शहरी क्षेत्रमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक

चितवन । जिल्लाको शहरी क्षेत्रमा अप्राकृतिकरूपमा जमेको पानी मानव स्वास्थ्यका लागि हानिकारक हुने जानकारहरुले बताएका छन् । सरुवा रोगहरु फैलिन सक्ने भएकाले मानव स्वास्थ्यका लागि खतरा हुने उनीहरुले औँल्याएका हुन् । बर्सात शुरु भएयता भरतपुर महानगरपालिकाको वडा नं. १०, ११, १२, ७ लगायतका मुख्य शहरी क्षेत्रमा पानी जमेको छ । घरहरुका बीचबीचमा जमेको पानी तलाउ जस्तै देखिन्छन् । वरिष्ठ फिजिसियन डा विजय पौडेल अप्राकृतिकरूपमा जमेको पानीले महामारीसमेत ल्याउनसक्ने बताउँछन् । जमेको पानीमा शौचालय, स्नानगृहलगायतका पानी समेत मिसिन सक्ने भन्दै उनले भने, “यसले झाडापखाला लगायतका महामारी रोग निम्त्याउन सक्छ ।” उनका अनुसार डेङ्गु, टाइफाइड, भाइरल र ब्याक्टेरियल रोगहरु जमेको पानीबाट फैलिन सक्दछन् । जमेको प्रदूषित पानीले वातावरणसमेत असन्तुलित हुने उनको भनाइ छ । मौसम परिवर्तनको यो समयमा मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुने भन्दै उनले यस्तो बेला रोग फैलिन सम्भावना बढी रहनेतर्फ सचेत गराए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी पानी जम्ने समस्याले लाखुट्टेको सङ्ख्या बढ्ने बताउँछन् । लामखुट्टेको टोकाइबाट हुने रोगको प्रकोप हुन सक्ने भन्दै उनले भने, “डेङ्गु, कालाजार, मलेरिया, आउँ, झाडापखाला, हैजा जस्ता रोगहरु फैलिन सक्छन् ।” पानीले भरिएपछि जमिनमुनि रहेका मुसा, घरमा गएर टाइफस फिबर सार्न सक्ने खतरा रहेको उनले बताए । तिवारीले अहिले जमेको पानी अस्पतालजन्य र अन्य फोहोरसमेत मिसिएकाले यो पानी रसाएका र फुटेका खानेपानीको पाइपहरुबाट मिसिएर घरघरमा पुगेमा थप जोखिम हुन सक्ने जानकारी दिए । यसअघि पनि चितवनमा टाइफाइडको प्रकोप देखिएको भन्दै जोखिम रहेको उनले बताए । भाँडाकुँडा, टायरहरुमा जमेका पानीबाट डेङ्गु फैलिन सक्ने खतरा तिवारीले औँल्याए । हालसम्म समस्या नदेखिएको भए पनि सम्भावना नटरेको तिवारी बताउँछन् । भरतपुर–१२ का स्थानीय समाजसेवी शालिग्राम शर्मा जमेको पानीले मानव बस्तीमा दुर्गन्ध फैलिएको बताउँछन् । झारपात कुहिएर, किराफट्याङ्ग्रा मरेर पानी फोहोर भएको भन्दै उनले सर्प, मुसालगायतका जीव जमिनबाट बाहिर निस्किएर घरहरुमा पस्ने समस्या आएको बताए। उनले भने, “घरमै बस्दासमेत नाक थुनेर बस्नुपर्ने अवस्था छ ।” विज्ञहरुले अस्पताल क्षेत्रमा पानी जम्दा सङ्क्रमण फैलिन सक्ने चिन्ता व्यक्त गरेका हुन् । पानी जमेको यसै क्षेत्रमा सङ्घीय सरकारी भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेज, दुई दर्जनभन्दा बढी निजी अस्पताल, आँखा अस्पताल रहेका छन् । यी अस्पतालमा चितवनसहित १८ भन्दा बढी जिल्लाबाट नियमित बिरामी आउने गर्दछन् । ती अस्पतालहरुमा अहिले भयावह बन्दै गएको कोरोनाका सङ्क्रमितसमेत छन् । उनीहरुले प्रयोग गरेको मलमूत्र र फोहोरसमेत पानीमा मिसिन सक्ने खतरा रहेको छ । रासस

‘कोरोनामुक्त भएपनि समाजले हेर्ने दृष्टिकोण संक्रमितलाई जस्तै’

सर्लाही। जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका–२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गरिन् । उनले भनिन्, “घर परिवारका मानिसदेखि समाजका अरु व्यक्तिले पनि गर्ने व्यवहार निकै फरक हुँदोरहेछ, मेरा दुई छोरा छन्, उनीहरु पनि तपाईलाई कोरोना लागेको होइन, अलि पर बस्नुस् भन्छन् ।” उनले भनिन्, “म महिला सञ्जालमा काम गर्छु, समाजमा सबै खालका मुद्दाहरु आइरहन्छन् । समाजमा धेरै दिदीबहिनीसँग भेट हुन्छ, समाजमा सँगै बसिन्छ । एक दिन अचानक मलाई कमजोर महसुस भयो । अनि जाँच गराउँदा कोरोना भएको रहेछ । त्यसपछि घरमा आएर तीन दिन जति छुट्टै घरमा क्वारेन्टिनमा बसेँ । त्यही बेला स्वाब परीक्षणको रिपोर्ट आयो । शङ्का त लागेको थियो तर कमजोरी होला भन्ने सोचेकी थिएँ तर फ्याट्ट कोरोना देखियो ।” त्यसपछि लालबन्दी नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा दुई सातासम्म उपचार गर्न बस्दा व्यक्तिगत सरसफाइ र खानपिनले नै कोरोनालाई जितेको उनको अनुभव छ । बेला–बेलामा तातोपानी र बेसारपानी खाएको उनले सुनाइन् । कोरोनालाई सामान्य सोच्नु नहुने बताउँदै उनले बिरामीको उपचारमा स्वास्थ्यकर्मीले सोचेभन्दा बढी सहयोग गरेको वान्तवाको भनाइ छ । लालबन्दी नगरपालिका–८ का वडाध्यक्षसमेत रहनुभएका ३५ वर्षीय राजनकुमार श्रेष्ठ पनि तातोपानी बेसार, जिरा र अदुवा पानी खाएर आफूले कोरोनालाई जितेको बताउँछन् । उनले भने, “कोरोना लाग्नेबित्तिकै शुरुमा निकै डर लागेको थियो, तर डराउन नहुने रहेछ । लागिहाले आत्तिहाल्नुपर्ने अवस्था हुँदोरहेनछ । कोरोना भनेको केही होइन रहेछ ।” कोरोना लागेपछि घरबाहिर समाजका व्यक्ति टाढा नै हुन खोज्ने पाएको बताउँदै उनले आफूले पनि अरु कोरोना सङ्क्रमितहरुसँगै आइसोलेनसनमै बसेर उपचार गरेको र आइसोलेसनमा बस्दा अरु कोरोना सङ्क्रमितको मनोबल नघटोस भनेर रमाइलो गरेको बताए । जिल्लामा करिब दुई हजार २०० को हाराहारीमा कोराना सङ्क्रमण देखिएको भए पनि लालबन्दीमा ८४ जनामा मात्र कोरोना सङ्क्रमण देखिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । अहिले जिल्लाको एक मात्र नगरपालिका लालबन्दीमा कोरोना सङ्क्रमणका बिरामी एक जना पनि नरहेको नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्रकुमार खतिवडाले बताए । नगरमा देखिएका ८४ कोरोना सङ्क्रमित सबै कोरोना जितेर घर गइसकेका नगरपालिकाले जनाएको छ । रासस

नेपालभर ११५४ जना काेराेना संक्रमित थपिए, १६ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४  जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ । हाल क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन् भने आजसम्म ९ लाख २३ हजार ८ सय २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १००५ जना निकाे भएसँगैं हालसम्म ४७ हजार २ सय ३८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १६ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ४२७ पुगेकाे छ ।