सूचकमा ठीकठाक छ देशको अर्थतन्त्र
काठमाडौं । देशको अर्थतन्त्र समस्यामा रहेको भन्दै चिन्ता, चासो र बहस भइरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने देशको आर्थिक अवस्था सन्तोषजनक नै देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन अनुसार अर्थतन्त्रका मुख्य सूचकहरु सन्तोषजनक नै देखिएका हुन् । लामो समयदेखि समस्यामा रहेको देशको अर्थतन्त्र पछिल्ला सूचकहरुले भने सुधारको अवस्थामा देखिएको हो । चालु आर्थिक वर्षको ११ महिनासम्मको वित्तीय तथ्यांकका अनुसार अर्थतन्त्रका हरेक सूचकहरु सुधारको गतिमा छन् । पछिल्लो समय महँगी पनि केही घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । महँगी घट्यो पछिल्लो समय बजारमा महँगी बढेको भन्दै व्यापक आलोचना भइरहेको छ । बजारमा वस्तुको मूल्य बढ्दा भान्सा पनि महँगियो भन्दै सरकारको समेत आलोचना हुने गरेको छ । तर, राष्ट्र बैंकको ११ महिनासम्मको तथ्यांकले गत आर्थिक वर्षको तुलनामा महँगी घटेको हो । २०८० जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । विदेशी मुद्राको सञ्चिती बढेको बढ्यै नेपालको आयतमुखी अर्थतन्त्र भएकोले पनि देशको मुख्य र महत्वपूर्ण सूचकको रुपमा विदेशी मुद्राको सञ्चितिलाई लिने गरिन्छ । चालु आर्थिक वर्षको ११ महिनामा विदेशी मुद्राको सञ्चिती २१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी मुद्राको सञ्चिती २१.८ प्रतिशतले बढेको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भई २०८० जेठ मसान्तमा १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको छ । शोधान्तर स्थिती बचतमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशको शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ७४ करोड रुपैयाँले बचतमा रहेको छ । यस्तै, समीक्षा अवधिमा चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोड रुपैयाँले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ५३ करोड ६१ लाख रुपैयाँले घाटामा रहेको छ । सवा ११ खर्ब पुग्यो रेमिट्यान्स जेठ मसान्तसम्म अवधिमा विप्रेषण आप्रवाह २२.७ प्रतिशतले वृद्धि भई ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४६.६ प्रतिशतले वृद्धि भई ४,५९,४१५ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ०.५ प्रतिशतले वृद्धि भई २ लाख ६० हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०८.३ प्रतिशतले बढेको थियो । आयात घट्यो, निर्यात बढ्यो आर्थिक वर्ष २०७९/८० का ११ महिनामा कुल वस्तु निर्यात २२.७ प्रतिशतले कमी आई १ खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो । यस्तै, आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल वस्तु आयात १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । आयत घटेर निर्यात बढ्नु भनेको देशको अर्थतन्त्रका लागि सकारात्मक विषय हो । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो । यस्तो छ सरकारको खर्च राजश्व आर्थिक वर्ष २०७९/८० को ११ महिनामा संघीय सरकारको कुल खर्च ११ खर्ब ७६ अर्ब ७ करोड रुपैयाँ भएको छ । समीक्षा अवधिमा चालु खर्च ८ खर्ब ७७ अर्ब ३९ करोड, पुँजीगत खर्च १ खर्ब ५३ अर्ब ८ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब ४५ अर्ब ५९ करोड भएको छ । समीक्षा अवधिमा संघीय सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ८ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ भएको छ । यस अन्तर्गत कर राजस्व ७ खर्ब ५९ अर्ब रुपैयाँ र गैरकर राजस्व ७७ अर्ब ८५ करोड रुपैयाँ परिचालन भएको छ ।
कक्षा ११ मा के–के विषय पढ्न पाइन्छ ?
