कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

धादिङ । धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् । अस्पतालको आकस्मिक, ज्वारो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । यही असोज ७ गतेदेखि १२ गतेसम्म पनि अस्पतालका सेवा बन्द भएका थिए । नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । जिल्लामा एकैदिन २२ जनामा सङ्क्रमण पुष्टि भएको छ । रासस

नेपालमा उत्पादित काेराेना औषधिको क्लिनिकल ट्रायल हुने

काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुग्ने गरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ । परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९को लागि पनि तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न लागिएको बताए । औषधि उत्पादन गरेको कम्पनीले स्वास्थ्य मन्त्रालयमा प्रस्ताव गरेपछि क्लिनिकल ट्रायल गरी अध्ययन गर्न परिषद्लाई मन्त्रालयले स्वीकृति दिएको बताए । उक्त औषधिको सबै मापदण्ड, डिजाइन र औषधि व्यवस्था विभाग को स्वीकृति हेर्दा भाइरसको लागि प्रयोग गर्ने भन्ने छ र उक्त औषधिलाई कोभिड १९ को लागि क्लिनिकल अध्ययन गर्ने हिसाबले प्रयोग गर्न लागिएको उनले बताए । यसबाहेक नेपाल मै उत्पादित आयुर्वेदिक औषधिको पनि क्लिनिकल ट्रायल हुने भएको छ । परिषदका सदस्य सचिव ज्ञवालीले प्रदेश नं. ५ र प्रदेश नं. २ बाट आयुर्वेदिक औषधिको क्लिनिकल ट्रायल सुरु गर्न लागिएको बताए । जसमा जेठी मधु (एस्टी मधु) र तीन कटु (पिप्ला, मरिच र सुठो)को धुलो मिसिएको औषधिको क्लिनिकल ट्रायल गर्न लागिएको बताए । खासगरी आयुर्वेदिक औषधिले मानिसको रोगसँग लडने प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने मान्यता अनुरुप क्लिनिकल ट्रायल गर्न लागिएको उनले स्पष्ट पारे । आयुर्वेद अस्पतालले कोरोनाका बिरामीहरुलाई सुरुदेखि नै आफैले बनाएको विभिन्न जडिबुटी मिश्रित औषधिको प्रयोग गर्दै आएको छ । यो औषधिको परीक्षण सफल भए कोरोना जस्तै भाइरस जन्य रोगका लागि औषधि बनाउने नेपाल महिलो मुलुक हुनेछ ।

एकैदिन २७ सय २२ जनामा देखियाे काेराेना, काठमाडौं उपत्यकामा मात्रै १६ सय ३८

काठमाडाैं । काठमाडौं उपत्यका सहित आज देशभरी अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा १६ सय ३८ गरी देशभरी २७ सय २२ जनामा संक्रमण देखिएको छ । १४ हजार ७ सय ३९ पीसीआर परीक्षण भएकोमा ९ सय ६५ महिला र १७ सय ५७ जना पुरुषमा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आज काठमाडौंमा १२ सय ८०, भक्तपुरमा १ सय ९६ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको छ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । भक्तपुरमा ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंमा ६७ र सुर्खेतमा ७५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा २७ वर्षिय, ललितपुरमा ३२ र ७० वर्षिय, मकवानपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ । रुपन्देहीमा ६० वर्षिय, बाँकेमा ५२ र ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएको सँख्या ५ सय २० पुगेको छ । आज ३ हजार ३ सय ७ जना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार ४ सय २, प्रदेश नम्बर २ मा १३ हजार ९ सय २८, बागमती प्रदेशमा १८ हजार ८ सय ५१ र गण्डकी प्रदेशमा ३ हजार ३ सय ७९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८१, कर्णाली प्रदेशमा ३ हजार २५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३० गरी आजसम्म ६० हजार ६ सय ९६ जना संक्रमित डिस्चार्ज भएका छन् । देशभरी सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना रहेका छन् । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ७०, प्रदेश नम्बर २ मा ६ सय २९, बागमती प्रदेशमा ६ हजार ५ सय ११ र गण्डकी प्रदेशमा ५ सय ३३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५१, कर्णाली प्रदेशमा ४ सय २५ र सुदूरपश्चिम प्रदेशमा ३५ गरी देशभरी ९ हजार ४ सय ७४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ६७, प्रदेश नम्बर २ मा ६ सय , १२, बागमती प्रदेशमा ६ हजार ९ सय १८ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९, कर्णाली प्रदेशमा २ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ५ सय ६३ गरी ११ हजार ७ सय ६० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । देशभरी २ सय १० जना आइसियु र २९ जना संक्रमित भन्टिलेटरमा उपचाररत रहेका छन् ।