बैतडीमा दुई स्थानीय तह सिल

बैतडी । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो । मेलौली नगरपालिकामा गाडीचालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई कोरोना पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो । मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट टे«सिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो । यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ । भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुुवै स्थानीय तहले जनाएका छन् । नगर क्षेत्र सिल गरिएकाले सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालय बन्द रहेका छन् । यस्तै सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द रहेको जनाइएको छ । यसका साथै आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउन जान पनि रोक लगाइएको छ । मेलौलीमा हालसम्म ३६ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । पुर्चौडीमा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

डाेटीमा कम हुँदै सक्रिय सङ्क्रमित

डाेटी । जिल्लामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको छ । हालसम्म कोरोना सङ्क्रमित भएका कूल १ हजार ८५ जनामध्ये ९५२ जना निको भएर घर फर्किसकेका छन् । अब जिल्लामा १३३ जना मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चौध दिन आइसोलेसनमा राखेर उपचार गरी पुनःपरीक्षण गर्दा कोरोना सङ्क्रमण नेगेटिभ देखिएका सङ्क्रमितलाई घर पठाउने गरिएको छ । सङ्क्रमण भएको दश दिनपछि कोरोना सङ्क्रमित भएका व्यक्तिले अरु व्यक्तिमा नसार्ने भएकाले यहाँका सङ्क्रमित व्यक्तिले समुदायमा कोरोना सार्न नसकेको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.प्रकाश ठकुल्लाले जानकारी दिए । सङ्क्रमित सङ्ख्या बढे पनि कोरोना निको भएर जाने बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बुधबारसम्म जिल्लाका नौ वटै स्थानीय तहबाट ३१७ महिला र ६३५ पुरुष गरी कूल ९५२ जना सङ्क्रमण निको भएर घर फर्किएका छन् । नौ स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित शिखर नगरपालिकामा देखिएका छन् । उक्त नगरपालिकामा कूल ३०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १८६ जना पुरुष र ११० महिला गरी कूल २९६ जना निको भएका छन् । एक महिला र ९ पुरुष गरी १० जनामा अझै सक्रिय सङ्क्रमण देखिएको नगरपालिका स्वास्थ्य संयोजक हरिष शाहले जानकारी दिए । रासस

पीसीआर शुल्क २ हजारभन्दा बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज हुने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज गर्ने भएकाे छ । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पीसीआर परीक्षण शुल्क बढी लिने ल्याबहरुकाे स्वीकृति खारेज गर्ने बताएका हुन् । गाैतमले ल्याबहरुलाई एकपटककाे लागि चेतावनी दिएकाे र २४ घण्टाभित्र शुल्क नघटाए कारबाही हुने बताएका छन् । गाैमले ह्याम्स अस्पताल, स्टार अस्पताल, मेडिसिटी अस्पताल, बि एण्ड बि अस्पतालहरुलाई २४ घण्टाभित्रमा सरकारले ताेकेकाे शुल्क घटाउनलाई आदेश दिएका हुन् । सरकारले हाल पीसीआर परीक्षण शुल्क घटाएर २ हजार बनाएकाे छ ।