काठमाडौं । विद्यालय शिक्षा अन्तर्गत कक्षा १० को (एसईई) परीक्षा पछि कक्षा ११/१२ मा के पढ्ने भन्ने विषयमा विद्यार्थीहरु यतिबेला छलफलमा केन्द्रित छन् । सामान्यतया भोलिको करिअरको शुरुवातको रुपमा मानिने कक्षा ११/१२ आफ्ना नानीबाबुहरुलाई के विषय पढाउने भन्ने विषयमा अभिभावहरुले पनि सोचिरहेका छन् । पाठ्यक्रम विकास केन्द्रले विद्यालय स्तरको शिक्षामा कुन–कुन विषय पढाउने भनेर पाठ्यक्रमको विकास गर्ने गर्छ । अनुसन्धान र मागका आधारमा केन्द्रले पाठ्यक्रमको विकास गर्ने कार्य गर्दै आएको छ । खासगरी विद्यालय तहको माथिल्लो कक्षा ११ र १२ लाई लक्षित गरेर हालसम्म केन्द्रले झण्डै एससय जति पाठ्यक्रमको विकास गरेको छ । केन्द्रले विकास गरेको पाठ्यक्रमकै आधारमा पाठ्यपुस्तक बन्ने र तीनै पाठ्यपुस्तक विद्यार्थीले पढ्न पाउने गर्छन् । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सञ्चालन भएका विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले विकास गरेको पाठ्यक्रममा आधारित विषयलाई नै पढाउनुपर्ने हुन्छ । त्यसमध्ये चालु शैक्षिक शत्रमा विद्यालयहरुले ८३ वटा विषय पढाएका थिए । सबै विद्यालयहरुले जनशक्ति, आवश्यकता र मागको आधारमा सबै विषय पढाउँदैनन् । तर, पछिल्लो समयमा एकै स्थानमा रहेका फरक–फरक विद्यालयहरुले पनि विद्यार्थी रुची र आवश्यकतालाई हेरेर फरक–फरक विषय पढाउने गरेको पाइन्छ । जसले गर्दा विद्यार्थीहरुलाई पनि आफ्नो रुचीअनुसारको विषय पढाइ हुने विद्यालय रोजेर पढ्न सजिलो भएको छ । कक्षा ११/१२ मा पढ्न पाइने कुन–कुन विषय छन् ? पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को लागि ९३ वटा विषयको पाठ्यक्रम र नमूना पाठ्यपुस्तकको विकास गरेको छ । जसमा, अनिवार्य तीनवटा विषय छन् भने बाँकी ऐच्छिक विषय रहेका छन् । विद्यार्थीहरुले अनिवार्य विषय पढ्नै पर्ने हुन्छ भने ऐच्छिक विषय आफ्नो इच्छा र क्षमता अनुसार रोजेर पढ्न पाइन्छ । तर, सबै स्कुलहरुमा भने विद्यार्थीले रोजेको विषय पढाइ नहुनसक्छ । जनशक्ति, विद्यार्थी संख्या र आवश्यकता जस्ता विषयहरुलाई हेरेर पनि स्कुलहरुले पढाउने विषयको व्यवस्था गरेका हुन्छन् । त्यसैले, विद्यार्थीहरुले केही विषय नजिकैको स्कुलमा प्राप्त गर्नसक्छन भने कतिपय ऐच्छिक विषयको लागि अन्यत्रको स्कुलमा पनि जानुपर्ने हुनसक्छ । मुख्य कुरा कक्षा ११ र १२ मा भर्ना हुन भन्दा अगाडि कुन–कुन विषय पढ्न पाइन्छ भनेर बुझ्दा विद्यार्थीको लागि राम्रो भने अवश्य हुन्छ । पाठ्यक्रम विकास केन्द्रले ९३ वटा विषयको विकास गरेको भएपनि ती विषयहरु विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानून, पत्रकारिता र प्राविधिक जस्ता संरचनामा जोडिएर विभाजन गरिएका हुन्छन् । के–के छन् अनिवार्य विषयहरु : कक्षा ११ को अनिवार्य विषयमा नेपाली, सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा र अंग्रेजी रहेको छ । जुन विषय विद्यार्थीले अनिवार्य रुपमा पढ्नैपर्ने हुन्छ । त्यस्तै, ऐच्छिक विषय विद्यार्थीको करिअर अर्थात भोलि कुन विषयमा