भारतले प्रतिबन्ध लगाएको औषधी बङ्लादेशबाट आयात गरिने, २ करोड ट्याबलेट प्यारा सिटामोल तत्कालै ल्याइने
काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले बङ्लादेशबाट औषधि आयात गर्ने भएको छ । नेपाल औषधी व्यवसायी संघले बङ्लादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउने तयारी थालेको छ । नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले नेपालमा औषधी अभाव हुन नदिन बङ्लादेशसगँ २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भइसकेको बताए । ‘भारतले औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि हामीले बङ्लादेशका औषधी उत्पादकहरुसगँ बसेर औषधी आयातको लागि सहमति गरिसकेका छौं, नेपालमा औषधीको कमि भएकाेमा हामीले बङ्लादेशबाट भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिहरु नै आयात गर्न सिकेन छऽ’ श्रेष्ठले भने । उपभोक्ताले आफुलाई चाहिनेभन्दा धेरै औषधी किनेर नराख्न समेत श्रेष्ठ आग्रह गरे । औषधी खाद्यान्न जस्तो नभएकाेले र यसकाे डेट सकिए पछि प्रयोग गर्न नसकिने हनाले किनेर नराख्न आग्रह गरेका हुन् । भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्ससहित अन्य २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो । कोरोनाविरुद्ध लडाईंको क्रममा आवश्यक पर्ने औषधी निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । नेपालले आवश्यक अधिकांश औषधी भारतबाट आयात गर्दै आएको थियो । त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधी र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव रोक्न बङ्लादेशबाट औषधी आयात गर्न लागिएको हो । भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ ।
नेपाल चेम्बर अफ कमर्सले दिनमा २० हजार माक्स उत्पादन गर्ने, प्रतिपिसको मूल्य ७ रुपैयाँ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सर्जिकल माक्स उत्पादन गर्न शुरु गरेको भएको छ । बजारमा माक्सको अभाव भएपछि चेम्बर अफ कमर्सले आफै माक्स उत्पादन गर्ने निर्णय गरेर बिक्रि गर्न पनि शुरु गरेको हो । चेम्बरले दैनिक २० हजार माक्स उत्पादन गर्ने जनाएको छ । बजारमा उपभोक्ताको मागलाई मध्येनजर गर्दै सुपथ मूल्य ७ रुपैयाँमा माक्स बिक्री गर्ने जनाएको हो । हाल विश्वभर कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढेसँगै माक्सको माग पनि बढेको छ । नेपालमा पनि माक्सको कृतिम अभाव दैनिक बढ्दो छ । यसलाई मध्येनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले माक्सको उत्पादन थाल्ने निर्णय गरेको बताएको छ । चेम्बरले व्यवसायी दिपक मलहोत्राको संयोजकत्वमा कोरोनाका कारण बजारमा उत्पन्न हुने समस्यामा सहयोग गर्न कमिटि नै गठन गरिसकेको छ । उनीहरुले बजारमा माक्सकाे अभाव नहुने हिसावले माक्सकाे उत्पादन गर्ने बताइएकाे छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बजारमा भएको माक्स अभावलाई मध्येनजर गर्दै संस्थाका सदस्यहरु मिलेर सर्जिकल माक्स उत्पादन गरेर विक्रि गर्न थालेको बताए ।
झापाको आम्दा अस्पताल बन्द हुने अवस्थामा
