घाटामा चल्दै डिजिटल वालेट, ५ वटा मात्रै अस्तित्वमा रहने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको पाइएको छ । वार्षिक झण्डै ३ खर्ब रुपैयाँ बराबर कारोबार गर्दै अर्थतन्त्रलाई डिजिटलाइज गर्दै आएका अधिकांश डिजिटल वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको एक डिजिटल वालेट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले विकासन्युजसँग बताए । उनले हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये ईसेवा बाहेक अन्य सबै वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको बताए । उनका अनुसार वालेट कम्पनीहरुले आफ्नो लागतबाहेक अन्य कुनै पनि फाइदा लिन सकेका छैनन् । नि:शुल्क सेवा दिनु पर्ने भएकाले नाफा कमाउन नसकिएको उनको भनाइ छ । साथै, नाफा गरेको भन्दा धेरै खर्च हुने गरेको उनले बताए । ‘सरकारी सेवामा हामीले शुल्क लिने गरेका छैनौं, विद्यालय शुल्क पनि नि:शुल्क भुक्तानी हुन्छ, नेपाल विद्युत प्राधिकरणको ५ सय रुपैयाँभन्दा कमको बिलमा शुल्क लिन मिल्दैन,’ उनले भने- ‘महिनाको ४ अर्बको कारोबार गरेर ४ करोड नाफा गर्न धेरै गाह्रो छ, झन् त्यसमा क्यास ब्याक पनि दिनुपर्छ ।’ उनका अनुसार वालेट कम्पनीहरुमा नाफा कमाउने इसेवा वालेट एक्लो हो । इसेवा पनि गत वर्षदेखि नाफा कमाउन थालेको हो । इसेवा बाहेक खल्ती लगायतका सबै कम्पनीहरु घाटामा रहेको उनले बताए । इसेवा पनि १३औं वर्षमा आएपछि मात्रै नाफा कमाउन थालेको उनले बताए । स्रोतका अनुसार खल्तीले आगामी वर्षदेखि नाफा कमाउन सक्ने अवस्थामा पुग्नेछ । ‘कुनै वालेटले ६० करोड रुपैयाँ रेभिन्यू संकलन गर्याे भनेपनि ८० करोड रुपैयाँको खर्च हुन्छ, वालेट कम्पनी सबै घाटामा छन्,’ उनले भने, ‘डिजिटल कारोबारको भविष्य छ भन्ने हिसावले कसै न कसैले लगानी गर्नुपर्छ, सबैले व्यापार गरेर मात्रै भएन, भविष्यमा डिजि बैंक बन्न सक्ने भएकाले लगानी गरिरहेका छन् ।’ कुनको कारोबार कति ? चालू आर्थिक वर्षको १० महिनाको अवधिमा डिजिटल वालेट कम्पनीहरुले झण्डै साढे ३ खर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । राष्ट्र बैंकको बैशाखसम्मको तथ्याङ्क अनुसार कूल १ खर्ब ७९ अर्ब ३३ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार वालेट कम्पनीले गरेका हुन् । तथ्याङ्कलाई आधार मान्ने हो भने चालू आर्थिक वर्षको १० महिनाको तथ्याङ्कका आधारमा मासिक औषत १७ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार डिजिटल वालेट कम्पनीहरुले गरेको देखिन्छ । हाल सञ्चालनमा रहेका वालेट कम्पनीहरुमध्ये इसेवाको बजार हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको स्रोतको भनाइ छ । उनका अनुसार इसेवाले मासिक १० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने गरेको छ । यस्तै, दोस्रोमा खल्ती डिजिटल वालेटको रहेको छ । खल्तीले मासिक ४ देखि ५ अर्ब रुपैयाँ बराबरको कारोबार गर्ने गरेको उनले बताए । मासिक १८ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको