रुकुमका सबै गाउँपालिकामा १५ शैय्यका अस्पताल बन्दै
रुकुमपूर्व । रुकुमपूर्वका सिस्ने, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य सस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालू आवमा देशभरका २३६ स्वास्थ्य संस्थालाई १५ श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सिस्ने गाउँपालिका–५ को रुकुमकोट स्वास्थ्य चौकी र भूमे गाउँपालिका–९ को चुनबाङ स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्न लागिएको प्रदेश ५ का प्रदेशसभा सदस्य तेजबहादुर ओलीले जानकारी दिए । पुथाउत्तरगङ्गा गाउँपालिकाको कोल प्राथमिक स्वास्थ्य केन्द्रलाई गत वर्ष नै स्तरोन्नति गर्ने निर्णय भएको थियो । नजिकै उपचार सेवा पाइने आशा पलाएको चुनबाङ गैरीगाउँकी मनकुमारी पुनले बताए । अहिले सर्वसाधारण सामान्य उपचारका लागि रोल्पाको बागमारा पुगेर निजी क्लिनिकमा उपचार गर्न बाध्य छन् । चुनबाङ रोल्पाका धेरै गाउँको केन्द्र मानिन्छ । “यसैले चुनबाङमा अस्पताल बन्नु भनेको रुकुमपूर्व र रोल्पाका सर्वसाधारणका लागि पनि सुविधा मिल्नु हो,” गैरीगाउँका प्रेमबहादुर पुन मगरले भने, “अब ससाना रोगका लागि दाङ, नेपालगञ्ज झर्नुपर्ने बाध्यता हट्छ कि भन्ने आशा पलाएको छ ।” निर्णय कार्यान्वयनका लागि वडा तथा गाउँपालिकाले आवश्यक पहल गर्नुपर्ने उनले बताए । स्तरोन्नति भएका स्वास्थ्य सस्थाको चालू आवमा पूर्वाधार निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिनेछ । अस्पतालमा सम्बन्धित गाउँपालिका र सङ्घीय सरकारको संयुक्त लगानी रहने जनाइएको छ । रुकुमकोट स्वास्थ्य चौकी भने अन्यत्रै सारिएको छ । यसअघि स्वास्थ्य चौकीको भवनमा जिल्ला अस्पताल उद्घाटन गरेर सञ्चालन गरिएको छ भने वडा नं. ५ को उक्त स्वास्थ्य चौकीलाई वडा नं. ६ मा लगिएको छ । सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले सङ्घीय सरकारको निर्णय प्राप्त भएपछि यस विषयमा छलफल हुने र अस्पताल निर्माणका लागि गाउँपालिकाबाट आवश्यक पहल गर्ने जानकारी दिए । “सङ्घीय सरकारले अस्पतालमा स्तरोन्नति गर्ने स्वास्थ्य चौकी सूचीकृत गरेको खबर आएको छ,” अब औपचारिक रूपमा गाउँपालिकामा जानकारी आएपछि गाउँ कार्यपालिकाका तर्फबाट पनि आवश्यक निर्णय तथा सिफारिसको काम हुने उनले बताए । रासस
धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना
गलकोट । विश्वभर चुनौतीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको सङ्क्रमण बढ्दै गएमा धौलागिरिकै ठूलो अस्पतालमा सम्भावित बिरामी आउनसक्ने भन्दै दुई श्ययाको सो कक्ष स्थापना गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । शङ्कास्पद बिरामीलाई विशेष निगरानीमा उपचार तथा परामर्शका लागि आइसोलेसन कक्ष तयार गरिएको उनले बताए । उनले भने, “आइसोलेसन कक्षमा अहिले दुई श्ययाको छ । यदि सङ्क्रमणका बिरामी देखा परेमा बढ्न अन्य कक्ष थप हुन्छ ।” विशेषगरी ज्वरो, रुखा र खोकीका बिरामी अस्पतालमा आउनासाथ उच्च सतर्कताका साथ उपचार तथा परामर्श गरिने अस्पतालले जनाएको छ । निजी अस्पताललाई पनि सम्भावित जोखिमलाई ध्यानमा राखेर आइसोलेसन कक्षको तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले आग्रह गरेका छन् । उनले जिल्लामा सार्वजनिक सभा, समारोह, मेला उत्सव नगर्न आह्वान गरिएको जानकारी दिए । सरोकारवालासँगको बैठकले जिल्लामा सभा समारोह, भोज भतेर, वार्षिकोत्सव, महोत्सव, महायज्ञ, खेलकुद कार्यक्रमहरु