म्याद गुज्रेका औषधि बरामदसँगै विभागले लियाे नियन्त्रणमा

विराटनगर । औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरि औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । विभागले आइतबार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो । विराटनगर महानगरपालिका–९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्का जानकारी दिए । फार्मेसीका सञ्चालक विकास मण्डलले नष्ट गर्नका लागि छुट्टै कोठामा राखेको औषधि विभागले बरामद गरेको बताए । यसैगरी अनुगमनका क्रममा आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिएको छ । प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ । रासस

सुदूरपश्चिमका सात स्थानमा कोरोना भाइरस जाँच कक्ष स्थापना

भीमदत्तनगर ।  सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने यात्रुको स्वास्थ्य जाँच थालिएको बताए। “दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा डेस्क सञ्चालनमा आएको छ”, प्रवक्ता खड्काले भने, “गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ ।” उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको जानकारी दिएका छन् । सामाजिक विकास मन्त्रालयले गत माघको तेस्रो साता कोरोना भाइरस प्रतिकार्य तयारीका लागि नीतिगत निर्णयसमेत गरेको थियो । सुदूरपश्चिममा रहेका सरकारी तथा गैरसरकारी अस्पतालमा जाँचका लागि तयारी योजनासमेत बनाउन पहल भएको छ । त्यसैगरी कञ्चनपुरको गड्डाचौकी सीमा क्षेत्रमा तैनाथ भारतीय सुरक्षा निकायले पनि नेपालबाट भारत जाने सर्वसाधारणलाई मास्क लगाउन अनिवार्य गर्नुका साथै सीमामा शङ्कास्पद लक्षण देखिए स्वास्थ्य जाँचसमेत गर्दै आएको छ । रासस

अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । अब त्रिभुवन विमानस्थलबाट आवत-जावत गर्ने प्रत्येक यात्रुको स्वास्थ्य परीक्षण गरिने भएकाे छ । आइतबारबाट लागु हुने गरी विमानस्थलबाट आवत-जावत गर्ने यात्रुकाे स्वास्थ्य  परीक्षण गरीने बताइएकाे छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमकाे सूचिमा राखेसँगै नेपालले सतर्कता अपनाएकाे हाे । अब सबै एयरलाइन्सबाट नेपाल भित्रने यात्रुको व्यक्तिगत रुपमा हेल्थडेस्कले जाँच गर्नेछ । यसअघि आगमन कक्षमा थर्मल स्क्यानरबाट क्यान गर्ने र स्क्यान गर्दा १०० डिग्री फरेनाहाइटभन्दा बढी तापक्रम देखिएका यात्रुलाई थप जाँचका लागि अस्पताल लैजाने गरिएको थियो ।