भएपनि इसेवाको बजार हिस्सा ६०/६५ प्रतिशत रहेको छ । गत वर्ष ३ खर्ब रुपैयाँ बराबरको वालेटबाट कारोबार भएको थियो । जसमध्ये ईसेवाले १५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको थियो भने खल्तीले ५० अर्ब रुपैयाँ बराबरको कारोबार गरेको स्रोतको दाबी छ । ‘वालेटबाट मासिक १८/१९ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ, खल्तीले साढे ४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्छ, खल्तीले डिजिटल कारोबारको २२/२५ प्रतिशत बजार हिस्सा ओगटेको छ तर, ६० प्रतिशत बजार हिस्सा इसेवाको छ,’ उनले भने- ‘१०/११ प्रतिशत आइएमई पेले ओगटेको छ भने बाँकी अन्य वालेट कम्पनीको कारोबार हिस्सा ५/५ प्रतिशत रहेको छ ।’ ५ वटा वालेटको अस्तित्व  यसअघि टप फाइभ कम्पनीमा प्रभु पे थियो । तर, पछिल्ला सयम अन्य कम्पनीले प्रभुलाई उछिनेर तल झरेको उनले बताए । उनका अनुसार अबको केही वर्षपछि ५ वटा वालेट कम्पनी मात्रै अस्तित्वमा रहने उनको भनाइ छ । मर्जरभन्दा पनि खर्च धान्न नसकेर आफैं बन्द हुने अवस्थामा रहेको उनले बताए । ‘वालेट बिजनेशको २२/२५ प्रतिशत कारोबार कभर गर्ने कम्पनीले नाफा कमाउन सकेका छैनन्, जबकी ती कम्पनीहरुले लागतलाई कम गर्दै अप्टिमाइज भइरहेका छन्, ती कम्पनीले क्यासब्याक पनि कम दिएका छन्, क्यासब्याक घटाउँदै लगेका छन्,’ उनले भने- ‘५/७ प्रतिशत मार्केट सेयर भएका कम्पनीले कमाएर कति दिने ? अन्य वालेट कम्पनीले ३ रुपैयाँ कमाएर ५ रुपैयाँ फालिरहेका छन्, यो भनेको आधारभूत सिद्धान्तबाट बाहिर जानु हो, सस्तोमा किनेर महँगोमा बेच्नु बिजनेश हो, महँगोमा किनेर सस्तोमा बेच्नु होइन ।’ राष्ट्र बैंकको भुक्तानी विभाग प्रमुख समेत रहेका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पनि डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको स्वीकार गरे । हाल सञ्चालनमा रहेका डिजिटल भुक्तानी वालेट कम्पनीहरुमध्ये अधिकांश वालेट कम्पनीहरु घाटामा सञ्चालन भइरहेको उनको भनाइ छ । उनका अनुसार २७ वटा वालेट कम्पनीमध्ये अधिकांश घाटामा सञ्चालन भइरहेका छन् । इसेवा, खल्ती, आइएमई पे ठिकै अवस्थामा रहेको उनले बताए । अन्य कम्पनीहरु भने घाटामै चलिरहेको उनको भनाइ छ । ‘इसेवा, खल्ती, आइएमई पे, प्रभु पे, माइ पे, नमस्ते पे टप फाइभ कम्पनी हुन्, माइ पेले आक्रामक रुपमा आफ्नो विजनेश ग्रोथ गरिरहेको छ, नमस्ते रणनीतिक हिसावमा अघि बढ्दै छ, चुक्ता पूँजी नै ४० करोड रुपैयाँभन्दा बढी छ,’ उनले भने ।

७ बैंकबाट साढे ५ अर्ब ऋण लिएका केदार शर्माका कम्पनी धमाधम बन्द हुँदै, यी ६ कम्पनी कालोसूचीमा

