बैतडीको पुर्चाैडी नगरपालिका सिल, सञ्चालनमा रहेका विद्यालय पुनः बन्द
बैतडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चाैडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर(बम)को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो । बैठकले सोही दिनदेखि स्वास्थ्य सेवाबाहेकका अन्य सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालयका सेवा अनिश्चितकालका लागि बन्द रहने निर्णय गरेको छ । नगरपालिकामा रहेका सबै विद्यालय, वित्तीय संस्था, सरकारी कार्यालयहरु बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए । उनले भने, “सबै प्रकारका व्यापार, व्यवसाय र यातायात सेवा पनि बन्द गर्ने निर्णय गरिएको छ, आवतजावतमा पनि पूर्णरूपमा बन्द गरिएकाले एक वडाबाट अर्काे वडामा पनि आउन जान पनि रोक लगाएका छौँ ।” भारतको बैङ्लोरबाट फर्किएका पुर्चौडी–३ का २९ वर्षीय पुरुष घर पुग्नै लाग्दा शुक्रबार स्थानीय लामाधारमा मृत फेला परेका थिए । मृत भेटिएका ती पुरुषको शनिबार गरिएको परीक्षणमा कोरोना पुष्टि भएका थियो । कोरोना पुष्टि भएपछि नगरपालिकाको बैठकले ती पुरुषको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरी परीक्षण गर्ने निर्णय पनि भएको छ । छ दिनअघि बैङ्लोरबाट हिँडेका ती पुरुष बिहीबार कैलालीको गौरीफण्टा नाकाबाट नेपाल भित्रिएको बताइएको छ । गौरीफण्टादेखि मृत भेटिएको स्थानसम्म ती पुरुषको सम्पर्कमा आएका र उनी चढेर आएका सवारी साधनका स्टाफ र यात्रुहरुको पनि कोरोना परीक्षण गरिने भएको छ । पुर्चौडीमा अहिलेसम्म २० जनामा सङ्क्रमण पुष्टि हुँदा आठ जना अझै सक्रिय सङ्क्रमित छन् । मृत भेटिएका व्यक्तिमा कोरोना पुष्टि हुँदा गाउँमा त्रास फैलिएको स्थानीय अनिरुद्र जोशीले बताए । उनले भने, “भारतबाट फर्किएर गाउँमै पुगेर कोरोनाका कारण मृत्यु भएको पुष्टि भएपछि त्रास बढेको छ ।” विद्यालयहरु पुनः बन्द पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, “नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन्, आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौँ ।” पुर्चौडी–३ का २९ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाइ छ । शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए । उनले भने, “यसअघि नगरपालिका कोरोना सङ्क्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएका थियौँ, अब नगरपालिकाले अर्को निर्णय नगर्दासम्म विद्यालय बन्द रहन्छन् ।” पुर्चौडीमा ७५ सामुदायिक विद्यालयमध्ये ३९ ओटामा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष राखिएका थियो । नगरका ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् । बैतडी जिल्लाभरि हालसम्म ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । रासस
खोटाङ कोरोना सङ्क्रमित मुक्त
खोटाङ । सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह रहेको जिल्लामा हालसम्म एक हजार ५७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्न समयमा सङ्क्रमण देखिएका सबैजना सङ्क्रमित उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए । पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसीआर परीक्षण जारी रहे पनि सङ्क्रमित देखा परेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६४० जनाको पिसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । नगरपालिकामा देखिएका सङ्क्रमितमध्ये सात जना नेपाल प्रहरीका जवान रहेका छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २५३ जनाको पिसीआर परीक्षण गर्दा चार जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १४६ जनाको पिसीआर परीक्षण गर्दा एक जना, साकेला गाउँपालिकामा ११२ जनाको पिसीआर परीक्षण गर्दा एक जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा एक जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा एक जनालाई पोजिटिभ देखिएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेका छैनन् । हालसम्म जिल्लामा एक हजार ६०८ जनाको आरडिटी परीक्षण गर्दा ३० जनाको रिपोर्ट पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारले लागू गरेको बन्दाबन्दी हटेसँगै कोरोनाको जोखिम बढेपछि जिल्लामा उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। यसैबीच जिल्लाका सबै स्थानीय तहमा अहिले धमाधम कोभिड अस्पताल निर्माणको काम भइरहेको छ । देशभर सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्घीय सरकारको लगानीमा हरेक स्थानीय तहमा पाँच/पाँच शय्याको अस्थायीरूपमा सञ्चालनका लागि कोभिड अस्पताल निर्माण शुरु गरिएको हो । रासस
स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै थप ९ स्यानिटाइजरमा लगाइयाे प्रतिबन्ध
काठमाडाैं । औषधि व्यवस्था विभागले मापदण्डविपरीत बनाइएका थप ९ वटा स्यानिटाइजरलाई प्रतिबन्ध लगाएकाे छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो । विभागले साेमबार सुचना जारी गर्दै एक भारतिय कम्पनिकाे साथै पर्साकाे २, बनेपाकाे २, ललितपुरकाे १ र काठमाडाैंकाे ३ वटा स्यानिटाइजर उत्पादकहरुलाई प्रतिबन्ध लगाएकाे छ । परीक्षण गर्दा भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड स्यानिटाइजर र क्लिन ह्याण्ड स्यानिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ । यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड स्यानिटाइजर, साधना सप्लायर्स काठमाडाैंको साधना इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड स्यानिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई स्यानिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको हो । विभागले सर्वसधारणलाई सूचनामार्फत ती स्यानिटाइजरहरु प्रयोग नगर्न आग्रह गरेको छ ।विभागले यसअघि ९ उद्योगहरुलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गराउने गरी कारबाही गरेकाे थियाे ।