नेपालमा १३२५ जना काेराेना संक्रमित थपिए, १० जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ७ सय ३५ जना रहेका छन् भने आजसम्म ९ लाख १४ हजार २ सय ९० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ९६६ जना निकाे भएसँगैं हालसम्म ४६ हजार २ सय ३३ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १० जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ४११ पुगेकाे छ ।
कोरोनाबाट विदेशमा २४४ नेपालीको निधन
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए । समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन् । कोरोनाका कारण हालसम्म अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स ९युएई०, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीले ज्यान गुमाएका छन् । विदेशमा अलपत्र ६९ हजार नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको जनाइएको छ । रासस
अब दुई घण्टामा पिसिआरको नतिजा
चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले ¥यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा गएको एक महिनामा पाँच हजार २९२ जनाको कोरोनाको पिसिआर परीक्षण गरेको छ । तीमध्ये ९५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कलेजले गत भदौ ३ गतेबाट पिसिआर परीक्षण थालेको हो । कलेजका सञ्चार संयोजक डा किशोर अधिकारीका अनुसार सङ्क्रमितमध्ये ५५६ जना पुरुष र ३९७ जना महिला रहेका छन् । कूल सङ्ख्यालाई हेर्दा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमण भई अस्पतालमा उपचाररतमध्ये हालसम्म १३ जनाको मृत्यु भएको छ । अस्पतालले २२१ जना सङ्क्रमितको उपचार गरिसकेको जनाएको छ । हाल अस्पतालमा ९७ जना उपचाररत रहेका छन् । उहाँका अनुसार तीनजना भेन्टिलेटर र ४३ जनाको कोभिड सघन उपचार कक्षमा उपचार भइरहेको छ । अन्यको अवस्था सामान्य छ । अस्पतालमा उपचारका क्रममा रहेकामध्ये ४५ पुरुष र ५२ महिला रहेका छन् । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चार करोडभन्दा बढी खर्च गरेर प्रयोगशाला स्थापना गरिएको जानकारी दिए । नेपालमा नै निजी क्षेत्रबाट कोरोना रोगको परीक्षण र उपचारमा आफ्नो मेडिकल कलेजको भूमिका नेतृत्वदायी भएको उनको भनाइ छ । सरकारको निजी क्षेत्र प्रतिको धारणा सकारात्मक हुन सकेमा रोग नियन्त्रण र उपचारमा निजी क्षेत्रले थप योगदान गर्न सक्ने उनले जानकारी दिए । कलेजले हाल दुई हजारमात्र लिएर पिसिआर परीक्षण गर्दै आएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा परीक्षण गर्न ढिला भएका नमूनाहरुको परीक्षण पनि कलेजले गर्दै आएको छ । स्वास्थ्य बीमा पिसिआर परीक्षणमा लागू भएमा सहज हुने निर्देशक डा. न्यौपाने भनाइ छ । जिल्लामा भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालामा नमूना परीक्षणको काम भइरहेको छ ।रासस