प्रधानमन्त्री आज डिस्चार्ज हुने (विज्ञप्तीसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बेलुका डिस्चार्ज गरिने भएको हाे । १९ फागुनमा अस्पताल भर्ना भएका उनको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् । उनी अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । प्रधानमन्त्री ओलीलाई पनि पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएकाे छ ।  

काेराेनाले पार्ने असरबारे नेपाल-भारतबीच छलफल हुँदै

काठमाडौं । कोरोनाले पार्ने असर बारे नेपाल-भारत सीमा व्यवस्थापन गर्नेबारे छलफल हुने भएकाे छ । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड१९) रोकथामका लागि लिइएका निर्णयले नेपाल-भारत सीमामा पार्ने अप्ठ्याराबारेमा वार्ता हुने भएको छ। मन्त्रालय स्रोतका अनुसार केहीबेरपछि यस विषयमा कुराकानी हुन लागेको हो। परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारे छलफल गर्न लागेका हुन्। सीमा नाकाहरुमा पर्याप्त चेकजाँचको व्यवस्था भएका चेक प्वाइन्टबाहेकका अन्य स्थल नाकाबाट समेत भारत प्रवेशमा कडाइ गर्ने निर्णय भारतले गरेको थियो। भारतको यस्तो निर्णयले नेपाल र भारतको सीमामा असर पर्ने र यसले भारतबाट नेपालतिर खाद्यन्नलगायतमा असर पार्ने भन्दै चिन्ताहरु व्यक्त भइरहेका छन्।

अब विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौं । अब विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएकाे छ । शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै विदेशबाट आउने सबैले क्वारेन्टाइनमा बस्नु पर्ने  बताएकाे हाे । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विभागले विदेशबाट आउनले नागरिकलाई नेपाल प्रवेशमा कडाइ गर्ने जनाएकाे छ । विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार शनिबार मध्यरातदेखि आगामी अप्रिल ३० सम्मका लागि यी प्रावधान लागू हुनेछन् । शनिबारदेखि नेपाल आउने सम्पूर्ण स्वदेशी एवं विदेशी नागरिक, गैरआवासीय नेपालीले समेत नेपाल प्रवेश गरेको दिनबाट १४ दिनसम्म अनिवार्य रुपमा ‘होम क्वारेन्टाइन’ मा बस्नुपर्ने विभागले प्रष्ट पारेको छ । यस्तै, विदेशी कुटनीतिक नियोगका पदाधिकारी एवं कर्मचारी नेपाल प्रवेश गर्दा १४ दिनसम्म ‘सेल्फ क्वारेन्टाइन’ मा बस्नुपर्ने जनाइएको छ । विभागका अनुसार कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अन अराइभल भिसा’ निलम्बन गरिएको छ । पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको ‘स्वाब’ परीक्षण रिपोर्ट पेश गर्नुपर्ने छ । गैरआवासीय नेपालीका हकमा पनि यो प्रावधान लागू हुने विभागले जनाएको छ ।