माल्दिभ्समा १३ जनामा कोरोना संक्रमण देखिएपछि १३ अर्ब डलरको आपतकालीन कोष स्थापना
माले । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र (एचपिए) ले जनाएको छ । पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्थानीय संचार माध्यमका अनुसार संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । एचपिएले ११ जनालाई फारुकोल्हुमा अलग्याएर राखिएको जनाएको छ । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ । राष्ट्रिय आपतकालीन विपद केन्द्र (नियोक) का प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने स्पष्ट गरे । उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको पनि बताए । पर्यटन मन्त्री अलि वाहीदले मुलुकको पर्यटन कोषबाट आवश्यक परेमा स्वास्थ्य उपकरण र प्राविधिक विज्ञहरु झिकाइने बताए । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो । माल्दिभ्सले कोरोनाभाइरसको परीक्षणका लागि इन्दिरा गान्धि स्मृति अस्पतालबाट सेवा लिइरहेको छ । रासस
इटालीमा कोरोना संक्रमण बढ्दाे, २४ घण्टाभित्र ३६८ जनाको मृत्यु
रोम । इटालीमा आइतबार कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । विश्वभर ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको कोरोनाको संक्रमण रोक्न युरोपेली मुलुकका सरकारहरुलाई अझ बढी नियन्त्रणका उपाय अबलम्बन गर्न बाध्य बनाएको छ । इटालीमा आइतबार कोरोनाको संक्रमणबाट ३६८ जनाको मृत्यु भएको छ । इटालीमा मृतकको संख्या यो समेत १ हजार ८०९ पुगेको छ । चीनपछि सबैभन्दा प्रभावित मुलुक अब इटाली भएको छ । भ्याटिकनले पनि इस्टर सप्ताह समारोह रद्द गरेको छ । पोप फ्रान्सिस आइतबार भ्याटिकन शहरमा पैदल हिँडेर कोरोनाभाइरस महामारीको शिकार भएकाहरूका लागि एउटा गिर्जाघरमा प्रार्थना गर्न गएका थिए । कोरोनाभाइरसबाट प्रभाविता फ्रान्स र स्पेनमा पनि क्याफे, पसल र रेस्टुरेन्टहरु बन्द गरिएका छन् । फ्रान्सले अति जरुरी बाहेकका व्यवसायहरू बन्द गर्न आदेश दिएको छ भने स्पेनले एक कदम अगाडि गएर मानिसहरूलाई स्वास्थ्य सेवा वा खाद्यान्न किन्न बाहेकका अरु काममा घर छोड्न प्रतिबन्ध लगाएको छ । जर्मनीमा कोरोना संक्रमित व्यक्तिको संख्या बढेपछि फ्रान्स, अस्ट्रिया, स्विट्जरल्याण्ड, लक्जमबर्ग र डेनमार्कसँगका सीमामा सोमबारदेखि कडाई गरेको छ । – अमेरिकी विमानस्थलमा भिडभाड संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो समूहले गुनासो गरेपनि कर्मचारीहरूले नयाँ प्रवेश नियमहरू र मेडिकल स्क्रीनिङमा कडाई गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएको छैन । उनी अमेरिका भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपतिको प्रतिनिधिमण्डलका धेरै सदस्यसँग भेटवार्ताका क्रममा सम्पर्कमा आएका थिए । अमेरिकी अर्थमन्त्री स्टिभन मन्चिनले आइतबार महामारीको प्रभावले अमेरिकी अर्थतन्त्रमा केही “मन्दी” उत्पन्न भएको बताएका थिए तर उनले यस्तो मन्दी धेरै दिन नरहने दाबी गरेका छन् । आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्क अनुसार, आइतबारसम्ममा विश्वभर ६ हजार ४२० जनाको मृत्यु भएको छ भने एक लाख ६३ हजार ९३० जना बिरामी भएका छन् । यो रोग विश्वका १४१ मुलुकमा देखिएको छ । युरोपमा आइतबारसम्ममा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या २,००० नाघेको छ । यो रोगले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ, खेल र सांस्कृतिक क्यालेन्डरहरू रद्द भएका छन्, शेयर बजार र