नेपालभर १४९७ जना काेराेना संक्रमित थपिए, १७ जनाकाे मृत्यु
काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६९ हजार ३ सय १ जना पुगेको छ । हाल क्वारेन्टिनमा ६ हजार ५ सय ४ जना रहेका छन् भने आजसम्म ९ लाख ५५ हजार ९ सय २३ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ४५७ जना निकाे भएसँगैं हालसम्म ५० हजार ४ सय ११ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १७ जनाकाे मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ४५३ पुगेकाे छ ।
कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोरोना संक्रमण भएपछि ओम अस्पताल भर्ना भएका उनी शनिबार अस्पतालबाट डिस्चार्ज भएका थिए। स्वास्थ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहअनुसार केही दिन होम आइसोलेसनमै बस्ने गरी उनी डिस्चार्ज भएका हुन्। महामन्त्री कोइरालामा गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो लगायतका समस्या देखिएपछि भदौ ३१ गते चावहिलस्थित ओम अस्पतालमा राखिएको थियो।
बुटवल कोरोना अस्पतालमा दुईको सङ्क्रमितको मृत्यु
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुईजना सङ्क्रमितको एकैदिन आज मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलबस्तुका पुरुष रहेका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार कोरोना सङ्क्रमण भई अस्पतालमा उपचारका लागि भर्ना भएका नवलपरासी रामग्रामका नगरपालिका वार्ड नं. ३ का ३९ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचारका लागि भर्ना भएका उनलाई लामो समयदेखि कलेजोको समस्या रहेको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि असोज २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आइएको डा. थापाले जानकारी दिए । यस्तै कोरोना सङ्क्रमण भइ उपचारका लागि अस्पतालमा भर्ना भएका कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको डा थापाले जानकारी दिए । लामो समयदेखि मधुमेह र मिर्गौलाको समस्या भई उपचार गराइरहेका मृतकलाई सङ्क्रमण पुष्टि भएपछि असोज १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनमा स्वास्थ्यमा थप समस्या देखिएपछि असोज २ गते भेन्टिलेटरमा राखिएकामा आज बिहान मृत्यु भएको डा. थापाले बताए । रासस