ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले उनलाई ललिता निवास प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको हो । उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले २ करोड  धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। ललिता निवास प्रकरणमा तीन सय जनाविरुद्द अनुसन्धान भइरहेको छ । विभिन्न व्यक्तिहरुले हडपिएको जग्गाको अहिलेको न्यूनतम बजार मूल्य १३ अर्ब ७६ करोड रुपैयाँ कायम गरिएको छ ।

५ हवाई कम्पनी समस्यामा : सेयर बेच्दै, कर्मचारी कटौती गर्दै

काठमाडौं । पछिल्लोे समय सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) सँगै निजी क्षेत्रका अधिकांश वायुसेवा कम्पनीहरु समस्यामा देखिएका छन् । वायुसेवा कम्पनीमा आर्थिक संकट देखिन थालेपछि हाल सञ्चालीत वायुसेवा कम्पनीहरुले साझेदार भित्र्याउनेदेखि कर्मचारी कटौतीका रणनीतिहरु अगाडि सारेका छन् । समस्या भएको भन्दै यती एयरलाइन्सले साझेदार भित्र्याउने तयारी गरेको छ भने सौर्य एयरलाइन्सले कर्मचारी कटौती समेत गर्न थालेको छ । यती एयरलाइन्सले साझेदार भित्र्याउने  आन्तरिक उडानमा २५ प्रतिशत हिस्सा रहेको यती एयरलाइन्स पछिल्लो समय आर्थिक समस्यामा छ । आन्तरिक उडानमा यती र तारा एयर मार्फत उडान गर्दै आएको एयरमा आर्थिक संकट देखिएपछि कम्पनीले सेयर बिक्रीको तयारी थालेको हो । यती ग्रुपमा ५१ प्रतिशत सेयर राखेर बाँकी ४९ प्रतिशत सेयर बिक्री गरेर आर्थिक संटक हटाउने रणनीतिमा कम्पनी लागि परेको छ । कोरोना महामारी गत माघ १ गते पोखरा तथा गत जेठमा पोखरामा भएका दुई ठूला दुर्घटनापछि कम्पनी आर्थिक संटकमा परेको जनाइएको छ । कम्पनीका तत्कालीन अध्यक्ष आङछिरिङको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यती एयरलाइन्स नोक्सानीमा जान थालेको हो । शेर्पाको मृत्यु भएपछि लाक्पा सोनाम शेर्पा (उनका दाई) कम्पनीको अध्यक्ष छन् भने उनकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक छिन् । मुख्य व्यक्तिको निधन भएपछि त्यसको असर कम्पनीमा परेको हो, पर्यटन उद्योगमा एकछत्र राज रहेको शेर्पा ग्रुप उनले मृत्युसँगै आर्थिक संकटमा थसिन थालेको छ । ‘आङछिरिङ सरको मृत्यु, कोरोना महामारी र गत वर्ष भएका दुई ठूला दुर्घटना पछि यतीको व्यवसाय पुरानै अवस्थामा फर्कन सकेको छैन, फूल अकुपेन्सी नहुँदा पछिल्लो समय सञ्चालन खर्च धान्नै समस्या हुनथाल्यो’, यएरलाइन्स स्रोतले भन्यो, ‘खर्च धान्नै सक्ने अवस्था नभएपछि त्यसको समाधानका लागि साझेदार भित्र्याउने तयारी भएको हो, जसका लागि नेपाली तथा विदेशी उद्योगी व्यवसायीसँग छलफल भैरहेको छ ।’ डेढ वर्षदेखि नोक्सानीमा सौर्य एयर निजी क्षेत्रको लगानीमा सञ्चालित अर्काे वायुसेवा कम्पनी सौर्य एयरलाइन्स पनि आर्थिक समस्यामा परेको छ । हाल सिआरजे २०० मोडलको जहाजबाट आन्तरिक उडान गर्दै आएको सो वायुसेवा कम्पनी डेढ वर्षदेखि आर्थिक संकटमा परेको हो । कम्पनी लामो समयदेखि नोक्सानीमा चल्दै आएको भन्दै पछिल्लो समय कर्मचारी कटौती गर्न थालेको छ । गत जेठ महिनामा मात्रै कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको छ । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रा जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो, एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले बताए । उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको छ । