एन्टिजेन बेस टेष्टिङ सुरु गर्दै सरकार: अब तुरुन्त अपरेसन गर्नुपर्ने अवस्थामा लामाे समय पर्खनु नपर्ने

काठमाडाैं । सरकारले एन्टिजेन बेस टेष्टिङ सुरु गर्ने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्राडा. जागेश्वर गौतमले एन्टिजेन बेस टेष्टिङ सुरु गर्न लागिएकाे बताए । एन्टिजेन बेस टेष्टिङ पिसिआर परीक्षणभन्दा निकै छिटाे नतिजा दिने प्रविधी हाे । यस टेष्टिङ इमर्जेन्सी अपरेसन गर्नुपर्ने अवस्थाका साथै ठुलाे समुहमा एकैठाउँमा गर्नुपर्ने समयमा उपयाेग हुने गाैतमले बताए । याेसँगै अस्पतालमा इमर्जेन्सीमा आएका बिरामीहरुले पिसिअार नतिजा लामाे समय कुरेपछि मात्र अपरेसन गर्नुपर्ने बाध्यताकाे पनि अन्त्य हुने भएकाे छ ।

साेमबार नेपालभर १५५१ संक्रमित थपिए, ९ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ५१ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर १५ सय ५१ र उपत्यकामा मात्र १०१७ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार ८ सय १४ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २२ हजार ७ सय ९ पुगेकाे छ । नेपालमा आजसम्म १० लाख ९९ हजार २ सय ७६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३४० जना निकाे भएसँगैं हालसम्म ६७ हजार ५४२ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५६३ पुगेकाे छ ।

स्वास्थ्यमन्त्रीद्वारा नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताललाई निर्देशन

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका थिए । सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले मात्र कोरोना भाइरस सङ्क्रमण नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाई प्रेरित गर्नुपर्ने बताए । नजिकै आइरहेको चाडपर्वमा हुने भीडभाडले कोभिड–१९ को जोखिम अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै उनले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकलाई निर्देशन दिए । उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिए । छलफलमा २५ जना अस्पतालका निर्देशकको सहभागिता थियो । उनीहरूले कोभिड–१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषयमा मन्त्रीसँग जिज्ञासा राखेका थिए । मन्त्री ढकालले यसअघि स्वास्थ्यविज्ञ, प्रदेशका सामाजिक विकासमन्त्री र अन्य सरोकारवलाहरूसँग नियमित रूपमा छलफल गर्दै आएका छन्  ।