भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार

चितवन । चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो । गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । पुरुषलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले बताए । उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिए । करिब १५ दिन आइसियु र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मङ्गलबार घर फर्किएका छन् । प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ । अस्पतालले अन्य सङ्क्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए । रासस

सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघ्यो, होला त लकडाउन ?

काठमाडाैं । नेपालमा कोरोना भाइरसका संक्रिय संक्रमितहरुको संख्या २५ हजार नाघेको छ । आज देशभर ३ हजार ४ सय ३९ जनामा कोरोना देखिएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको हो । यस अघि स्वास्थ्य मन्त्रालयले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघे फेरि बन्दाबन्दी गर्ने बताएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको ईन्सिडेन्ट कमान्ड सिस्टमले संक्रिय संक्रतिमको संख्या २५ हजार नाघेको अवस्थामा फेरि बन्दाबन्दी गर्ने सुझाव दिने निर्णय गरेको थियो । यस्तै, सो बैठकले स्वास्थ्य सुरक्षा नअपनाउने कलकारखाना तथा उद्योगहरु एक महिनाको लागि बन्द गर्नु पर्ने सुझाव दिने पनि निर्णय गरेको थियो । यद्यपि स्वास्थ्य तथा जनसंखख्यामन्त्री भानुभक्त ढकालले यस अघि अब सरकारले लकडाउन नगर्ने धारणा दिइसकेका छन् । तर आज प्रवक्ता गौतमले पनि लकडाउन गर्ने बारे कुनै धारणा राखेनन् । यसले पनि अब सरकारले लकडाउन गर्न नचाहेको होकि भन्ने पनि बुझ्न सकिन्छ ।

नेपालमा एकैदिन थपिए ३४ सय ३९ जना काेराेना संक्रमित, हालसम्मकै उच्च

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप ३४ सय ३९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशभर ३४ सय ३९ र उपत्यकामा मात्र १६७४ जना भेटिएकाे जानकारी दिए । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ जना पुगेको छ भने  सक्रिय स‌ंक्रमितकाे संख्या २५ हजार ७ पुगेकाे छ । नेपालमा आजसम्म ११ लाख १३ हजार ४ सय ८६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३४० जना निकाे भएसँगैं हालसम्म ६८ हजार ६६८ जना निकाे भएर घर गइसकेका छन । पछिल्लाे २४ घण्टामा १५ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ५७८ पुगेकाे छ ।