मर्जसँगै सुमन शर्मा बाहिरिने, लक्ष्मी बैंकको कर्जाले दुगड पनि बोर्डबाट आउट

काठमाडौं । लक्ष्मी बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा बाहिरिने भएका छन् । सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा जाने भएपछि सीईओ शर्मा स्वेच्छिक अवकास सुविधा (भिआरएस)मा बाहिरिने भएका हुन् । यसअघि उनी लक्ष्मी बैंकको वरिष्ठ नायव प्रमुम कार्यकारी अधिकृत (डीसीईओ) बन्ने सहमति थियो । तर, पछि उनले वरिष्ठ डीसीईओमा जाने विकल्प त्यागेर भीआरएस राेजेका हुन् । मर्जरपछिको नयाँ बैंकमा अजय विक्रम शाह नै प्रमुख कार्यकारी अधिकृत बन्ने निश्चित भएपछि शर्मा डिसिओ बन्न तयार नभएका हुन् । बैंक स्रोतका अनुसार सीईओ शर्माले भीआरएस सुविधामा बाहिरिने निर्णय गरिसकेका छन् । सनराइज बैंकका उच्च तहका अन्य कर्मचारीले छाड्ने वा जिम्मेवारीमा रहनेबारे कुनै निर्णय गरिनसकेको बै‌कका एक अधिकारीले बताए। ‘सीईओले भीआरएस सुविधा लिएर बाहिरीने भनेर स्पष्ट भन्नुभएको छ । उहाँ सिनियर डेपुटी सीईओको रुपमा बस्न चाहनु भएन्,’ उनले भने, ‘डीसीईओ आरती राणा र अपच यादवजीले अहिलेसम्म निर्णय गर्नु भएको छैन । यदि उहाँहरुले मान्नु भयो भने जुन तहमा बस्नु भएको छ मर्जरपछि पनि त्यहि नै कायम हुन्छ ।’ केही दिनभित्रै भीआरएस सुविधा खुला गरिने बैंक स्रोतले बताएको छ । भीआरएसमा प्रचलनमा रहेकाे सुविधा नै लक्ष्मी र सनराइज बैंकमा पनि लागू गर्ने तयारी रहेकाे ती अधिकारीकाे भनाइ छ । ‘भिआरएस प्याकेजमा पछिल्लो समय जे चलिरहेको छ त्यहि नै दिने हो । उहाँहरुको कति वर्ष बाँकी हुन्छ, बाँकी भएको तलबको ५० प्रतिशत दिन्छौं । जस्तो ५ वर्ष बाँकी छ भने साढे २ वर्षको तलब पाउनु हुन्छ । अन्य निर्णय पछि नै गर्छाैं,’ उनले भने । लक्ष्मी बैंकबाट अहिलेसम्म कसैले पनि भीआरएसमा बाहिरीने निर्णय गरेका छैनन् । तुहियो अध्यक्ष बन्ने दुगडको सपना  सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको मर्जरपश्चात् बन्ने बैंकको अध्यक्ष बन्ने तयारीमा थिए । तर, उनले लक्ष्मी बैंकबाट ठूलो मात्रामा कर्जा लिएका कारण मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । कमजोर वित्तीय अवस्थाको सनराइज बैंकलाई लक्ष्मी बैंकसँग मर्जर गराएर अध्यक्ष बन्ने दुगडको सपना थियो । सोहीअनुसार अध्यक्ष दुगड मर्जरपश्चात् बन्ने बैंकको सञ्चालक पदमा समेत सिफारिस भइसकेका थिए । बैंकको वार्षिक साधारण सभाले समते पारित गरिसकेको थियो । तर, उनले लक्ष्मी बैंकबाट झण्डै ३ अर्ब रुपैयाँ बराबरको कर्जा लिएका छन् । कर्जा लिएको ब्यक्ति बैंकको सञ्चालक पदमा बस्न नपाउने व्यवस्थाका कारण हाललाई बैंकको अध्यक्ष बन्ने उनकाे सपना तुहिएको स्रोतको भनाइ छ । ‘सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको लक्ष्मी बैंकमा ३ अर्ब रुपैयाँ बराबरको कर्जा छ । कर्जा लिएको बैंकबाट सञ्चालक बस्न बाफियाले दिँदैन,’ स्राेतले भन्याे, ‘असल कर्जा भएपनि बैंकको सञ्चालक वा अध्यक्ष बन्दा प्रभावित पार्न सक्नुहुन्छ । त्यसैले राष्ट्र बैंकले यसमा सचेत गराएको छ ।’ केही दिन अघि दुवै बैंकका सञ्चालकलाई राष्ट्र बैंकले बोलाएर सञ्चालक बन्नका लागि बाफिया हेर्नु सुझाएको थियो । राष्ट्र बैंकले दुगडलाई इंगित गरेर प्रोफेसनल मान्छेलाई सञ्चालक पदमा पठाउन निर्देशन दिएको स्रोतको भनाइ छ । ‘राष्ट्र बैंकका अधिकारीहरुले सञ्चालक बन्नका लागि बाफिया पनि हेर्नुस् है भनेका थिए ।  कतिपय ब्यापारी हुनुहुन्छ । बरु ब्यापार नै गर्नुहोस् । सञ्चालकमा प्रोफेसनल मान्छे पठाउनुस्, भोलिपर्सी बाफियाकै कारण कुनै सञ्चालकलाई निकाल्नु पर्ने हुनसक्छ भनेर मोतिलाल दुगडलाई नै संकेत गरिएकाे थियाे’, स्राेतले भन्याे । अब दुगडको सट्टा अर्काे ब्यक्तिलाई सञ्चालक बनाएर पठाउनु पर्ने हुन्छ । सम्बन्धित सामाग्री  २८ गते एकीकृत कारोबार गर्दै लक्ष्मी र सनराइज बैंक, नाम भने लक्ष्मी नै रहने  लक्ष्मी सनराइजले दुई दिन भित्रै अन्तिम स्वीकृति पाउने, राष्ट्र बैंक भन्छ : सञ्चालकमाथि सोधखोज गर्दैछौं

असार २८ गते एकीकृत कारोबार गर्दै लक्ष्मी र सनराइज बैंक

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबारको मिति असार २८ गतेका लागि तय भएको छ । लक्ष्मी बैंकका सञ्चालक मनिस थापाले दुई बैंकबीच असार २८ गते एकीकृत कारोबार हुने जानकारी दिए । यसअघि मर्जरपछि बन्ने बैंकको कारोबार असार २४ गतेका लागि तोकिएको थियो । तर, एकीकृत कारोबार सुरु गर्नुअघि कम्तिमा दुई दिन बैंक बन्द गर्नुपर्ने हुन्छ । कर तिर्ने बेलामा बैंक बन्द गर्नुपर्ने भएकाले एकीकृत कारोबारको मिति २८ गतेको प्रस्ताव गरिएको बैंकका अधिकारीहरुले बताएका छन् । सरकारलाई तिर्ने कर असार २५ गतेभित्रमा तिर्नुपर्ने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जानका लागि दुई दिनभित्र अन्तिम स्वीकृति दिने तयारी गरिरहेको बताएको छ । राष्ट्र बैंकको स्वीकृति पाउने बित्तिकै एकीकृत कारोबार गर्ने सञ्चालक थापाले बताए । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुने भनिए पनि राष्ट्र बैंकले हस्तक्षेप गरेर लक्ष्मी बैंककै नाम राख्न लगाउने बलियाे सम्भावना छ । यसअघि दुवै बैंकबीच लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबरा गर्ने सम्झौता भएकाे थियाे । स्रोतका अनुसार मर्जरपश्चात् बैंकको नाम लक्ष्मी बैंक नै रहने छ । ‘नामको विषयमा राष्ट्र बैंकले हस्तक्षेप गरेर पठाउने संकेत गरेको छ, हस्तक्षेप गरेपछि लक्ष्मी बैंक नै तोकर पठाउँछ,’ स्रोतले भन्यो, ‘किनभने सनराइज बैंकको कुनै पनि चर्चा छैन, सनराइज बैंक भर्खरको बैंक हो र पर्फमेन्सका हिसाबले पनि बजारमा कमजाेर देखिन्छ ।’ केही दिन अघि दुवै बैंकका सञ्चालकलाई राष्ट्र बैंकले बोलाएर मर्जरपछि बन्ने बै‌ककाे नाम के राख्नुहुन्छ ? भनेर सोधेको थियो । त्यसबेला दुवै बैंकका सञ्चालकले आआफ्नो बैंककै नाम नै हुनुपर्ने दावी गरेका थिए । नाममा दुवै बैंकका सञ्चालकबीच विवाद हुने देखिएपछि राष्ट्र बैंकले नै बै‌ककाे नाम तोकेर पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । मर्जपश्चात् लक्ष्मी बैंकका सीईओ अजयबहादुर शाह मर्जरपश्चात् बन्ने बैंकको सीईओ नियुक्त हुने छन् । मर्जरपश्चात् पहिलो साधारणसभासम्मको लागि लक्ष्मीबाट ४ जना र सनराइजबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ । लक्ष्मी बैंकबाट हालका अध्यक्ष रमण नेपाल, सञ्चालकहरु डा‍. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक बन्ने छन् । यस्तै, सनराइज बैंकबाट हालका अध्यक्ष मोतीलाल दुगड, इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड सञ्चालक बन्ने छन् । मर्जरपश्चात् बस्ने पहिलो बैठकले बैंकको अध्यक्ष चयन गर्नेछ । दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिसकेका छन् । दुवै बैंकबीच मर्जरमा जानका लागि गत जेठ ७ गते अन्तिम सम्झौता भएको थियो । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सबैभन्दा कमजोर नतिजा कर्णालीकाे, बागमती अगाडि

काठमाडौं । एसईईको नतिजालाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको नतिजाको प्रदेशगत आधारलाई हेर्दा कर्णाली प्रदेशका विद्यार्थी सबैभन्दा कमजोर देखिएका हुन् । बोर्डले आज प्रकाशित गरेको एसईईको नतिजा अनुसार कर्णाली प्रदेशबाट परीक्षामा सहभागी भएका ३५ हजार आठसय ६८ जना विद्यार्थी मध्ये जम्मा ०.६६ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस जिपिए ल्याएका छन् । त्यस्तै, बोर्डको नतिजाको आधारलाई हेर्दा बागमती प्रदेशका विद्यार्थी सबैभन्दा अब्बल देखिएका छन् । एसईईको परीक्षामा सो प्रदेशबाट सहभागी भएका ९७ हजार चारसय २७ जना विद्यार्थीमध्ये ११.७८ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए ल्याउन सफल भएका छन् । गण्डकी प्रदेशका विद्यार्थी अब्बलताको दोस्रो स्थानमा देखिएका छन् । एसईईको परीक्षामा सहभागी भएका गण्डकी प्रदेशका ४१ हजार दुईसय ७४ जना विद्यार्थी मध्ये ३.९९ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए ल्याउन सफल भएका छन् । त्यस्तै, तेस्रो स्थानमा कोशी प्रदेशका विद्यार्थी देखिएका छन् । एसईईको परीक्षामा सहभागी भएका ७४ हजार पाँचसय ७४ जना विद्यार्थी मध्ये ३.६२ प्रतिशत विद्यार्थीले ए प्लस जिपिए प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशका विद्यार्थी अब्बलताको हिसाबले चौथो स्थानमा देखिएका छन् । सो प्रदेशबाट एसईईको परीक्षामा ८० हजार चारसय ९० जना विद्यार्थी सहभागी भएका थिए, जसमध्ये ३.४७ प्रतिशत विद्यार्थीले ए प्लस ल्याउन सफल भएका छन् । मधेस प्रदेशका विद्यार्थी एसईईको नतिजाको आधारमा पाँचौ स्थानमा रहन पुगेका छन् । सो प्रदेशबाट एसईईको परीक्षामा सहभागी भएका ७४ हजार दुईसय ६९ जना विद्यार्थीमध्ये २.२४ प्रतिशत विद्यार्थीले ए प्लस ल्याएका छन् । एसईईको नतिजाको आधारमा सुदुरपश्चिम प्रदेशका विद्यार्थी कमजोरको हिसाबले दोस्रो स्थानमा देखिएका छन् । सो प्रदशबाट ५१ हजार नौसय ३८ जना विद्यार्थी एसईईको परीक्षामा सहभागी भएकोमा जम्मा ०.७७ प्रतिशत विद्यार्थीले मात्रै ए प्लस नतिजा ल्याउन सफल भएका छन् ।