कोरोना संक्रमणको आशंकामा दुई जना अस्पतालमा भर्ना
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा २ जना व्यक्ति कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा भर्ना भएका छन् । शनिबार भारतबाट नेपाल भित्रिएका २ जनालाई उच्च ज्वरो देखिएपछि महाकाली अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतका अनुसार गड्डाचौकी नाकाबाट नेपाल भित्रिएका २ जनामा १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो देखिएको थियो । परीक्षणका क्रममा ज्वरो उच्च देखिएपछि दुवै जनालाई महाकाली अञ्चल अस्पताल पु¥याइएको हो । कोरोना संक्रमणको आशंका गरिएका दुवै जनालाई आइसोलसन वार्डमा भर्ना गरेर परीक्षणका लागि नमूना (स्याम्पल) लिने प्रक्रिया थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार शनिबार मात्रै १० हजार बढी नेपाली गड्डाचौकी नाका भएर भारतबाट नेपाल भित्रिएका छन् ।
अपडेट: कोरोना भाइरसबाट विश्वभर ११ हजार ४ सय १७ जनाको मृत्यु, इटालीमा सबैभन्दा बढी
जेनेभा । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभर दुई लाख ७६ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिमध्ये ९१ हजार ९ सय ५४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ७३ हजार व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ भन्दा बढी देशमा देखा परिसकेको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । कोरोनाभाइरस सङ्क्रमणबाट चीनभरी तीन हजार २ सय ५५ व्यक्तिको मृत्यु भएको छ भने ८१ हजार जना सङ्क्रमित भएका थिए । चीनले अपनाएको उच्चतम सतर्कता, हुबे प्रान्तको राजधानी उहान सहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचार समेतका आपतकालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ३७ हजार ८ सय ६० जना सङक्रमित रहेको इटालीमा ५ हजार १ सय २९ व्यक्ति उपचारपछि घर फर्किएका छन् । मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण एक हजार ४ सय ३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४ सय ६६ जना सङक्रमित रहेका छन् । ६ हजार ७ सय ४५ जना उपचारपछि घर फर्किएका बताइएको छ । स्पेनमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । हाल १८ हजार ८ सय ९० जना सङक्रमित रहेका छन् । शनिबार प्राप्त समाचार अनुसार एक हजार ५ सय ८८ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना सङक्रमित रहेका छन् । उपचारपछि १ सय ८० जना घर फर्किएका छन् । संयुक्तराज्य अमेरिकामा २७५ व्यक्तिको मृत्यु भएको छ । हाल १९ हजार ३ सय ५२ जना सङक्रमित रहेका छन् भने १ सय ४७ जनाको उपचार गरिएको छ । फ्रान्समा ४ सय ५० जनाको मृत्यु भएको छ । हाल १० हजार ५ सय ७५ जना सङक्रमित रहेका छन् । दक्षिण कोरियामा १ सय २ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ८५ जनामा अझै पनि सङ्क्रमण छ । कोरोनाभाइरस संक्रमणका कारण स्वीजरल्याण्डमा ५६ जना, बेलायतमा १ सय ७७ जना, नेदरल्याण्ड्समा १ सय ६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कम्तीमा २ सय ७० जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ । पाँच जनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन “जनता कफ्र्यु” लागू गर्न र घरबाहिर कोहीपनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली अन्य मुलुकहरु श्रीलङ्कामा ७३, अफगानिस्तानमा २४, बङ्गलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा २ जना सङ्क्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन्, र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । रासस/एएफपी
गण्डकी प्रदेशमा १ सय ११ आइसोलेसन बेड तयार
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १ सय ११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी तथा निजी अस्पतालमा गरी हालसम्म सो सङ्ख्यामा विशेष सुविधासहितको आइसोलेसन कक्ष तयार गरिएको हो । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा दश श्ययाको आइसोलेसन कक्ष तयार गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशका ५० श्ययाभन्दा बढीका सबै सरकारी तथा निजी अस्पताललाई आफ्नै बजेट÷स्रोतमा कम्तीमा पाँच श्ययाको आइसोलेसन कक्ष स्थापनाका लागि कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गठन गरिएको प्रदेशको उच्चस्तरीय निर्देशक समितिले गत हप्ता निर्देशन दिएको थियो । स्याङ्जा जिल्ला अस्पतालमा चार तथा पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेन कक्ष तयार गरिएको उहाँले जानकारी दिनुभयो । लमजुङ, नवलपुर, जोमसोम, बागलुङका केही निजी अस्पतालमा समेत एक÷दुई वटाका दरले श्यया तयार गरिएको बताइन्छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले कोरोना सङ्क्रमित भएको प्रमाणित भएका बिरामीलाई उपचारका लागि विशेष व्यवस्थासहितको कक्ष र चिकित्सक तयारी अवस्थामा राखिएको बताए । “कोरोनाविरुद्ध पूर्वसावधानी अपनाउँदै सङ्क्रमितलाई विशेष प्रकारले उपचारका लागि छुट्टै कक्षको व्यवस्था गरेका छौं । गण्डकी प्रदेशका कोही पनि सङ्क्रमित भएको पाइएको छैन । आवश्यक परेमा श्यया थप्न सकिन्छ”, आचार्यले भने । पछिल्लो समय सामान्य रुघाखोकी लागेका बिरामीसमेत कोरोनाको त्रासले परीक्षणका लागि अस्पताल पुग्ने गरेकाले अस्पतालमा भीडभाड बढेको उहाँको भनाइ थियो । स्वास्थ्य सहायता कक्ष स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । पोखरा विमानस्थलको प्रस्थान र आगमन, लेकसाइडको बाराहीचोक, बागलुङको बुर्तिबाङ, तनहुँको आँबुखैरेनी, स्याङ्जाको गल्याङस्थित राम्दी पुल, मुस्ताङको जोमसोम विमानस्थल, मुक्तिनाथ र घाँसा, नवलपरासीको गण्डक ब्यारेज र नवलपुरको गैँडाकोट नगरपालिका अगाडि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको बताइन्छ । त्यसैगरी विभिन्न सार्वजनिक तथा निजी सङ्घ संस्थाले आआफ्नो पायकको स्थानमा स्वास्थ्य सजगताका लागि सहायता कक्ष स्थापना गरी सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । रासस