उच्च शिक्षा हासिल गर्ने भन्नेसँग महत्वपूर्ण ढंगले जोडिएको हुन्छ । त्यसैले स्कुलमा उपलब्ध धेरै विषयमध्ये विद्यार्थीले भोलि आफूले शिक्षक, डाक्टर, इन्जिनियर, कृषि, प्रविधि, व्यवस्थापन, मानविकी लगायतको संकाय मध्ये कुनमा अगाडि बढ्ने भनेर सोसँग सम्बन्धित ऐच्छिक विषय रोज्नुपर्ने हुन्छ । कुन ऐच्छिक विषय रोजेर पढ्ने ? विद्यार्थीले इच्छा लागेकै विषय पनि पढ्न सक्दैनन् । किनकी कतिपय विषय पढ्नको लागि एसईई परीक्षामा उत्तिर्ण हुँदा निश्चित प्रतिशत जिपिए ल्याएको हुनुपर्ने व्यवस्था गरिएको छ । कक्षा ११ मा गणित, रसायन विज्ञान, भौतिक विज्ञान र जीव विज्ञान पढ्नको लागि विद्यार्थीले कक्षा १० मा अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी प्लस’ सहित एसईईमा १.६ जीपिए ल्याउनुपर्छ । विद्यार्थीले कक्षा ११/१२ बाट नै प्राविधिक विषय अध्ययन गर्ने हो भने अर्थात प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिईभीटी) तर्फको कक्षा १२ बराबरको मान्यता पाउने १० वटा विभिन्न विषय पढ्न सक्छन् भने इन्जिनियरिङ तर्फ पनि एक दर्जन बढी विषय रोजेर पढ्न सक्छन् । अहिले धेरै जिल्ला र पालिकासम्मका धेरै स्कुलहरुले कक्षा ११÷१२ मा इन्जिनियरिङ, फार्मेसी, कृषि लगायतका धेरै प्राविधिक विषय र प्रि डिप्लोमा कोर्षहरु पनि सञ्चालन गरेका छन् । विद्यार्थीहरुले आफ्नो जातिगत तथा संस्कृत लगायतको भाषा पनि ऐच्छिक विषयको रुपमा अध्ययन गर्न सक्छन् । जसको बारेमा विद्यार्थीहरुले शिक्षक, साथीसँगी र अभिभावकहरुमार्फत पनि बुझ्न सक्छन् । कक्षा ११/१२ को लागि पाठ्यक्रम केन्द्रले विकास गरेका विषयहरु ऐच्छिक विषयहरु : १. भौतिक विज्ञान २. लेखाविधि ३. ग्रामीण विकास ४. विधिशास्त्र तथा कानुनी सिद्धान्त ५. नेपाली कानुनी प्रणाली ६. स्वास्थ्य तथा शारीरिक शिक्षा ७. खेलकुद विज्ञान ८. बाल विकास तथा सिकाइ ९. निर्देशनात्मक शिक्षाशास्त्र र मूल्यांकन १०. मनोविज्ञान ११. इतिहास १२. लैङ्गिक अध्ययन १३. हस्पिटालिटी व्यवस्थापन १४. प्राकृतिक चिकित्सा १६. मानवमूल्य शिक्षा १७. जीव विज्ञान १८. शिक्षा र विकास १९. भूगोल २०. प्रकृयागत कानून २१. कानुनी मस्यौदा २२. समाजशास्त्र २३. आयुर्वेद २४. व्यवसाय अध्ययन २५. भाषा विज्ञान २५. दर्शनशास्त्र २६. जनसङ्ख्या अध्ययन २७. खाद्य तथा पोषण २८. नृत्य २९. कम्प्युटर विज्ञान ३०. रसायन शास्त्र ३१. अर्थशास्त्र ३२. पर्यटन तथा पर्वतारोहण अध्ययन ३३. बजारीकरण ३४. बुढ्यौली तथा स्याहार शिक्षा ३५. योग ३६. वाद्यवादन ३७. संवैधानिक कानून ३८. नागरिक र फौजदारी कानून तथा न्याय ३९. पाककला ४०. संस्कृति ४१. फेसन डिजाइनिङ ४१. पशु, पंक्षी तथा माछापालन ४२. नेपाली (ऐच्छिक) ४३. अंग्रेजी (ऐच्छिक) ४४. गणित ४५. प्रयोगिक ४६. व्यवसायिक गणित ४७. पुस्तकालय तथा सूचना विज्ञान ४८. गृह विज्ञान ४८. वातावरणीय विज्ञान ४९. साधारण कानून ५०. वित्त ५१. बौद्ध अध्ययन ५२. प्रायोगिक कला ५३. गायन ५४. मौरीपालन तथा रेशमखेती ५५. सौन्दर्य तथा केशकला शिक्षा ५६. जडीबुटी ५७. प्लम्बिङ तथा