‘विद्युतमा थप लगानी चाहिन्छ, निर्यात गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ति नदिनु’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब विद्युतमा लगानी आवश्यक रहेको बताएका छन् । आइतबार प्राधिकरणमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अब जलविद्युत क्षेत्रमा झन बढी लगानीको आवश्यक रहेको बताएका हुन् । उनले जलविद्युत क्षेत्रमा लगानीकागर्नका लागि विदेशी र स्वदेशी लगानीकर्तालाई आग्रह गरे । उनले बिजुली बिक्री गर्नु हुँदैन भनेर राष्ट्रघाती अभिव्यक्ती नदिन पनि आग्रह गरेका छन् । उनले पछिल्लो समय बिजुली निर्यात गर्नु हुँदैन भनेर केहीले गलत अभिव्यक्ति दिएको बताउँदै त्यस्तो राष्ट्रघाती अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । ‘केही विज्ञसाथीहरुले निर्यात गर्नु हुँदैन, बिजुली बिक्री गर्नु हुँदैन भनेर अभिव्यक्ती दिएको, सामाजिक सञ्जालमा लेखेको देखेको छु, यस्तो गलत अभिव्यक्ति दिनु हुँदैन, यो पनि एक किसिमको राष्ट्रघात हो,’ उनले भने । यस्तै, उनले यस्तो गलत काम नगरेर सहयोग गर्न आग्रह गरेका छन् । ‘हामीलाई बिद्युत कम भयो भने पुनः अर्को समस्या हुनेवाला छ, कार्यान्वयन तहमा सबैको अनरसिप चाहिन्छ, कहीँ पनि सहयोग नगर्ने अनि ट्रान्समिटर बनाएन भनेर हुँदैन, यो राज्यको दायित्व हो, वन, गृह, भूमी सुधार मन्त्रालयले पनि सहयोग गर्नु पर्छ, विद्युत प्राधिकरणलाई दोष लगाउनु हुँदैन,’ उनले भने । यस्तै, उनले सिष्टमका कारण मध्य र पश्चिम नेपालमा धेरै जिल्लामा विद्युत अवरोध भएको बताएका छन् । उनले नेपालको माग पूरा गरेर नै निर्यात भएको पनि बताएका छन् । तराईका अधिकांश जिल्लामा अहिले एकदमै माग धेरे आएको छ, यो हाम्रा लागि राम्रो हो, तर माग धेरै हुदा २ सय किलोवाड क्षमताका ट्रान्सफरमले नधान्ने अबस्था छ,’ उनले भने । उनले पछिल्लो समय २ हजार किलोवाट क्षमताको विद्युत आयोजनाले दिन थालेको भन्दै विस्तारै बढ्दै जाने बताए ।

२४ गते एकीकृत कारोबार गर्दै लक्ष्मी सनराइज बैंक, कर्मचारीका लागि भिआरएस सुविधा

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २४ गते तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्यालले दुई बैंकबीच असार २४ गते एकीकृत कारोबार हुने बताए । लक्ष्मी बैंकको आइतबार सम्पन्न विशेष साधारण सभाले सनराइज बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि प्रक्रिया अघि बढाएको उनले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । कसैलाई पनि अफ्ठ्यारो नपर्ने गरी कर्मचारी व्यवस्थापन भइरहेको उनले बताए । ‘साधारणसभाले पारित गरेको पत्र आजभोलि राष्ट्र बैंकमा पठाउँछौं, राष्ट्र बैंकले पनि चाँडै स्वीकृति दिने अपेक्षा छ, त्यसपछि असार २४ गते एकीकृत कारोबार गर्ने तयारी छ,’ उनले भने, ‘सञ्चालक समितिको टुंगो लागिसकेको छ, अध्यक्ष र सीईओ लक्ष्मी बैंकले नै पाउँछ, आन्तरिक कामहरु तीव्र गतिमा भइरहेका छन्, कर्मचारी समायोजनको काम भइरहेको छ, दुवै बैंकको सिस्टम एउटै सफ्टवेयरमा प्रयोग भएकाले सहज हुन्छ ।’ सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई दोस्रो वरियता दिने सहमति भएको उनले बताए । यदि कुनै कर्मचारीलाई चित्त नबुझे संयुक्त मर्जर कमिटिले भिआरएस सुविधा ल्याउने उनको भनाइ छ । कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने सहमति भएको छ । दुवै बैंक समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जपश्चात् बैंकको सञ्चालक समिति अध्यक्ष लक्ष्मी बैंकबाट रमण नेपाल बन्ने छन् । यद्यपी सञ्चालक समितिको पहिलो बैठकले अध्यक्ष नियुक्त गर्नेछ । साथै, लक्ष्मी बैंकका सीईओ अजय बहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट तर्फबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । पहिलो साधारण सभा सम्पन्नपछि बन्ने सञ्चालक समिति ५ सदस्यीय हुने बैंकले जनाएको छ । जसमा २ जना संस्थापक, २ जना सर्वसाधाण र १ जना स्वतन्त्र सञ्चालक रहने लक्ष्मी बैंकले बताएको छ । मर्जर पश्चात् चुनौति बढिरहेको भएपनि त्यसलाई सामना गरेर अघि बढ्ने अध्यक्ष रमण नेपालको भनाइ छ । ‘समान हैसियतमा कर्मचारी समायोजन गर्ने भनेर सम्झौता गरेको हो, मर्जरपछि पनि कर्मचारीमा असमान व्यवहार हुँदैन,’ उनले भने, ‘साथीहरुले अध्यक्ष भनेर बधाइ तथा शुभकामना दिनु भएको छ, मर्जरपछि नै अध्यक्ष टुंगो लाग्नेछ, अहिले शुभकामना मात्रै स्वीकार गर्छु ।’ दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । मर्जर प्रक्रियामा झण्डै २ करोड रुपैयाँ खर्च हुने बैंकले जनाएको छ । सनराइज बैंकले पनि आइतबार वार्षिक साधारणसभा गरेको छ । सनराइज बैंकका सेयरधनीले पनि लक्ष्मीसँग मर्जरमा जानका लागि अनुमोदन गरेका हुन् । मर्जरपश्चात् बैंकको चुुक्ता पूँजी २१ अर्ब ६७ करोड रुपैयाँ बढी हुनेछ । लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ । मर्जरपछि लक्ष्मी सनराइज बैंकको निक्षेप २ खर्ब ८१ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ५० अर्ब रुपैयाँ पुग्नेछ । साथै, बैंकको शाखा सञ्जाल २७२ वटा पुग्ने छन् भने कर्मचारी संख्या ३ हजार १७० जना पुग्ने छन् ।

