कोराेनासँग लड्ने सरकारका यस्ता छन् ५ योजना
काठमाडौं । नेपालमा एकैपटक धेरै व्यक्तिमा कोरोना देखिएको अवस्थामा काम गर्नको लागि तयार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । बिहिबार मन्त्रालयले कोरोनाको संत्रलमण देखिए केके काम गर्ने भन्ने योेजना प्रस्तुत गर्दै एकै पटक सय केस देखिएको अवस्थामा पनि काम गर्न तयार भएकाे बताएका हाे । महामारीको रुपमा कोरोना फैलिएमा सरकारले नेपालबाट हुने हवाई उडान महामारीको अवधिभर स्थगन गर्ने, स्थलगत आवगमनको अन्तर्राष्ट्रिय नाकाहरु बन्द गर्ने, अत्यावश्यक सामाग्री बाहेक सबै आयात निर्यात बन्द गर्ने, संक्रमण भएको बासस्थान बन्द गर्ने जस्ता योजना बनाएकाे मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले बताए । सरकारकाे याेजनाहरु यस्ता रहेका छन् १. पकेट एरिया लकडाउन गर्ने– बासस्थान, निश्चित समुदाय, बस्ती गाउँ, टोल, वडा, पालिका प्रदेश समेत । २. कोभिड १९ प्रभावित मुलुकहरुमा नेपालबाट हुने उडानहरु महामारी अवधिभरको लागि स्थगन गर्ने । ३. स्थलगत आवगमनको अन्तराष्ट्रिय नाकाहरु बन्द गर्न । ४. अत्यावश्यक सामाग्री बाहेक अन्य वस्तुहरुको आयात निर्यात महामारी अवधिभर बन्द गर्न । देशभरका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा संक्रमितको प्रभावकारी उपचारको लागि जनशक्ति आवश्यक उपकरण र प्रविधिहरुको अधिकतम परिचालन गर्न योजना ५. अत्याआवश्यक परेमा फिल्ड तथा मोबाईल अस्पतालहरुको स्थापना गरी उपचार गरिने योजना बनाईएको ।
ग्राण्डी हस्पिटलमा ज्वरो मापनपछि मात्र प्रवेश
काठमाडौं । ग्राण्डी इन्टरनेशनल हस्पिटलले सम्पूर्ण बिरामीहरु तथा आगन्तुकहरुको ज्वरो मापन गरेर मात्रै हस्पिटल प्रवेश गर्ने व्यवस्था मिलाएको छ । कोरोना भाईरस संक्रमणबाट सचेतना अपनाउंदै हस्पिटलले बुधवारदेखि यस्तो व्यवस्था गरेको हो । ज्वरो मापन गर्दा उच्च तापक्रम भएको पाइएमा छुटृै कक्षमा राखेर उपचार तयारी गर्ने समेत हस्पिटलले शुरु गरेको छ ।
भरतपुरमा फेला परे दादुराका २३ बिरामी
भरतपुर । चितवनमा दादुरा–रुबेला रोग देखा पर्न थालेको छ । दुई वर्षअघि दादुराका बिरामी शून्य रहेको जिल्लामा पछिला वर्षमा २३ जनामा दादुराका बिरामी फेला परेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सन् २०१९ मा १९ र २०२० मा चार जनामा दादुरा देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख तथा वरिष्ठ स्वास्थ्य अधिकृत दीपकप्रसाद तिवारीका अनुसार सन् २०१७ र २०१८ मा दादुरा–रुबेलाका बिरामी शून्य थिए । २०१९ मा ५२ जनामा परीक्षण गरेकामा १९ र २० मा आठजनामा परीक्षण गरेकामा चारवटा केसमा पोजेटिभ आएको उनले बताए । तराईका विभिन्न जिल्लाबाट आएर काठ, तरकारी र इँटाभट्टामा काम गर्र्दै आएका अभिभावकका बालबालिकालाई दादुरा देखिएको उनले जानकारी दिए । दादुरा–रुबेला खोप लगाउन ढिला भएका कारण पनि पछिल्लो समयमा यसका बिरामी देखा पर्न लागेको तिवारीको भनाइ छ । अन्तिम पटक चितवनमा आर्थिक वर्ष २०७१/७२ सालमा खोप अभियान सञ्चालन गरिएको थियो । भूकम्प