गण्डकीमा डेङ्गुका १०५ र स्क्रब टाइफसका ५४ बिरामी

कास्की । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ । कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्र्देशनालयले गत वर्ष पुष १६ गतेदेखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ । म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यस अवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ । कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक÷एक जना डेङ्गुका बिरामी भेटिएका छन् । त्यसैगरी बागलुङमा छ, नवलपरासीमा तीन र कास्कीका दुई जनामा स्क्रबटाइफस देखिएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । डेङ्गुको नियन्त्रण गर्न र सङ्क्रमण फैलिन नदिन स्वास्थ्य संस्थामार्फत ‘खोज र नष्ट गर’ अभियान तथा सरसफाइका कार्यक्रमहरु शुरु गरिएको उनको भनाइ छ । डेङ्गु ‘एडिस’ लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । वर्खा लागेसँगै लामखुट्टेले जमेका पानीमा फुल पार्ने गर्दछ र यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नीहरु दुख्ने, शरीरमा बिमिराहरु देखापर्ने लगायतका लक्षणहरु यसमा देखिन्छन् । डेङ्गुको उपचार हालसम्म पत्ता लाग्न सकेको छैन । स्क्रब टाइफस किराबाट मानिसमा सर्ने सरुवा रोग हो । यसको सङ्क्रमित बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना आउने, झाडापखाला लाग्नेलगायत लक्षण देखिने भएकाले यसबाट जोगिन घरबाहिर जाँदा पूरै शरीर ढाकिने कपडा लगाउन चिकित्सकले सुझाव दिने गरेका छन् । रासस

कालिकोट कोरोनामुक्त

मान्म । कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए । कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए । जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ । रासस

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला ओम अस्पताल भर्ना

काठमाडौं । कोरोना संक्रमण भएका कांग्रेस महामन्त्री डा. शशांक कोइराला ओम अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि घरमै आइसोलेसनमा बसेका उनी अचानक ज्वरो आएपछि सोमबार राति अस्पताल भर्ना भएका हुन् । अस्पतालले दिएको जानकारीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर छ । उनको उपचारमा ओमका मेडिकल डाइरेक्टर सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा.विश्वनाथ कोइरालाको नेतृत्वको चिकित्सक टोली संलग्न रहेकाे अस्पतालले जनाएकाे छ ।