काम गर्न सक्ने वातावरण नभएको भन्दै कर्मचारीलाई कहाँ लैजाने भन्ने निर्णय नभएको बताइएको छ । प्राधिकरणभित्र अहिले विभिन्न २६ वटा विभाग एवं कार्यालय रहेको र सबै विभाग बन्द गर्नुपर्ने अवस्था आएको बताइएको छ । खरिपाटीमा क्वारेन्टराइन राख्ने सरकारको निर्णयसँगै स्थानीयवासीले चर्को विरोध गर्दै आएका छन् । स्थानीयवासीले यो ठाउँमा क्वारेन्टाइन राख्न नदिने भन्दै दैनिक आन्दोलन गर्दै आएका छन् । चाँगुनारायण नगरपालिकामार्फत सरकारलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । चाँगुनारायण नगरपालिकाको छैठौ नगरसभाले चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई भक्तपुरको खरिपाटीमा राख्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै विकल्प खोज्न आग्रह गरेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । चीनबाट फर्काइएका नेपालीका लागि खरिपाटीमा क्वारेन्टाइन राख्ने सरकारको निर्णय कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको नगरसभाले ठहर गर्दै त्यसको विकल्प खोज्न आग्रह गरेको उनले जानकारी दिए। चाँगुनारायणको केन्द्र र बस्तीको बीचमा रहेको यो क्षेत्र कुनै पनि दृष्टिकोणले उपयुक्त नभएको भन्दै यो क्षेत्रमा क्वारेन्टाइन राख्दा स्थानीयवासीबाट आउने अवरोध र सङ्कटलाई मध्यनजर गर्दै सरकारलाई अन्यत्र विकल्प खोज्न आग्रह गरे । चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष परासर सापकोटा, वडा नं २ का अध्यक्ष शिवहरि केसी, वडा नं ३ का अध्यक्ष श्यामसुन्दर धिमाल, वडा नं ४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले चीनबाट फर्काइएका नेपाली खरिपाटीमा राख्ने निर्णयले आमनागरिकमा त्रास र क्रोध जन्माएको बताउँदै बस्तीको बीचमा क्वारेन्टाइन राख्नु कुनै पनि हालतमा उपयुक्त नभएको बताए । बस्तीभन्दा दुई किलोमिटर टाढा क्वारेन्टाइन राख्नुपर्ने अन्तर्र्राष्ट्रिय मान्यतालाई सरकारले मिच्दै बस्तीको बीचमा चीनबाट फर्काइएका नेपाली राख्न खोजेको भन्दै उनले विरोध गरेका हुन् । वडा नं ९ का वडा सदस्य कमला गिरीले चीनबाट फर्काइएका नेपालीलाई घनावस्तीको बिचमा राख्ने सरकारको निर्णयले स्थानीय बासिन्दादेखि पर्यटकीय क्षेत्रलाई असर पर्ने भन्दै सच्याउन माग गरे । यसअघि नेपाली काँग्रेसले सरकारको यो निर्णयको विरोध गर्दै आन्दोलन र धर्ना दिएको छ भने नेकपा, नेमकिपा र राप्रपा संयुक्तले पनि खरिपाटीमा क्वारेन्टाइन राख्नै नदिने भन्दै विरोध गरेका छन् । यता सूर्यविनायक वीर दल गणमा पनि क्वारेन्टाइन राख्ने भनिए पनि त्यसबारेमा कुनै जानकारी नआएको र राख्ने ठाउँ नभएको नेपाली सेना वीर दल गणले जनाएको छ । रासस
बैतडीका १२ वडा अझै स्वास्थ्यचौकी विहीन
बैतडी । जनप्रतिनिधि आएको साढे दुई वर्ष बितिसक्दासमेत बैतडीका ८४ मध्ये १२ वडा स्वास्थ्यचौकी विहीन रहेका छन् । ती वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानका लागि अप्ठ्यारो भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् । डिलाशैनी गाउँपालिका–६, दोगडाकेदार गाउँपालिका–२, मेलौली नगरपालिका वडा नं १, ४ र ८ शिवनाथ गाउँपालिका वडा नं १, ३, र ५ सिगास गाउँपालिका वडा नं ४ र ७ तथा सुर्नया गाउँपालिका २ र ८ मा स्वास्थ्यचौकी छैनन् । वडामा स्वास्थ्यचौकी नहुँदा सेवा लिन नागरिकलाई अप्ठ्यारो हुने गरेको सुर्नया गाउँपालिका–८ का वडाध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिए । स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा प्रदानमा असहज भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । यसैबीच स्वास्थ्यचौकी नभएका वडामा चालु आर्थिक वर्षदेखि आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण हुने भएका छन् । भवन निर्माणका लागि सङ्घीय सरकारले सम्बन्धित स्थानीय तहका खातामा रकम पठाएको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए । उनले भने, “अबको दुई वर्षभित्र सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण भइसक्छन् ।”रासस
सरकारले ३ सय शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने
काठमाडौं । सरकारले सरुवा रोगको नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने निर्णय गरेको छ। माघ २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय सरकारको मातहत रहने गरी ३०० शैय्याको राष्ट्रिय सरुवा रोग अस्पताल निर्माण गर्ने निर्णय गरेको हो। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको जानकारी दिए। नेपालमा सरुवा रोगको प्रकोप फैलिएमा उपचार गर्ने छुट्टै अस्पताल छैन। सरकारले तत्कालका लागि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमार्फत गम्भीर प्रकारका सङ्क्रामक रोगको उपचार गर्दै आएको छ। टेकु अस्पताल जम्मा ६० शैय्याको छ। छिमेकी चीनको वुहान क्षेत्रबाट विश्वव्यापीरूपमा फैलिएको नोभेल कोरोना भाइरसको बढ्दो रूपप्रति नेपाल सरकार संवेदनशील रहेको बाँस्कोटाले बताए। प्रवक्ता बाँस्कोटाले प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकको स्वास्थ्यवस्थाबारे सरकार अत्यन्त संवेदनशील रहेको उल्लेख गरे। प्रभावित क्षेत्रमा रहेका नेपालीका सम्बन्धमा चीन सरकार स्वयं अत्यन्त सजग रहेको उल्लेख गर्दै उनले आफ्ना देशका नागरिकसरह नेपाली नागरिकको पनि स्वास्थ्यप्रति चीनले गम्भीर चासो देखाएको बताए। ‘नेपाली नागरिकको सुरक्षाका निम्ति चिनियाँ नागरिकसरह गम्भीर बनेका छौँ भनेर उनीहरुले भनेका छन्’, चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहनुभएका प्रवक्ता बाँस्कोटाले बताए। चीनमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्यलाई लिएर अभिभावकबाट चिन्ता व्यक्त हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले सरकारले पनि अभिभावकका रूपमा प्रभावित क्षेत्रमा डर र त्रासका बीच रहेका नागरिकलाई उद्धार गर्ने प्रक्रिया अगाडि बढाएको प्रष्ट पारे। ‘हामीले उद्धारका लागि तयारी तीव्र पारेका छौँ, प्रभावित क्षेत्रबाट ल्याइएका नागरिकलाई १४ दिन ‘क्वारेन्टाइन’मा राख्नुपर्ने हुन्छ, उनीहरुलाई राख्ने स्थानको व्यवस्था गर्दैछौँ”, उनले भने, ‘जहाजको कुनै समस्या छैन, विमानस्थलदेखि ‘क्वारेन्टाइन’ सम्म जाने ठाउँको व्यवस्था गर्नुपर्नेछ। चिकित्सक, अलग्गै वार्ड, स्वास्थ्य परीक्षणलगायतको प्रबन्ध गर्नुपर्ने छ, त्यो व्यवस्था हुँदैछ।’ वुहानमा रहेका नेपालीको अवस्थाबारे चीन सरकारसँग निरन्तर संवाद भइरहेको जानकारी दिँदै उनले यसमा नआत्तिन अभिभावकलाई आग्रह गरे। कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोक्न राष्ट्रिय तथा अन्तरराष्ट्रियरुपमा उच्च मनोबल बनाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो। पछिल्लो समय कोरोना भाइरसबाट प्रभावित भएका व्यक्तिको स्वास्थ्यमा सुधार हुने क्रम बढ्दै गएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेको उनले जानकारी दिए।