नगर्न आग्रह गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश कार्यालय स्वास्थ्य कार्यालयले सो भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि तयारी गर्न फागुन २९ र ३० गते दशवटै पालिका प्रमुखहरुलाई भेला गर्न लागिएको स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाले जानकारी दिए । भाइरसबाट बच्न हात नमिलाउन बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आग्रह गरेका छन् । उनले नियमित साबुन पानीले हात धुने, घर पालुवा पशुपन्छीको सम्पर्कबाट टाढा रहने, हाछ्यु गर्दा मुख छोप्नुपर्ने तथा मासु तथा अण्डा राम्ररी पकाएर मात्र खानुपर्ने बताए ।
काेराेना असरः ९ महिनालाई पुग्ने औषधी स्टकमा, मूल्य १० प्रतिशतसम्म बढ्न सक्ने
काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएसगै नेपाली बजारमा औषधि अवस्था के हुने भन्ने चिन्ता बढेकाे छ । विश्वव्यापी महामारीकाे रूपमा देखिएकाे काेराेना भाइरसका कारणा भारतले औषधी निर्यातमा राेक लगाएकाे हाे । तर, नेपाल औषधी उत्पादक संघले भने नेपालमा औषधीकाे अभाव नहुने बताएकाे छ । नेपाली कम्पनीबाट उत्पादित औषधीले करिब १ वर्षसम्मको आन्तरिक माग धान्न सक्ने संघकाे भनाइ छ । संघका अध्यक्ष दिपकप्रसाद दाहालले बजारमा औषधी अभाव नहुने जानकारी दिए । ‘बजारमा औषधीकाे अभाव हुन्छ कि भन्ने चिन्ता हामीले पनि सुनेका छाैं, तर आत्तिनु पर्ने अवस्था छैन,’ अध्यक्ष दाहालले भने । क्वेष्ट फर्मास्यूटिकल्स प्रबन्ध निर्देशक तथा उद्योग बाणिज्या महासघंका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भारतले औषधीको निर्यातमा प्रतिबन्ध लगाउदैमा नेपाली उत्पादन नै नहुने वा बजारमा औषधीकाे अभाव नहुने बताए । ‘औषधी उत्पादनका लागि कच्चा पदार्थ भारतमा मात्रै पाइने भन्ने हैन, अन्य देशहरुबाट पनि कच्चा पदार्थ ल्याएर औषधी उत्पादन गर्न सकिन्छ, हामीसगँ भएको कच्चा पदार्थबाट औषधी उत्पादन गर्दा पनि करिब १ वर्ष धान्छ,’ श्रेष्ठले भने । देउराली जनता फर्मास्यूटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले निजी क्षेत्र र सरकार मिलेर अगाडी बढ्न सकिने बताए । एउटा क्षेत्रले मात्रै लागेर आत्मनिभर बनाउन कठिन हुने उनकाे भनाइ छ । तर, उनले औषधीकाे मूल्य बढ्न सक्ने जानकारी गराए । ‘कोरोनाको असरले नेपाली बजारमा औषधीकाे मूल्य ५ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्छ,’ शर्माले भने । औषधिमा भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्स सहित अन्य २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोरोनाविरुद्ध लडाईंकाे क्रममा आवश्यक पर्ने औषधी निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । औषधि व्यवस्था विभाका सूचना अधिकारी सन्तोष केसीले नेपालमा रहेको स्टक औषधीले आगामी ५ महिना र कच्चा पदार्थबाट औषधी उत्पदा गर्दा ४ महिना धान्ने बताए । भारतले गरेको निर्णय कडाइसाथ लागू भए पनि आउँदो तीन/चार महीनासम्मको लागि नेपाली बजारमा औषधिको अभाव नहुने उनको दाबी छ । नेपालले आवश्यक अधिकांश औषधी भारतबाट आयात गर्दै आएको छ । त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधी र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने आकलन गरिएकाे छ । भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ । प्रतिबन्ध लगाउने निर्णय गरेको भोलिपल्ट, २१ फागुनदेखि नै भारतले सीमानाकामा औषधि रोक्न थालेको छ ।