राति निन्द्रा नलागेर तनावमा हुुनुहुन्छ? छिनभरमै निदाउन अपनाउनुस् यस्ता उपाय

काठमाडौं । हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ  । व्यस्तसँगै कतिपयमा तनाव पनि उतिकै  हुन्छ। जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्ने  हुन्छ । यहाँ जोकोहीलाई  पनि भोलिको चिन्ता छ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ । अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ । अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ । अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ । कसरी पाउने आनन्दको निन्द्रा ? – आनन्दको निन्द्राका लागि लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् । – बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् । – सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । – गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । – सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ । – संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । – सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । – मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् । – धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो । –सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् । – सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ । – सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं । (अंग्रेजी साईटको सहयोगमा)

टेस्ला डायग्नोस्टिक क्लिनिकको औपचारिक सुरुवात

काठमाडौं । बालुवाटारमा अवस्थित टेस्ला डायग्नोस्टिक क्लिनिकले बुधबार आफ्नो सेवाको औपचारिक सुरुवात गरेको छ । सोही अवसरमा क्लिनिकले विभिन्न स्वास्थ्य प्याकेजहरुमा ५० प्रतिशत छुट तथा अन्य सेवाहरुमा २५ प्रतिशत छुटको व्यवस्था सहित आफ्नो सम्पूर्ण निदान सेवाहरु सुरु गरेको छ । सन् २०१९ मा स्थापना भएको यस क्लिनिकले एक नवीन डायाग्नोस्टिक, अनुसन्धान तथा वेलनेश क्लिनिक स्थापना गर्नुका साथै किफायति दरमा नयाँ प्रविधिका साथमा उच्चमत गुणस्तरको मेडिकल सेवाहरु प्रदान गर्ने भएको छ । टेक्नोलोजिकल विकासको गति र स्वास्थ्य सेवामा उत्कृष्टताको लागि बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै टेस्लाले उन्नत र उच्चस्तरिय प्रविधिको सेवा, रेडियोलोजी सम्वन्धि सम्पूर्ण सेवाहरू प्रदान गर्दै आइरहेको छ प्याथोलोजी ल्याबले सबै आधारभूत जाचँहरु सम्बन्धी सेवा प्रदान गर्छ । अन्य डाइग्नोष्टिक सेवाहरु जस्तै इको कार्डियोग्राफी, एबिपि, होल्टर, इसिजी, पिएफटि, युरिया ब्रिथ टेष्ट एण्ड बिएमडी पनि उपलब्ध रहेको छ । यस क्लिनिकले बहिरङ्ग सेवा दिदै आइरहेको छ साथै, रोकथामपूर्ण स्वास्थ्य सेवामा प्रमुख ध्यान दिनुको साथै सहुलियत दरमा विभिन्न स्वास्थ्य स्क्रीनीङ्गको प्याकेजहरु प्रदान गर्दै आइरहेको छ । बिरामी केन्द्रित सेवा प्रदान गर्ने मिसन अनुसरण गर्दै, फार्मेसीले औषधि र औषधि अभ्यासको सम्बन्धमा परामर्श सेवा पनि प्रदान गर्दै आइरहेको छ । यस सँगै फार्मेसीले एक नियन्त्रित वातावरणमा औषधीहरूको सुरक्षा पनि सुनिश्चित गर्दै आइरहेको छ । क्लिनिकले यस क्लिनीकमा आउने बिरामी/असक्त महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै यातायात सुविधा पनि संचालन गरेको छ, जसले क्लिनिकका विमारीहरुको यातायातको आवश्यकताहरु व्यवस्थित गर्न मद्दत गर्नेछ । यो क्लिनिक विहान ७ बजे देखि राती ८ बजे सम्म खुल्छ । क्लिनिक खुल्ने अवधिभित्र रेडियोलोजी र इमेजिंग परामर्शदाता डाक्टरहरु उपलब्ध हुनुहुनेछ । प्याथोलोजि सेवा पनि अन्र्तराष्ट्रिय मान्यता अनुरुप बरिष्ठ तथा अनुभवी प्याथोलोजिष्टहरुको निगरानीमा सञ्चालन भइरहेको छ । यसका साथै अन्य बहिरङ्ग (अ‍ेपिडी) सेवाहरु पनि साप्ताहिक तालिका अनुसार उपलब्ध हुनेछन् ।

