चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

चितवन । जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको हो । केन्द्रका सदस्य एवं स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार कुल सङ्क्रमितमध्ये २५४ चिकित्सक तथा स्वास्थ्यकर्मी रहेका छन । यो सङ्ख्या आजसम्म सङ्क्रमित सङ्ख्याको २० प्रतिशत हुन आउँछ । सङ्क्रमित चिकित्सक तथा स्वास्थ्यकर्मीको परिवारमा कम्तीमा थप एक व्यक्ति सङ्क्रमित भएको पाइएको उनले बताए । यसलाई हेर्दा सङ्क्रमित व्यक्तिको ४० प्रतिशत हुन आउँछ । त्यसबाहेक सङ्क्रमित अन्य १०१ ले समेत आफूलाई अस्पतालमा उपचारका लागि जाँदा वा बिरामीको कुरुवा भएर बस्दा सङ्क्रमण भएको बताएको उनले जानकारी दिए । तिवारीले भने, “जिल्लामा जम्मा सङ्क्रमणको ५० प्रतिशत हिस्सा अस्पतालहरुको रहेको पाइयो ।” अध्ययनका क्रममा उद्योग, व्यापार, होटल, फलफूल, तरकारी पसल वा अन्य व्यवसाय गर्ने १११ मा सङ्क्रमण देखिएको छ । कलकारखाना, होटल, इन्टरप्राइजेज वा व्यवसायमा देखिएको सङ्क्रमण बढ्दो क्रममा रहेको छ । घर भाडामा एकै घरमा धेरै व्यक्ति बस्ने, एउटै शौचालय प्रयोग गर्नेहरुमा सङ्क्रमण फैलिएको पाइएको छ । अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा भनिएको छ, “पसलको सामान ढुवानी गर्ने, सामान बेच्ने, तरकारी बजार जाने, सवारी चालक, कोभिड परीक्षण नगरी बाहिरबाट आएका कामदार, जिल्ला बाहिर गएर आएका र अग्रभागमा रहेको प्रत्यक्ष सेवा दिने बैंक, वित्तीय संस्था, विद्युत् प्राधिकरणका कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ ।” अध्ययनले अस्पताल उच्च जोखिममा देखिएपछि कोभिड सङ्क्रमण फैलन नदिनका लागि आन्तरिक कार्ययोजना बनाएर काम गर्ने विषयमा जिल्लामा रहेका अस्पतालसँग छलफल भइसकेको तिवारीले जानकारी दिए । सङ्क्रमण फैलिन नदिन अस्पतालमा जाँदा बिरामीको साथमा एक कुरुवा मात्र पठाउनुपर्ने, कुरुवा फेरिन नहुने, अस्पतालमा उपचारका लागि गएका र कुरुवा बसेका व्यक्तिहरु कम्तीमा एक हप्ता होम क्वारेन्टिन पालना गरी बस्ने र अन्य व्यक्तिको सम्पर्कमा नजान केन्द्रको सुझाव छ । परिवारका सदस्यहरुलाई अन्य सामान्य अवस्थामा जस्तो साथीभाइसँग हिँडडुल, घुमफिर नगर्न, बजारमा घरभाडामा बस्ने व्यक्तिहरुले आफ्नो घरमा भाडामा बस्ने र घरधनी व्यक्तिहरु सङ्क्रमणको जोखिम हुने गरी अन्यत्र आवतजावत गरे/नगरेको यकिन गर्नुपर्ने सुझाव दिइएको छ । रोग नियन्त्रणका लागि पसलमा बसेर सामान बेच्दा सामान किन्न आउने ग्राहकसँग सावधानी अपनाउन, मास्क लगाउन, पैसा लिँदा अलग्गै टोकरीमा राख्नेजस्ता व्यवस्था मिलाउन केन्द्रको सुझाव छ । सब्जीमन्डीमा हुने भीडभाड नियन्त्रण गर्नुपर्ने, उद्योगमा बाहिरबाट कामदार ल्याउँदा स्वास्थ्य परीक्षण गराएर मात्र उद्योगमा प्रवेश गराउन, कच्चा पदार्थ ल्याउँदा र तयारी सामग्री बाहिर पठाउँदा हुने लोडअनलोडबाट सङ्क्रमण नभित्रिने गरी प्रबन्ध मिलाउनुपर्ने, विद्युत् मर्मत सेवा, सरकारी कार्यालय र बैंकहरुमा अग्रभागमा बसेर ग्राहकलाई सेवा दिने व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने केन्द्रको सुझाव रहेको सदस्य तिवारीले जानकारी दिए । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहितको जिल्लाको उच्चस्तरको समितिले विस्तृत अध्ययन गरेर कोरोना फैलिएको क्षेत्रको पहिचान गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह गरेको हो । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ भने १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भइसकेको छ । बाहिरी जिल्लाको सहित यो सङ्ख्या २९ पुगेको छ । रासस

उपत्यकामा ५१२ जना काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय १२ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय १२ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् । संक्रमितहरु काठमाडौंको ४४०, ललितपुरको २९ र भक्तपुरको ४३ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा  हजार १० हजार २६, ललितपुरका ११९१  र भक्तपुरमा १०३१ संक्रमित पुगेका छन्। आज देशभर ११७० संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

नेपालभर ११७० जना काेराेना संक्रमित थपिए, १५ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११७० जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ८ सय ९२ जना रहेका छन् भने आजसम्म ८ लाख ५१ हजार ४ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ८७९ जना निकाे भएसँगैं हालसम्म ३९ हजार ५ सय ७६ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३६० पुगेकाे छ ।