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भने, ‘बाहिर भएको हल्ला जसरी कम्पनी बन्द हुन लागेको होइन ।’ उनले सौर्य एयरलाइन्स बन्द नभई एटीआर जहाज ल्याएर नयाँ ढाँचामा कम्पनी सञ्चालन हुने दाबी गरे । दाजु भाईको झगडामा बुद्ध एयर ६३ प्रतिशत बजार हिस्सा रहेको बुद्ध एयरमा पछिल्लो समय सम्पत्ति विवाद चर्किएको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै दुई छोराहरु विरेन्द्रबहादुर बस्नेत र भाई शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद सुरु भएको हो । कम्पनीमा आफ्नो ४० प्रतिशत सेयर रहेको तर बुबाको निधनपछि दाजु विरेन्द्रवहादुर बस्नेतले आफूखुशी निर्णय गर्न थालेको भाइले आरोप लगाएका छन् । दाजुले ठूलो आर्थिक घोटाला गरेको भन्दै उनले प्रश्न समेत उठाएका थिए । विरेन्द्रले भने भाईले २०५६ सालमा नै बुद्धको सेयर बिक्री गरेर नयाँ एयरलान्यस कम्पनी सञ्चालन गरेको भन्दै बुद्धसँग कुनै सम्बन्ध नरहेको बताउँदै आएका छन् । भाइले पत्रकार सम्मेलन गर्दै दाजुले सम्पत्ति हडपेको आरोप लगाएपछि दाजुले विज्ञप्ती जारी गर्दै यसअघि नै सबै सेयर बिक्री गरेर बाहिरिएको बताएका थिए । दुई दाजुभाईको झगडाको असर पछिल्लो समय दुद्धको उडानमा पर्न थालेको स्रोतको दाबी छ । दुई भाईको आन्तरिक कलहको हसर बुद्धमा देखिन थालेको स्रोतको दाबी छ । कम्पनीले राम्रै बिजनेस गरिरहेको भएपनि दाजुभाईको झगडाले कम्पनीको ग्रोथमा नकारात्मक संकेत देखिन थालेको हो । फागुनदेखि बन्द गुण एयर कर्मचारीलाई तलब समेत भुक्तानी गर्न नसकेपछि गुण एयरलाइन्स बन्द भएको छ । कर्मचारीले तीन महिनादेखि सेवासुविधा नै नपाएको गुनासो गरेपछि नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले ०७९ को फागुन १ गतेदेखि ग्राउण्डेड (बन्द) गरेको हो । २०७८ को असोजदेखि गुण एयरले नियमित उडान गर्दै आएको छ । सिम्रिक एयरलाइन्सको नामबाट उडान सञ्चालन गर्दै आएकोमा २०७८ को असोजदेखि गुण एयरको नामबाट उडान सुरु भएको थियो । पुरानै नामबाट एयरलाइन्स सञ्चालनमा आएसँगै गुणले अधिकांश गन्तव्यमा नोक्सानीमा नै उडान गर्दै आएको थियो । अन्य वायुसेवा कम्पनीलाई टक्कर दिन न्यूनतम मूल्यामा उडान गरेको छोटो समयमा नै कम्पनी बन्द भएको हो । प्राधिकरणले कर्मचारीको गुनासो आएको भन्दै उडान ग्राउण्डेड गरेर अनुसन्धान गर्दा आर्थिक अवस्था कमजोर देखिएको थियो । क्यानले उडान नै बन्दको घोषणा गरेको चार महिना वितिसक्दा समेत गुणले उडानका लागि पुनः केही तयारी नगरेको प्राधिकरणले जनाएको छ । ‘हामीले ग्राउण्डेड गरेपछि उडानका सम्बन्धमा एक पटक पनि प्राधिकरणमा गुण एयरका सञ्चालक आएका छैनन्, अवस्था निकै कमजोर भएर नै त होला,’ प्राधिकरण स्रोतले भन्यो । हवाई इन्धनको मूल्य उच्च हुँदा नोक्सानी एक वर्षको अबधिमा हवाई इन्धनको मूल्यमा आएको उत्तारचढावका कारण त्यसको असर हवाई सेवा कम्पनीमा परेको सञ्चालकहरु बताउँछन् । रुस-युक्रेन युद्धका कारण हवाई इन्धनको मूल्यमा बढ्दा त्यसको असर वायुसेवा कम्पनीमा परेको उनीहरुको भनाइ छ । गत वर्षसम्म आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ७० रुपैयाँसम्म थियो, अहिले १५० रुपैयाँ पुगको छ, हवाई इन्धनको मूल्य झन्डै दोब्बर हुँदा अहिले कुनै पनि वायुसेवा कम्पनी नाफामा छैनन, एक वायुसेवा कम्पनीका सञ्चालकले भने, ‘हवाई इन्धनको मूल्यसँगै प्राधिकरणले आन्तरिक शुल्क बढाउँदा त्यसको प्रत्यक्ष असर देखियो ।’ प्राधिकरणले गत वर्षसम्म हवाई प्रति टिकट २ सय रुपैयाँ सेवा शुल्कका रुपमा उठाउने गरेकोमा चालु आर्थिक वर्षदेखि त्यसलाई बढाएर ५ सय रुपैयाँ बनाएको छ । यस्तै, कमिशनका रुपमा प्रति टिकट ३ सय गरी हवाई टिकटबाट मात्रै वायुसेवा कम्पनीले ८ सय रुपैयाँ प्राधिकरणलाई भुक्तानी गर्दै आएका छन् । यस्तै, विभिन्न सेवा सुविधा अन्तर्गत वार्षिक रुपमा ६ हजार रुपैयाँसम्म बुझाउनु पर्नेमा गत वर्षदेखि त्यसलाई बढाएर १४ हजार रुपैयाँ पुर्याईएको ती सञ्चालक बताउँछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला गुण एयरलाइन्स बाहेक अन्य कम्पनीको विषयमा कुनै जानकारी नआएको बताए । ‘हामीले केही समय अगाडी गरेको फाइनान्सीङ अडिटमा सबै कम्पनीको रिपोट राम्रै देखिएको थियो, संकट नै आयो भन्ने खालकोे गुनासो हामीकहाँ आएको छैन’, उनले भने ।

तराईमा नागरिकता लिनेको भीड, बंशजको नागरिकता दावी गर्दै ठेगाना नखुल्नेहरु

नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा जन्मको आधारमा नागरिकता लिनको लागि भिड । तस्बिरः विश्वनाथ ठाकुर बुटवल/नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ कार्यान्वयन गर्न सर्वोच्च अदालतको आदेशबाट बाटो खुलेसँगै नागरिकता वितरण प्रक्रिया सुरु भएको छ । नयाँ व्यवस्थासँगै तराईका जिल्ला प्रशाशन कार्यालयहरुमा नागरिकता लिनेको भीड लागेको छ । संशोधित नागरिकता ऐनअनुसार २०६३ मा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्नसक्ने वर्तमान कानुनले व्यवस्था गरेको छ । यसै आधारमा रुपन्देहीमा जन्मसिद्ध नागरिकता लिएका नागरिकका सन्तानलाई जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि वंशजको आधारमा नागरिकता वितरण सुरु गरिएको छ । यद्यपि जिल्ला प्रशासन कार्यालयहरूले जारी गरेको सूचनाअनुसार १४ किसिमका कागजात पुर्‍याएपछि मात्रै जन्मको आधारमा नागरिकता पाइन्छ । जन्मको आधारमा नागरिकता लिन पुर्‍याउनुपर्ने प्रक्रियाका कारण कागजात पूरा नहुँदा नागरिकताविना नै फर्कनु परेको छ । यसअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वशंजको आधारमा नागरिकता वितरण सुरु गरिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । उनले कार्यालयमा भीडभाड हुन नदिन र कामलाई व्यवस्थित गर्न पालिकाअनुसार आलोपालो प्रणाली लागू गरिएको बताए । रूपन्देहीमा जिल्ला प्रशासन कार्यालय भैरहवा र इलाका प्रशासन कार्यालय बुटवल तथा मझगावाबाट नागरिकता वितरणको व्यवस्था मिलाइएको छ । प्रशासनले भैरहवाबाट दैनिक दुई सय र दुवै इलाका प्रकाशन कार्यालयबाट एक/एक सय गरी एक दिनमा जम्मा चार सय जनालाई नागरिकता वितरणको योजना बनाएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सर्वोच्च अदालतले गत बिहीबार नागरिकता संशोधन ऐन कार्यान्वयन गर्ने बाटो खुला गरिदिएपछि नयाँ व्यवस्थाअनुसार जिल्लाहरूमा नागरिकता वितरण प्रक्रिया थालिएको हो । यसै आधारमा जन्मसिद्धका सन्तानलाई नागरिकता वितरणको प्रक्रिया थालिएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । उनले रूपन्देही जिल्ला प्रशासन कार्यालयबाट आइतबारदेखि नागरिकता वितरण थालिएको र हालसम्म जन्मको आधारमा नेपाली नागरिकका सन्तान ४५ जनाले वंशजको नागरिकता प्राप्त गरेको जानकारी दिए । रूपन्देही जिल्लामा १४ हजार आठ सय जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका छन् । यसका आधारमा जिल्लामा जन्मको आधारमा नेपाली नागरिकता लिएका सन्तानले वंशजको नागरिकता लिनेको सङ्ख्या करिब २५ हजारको हाराहारीमा हुने अनुमान रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । नागरिकता