कांग्रेस महामन्त्री कोइराला ओम अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पताल स्रोतले कोइराला शनिबार डिस्चार्ज भएकाे जानकारी दिएकाे हाे । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका उनी अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका थिए ।
१५ श्ययाको नगर अस्पताल बनाउँदै वीरेन्द्रनगर
सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगर अस्पताल बनाउन लागेको छ । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीलाई नगर अस्पताल सञ्चालनका लागि तयारी गरिएको छ । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार कटकुवा स्वास्थ्य चौकीलाई अस्पतालका रुपमा सञ्चालन गर्न लागिएको हो । लामो समयदेखि सुर्खेत जिल्ला अस्पताल सञ्चालन गरिएकामा पछिल्लो समय स्वास्थ्य चौकीका रुपमा सञ्चालन हुँदै आएको थियो । सुर्खेत जिल्ला अस्पतालको स्तरवृद्धि भएर तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्तरवृद्धि भएपछि उक्त स्थानमा स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको थियो । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कर्णाली प्रदेश सरकार स्थापना भएपछि प्रदेश अस्पतालका रुपमा सङ्घीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश राजधानी भएको नगरपालिकामा हाल कोरोनाका बिरामीहरु बढ्न थालेपछि तत्काल कोरोनाका बिरामीहरुको व्यवस्थापन गर्न आइसोलेसनका रुपमा प्रयोग गर्ने र दीर्घकालीन रुपमा पाँचदेखि १५ श्ययाको नगर अस्पताल बनाएर सञ्चालन गरिने वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिए । वीरेन्द्रनगरको सिटी बसपार्कमा सञ्चालित आइसोलेसनलाई सारेर कटकुवा स्वास्थ्य चौकीमा आइसोलेसन राख्ने तयारी भएको उपप्रमुख ढकालले बताए । उनका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल ४० श्ययाको आइसोलेसन अस्पताल बनाउनेछ । कटकुवा स्वास्थ्य चौकीको भवन निर्माणको काम सकिएकाले बसपार्कमा बनाएको आइसोलेसनलाई सारेर कटकुवामै आइसोलेसन अस्पताल सञ्चालन गरिने छ । बिरामीको चाप बढेपछि नगरपालिकाले वीरेन्द्रनगरको सिटी बसपार्कमा अस्थायी आइसोलेसन बनाएको थियो । नयाँ बसपार्कमा चलिरहेको कोरोना सङ्क्रमित राख्ने आइसोलेसन अस्पताललाई कटकुवा सारेर तत्काल कोरोना अस्पताल बनाउने र कोरोना नियन्त्रणपछि नगर अस्पतालका रुपमा पूर्वाधार विकास गरिने नगरपालिकाले जनाएको छ । सिटी बसपार्कको आइसोलेसनलाई कटकुवा सारेपछि मङ्गलगढीमा रहेको अस्थायी बसपार्कलाई सिटी बसपार्कमा सारेर सञ्चालन गर्ने नगरपालिकाले तयारी गरेको छ । रासस
डा. सन्दुक रूइतलाई सरकारले सुप्रसिद्ध प्रवल जनसेवा श्रीले सम्मान गर्ने
काठमाडाैं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रूइतलाई सरकारले संविधान दिवसको अवसरमा सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको छ। सरकारले संविधान दिवसको अवसरमा रुइतलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री (प्रथम)बाट सम्मान गर्ने भएको हाे । रुइतसँगैं ५ सय ९४ जनालाई सरकारले विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ।