रसुवामा कोरोना सङ्क्रमित शून्य

रसुवा । जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए । क्वारेन्टिनमा भने पटक पटक गरी ४७३ जना राखिएको थियो । अहिले ती सबै आआफ्ना घर गइसकेको जनाइएको छ । अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पिसिआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताए । जिल्लामा ४४ हजार जनसङ्ख्याका लागि दुई अस्पताल, दुई आइसोलेशन र १८ स्वास्थ्य केन्द्र छन् । केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधिसमेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीयवासी थप सजग हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विश्वास व्यक्त गरे । रासस

भरतपुर अस्पतालमा रिएजेन्ट सकिएपछि नमूना काठमाडौं पठाउन थालियो

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणको रिएजेन्ट सकिएपछि मङ्गलबारदेखि प्रयोगशाला बन्द भएको छ । यहाँ सङ्कलन भएको नमूना काठमाडौं पठाउन थालिएको छ । प्रयोगशाला प्रमुख डा नीतु अधिकारीका अनुसार सोमबार रिएजेन्ट सकिएपछि यहाँ परीक्षण गर्न रोकिएको छ । मङ्गलबार मात्र ३२५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको उनले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालालगायत अन्य प्रयोगशालामा रिएजेन्ट खोज्ने काम भइरहेको अधिकारीको भनाइ छ । प्रयोगशालामा चाहिने आर एन ए एब्सट्र्याक्सन किट र पिसीआर रिएजेन्ट मध्ये रिएजेन्ट अभाव भएको हो । जिल्लामा निजी क्षेत्रमा चितवन मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पिसीआर परीक्षण गर्दै आएका छन् । ती दुवै संस्थाले शुल्क लिएर परीक्षण गर्दछन् । भरतपुर प्रयोगशालाले भने निःशुल्क परीक्षण गरिरहेको छ । गत चैत २२ गते शुरु भएको यस प्रयोगशालाले हालसम्म २५ हजारभन्दा बढी नमूनाको परीक्षण गरिसकेको छ । चितवनसहित बाहिरी जिल्लाबाट समेत नमूना परीक्षणका लागि यहाँ पठाइने गरेको छ । रासस

सुदूरपश्चिममा ७७ हजारको कोरोना परीक्षण

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत १६ हजार ३१८, डडेल्धुरा अस्पतालको प्रयोगशालामार्फत १६ हजार ६९९, जिल्ला अस्पताल डोटीको प्रयोगशालामार्फत तीनहजार ४७८ र बैतडी जिल्ला अस्पतालको प्रयोगशालामार्फत १९३ जनाको कोरोना परीक्षण भएको छ । निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ८० हजार ९७ जनाको स्वाब सङ्कलन गरिएकामा एक हजार ४०९ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म परीक्षण गरी झण्डै नौ प्रतिशत अर्थात् छ हजार ९०० मा कोरोना पुष्टि भएको छ । सबैभन्दा बढी कैलालीमा दुई हजार ११०, डोटीमा एक हजार ५०, अछामका ९९४, कञ्चनपुरमा ७७५, बाजुरामा ६३०, बझाङमा ५१९, बैतडीमा ३८९, डडेल्धुरामा ३४८ र दार्चुलामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका पाँच ७६७ बढीले कोरोना जितेका छन् भने १५ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कैलालीमा एक हजार ६८७, डोटीमा ९३४, अछाममा ९१२, कञ्चनपुरमा ७१२, बाजुरामा ४४२, बझाङमा ३८८, बैतडीमा ३२६, डडेल्धुरामा ३१६ र दार्चुलामा ४५ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ हजार ९०० नाघेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भइसकेको छ । रासस