विधेयक प्रमाणीकरण कार्यान्वयनमा आएसँगै सोमबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा जन्मको आधारमा नागरिकता लिनको लागि लाइन। तस्बिरः विश्वनाथ ठाकुर / रासस कनूनले गरेको व्यवस्थाअनुसार नागरिकता प्राप्तिका लागि आवश्यक प्रमाण जुटाउन नसक्दा मुख्य समस्या रहेको छ । जन्मको आधारमा नेपाली नागरिकका सन्तानले वंशजको नागरिकता लिन कानूनमा भएको व्यवस्थाअनुसार बाबुआमा दुवैको जन्मको आधारमा प्राप्त गरेको नागरिकताको सक्कल पेस गर्नुपर्ने व्यवस्थाले केही समस्या देखिएको प्रजिअ पाण्डे बताए । “यसखालको व्यवस्थाअनुसार बाबुआमामध्ये कसैको मृत्यु भएको अवस्थामा त्यस्तो नागरिकता नहुन सक्छ”, उनले भने, कतिपयको त आमाले नागरिकतानै प्राप्त नगरेकोसमेत अवस्थामा प्रमाण जुटाउने समस्या देखिन्छ ।” प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार यसरी नागरिकता लिन आउनेहरूमा स्थायी बसोबास वा बसाइँ सरेर आएको प्रमाण पुर्‍याउन नसक्ने समस्या देखिएको छ । उनले यसखालका प्रमाण पुर्‍याउने समस्यामा आवश्यकताअनुसार प्रहरी सर्जमिन मुचुल्का वा गोप्य प्रहरी प्रतिवेदन बुझेर त्यसका आधारमा पनि नागरिकता प्रदान गर्ने व्यवस्था गरिएको बताए । इलाका प्रशासन कार्यालय बुटवलले एक सूचना प्रकाशित गरी रीत पुर्‍याई जन्मको आधारमा नेपाली नागरिकका सन्तानले नेपाली नागरिकता प्राप्त गर्न आवश्यक कागजातसहित पेस गर्नुपर्ने जनाएको छ । यो व्यवस्था कानूनमा भएको व्यवस्थाअनुसार नागरिकता लिन आउने सबै नागरिकलाई लागू हुन्छ । सूचनामा अनुसूची १ बमोजिमको सिफारिस, बाबुआमाको सक्कल नागकिता प्रमाणपत्र, अनलाइन दर्ता भएको सक्कल जन्मदर्ता प्रमाणपत्र, अध्ययन गरेको भए शैक्षिक प्रमाणपत्र, जन्मस्थान र नाता खुल्ने किटानी सिफारिस, स्थायी बसोबासको निस्सा, विसं २०६३ को नाबालक दर्ता गरेको भए त्यसको निस्सा, बसाइँसराइ भएको हकमा बसाइँसराइको दर्ता प्रमाणपत्र, आवश्यकताअनुसार वडाको सर्जमिन मुचुल्का, बाबु र आमाको विवाह दर्ता र बाबुआमा कसैको वा दुवैको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्ने जनाइएको छ । आवश्यकताअनुसार कागजात पेस भएपछि यसबाहेक प्रहरी सर्जमिन मुचुल्का वा गोप्य प्रहरी प्रतिवेदन बुझ्न सकिने सूचनामा जनाइएको छ । इलाका प्रशासन कार्यालय बुटवलले नागरिकता लिन आउनेहरूका लागि स्थानीय तहका नागरिकलाई बारअनुसार आलोपालो प्रणाली लागू गरेको छ । कार्यालयले जिल्लाका बुटवल उपमहानगरपालिका, तिलोत्तमा, देवदह, सैनामैना नगरपालिका, शुद्धोधन र कञ्चन गाउँपालिकाका नागरिकलाई नागरिकता वितरण गर्ने जनाएको छ । नागरिकता लिन प्रारम्भिक प्रमाण जुटाउन स्थानीय निकायको सिफारिस आवश्यक पर्ने हुन्छ । यसका लागि आफू बसोबास गरेको वडा कार्यालयको सिफारिस लिनुपर्ने कानूनी व्यवस्थाअनुसार अहिले वडा कार्यलयहरूमा सिफारिस लिनेहरूको भीड लागेको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका-१ का वडाध्यक्ष सुरज कलवार वडा कार्यालयमा सिफारिस बनाउनेहरूको केही दिनदेखि चाप बढेको बताउछन् । उनले सिफारिस लिन आउनेहरूमा मुख्यतया स्थायी बसोबासको प्रमाणमा समस्या देखिएको बताए । “लुम्बिनीमा जग्गा जमिन रहेर पनि स्थायीरूपमा अन्यत्र बसोबास गर्दै आएको व्यक्तिलाई स्थायी बसोबासको सिफारिस गर्न समस्या देखिएको छ”, उनले भने, “यस्तै अन्यत्रबाट बसाइँ सरेर आएको व्यक्ति भाडामा बस्दै आएको छ तर बसाइँसराइको प्रमाण छैन यस्तोमा पनि सिफारिसमा समस्या देखिएको छ ।” रासस