आइतबार नेपालभर २२५३ संक्रमित थपिँदा उपत्यकामा १५९९ जना थपिए

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप २२ सय ५३ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर २२ सय ५३ र उपत्यकामा मात्र १५९९ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ८६ हजार ८ सय २३ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २२ हजार २ सय १९ पुगेकाे छ । नेपालमा आजसम्म १० लाख ७४ हजार ४ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १३२९ जना निकाे भएसँगैं हालसम्म ६४ हजार ६९ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ७ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५३५ पुगेकाे छ ।

उपत्यकामा सङ्क्रमण बढ्यो, यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड घटेन

काठमाडाैं । काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहे पनि यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको भीड कम हुन सकेको छैन । यातायात कार्यालयले सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न भन्दै अनुरोध गर्दै हात धुनका लागि साबुनपानीको व्यवस्था गरेको छ । सेवाग्राही भने आफ्नो काम चाँडो सकाउने हतारका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाउन ध्यान नदिएको पाइन्छ । शुक्रबार एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्दा चालक अनुमतिपत्र र साना ठूला सवारी गरी दुवै कार्यालयमा सेवाग्राहीको भीड देखिन्थ्यो । त्यहाँको भीड नियन्त्रणका लागि सुरक्षाकर्मी खटिएका छन् । कार्यालयले साबुनपानीको व्यवस्था गरेको छ भने सन्देशमूलक प्रचार सामग्री गेटबाट छिर्नासाथ राखेको छ । कार्यालयले सेवाग्राहीलाई दुरीमा रहनका लागि पालो कुर्ने ठाउँमा पनि गोलो घेरा बनाएको छ । त्यसको पालना भने कम छ । सेवाग्राहीको चाप धेरै भएकाले दूरी कायम गर्न कठिन भइरहेको चालक अनुमतिपत्र कार्यालयका प्रमुख सम्बरबहादूर कार्कीले बताए । उनका अनुसार यहाँ साता जना सुरक्षाकर्मी भीड नियन्त्रणकै लागि खटाइएको छ । कार्यालयले नियमित रुपमा नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन गर्ने, अनुमतिपत्र वितरण र नवीकरणको काम गर्दै आएको थियो । कोभिड–१९ रोकथामका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा कार्यालय बन्द थियो । गत असारदेखि कार्यालय खुलेसँगै अनुमतिपत्र वितरण र नवीकरण हुँदै आएको छ । केही समय पहिले भीड बढेको भन्दै अनुमतिपत्र वितरणसमेत केही समय रोकिएको थियो । सेवाग्राही सजग हुँदा मात्रै सेवा नियमित गर्न सकिने उनको भनाइ छ । कार्यालयमा अहिले नवीकरणका लागि झण्डै चार सय सेवाग्राही आइरहेका छन् । उपत्यकाका कतिपय यातायात कार्यालयले सेवाग्राहीको भीड कम गर्न जोर र बिजोर नम्बर गरी सेवा दिएका छन् । यातायात व्यवस्था विभागले बन्दाबन्दीको अवधिमा विगत वर्षदेखि छाप्न बाँकी अनुमतिपत्र छापिसकेको छ । बन्दाबन्दीपछि असारमा झण्डै दुई लाख अनुमतिपत्र छापिएर आएको थियो । धेरै अनुमतिपत्र एकै पटक वितरण गर्नु परेकाले पनि कार्यालयमा भीड बढेको प्रमुख कार्कीले बताए । अहिले झण्डै एक लाख ४० हजार अनुमतिपत्र वितरण गर्न बाँकी भएको कार्यालयले जनाएको छ । चैत भन्दापछि नवीकरण भएका झण्डै १० हजार अनुमतिपत्र विभागबाट ल्याउन बाँकी छन् । अनुमतिपत्र वितरणका लागि पाँच काउन्टरमा १० जनाको व्यवस्थापन गरिएको छ । नयाँ अनुमतिपत्र बन्द भएकाले त्यो शाखाका कर्मचारी समेत अहिले नवीकरण र वितरणमा लगाइएको प्रमुख कार्कीले बताए । बन्दाबन्दी लगतै कतिपय कर्मचारी घर गएकाले फर्कन नसकेका र कतिपय क्वारेन्टिनमा रहेकाले समस्या थियो । अहिले यहाँका सबै कर्मचारी नियमित कार्यालय आइरहेका छन् । कार्यालयले आवश्यक स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको प्रमुख कार्कीले बताए । विगतका वर्षमा सेवाग्राहीले अनुमतिपत्रका लागि परीक्षा पास गरेको वा नवीकरणका लागि राजश्व बुझाएको दुई वर्षसम्म ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका थिएनन् । विगतमा फोटो नबुझिने वा अक्षर नबुझिने भएर कतिपयको पुनःछपाइ भएको थियो । विगतमा कार्यालयमा अनुमतिपत्र मिलाएर नराखेकाले पनि खोज्न बढी समय लागेको प्रमुख कार्कीले बताए । अहिले सकेसम्म मितिअनुसार अनुमतिपत्र चाङ मिलाएर राखिएको छ । कोभिडका कारण विद्यालय, कलेजलगायत विभिन्न कार्यालय बन्द भएकाले पनि कार्यालयमा सेवाग्राहीको भीड बढेको हुनसक्ने प्रमुख कार्कीको भनाइ छ । सामान्य अवस्थामा फुर्सद नपाएका सेवाग्राही अहिले आइरहेका छन् । सञ्चार माध्यमबाट अहिले विभागले चालक अनुमतिपत्र छापिसकेको खबर पाएकाले पनि सेवाग्राही आइरहेका बताइएको छ । यातायात कार्यालय जस्तै काठमाडौँ उपत्यकाका सेवा प्रदायक विभिन्न संस्थामा संस्थामा सेवाग्राहीको भीड कम हुन सकेको छैन । दशैँ तिहारलगायतका चाडपर्व आइरहेकाले पनि यी कार्यालयमा भीड बढेको छ । सामान्य अवस्थामा बढी भीडभाड हुने कार्यालयमा पर्ने यातायात कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, बैंकलगायतमा सेवाग्राहीको भीड देखिन्छ । रासस