सुधारको दिशामा बैंकिङ : तरलता बढ्दै, ब्याजदर घट्दै

काठमाडौं । लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएका हुन् । पछिल्लो समय प्रणालीमा निक्षेप बढेसँगै बैंकहरु सहज अवस्थामा पुगेका हुन् । तरलता अभावकै कारण बैंकहरुले लामो समय ब्याज बढाउनु पर्ने बाध्यता थियो भने व्यवसायीले पनि कर्जा नपाइरहेको अवस्था थियो । तर, पछिल्लो केही तथ्यांकले भने बैंकहरु सहज अवस्थामा पुगेका हुन् । लामो समय ७ प्रतिशतको हाराहारीमा बसेको अन्तर बैंक ब्याजदर पनि घटेर साढे ५ प्रतिशतको हारहारीमा झरिसकेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर ५ दशमलव ७४ प्रतिशत छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो ८४.१९ प्रतिशत कायम भएको छ । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो । यस्तै, बैंकको निक्षेप पनि बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुमा कुल ५५ खर्ब ४७ अर्ब निक्षेप छ भने कुल ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । असारमा बैंकहरुले सस्तोमै कर्जा लगानी गर्न थालेका छन् । बैंकहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदर ०.२४ प्रतिशत बिन्दुले घटाएका छन् । असारमा बैंकहरुको औसत आधारदर १० प्रतिशत कायम भएको छ । चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण श्रेष्ठले पछिल्ला केही सूचकहरुले बैंकिङमा सुधारको अवस्था देखिएको बताए । उनले पहिलेको तुलनामा अहिले सुधार हुँदै गएको बताए । उनले उद्योग क्षेत्रमा स्प्रेड नतोक्ने विषयमा पनि सम्बन्धित निकायले सोच्ने पर्ने धारणा राखे । उद्योगमा स्प्रेडदर नतोके उपभोक्तालाई पनि सहज हुने बताउँदै उनले उद्योगमा सहुलियत दिन यस्तो व्यवस्था गर्नु पर्ने बताए । यद्यपि, कर्जाको माग भने खासै नबढेको बैंकरहरुले बताएका छन् । कतिपय बैंकहरुलाई अझै पनि प्राथमिक पुँजी कोषको दबाब छ । पुँजी कोषको दबाबले बैंकहरुले अपेक्षा अनुसारको लगानी विस्तार गर्न सकेका छैनन् । पुँजीकोषमाथिको दबाब कम गर्न बैंकहरुले खराब कर्जा असुलीलाई बढाउनु पर्ने हुन्छ । तर, बैंकहरुको खराब कर्जा असुली हुन नसकेको बैंकरहरु बताइरहेका छन् । अहिले आधा दर्जन बैंकहरुको प्राथमिक पुँजी कोष ९ प्रतिशत तल छ । बैंकहरुले भने पुँजी कोषमाथिको दबाब कम गर्न हकप्रद सेयरको माग गरिरहेका छन् । तर, राष्ट्र बैंक त्यसमा तयार छैन । राष्ट्र बैंकले बैंकहरुलाई पुँजी बढाउनका लागि हकप्रद नदिने अनौपचारिक रुपमा बैंकहरुलाई भनिसकेको छ । राष्ट्र बैंकले हकप्रद सेयरको मागभन्दा खराब कर्जा असुलीमा जोड दिन बैंकहरुलाई भनिरहेको छ । उसो त पछिल्लो समय घरजग्गा क्षेत्रमा केही सहज हुँदा त्यसको प्रभाव पनि बैंकिङमा परेको हो । पछिल्लो घरजग्गा क्षेत्रमा केही सुधार भएको तथ्यांकले देखाउँछ । त्यसको प्रत्यक्ष प्रभाव बैंकमा परेको जानकारहरु बताउँछन् । बैंकहरुको अधिकांश लगानी घरजग्गामा भएकोले त्यो क्षेत्र समस्यामा पर्ने बित्तिकै बैंकमा पनि समस्या आएको थियो । अहिले सो क्षेत्रमा केही सुधार हुँदा त्यसको प्रभाव बैंकमा परेको हो ।