काठमाडौं । सहकारीको रकम हिनामिना गरेर अहिले प्रहरीको नियन्त्रणमा रहेका केदार शर्माको लगानी रहेका विभिन्न कम्पनीहरु एकपछि अर्को गरी बन्द हुन थालेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेका शर्मा प्रहरीको नियन्त्रणमा हुँदा उनले लगानी गरेका कम्पनीहरु अहिले संकटमा पर्न थालेका हुन् । उनले दुई सहकारी संस्थाको कूल १२ अर्ब २३ करोड ५१ लाख रुपैयाँ हिनामिना गरेर विभिन्न ४३ वटा कम्पनीमा लगानी गरेको भेटिएको छ । उनीसहित उनकी श्रीमती गिता शर्मा पनि अहिले प्रहरीको नियन्त्रणमा भएपछि उनले लगानी गरेका कम्पनीहरु बन्द हुन थालेका हुन् । शर्माको लगानी रहेका विभिन्न कम्पनीहरुमा सहकारीको रकम प्रयोग भएको सीआईबीको अनुसन्धानले देखाएको छ । त्योसँगै उनले ती कम्पनीहरुमा लगानीका लागि विभिन्न बैंकबाट ऋण लिएका छन् । उनी पक्राउ परेसँगै ती बैंकहरु पनि अहिले तनावमा छन् । ऋणी नै प्रहरीको हिरासतमा भएपछि लगानी डुब्ने चिन्तामा बैंकर छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको स्रोतको दाबी छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयन बैंकबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रे बैंकबाट ६८ करोड, प्रभु बैंकबाट ४० करोड, नबिल बैंकबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको छ । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । उनले लिएको ऋण नतिरेकै कारण उनका कम्पनीहरु कालोसूचीमा परेका हुन् । कर्जा सूचना केन्द्रका अनुसार केदार शर्माको एकल स्वामित्वमा रहेका ६ वटा कम्पनीहरु अहिले कालोसूचीमा छन् । ती कम्पनी कालोसूचीमा परेर बन्द पनि हुन थालेका छन् । उनले १० करोड लगानी गरेर खोलेको शिखर दीप एग्रो अहिले कालोसूचीमा छ । जसमा पनि शर्माको एकल लगानी छ । यस्तै, उनले १० करोड रुपैयाँ पुँजीमा स्थापना गरेको नटराज एग्रो पनि कालोसूचीम छ । १० करोड लगानीमै खुलेको नटराज फुड इन्डष्ट्रि, १५ करोड लगानीको गार्डेन मार्ट, ५ करोड लगानीको तुलसी मोटर पम्प र ८ करोड लगानीको शिवशिखर एग्रो पनि कर्जा सूचना केन्द्रको कालोसूचीमा छ । यी सबै कम्पनीमा शर्माको एकल लगानी छ । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदार शर्मा, उनकी श्रीमती गीता शर्मा र सञ्चालकहरु पुष्कर मल्ल र अनिशराज भण्डारीलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले लगानी गरेको एउटा टेलिभिजन बन्द नै भइसकेको छ । सो कम्पनीमा काम गर्ने कर्मचारीले लामो समयदेखि तलब नै नपाएको गुनासो गरिरहेका छन् । सीआईबीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापा शर्माले सहकारीमार्फत् लगानी गरेका कतिपय कम्पनीहरु बन्द भएको र कतिपयमा थप अनुसन्धान गरेर बन्द गर्ने प्रक्रियामा रहेको बताउँछन् । उनले अनुसन्धानका लागि कम्पनी बन्द गर्नु परेको बताए । उनको लगानी रहेका सबै कम्पनीको खाता तथा कारोबार पनि अहिले बन्द छ । ‘शर्मासँग अन्य सेयरधनीहरु पनि हुनुहुन्छ, शर्माले शिखर अर्गनाइजेसन र सहकारीबाट ती कम्पनीमा लगानी गरेको भेटिएमा हामी कम्पनी नै सिल गर्छौं, कतिपय बन्द भइसकेका छन्, अझै पनि अनुसन्धान गरिरहेका छौं, जुन कम्पनीमा उनको लगानी सहकारीबाट गएको छ, ती कम्पनीहरु बन्द हुन्छन्,’ थापाले भने ।

५ मिनेटमै धितो र कागज बिना ऋण, बैंकमा गएर कर्जा लिने दिनको अन्त्य