सार्वजनिक सवारीमा स्वास्थ्य मापदण्डको पालनामा लापरवाही

बागलुङ । सार्वजनिक सवारीमा स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना नभएको पाइएको छ । यातायात व्यवस्था, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायतको टोलीले अनुगमन गर्दा चालक र यात्रुबाटै लापरवाही भइरहेको भेटिएको हो । टोलीले शनिबार बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गा र शुक्रबार बागलुङ नगरपालिका–३ रातामाटास्थित मध्यपहाडी पुष्पलाल लोकमार्गमा अनुगमन गरेको थियो । कुल एक सय ५५ सवारीसाधनको अनुगमन गरिएकामा २३ दशमलव ४८ प्रतिशतले ५० प्रतिशतभन्दा बढी यात्रु राखी भौतिक दुरी कायम नगरेको पाइएको हो । यस्तै ७.०६ प्रतिशत यात्रु र ४७ दशमलव ०६ प्रतिशत चालक÷सह–चालकले मास्क प्रयोग नगरेको, १५ दशमलव ६७ प्रतिशत सवारीसाधनमा सेनिटाइजरको व्यवस्था नभएको, शत प्रतिशत चालक/सह–चालकले भाइजर र पञ्जा प्रयोग नगरेको यातायात व्यवस्था कार्यालयका प्रमुख पारसिँह थापाले बताए । “सार्वजनिक, निजी दुवै यातायातका साधनमा अझै पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना भइरहेको छैन”, उनले भने, “अनुगमनसँगै चालक र यात्रुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सचेतना पनि प्रदान गरिरहेका छौँ ।” प्रमुख थापाका अनुसार कतिपय चालकले यात्रुबाट तोकिएभन्दा बढी भाडासमेत असुल्ने गरेको भेटिएको छ । बढी यात्रु बोकेका, कागजात नभएका, बढी भाडा लिएका सवारीचालकलाई न्यूनतम जरिवाना गर्ने गरिएको कार्यालयले जनाएको छ । कर नुबझाएका र कागजात नवीकरण नगरेका चालकलाई कार्यालयमा उपस्थित हुन लगाइएको छ । अनुगमनका क्रममा मास्क, स्वास्थ्य तथा सुरक्षा मापदण्ड सम्बन्धी पर्चासमेत वितरण गरिएको थियो । कोरोना महामारीलाई दृष्टिगत गरी सरकारले ल्याएको सार्वजनिक यातायात सञ्चालन निर्देशिका–२०७७ ले तोकेका सात वटा सूचकका आधारमा अनुगमन गर्ने गरिएको छ । निर्देशिकाले सिट क्षमताको ५० प्रतिशत यात्रु राख्नुपर्ने, एक पङ्क्तिको सिटमा एक जनामात्र यात्रु राख्नुपर्ने, सबै यात्रुले मास्क लगाउनुपर्ने, यात्रु चढ्ने बेलामा ढोकामा र सवारीसाधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने मापदण्ड तोकेको छ । यस्तै चालक तथा सह–सहचालकले मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नुपर्ने र भाडादरमा अधिकतम थप ५० प्रतिशतसम्म भाडा लिन सकिने व्यवस्था छ । यातायात व्यवस्था कार्यालयले म्याग्दी, मुस्ताङ र पर्वतसम्मै पुगेर सार्वजनिक सवारीको अनुगमन गरिने जनाएको छ । अनुगमन टोलीमा सहभागी राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले मापदण्ड हाम्रै स्वास्थ्य सुरक्षाका लागि ल्याइएकाले कसैले पनि लापरवाही गर्न नहुने बताए । उनले जनस्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गरेमा कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सकिने उल्लेख गरे । अनुगमन/निरीक्षणमा बागलुङका प्रमुख जिल्ला अधिकारी सरेश न्यौपाने पनि केहीबेर सहभागी भएका थिए । उनले स्वास्थ्य सुरक्षाका उपाय अनिवार्य अपनाउन सबैमा अनुरोध गरे । रासस