व्यवसायलाई हल्लाइदिएको छ – विशेष गरी एयरलाइन्स । चीनले विदेशी यात्रुलाई क्वारेन्टाइनमा राख्ने चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् । चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो । बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ । नेदरल्यान्ड्स सरकारले नयाँ कोरोनाभाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौनक्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ । धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन् । अस्ट्रियाले पाँच भन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो । नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ । अष्ट्रेलिया र न्युजील्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन् । अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन् । “कोरोनाभाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,” जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले बताए । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन् । दक्षिण अमेरिकामा थोरै संख्यामा संक्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सीमा बन्द गरेको छ । रासस
अब शिक्षण अस्पतालको सेवा मुग्लिन हाइवे अस्पतालबाट
मुग्लिन । त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा सञ्चालित शिक्षण अस्पतालको सेवा चितवनको इच्छाकामना–५ मुग्लिन बजारमा रहेको मुग्लिन हाइवे अस्पतालले उपलब्ध गराउने भएको छ । सूचना प्रविधिका माध्यमबाट शिक्षण अस्पतालको सेवा गैरमुनाफामुखी च्यारिटी अस्पतालका रुपमा सञ्चालित सो हाइवे अस्पतालले प्रदान गर्ने छ । संस्थानका डीन प्राडा जगदिशप्रसाद अग्रवाल र हाइवे अस्पतालका अध्यक्ष रामबहादुर लामाले आइतबार काठमाडौमा सेवा आदान प्रदान गर्ने सम्बन्धी संम्झौतामा हस्ताक्षर गरे । सम्झौतासँगै अब मुग्लिन हाइवे अस्पतालमा सूचना प्रविधिको मार्फत त्रिवि, शिक्षण अस्पताल तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका विशेषज्ञ चिकित्सकको नियमित सेवा तथा सुविधा उपलब्ध हुने अस्पतालका अध्यक्ष लामाले जानकारी दिएका छन् । यसका साथै नियमित घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर, शैक्षिक तथा प्राज्ञिक तालीम, टेलिमेडिसिन प्लेटफर्मको अनुसन्धान तथा विकास, उपचाररत बिरामीको नियमित फलोअप र रुटिन चेकअपको सुविधा उपलब्ध गराइने पनि उहाँले बताए । “पहिलो चरणमा बिरामी भर्नाको समेत सुविधा सञ्चालन गर्ने गरी कार्याक्रम लागू गरिनेछ”, अध्यक्ष लामा भने । दुई वर्ष समयावधि रहने सम्झौताको दोस्रो चरणमा शिक्षण अस्पतालको विस्तारित अस्पतालको रुपमा मुग्लिन हाइवे अस्पताललाई विकसित गरिने भएकोे छ । सो अवसरमा त्रिवि, चिकित्साशास्त्र अध्यन संस्थानका सहायक डीन प्राडा राजेन्द्र गुरागाई, त्रिवि, टिचिङ हस्पिटलका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गा, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठकाे सहभागी थियाे । , त्यसैगरी, चिकित्साशास्त्र अध्यन संस्थान सूचना प्रविधि विभागका निर्देशक प्राडा प्रदीप वैद्य, मेडिडिन डिपार्टमेन्टका प्रमुख प्राडा प्रदीप श्रेष्ठको उपस्थिति रहेको थियो । यसैगरी मुग्लिङ हाइवे अस्पताल सञ्चालक कुमार श्रेष्ठ, मुक्ति कुमार श्रेष्ठ, मणिरत्न शाक्य, विष्णु कुँवर, कल्याण गुभाजू, विनोद श्रेष्ठ, राजेन्द्र लामा, सुदीप पाठक, सल्लाहकार कृष्णराज अर्यालको उपस्थिति रहेको थियो । रासस