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका छन् । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा बोल्दै पौडेलले किसानहरुले अब मोबाइल एप प्रयोग गरी कृषि कर्जा पाउने भएकाले बैंकको शाखा कार्यालयमा धाउनु नपर्ने बताएका हुन् । ‘किसानहरुले पछिल्लो समय सहज रुपमा कर्जा पाउने व्यवस्था बनिसकेको छ, एनएमबि खेती प्ल्याटफर्म मार्फत् कर्जा उपलब्ध हुने भएपछि किसानले बैंकमा उपस्थित भएर कर्जा लिने दिनको अन्त्य भएको छ,’ उनले भने, ‘वि.सं. २०७८ माघ २८ गते डिजिटल लेण्डिङ्ग गाइडलाइन जारी गर्दा बैंक तथा वित्तीय संस्थाहरुले बिना धितो उपस्थित नभएर २ लाखदेखि ५ लाखसम्म कर्जा उपलब्ध गर्न सकिने भनेर उल्लेख छ, बैंकहरुले यसलाई कसरी कार्यान्वयन गर्नु हुन्छ भन्ने चासोको रुपमा राष्ट्र बैंकले हेरिरहेको थियो ।’ एक अर्ब रुपैयाँ भन्दा बढी बराबरको कर्जा डिजिटल माध्यमबाट प्रवाह भएको उनले बताए । तर, समूहगत रुपमा एउटै प्ल्याटफर्मबाट धैरै जनालाई कर्जा उपलब्ध हुने उनले अपेक्षा गरे । एनएमबि बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोड्दा किसानहरु लाभान्वित हुने उनको भनाइ छ । ‘राष्ट्र बैंकले साना किसानहरुका लागि आधार दरमा २ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिन निर्देशन दिएको छ तर, एनएमबि बैंकले तीन महिनाको लागि आधार दरमा ०.५ प्रतिशत मात्रै प्रिमियम लिने भएको छ, यसले प्रशासनिक खर्च पनि उठ्दैन, निक्षेप संकलन गर्दा तिर्नु पर्ने ब्याज सरह नै बैंकले कर्जा दिने भएको छ, यो पनि चासोको विषय रहेको छ,’ उनले भने । बैंकहरुले कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत कर्जा लगानी गर्नै पर्ने बाध्यकारी व्यवस्था राष्ट्र बैंकले बनाएको उनको भनाइ छ । तर, कृषि कर्जा लिने ग्राहकहरुको संख्या कम र क्षमतावान लगानीकर्ता नभएको उनले बताए । ‘४८ खर्ब कूल कर्जा प्रवाह गर्दा ६ खर्ब रुपैयाँ बराबर कृषि क्षेत्रमा लगानी भएको छ, बैंकहरु कृषि क्षेत्रमा लगानी गर्न तयार छन्, कृषिको लागि बजार पनि उपलब्ध छ, तर कर्जा लिने किसानहरुको क्षमता कम छ,’ उनले भने । किसानले सडकमा टमाटर फालेपनि काठमाडौंमा २५ रुपैयाँभन्दा कम मूल्यमा खरिद गर्न नपाइएको बताउँदै यसमा राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । साथै, उनले किसानले कर्जासँगै कृषि बीमा समेत गर्नुपर्ने बताएका छन् । ‘यदि किसानले कर्जा लिँदा बीमा गर्यो भने कुनै पनि रोग वा असिना पानीले क्षति गरेपनि बीमाले बेहोर्छ,’ कार्यकारी निर्देशक पौडेलले भने । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले किसानलाई सस्तोमा खेती कर्जा दिने बताए । आधार दरमा थप ०.