र कर्मचारी समायोजनका कारण नेपाल सरकारले खोप अभियान सञ्चालन गर्न ढिला भएको उनले बताए । प्रत्येक चार वर्षमा दादुरा रोगको खोप लगाउनुपर्ने हुन्छ । यो रोग पाँच वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई लाग्ने गर्दछ । यसैबीच चितवनमा दादुरा–रुबेला विरुद्धको खोप अभियान दुई चरणमा हुने भएको छ । स्वास्थ्य कार्यालय चितवनले चैत २ गतेदेखि जिल्लाका पाँच स्थानीय तह र १० देखि दुई स्थानीय तहमा खोप अभियान शुरु गर्न लागेको हो । चार वर्षपछि शुरु गर्न लागिएको खोप अभियान जिल्लामा दुई चरणमा सञ्चालन गरिने छ । पहिलो चरणअन्तर्गत चैत २ देखि ७ गतेसम्म भरतपुर महानगरपालिका, रत्ननगर, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने स्वास्थ्य कार्यालय चितवनका खोप अधिकृत अमृत महर्जनले जानकारी दिए । त्यस्तै दोस्रो चरणमा चैत १० देखि १८ गतेसम्म राप्ती र खैरहनी नगरपालिकामा खोप सञ्चालन गरिनेछ । यस अभियानमा नौ महिनादेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा र रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले आफ्ना बालबालिकालाई नजीकको खोप केन्द्रमा लगेर खोप लागाउन अभिभावकलाई स्वास्थ्य कार्यालय चितवनले आग्रह गरेको छ । यसपटक चितवनका ५८ हजार ९८३ जना बालबालिकालाई खोप लगाउने कार्यालयको लक्ष्य छ । खोप अभियान सम्पन्न गर्न ५६८ केन्द्रमा एक हजार १३६ स्वयम्सेवक र १३२ खोप कार्यकर्ता खटिनेछन् । खोप अभियानमा खोप तथा कोल्डचेन, शैक्षिक सामग्री आपूर्ति तथा वितरण गरिनेछ । चितवनका सात स्थानीय तहमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकामा खोपकर्ता र स्वयम्सेवक खटिनेछन् । भरतपुर महानगरपालिकाका २५९ खोप केन्द्रमा ४० खोपकर्ता र ५१८ स्वयम्सेवक खटाइने कार्यालयले जनाएको छ । रत्ननगर नगरपालिकाका ६३ खोप केन्द्रमा १६ खोपकर्ता र १२६ स्वयम्सेवक, कालिका नगरपालिकाका ४२ केन्द्रमा आठ खोपकर्ता र ८४ स्वयम्सेवक, खैरहनीका ५२ केन्द्रमा १३ खोपकर्ता र १०४ स्वयम्सेवक, राप्तीका ६७ केन्द्रमा १५ खोपकर्ता र १३४ स्वयम्सेवक, माडीका ४४ केन्द्रमा २८ खोपकर्ता र ८८ स्वयम्सेवक तथा इच्छाकामना गाउँपालिकामा ४१ केन्द्रमा १२ खोपकर्ता ८२ स्वयम्सेवक खटिनेछन् । दाजुराको खोप ७५ प्रतिशतसम्म प्रभावकारी भएको कार्यालय प्रमुख तिवारीले बताए । नेपाल सरकारले नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क खोप दिने गर्दछ । खोप लगाएमा ७५ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ । नेपाल सरकारले सन् २०२३ सम्ममा दादुरा रुबेला निवारण गर्ने लक्ष्य राखेको छ । हाल विश्वमा दादुराबाट हुने मृत्युदर भने ६६ प्रतिशतले घटेको भरतपुर अस्पतालका बाल रोग विशेषज्ञ चिकित्सक युवानिधि बसौलाले जानकारी दिए । नेपालमा सन् २००३ देखि दादुरा–रुबेलाको देशव्यापी सर्भिलेन्स शुरु भएको हो । नेपालमा खोप अभियान भएको दुईदेखि पाँच वर्षपछि दादुरा रोगीहरु बढ्ने गरेको उनले बताए । नेपालमा सन् २०१९ मा ३६६ जनामा दादुरा रोग देखापरेको उनको भनाइ थियो । रासस