कोरोना उपचार अस्पतालका चिकित्सक कर्मचारीले पाउने भए शतप्रतिशत भत्ता

चितवन । भरतपुर महानगरपालिकाको अगुवाइमा चितवन प्रदर्शनी केन्द्रमा शुक्रबार बिहानदेखि सञ्चालन गर्न लागिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारीलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिइने भएको छ । सङ्घीय सरकारले यसअघिनै कोरोनाको उपचारमा संलग्नलाई ७५ प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरिसकेको छ । सो रकममा महानगरपालिकाले थप २५ प्रतिशत गरी शतप्रतिशत पुर्याउने भएको हो । महानगर प्रमुख रेनु दाहालले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सङ्घीय सरकारबाट दिइने रकममा थप गरी शतप्रतिशत पुर्याउन लागिएको बताएकी छन् । उनले भनिन् “सङ्घबाट रकम नआएमा पनि महानगरले ७५ प्रतिशत प्रोत्साहन भत्ता दिन्छ, आएमा शतप्रतिशत पुर्याउँछौँ ।” अस्पतालमा महानगरका स्वास्थ्यकर्मीका अतिरिक्त जिल्लाका सरकारी र नीजि अस्पताल एवं मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिचालन गरिने उनले जानकारी दिए । अस्पताल सञ्चालन गर्न गठित कार्यदलका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार हाल कार्यरत चिकित्सक, कर्मचारीले नपुगेमा बाहिरबाट पनि जनशक्ति भर्ना गरिने छ । अध्ययन गर्दै गरेका नर्स र चिकित्सकलाई पनि अस्पताल सञ्चालनका क्रममा नियुक्त गर्नुपर्ने हुनसक्ने भन्दै तयारी थालिएको छ । बहिरङ्ग सेवा र ५० श्ययाको जनरल वार्ड आज साँझसम्ममा तयार गरिँदै छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसबाट श्यया सङ्कलन गरी साँझसम्ममा तयार गरिने अधिकारीले जानकारी दिए । यससँगै ती श्ययामा आवश्यक सामाग्री उद्योग वाणिज्य सङ्घको अगुवाइमा व्यवस्थापन गरिँदै छ । बिहीबार दिनभरमा १० श्ययाका सघन उपचार कक्ष र १० श्ययाको हाई डिपेन्डेन्ट यूनिट (एचडियू) तयार गरी शुक्रबारदेखि अस्पताल सञ्चालन गर्ने तयारी गरिएको छ । सोका लागि आवश्यक प्रयोगशाला, एक्सरे, औषधि, शौचालय, बारबेर, विद्युत्, खानेपानीलगायतका काम भइरहेका छन् । आज बिहान नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले अस्पताल बनाउन लागिएको क्षेत्र सरसफाइ गरिसकेका छन् । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले जुट्न नसकेका खरिद गर्नुपर्ने सामग्री महानगरले खरिद गरेर अस्पताल सञ्चालनमा ल्याउने बताएका छन् । महानगर प्रमुख दाहालको संयोजकत्वमा गठित १५ सदस्यीय कार्यदलले मङ्गलबार बिहान ७२ घण्टाभित्र अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढाएको थियो । जिल्लामा हालसम्म चार शङ्कास्पद कोरोनाका बिरामी भरतपुर अस्पतालमा भर्ना भएकामा उनीहरु सबैको नतिजा नेगेटिभ आएको छ । रासस