५ प्रतिशत मात्रै प्रिमियम लिएर कृषि कर्जा प्रदान गर्ने उनको भनाइ छ । नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक सबैभन्दा कम लागतमा सहुलियतपूर्ण कर्जाबिना व्यवसायीक रुपमा कर्जा प्रवाह गरेको उनले बताए । ‘नेपालमा पहिलो पटक किसान, कृषिसँग सम्बन्धीत व्यवसायी, प्राविधिकलाई सँगै लिएर एनएमबि खेती कर्जा प्रडक्ट ल्याएका छौं, अन्य कृषि कर्जामा आधार दरमा २ प्रतिशत प्रिमियम लिने व्यवस्था भएपनि यस प्रडक्टमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम जोडेर कर्जा उपलब्ध गराउँछौं, सहुलियतपूर्ण कर्जा नभइकन व्यवसायीक रुपमा कम दरमा कर्जा प्रवाह गरेको नेपालको बैंकिङ्ग इतिहासमा पहिलो पटक हो,’ उनले भने, ‘धितो बिना कर्जा पाउन सकिँदैन भन्ने भाष्य स्थापित हुन थालेको छ, त्यसलाई चिर्नका लागि यो प्रडक्ट ल्याएका हौं, किसानसँगको सीप, पूँजी र बजारलाई एउटै ठाउँमा ल्याएका छौं ।’ उनका अनुसार बैंकहरु कृषिमा लगानी गर्न तयार रहेको भएपनि आयोजनाको अभाव रहेको छ । बैंकहरुले कृषि कर्जा लिन सक्ने ग्राहकको खोजी गर्दै हिँड्नु परेको उनको भनाइ छ । कृषि, उर्जा, पर्यटन र साना व्यवसायलाई प्राथमिकतामा राखेर बैंक्हरुले कर्जा प्रवाह गरिरहेको उनको भनाइ । ‘अहिले बैंकहरुले ६ सय अर्ब रुपैयाँ कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन्, थप २/३ सय अर्ब कृषि क्षेत्रमा कर्जा लगानी गर्नु पर्नेछ, बैंकले कृषिमा लगानी गर्नका लागि प्रोजेक्ट खोज्नु परेको छ तर, त्यो पाउन सकिरहेको छैन,’ उनले भने, ‘हामीलाई कर्जा लिन सक्ने क्षमता भएको ग्राहक चाहिएको छ । १ रुपैयाँ निर्यात गर्दा १० रुपैयाँ आयात गर्नु परेको उनको भनाइ छ । दीगो व्यवसायको लागि बैंकले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उनले बताए । गत वर्ष ५ सय अर्बभन्दा बढीको कृषिजन्य सामाग्रीको आयात गरेको तथ्याङ्क रहेको उनको भनाइ छ । ‘१० महिनाको तथ्याङ्क हेर्दा १३० अर्बको निर्यात गर्दा १२/१३ अर्ब आयात गर्नु परेको छ, १२० अर्बको ब्यापार घाटा छ, त्यो ब्यापार घाटा रेमिट्यान्सले धानिरहेको छ, यदि भोलिका दिनमा रेमिट्यान्स पनि ठप्प भयो भने हामीले कृषि क्षेत्रलाई नै जोड दिनु पर्छ,’ उनले भने, ‘५ सय अर्बको आयात हुँदा नेपालमा कृषिको बजार ठूलो रहेको बुझिन्छ, अब कृषिमा लगानी गर्न सबै तत्पर हुनु पर्छ ।’ एनएनबि बैंकले नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित भएर बिना धितो एनएमबि खेती कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिएर सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्ने बैंकका म्यानेजर सुजन ढुंगानाले बताए । वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको उनको भनाइ छ । ‘किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ता बन्दिमा बिना धितो प्राप्त गर्न सक्नु हुन्छ, कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झण्झट ब्यहोर्नु पर्दैन,’ उनले भने, ‘किसानहरुले खेतीसँग पहिला गरेको कारोवारको मूल्याङ्कन गरेर स्विकृति गरिनेछ, ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरी अर्काे कर्जा पनि तुरुन्तै प्र्राप्त गर्न सक्नेछन् ।’ बैंकले किसानलाई १० हजारदेखि २ लाख रुपैयाँसम्म कर्जा प्रदान गर्ने उनले बताए ।