भद्रपुर । पूर्वोत्तर झापाको १५ श्ययाको आम्दा मेची अस्पताल स्थानीय तह र समुदायको बेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको छ । जापान सरकारले रु ९८ लाख र मेचीनगर नगरपालिकाले रु ५० लाख अनुदान दिएपछि स्थानीय वीरेन्द्र खनाल, नरेन्द्र खनाल र पदमा खनालले प्रदान गरेकाे जग्गामा सो अस्पताल निर्माण भएको थियो । आम्दा नेपाल, मेचीनगर नगरपालिका र मेची उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय सम्झौताअनुसार विसं २०६५ मङ्सिर २० गते सञ्चालनमा आएको थियो । सम्झौतामा तीनवटै निकायको सहमतिमा अस्पताल सञ्चालन गर्ने भनिएको थियो । तर केही वर्ष नबित्दै समुदाय र सम्झौताका पक्षहरुको बेवास्ताले अस्पताल आफैँ बिरामीजस्तो भएको छ । स्थापनाकालमा मेचीनगर नगरपालिकाको काँकडभिट्टा, धुलावारी, ज्यामिरगढी, दुहागढी, बाहुनडाँगी र धाइजन, बुद्धशान्ति गाउँपालिकाको बुधबारे र शान्तिनगर तथा इलामको रोङ गाउँपालिकाका दुई लाख जनसङ्ख्यालाई भरपर्दो स्वाथ्योपचार सेवा पुर्याउने यो अस्पतालको लक्ष्य थियो । साझेदारमध्येको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले स्थानीय सरकारको उपेक्षाले अस्पताल रुग्ण अवस्थामा पुगेको बताउँछन् । “सहयोगहरु कटौती हुँदै गयो, त्यसैकारण अस्पतालले जनशक्ति व्यवस्थापन र आधुनिक उपकरणसहितको सेवा पुर्याउन नसकेको हो”, उनी भन्छन्, “भवन, जग्गालगायतको पर्याप्त भौतिक संरचना भएको हुँदा यसलाई फेरि व्यवस्थित गर्ने योजना अघि बढिरहेको छ ।” स्थानीय सरकारको भूमिकामा रहेको मेचीनगर नगरपालिकाले अस्पताललाई वार्षिक अनुदान दिन कञ्जुस्याइँ गरेको उनको आरोप छ । मठमन्दिर, सभाहलका नाममा करोडौँ बजेट दिने नगरपालिकाले नगरको गौरवको रुपमा रहेको यो अस्पताल सञ्चालनका लागि वर्षेनी करोडभन्दा बढी अनुदान दिनुपर्ने अध्यक्ष तिम्सिनाले बताए । अस्पतालका प्रशासन सहायक प्रमुख उज्ज्वलतारा थापाले स्वास्थ्य जाँचका आधुनिक उपकरण र प्रयोगशालाका सामग्री नभएका कारण विरामी आउन छाडेको जानकारी दिए । केही समयदेखि एक मेडिकल अफिसरसहित तीन स्वास्थ्यकर्मीले अस्पताल धानिरहेको र विगतमा आफैँले सञ्चालन गर्दै आएको फार्मेसी हाल निजी क्षेत्रलाई दिइएको उनले बताए । दाताबाट प्राप्त अस्पतालको एम्बुलेन्स पाँच वर्षदेखि बिग्रिएर थन्किएको छ । मर्मत गरेर पनि नचल्ने स्थिति भएको हुँदा कवाडीको मूल्यमा बेच्नुपर्ने अवस्था आएको प्रशासन सहायक प्रमुख थापा बताउँछन् । अस्पतालले आव २०७२/७३ मा एक हजार १७०, २०७३/७४ मा एक हजार ८६३, २०७४/७५ मा ७१८, २०७५/७६ मा एक हजार ८६५ र चालू आव २०७६/७७ को माघ मसान्तसम्ममा दुई हजारभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पतालका सञ्चालक समितिका अध्यक्षसमेत रहेका मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य आम्दा नेपाल पक्षले स्वामित्व हस्तान्तरण गरेमा नगरपालिका सम्पूर्ण व्ययभार बहन गरेर अस्पताल चलाउन तयार रहेको बताउँछन्। उनले रुग्ण अवस्थाको मेची आम्दालाई चलायमान बनाउन स्वास्थ्य बीमा कार्यक्रम लागू गरेर अघि बढ्न सकिने विकल्प रहेको जनाउँदै नगरपालिकाको नाममा स्वामित्व हस्तान्तरण भएमा प्रदेश र सङ्घीय सरकारसँग अनुदान मागेर अस्पताल सञ्चालन गर्ने आफ्नो सोच रहेको जानकारी दिए । मेचीनगर–१० धुलाबारीमा फराकिलो परिसरमा रहेको सो अस्पतालमा दुईतलाको भव्य भवन रहेको छ । इमर्जेन्सी, ओपिडी, गाइनो, सर्जरीलगायतका विभिन्न छुट्टै वार्डहरु भएका कारण अस्पताललाई पुनःसञ्चालन गराउन भौतिक पूर्वाधार पर्याप्त हुन्छ । हाल पहिलो तलामा सबै वार्डहरु रहेको र माथ्लो तला पूरै खाली रहेको पाइएको छ । स्थानीय सरकार र सरोकारवाला पक्षहरुले चरम बेवास्ता गरेर अस्पताल बन्द हुने अवस्थामा पु¥याएको भन्दै दाता परिवारले चिन्ता प्रकट गरेका छन् । दाता परिवारका सदस्य लीला खनालले राम्रो अस्पताल बन्ने र लाखौँ झापावासीले स्तरीय उपचार पाउने विश्वासका साथ दाताले करोडौँ मूल्य पर्ने जग्गा दानमा दिएको स्मरण गराउँदै अहिले बेवारिसे अवस्थामा पुर्याएको देख्दा दुःख लागेको बताए । उनले प्रदेश र सङ्घीय सरकारको समेत यसमा ध्यान जानुपर्ने बताउँछन् । रासस