कोरोनाबाट बच्न स्वास्थ्य बीमा गर्न सकिन्छ ? यसो भन्छ बीमा समिति

काठमाडौं । चीनबाट सुरु भएर संसारभर आतंक फैलाएको कारोना भाइरसको यकिन औषधी पत्ता लागेको छैन । कोरोना संक्रमण ७७ भन्दा बढी देशमा फैलिएको छ भने ९३ हजारभन्दा बढीलाई संक्रमण भएको छ, ३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार हुने दर भने ज्यादै धेरै छ । संक्रमित ९३ हजारमध्ये ५० हजारभन्दा बढी निको भएर घर फर्किसकेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । विश्व स्वास्थ संगठन (डब्लुएचओ) ले कोरोना संक्रमणको कारण विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ । कोरोना भाइरस उपचारको औषधी पत्ता नलागेको कारण यो संक्रमण भएको व्यक्तिको उपचारमा कति खर्च लाग्छ भन्ने यकिन अझै हुन सकेको छैन । अहिलेसम्म कोरोना संक्रमित सबैलाई सम्बन्धित देशले नै खर्च गरेर उपचार गरिरहेका छन् । विश्व संकट निम्त्याउने हैसियत राखेको कारोनो भाइरसबाट बच्चको लागि स्वाथ्य बीमा भने नहुने बीमा समितिले जानकारी दिएको छ । महामारीको बीमा नहुने भएको कारण कोरोना विरुद्ध बीमा गर्न नसकिने समितिको भनाइ छ । रोग लागेको अवस्थामा बिमितलाई आर्थिक सुरक्षण दिने कम्पनीहरुमा महामारीको बीमा योजना नहुने समितिको भनाइ छ । पछिल्लो समय विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । यस्तो अवस्थामा बीमा मार्फत सुरक्षा प्राप्त गर्न नसकिने बीमा समितिले जानकारी दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमाको सिद्धान्तले महामारीलाई नसमेटने बताए । ‘विश्वव्यापी बीमाको सिद्धान्त अनुुसार बीमाले महामारीलाई समेट्दैन, अन्य रोगको हकमा भने बीमा कम्पनीहरुले सुरक्षण दिँदै आएका छन्,’ कार्यकारी निर्देशक पौडेलले विकासन्युजसँग भने । बीमा कम्पनीहरुले घातक रोगको बीमा योजना संचालन गरिरहेका छन् । कोरोना भाइसको लागि मात्रै भनेर बिमितले कुनै किसिमका लाभ पाउँदैनन् । बीमा गराउँनु पूर्व जाँचिन्छ यी २ कुरा बीमा गराउँनुपूर्व बीमा कम्पनीहरुले व्यक्तिको आर्थिक अवस्थाको तथा स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन्छन् । आर्थिक अवस्थाको मूल्याङ्कनपछि मात्रै व्यक्तिले बीमा गर्न पाउँछन् । त्यस्तै, स्वस्थ मानिसको मात्र बीमा हुने गर्छ । व्यक्तिको स्वाथ्यस्थिति चेकजाँच गरेर मात्र बीमा हुने समिति बताउँछ । व्यक्तिमा कोरोनाको संक्रमण देखिएको अवस्थामा बीमा हुँदैन । कुनै किसिमका बीमा गर्नुपूर्व उक्त व्यक्तीको स्वास्थ्य अवस्था कस्तो छ भनेर हेर्नु महत्वपूर्ण हुन्छ । अहिले विश्वमा फैलिएको कोरोना भाइसको चर्चा जताजतै सुन्न सकिन्छ । नेपालको छिमेकी राष्ट्र चीनबाट सुरु भएको यो रोग अहिले विश्वका विभिन्न ठाउँमा देखिन थालेसँगै मानिसमा त्रास बढेको छ । बीमाले जोखिममा आर्थिक सुरक्षण दिने भएकाले पछिल्लो समय कोरोना भाइसको बीमा गर्न मिल्ने कि नमिल्ने भन्ने चासो धेरैमा छ । महामारीको बीमा नहुने भएकोले यस्तो जोखिमबाट बच्न शतर्कता अपनाउनु पर्ने समितिको भनाइ छ ।

कोरोनाको जोखिमप्रति सजग रहन नेपाल इन्भेष्टमेन्ट बैंकको आग्रह

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले काेराेना भाइरसकाे जाेखिमप्रति सतर्कता अपनाउन   सरकारले जारी गर्ने सुरक्षा र रोकथामसम्बन्धी निर्देशनहरूको पालना गर्न आग्रह गरेको छ । विश्वभरि नोबल कोरोना भाइरस (कोभिड–१९) फैलिँदै गएकोे तथा मुलुकमा पनि भाइरस संक्रमणमा जोखिम बढ्दै गएको सन्दर्भमा बैंकले आफ्ना ग्राहक, कर्मचारी, सरोकारवाला तथा समग्र देशवासीहरूलाई सतर्कता अपनाउन अपिल गरेको हो । यसै विषयलाई मध्यनजर गर्दै बैंकले कोरोनाभाइरसको विस्तार विरुद्धको रोकथामसम्बन्धी उपायहरू अबलम्बन गर्न शुरु गरिसकेको छ । बैंकिङ सेवा लिन आउने ग्राहकहरुको सुरक्षाका लागि कार्यालय परिसरको प्रवेश र निकासद्वारमा सेनिटाइजेसन र बच्ने उपायहरु उल्लेख गरिएको सुचना टासिएको छ । सबै ग्राहकहरुलाई कार्यालय प्रवेश गर्दा उपलब्ध गराइएको सेनिटाइजेसन प्रयोग गरी भाइरस प्रभावित हुनबाट सतर्क रहन अनुरोध गरेको छ । साथै, विश्व स्वास्थ्य संगठनद्वारा गरिएका सिफारिस र सुरक्षा उपायहरूलाई ध्यानमा राखी पालना गर्न बैंकले अनुरोध गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ ।  त्रिवि  शिक्षण अस्पतालमा भएकाे ओलीको दोस्रो मृगौला प्रत्यारोपण सफल भएको हाे । ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । याे सहित ओलीको शरीरमा ४ वटा मृगौला भएका छन् । पुराना मृगौला झिक्दा समस्या हुने र फेरी सर्जरी गर्नुपर्न हुनाले पुराना मृगौला शरीरमै राखिने चलन छ । प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली र भारतीय डा अनन्त कुमारसमेत रहेका छन् । प्रधानमन्त्रीलाई उनको भान्जी पर्ने समिक्षा संग्रौला मृगौलाले दिएकी हुन् ।