वाइरिङ ५८. होटल व्यवस्थापन ५९. आमसञ्चार ६०। संस्कृतरचना ६१। संस्कृतभाषाव्याकरणम् ६२। शुक्लयजुर्वेदः ६३। सामवेदः ६४। ऋग्वेदः ६५. अथर्ववेदः ६६। संस्कृतव्याकरणम् ६७। सिद्धान्तज्योतिषम् ६८। न्यायः ६९। संस्कृतसाहित्यम् ७०। इतिहासपुराणम् ७१। नीतिशास्त्रम् ७२। कर्मकाण्डः ७३। फलितज्योतिषम् ७४। वास्तुशास्त्रम् ७५. नेपाल भाषा ७६. मैथली भाषा ७७. राजनीतिशास्त्र ७८. कोरियन भाषा ७९. चिनिया भाषा ८०. हिन्दी भाषा ८१. संस्कृत भाषा ८२. उर्दु भाषा ८३. जापानिज भाषा ८४. पाली भाषा ८५. सिलाई बुनाई ८६. अतिरिक्त गणित ८७. आन्तरिक सजावट ८८. सहकारी व्यवस्थापन ८९. प्राणी विज्ञान ९०. सिभिल इन्जिनियरिङ ९१. कम्प्युटर इन्जिनियरिङ ९२. इलेक्ट्रिकल इन्जिनियरिङ ९३. वनस्पति विज्ञान कसरी बनाउँछ केन्द्रले पाठ्यक्रम ? पाठ्यक्रम विकास केन्द्रले ‘विद्यालय तहको पाठ्यक्रम प्रारुप २०७६’ का आधारमा पाठ्यक्रम निर्माण गर्छ । केन्द्रका सूचना अधिकारी डा. बाबुराम ढुंगानाका अनुसार प्रारुपले पाठ्यक्रमको विकास कसरी गर्ने भनेर स्पष्ट दिशानिर्देश गरेको छ । तर, केन्द्रले कतिपय अवस्थामा माग र अनुसन्धानका आधारमा पनि नयाँ–नयाँ पाठ्यक्रम विकास गर्ने कार्य गर्दै आएको उनी बताउँछन् । ‘ज्ञानको बजारले नयाँ पाठ्यक्रमको लागि माग गर्यो भने नयाँ पनि आइहाल्छ, पुराना विषयहरु विस्थापित हुँदै जान्छन्, नयाँ विषयहरु स्थापित हुँदै जान्छन्’, उनले भने, ‘पाठ्यक्रम प्रारुपले पनि स–साना परिमार्जन गर्नुपर्ने विषयहरु तुरुन्तै गर्न भनेको छ, त्यसपछि साना किसिमका सुधाररु हरेक ५/५ वर्षमा गरिरहन पर्छ भनेर भन्छ भने पाठ्यक्रमको परिवर्तन चाहिँ १० वर्षमा गर्नुपर्छ भनेर भन्छ ।’ केन्द्रले राष्ट्रिय स्तरका शैक्षिक आयोग, कार्यदल र समितिबाट दिइएका सुझाव, पाठ्यक्रम प्रयोगकर्ताको सुझाव र शिक्षक, अभिभावक, सामाजिक कार्यकर्ता र बुद्धिजीवीहरुबाट प्राप्त सुझावहरुलाई पाठ्यक्रम विकास तथा परिमार्जनको प्रकृयामा लिने काम गर्छ । त्यस्तै, अनुसन्धान तथा विकास र प्रवर्तनात्मक कार्यक्रम, नागरिक समाज र राजनीतिक दलबाट प्राप्त हुने सुझावहरुलाई पनि पाठयक्रमको विकास तथा परिमार्जनमा लिने गर्छ । विश्वमा पाठ्यक्रमको विकासमा भएको प्रयोग, श्रमबजारले गरेको माग र विज्ञान प्रविधिको विकासलाई पनि पाठ्यक्रम विकासको आधारको रुपमा लिने गरिएको डा. ढुंगानाको भनाइ छ । त्यसरी विभिन्न क्षेत्रबाट प्राप्त सुझाव सल्लाहको संकलन गर्ने, वक्र्स सप गर्ने, अनुसन्धान, विज्ञ तथा प्राध्यापकहरुको सुझाव लिने र विषयगत समितिहरुमा छलफल गरेर मन्त्रालयको मन्त्रीको आवश्यक निर्देशन पश्चात पाठ्यक्रमलाई आकार दिने गरिने उनले बताए । केन्द्रका सूचना अधिकारी डा. ढुंगानाका अनुसार प्रारुपका आधारमा प्रत्येक १० वर्षमा हरेक पाठ्यक्रम पूर्ण रुपमा परिमार्जन हुँदै आएको छ भने, विकसित राजनीतिक, सामाजिक र प्रविधिसँग जोडिएर पनि पाठ्यक्रम विकास हुँदै आएको छ । पछिल्लो १० वर्षमा धेरै नै नयाँ पाठ्यक्रम केन्द्रले विकास गरेको उनको भनाइ छ ।
हाई प्रोफाइल व्यवसायी आर्थिक संकटमा पर्दा बैंकरलाई तनाव, २२ अर्ब ऋण डिफल्ट
काठमाडौं । अहिले नेपाली व्यवसायमा ‘लोभले लाभ, लाभले विलाप’का घटनाहरु बढ्न थालेका छन् । रातारात धन कमाएर धनाड्य हुने महत्वकांक्षा र व्यक्तिगत लहडले कतिपय व्यवसायीहरु आर्थिक संकटमा मात्रै फसेका छैनन्, जेलको बास गर्नु पर्ने बाध्यता पनि सिर्जना भएको छ । रातारात अर्बपति बन्ने सपना बोकेका इच्छाराज तामाङ होस् वा कृषि व्यवसाय गरेर नेपाली मेडिकल क्षेत्रमा राज गर्ने चाहना बोकेका मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसम्मका व्यवसायी अहिले ठूलो आर्थिक संकटमा छन् । कुनै समय नेपाली घरजग्गा क्षेत्रबाट मनग्य कमाएर अर्बपतिको लाइनमा देखिएका व्यवसायी हुन् इच्छाराज तामाङ । कुनै बेला उनलाई भेट्न सिभिल ग्रुपको कार्यालयमा जाने जोकोहीलाई पनि कुनै राजकीय पृष्ठभूमिको व्यक्तिको घरमा प्रवेश गरेको आभास हुन्थ्यो । उनको लवाई-खवाई मात्रै होइन, उनको राजकीय शैलीले पनि धेरैलाई छक्क पार्थ्यो । तामाङले आफ्नो कार्यालयलाई पनि सोही किसिमले ‘डेकोरेट’ गरेका हुन्थे । उनी निकट भएर काम गरेकाहरु भन्छन्, ‘इच्छाराज तामाङलाई भेट्न जाने जोकोहीलाई पनि उनी खुशी बनाएर पठाउँथे ।’ तर, त्यो दिन धेरै टिकेन । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका तामाङले सिभिल सहकारीका बचतकर्ताको पैसा ठगेको आरोपमा अहिले उनको बास जेलमा छ । उनी मात्रै होइन, उनकी जीवन संगिनी सिर्जना शाक्य तामाङ पनि उनीसँगै जेलमा छिन् । सहकारीमा आफै साहु र आफै ऋणी बन्दा उनको बास जेलमा हुन पुग्यो । अहिले उनको व्यवसाय तहसनहस बनेको छ । उनीसँग वाणिज्य बैंकको करिब ५ अर्ब रहेको बैंकरहरु बताउँछन् । तामाङको सबैभन्दा बढी ऋण प्राइम कमर्सियल बैंकमा रहेको बुझिएको छ । त्यससँगै सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष, सनराइज बैंक लगायतमा पनि उनको कर्जा रहेको बैंकरहरु बताउँछन् । सिटिजन्स बैंकका सूचना अधिकारी नारायण अधिकारी भने तामाङको नाममा सिटिजन्स बैंकमा रहेको ऋण राफसाफ भइसकेको बताउँछन् । तामाङले अन्य बैंकको ऋण भने तिर्न सकेका छैनन् । इच्छाराज जस्तै अहिले सहकारीको रकम हिनामिना गरेर प्रहरीको नियन्त्रणमा रहेका व्यवसायी हुन् केदार शर्मा । केदारको कहानी पनि इच्छाराजको भन्दा फरक छैन । यद्यपि, सहकारीको उनको ठगी हालसम्मकै ठूलो हो । तुलसी सहकारीका अध्यक्ष र शिबशिखर सहकारीका सञ्चालक रहेका उनले दुई सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड बढी रकम हिनामिना गरेको आरोप छ । अहिले उनीसहित उनकी श्रमती गिता शर्मा र अन्य दुई सञ्चालकहरु पनि प्रहरीको नियन्त्रणमा छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । ४३ वटा कम्पनीमा लगानी गरेका उनले पनि बैंकहरुबाट ठूलो रकम ऋण लिएका छन् । उनले विभिन्न सात वटा बैंकबाट साढे ५ अर्ब रुपैयाँ ऋण लिएको खुलेको छ । उनले एसबिआई बैंकबाट करिब २ अर्ब, हिमालयनबाट १ अर्ब बढी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ९० करोड, माछापुच्छ्रेबाट ६८ करोड, प्रभुबाट ४० करोड, नबिलबाट २० करोड र एनएमबि बैंकबाट करिब १० करोड रुपैयाँ कर्जा लिएको बुझिएको हो । अहिले ऋणी पक्राउ परेपछि बैंकहरु ऋण असुलीको प्रक्रियामा लागेका छन् । स्रोतका अनुसार उनले धितो नै राखेर बैंकबाट ऋण लिएका छन् । ‘हाम्रो ऋण फस्दैन, किनकी धितो राखेर नै ऋण प्रवाह भएको छ, अब धितो लिलाम गरेर कर्जा असुल गर्ने कि केही समय रोक्ने भनेर योजना बनाइरहेका छौं, केहीले प्रक्रिया अगाडि बढाइसकेका छन्,’ एक बैंकका सीईओले भने । उनले कर्जा नतिरेपछि उनले लगानी गरेका कम्पनीहरु र उनको नाम पनि पटक-पटक कालोसूचीमा परिरहेको छ । उनले लगानी गरेका आधा दर्जन कम्पनीहरु अहिले कालोसूचीमा छन् । यस्तै, सुमेरु समूहको नाममा कम्पनीहरु खडा गरेर रातारात अर्बपति बन्ने व्यवसायीको लाइनमा थिए भरत महर्जन । उनलाई पनि घरजग्गाले नै डुबाएको छ । सुमेरु समूहको नाममा सुमेरु अस्पताल, कलेज, हाउजिङ, मार्ट, पर्यटन व्यवसाय लगायत डेढ दर्जन क्षेत्रमा हात हालेका उनी अन्ततः ठूलो फसादमा परे । उनको व्यवसायिक साम्राज्य पनि सामान्य थिएन । उनले पनि सुमेरु सहकारीका बचतकर्ताको रकम आफ्नो विभिन्न कम्पनीहरुमा लगानी गरेको बुझिएको छ । तर, सहकारीको रकम हिनामिना गरेर उनी विदेश पलायन भइसकेका छन् । सुमेरु सहकारीको जिम्मेवारी पूर्व कर्मचारी हेमराज दाहाललाई दिएर उनी बेलायत फरार भएको बुझिएको छ । जसको कारणले बैंकहरुलाई पनि पैसा उठाउन ठूलो सकस परेको बुझिएको छ । स्रोतका अनुसार उनले विभिन्न बैंकबाट दुई अर्ब कर्जा लिएका छन् । उनको नाममा कुमारी बैंकले १ अर्ब बढी र प्रभु बैंकले २० करोड लगानी गरेको बुझिएको हो । यस्तै, अन्य बैंकमा पनि उनको स-सानो रकममा ऋण रहेको स्रोतको दाबी छ । कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रामचन्द्र खनालले महर्जनले गत पुससम्म नियमित किस्ता दिर्दै आएको भएपनि त्यसयता भने नतिरेको बताए । ‘पहिले नियमित तिर्दै आउनु भएको थियो, पछिल्लो समय तिर्नु भएको छैन, सम्पर्कमा पनि हुनुहुन्न,’ डीसीईओ खनालले भने । सहकारीकै बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका अर्का व्यवसायी हुन् रविन्द्र चौलागाईं । देउराली सहकारीका अध्यक्ष समेत रहेका उनले सहकारीका बचतकर्ताको ७ अर्ब बढी रकम हिनामिना गरेको बुझिएको छ । उनले आरआर ग्रुप अफ कम्पनी, देउराली प्रोपर्टी, श्री पूजा पोल्ट्री फार्म, मून भेन्चर इन्भेष्टमेन्ट, आरआर रिसर्च एन्ड डेभलपमेन्ट, पूजा मार्केटिङ, श्रीश्री ब्रदर्स मार्केटिङ, अन्नपूर्ण डिस्टीलरी र पूजा ट्रेडिङ एन्ड मार्केटिङ लगायतका कम्पनी खोलेर सहकारीको रकम ती कम्पनीमा लगाएको बुझिएको छ । अहिले उनीमाथि पनि प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ । चौलागाईंले ती कम्पनीहरु सञ्चालनका लागि बैंकहरुबाट चार अर्ब बढी ऋण लिएको बुझिएको छ । उनले प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकबाट २ अर्ब ५ करोड, सिटिजन्स बैंकबाट २५ करोड, तत्कालीन मेगा (हालको इन्भेष्टमेन्ट मेगा) बाट साढे १८ करोड ऋण लिएका छन् भने एनआइसी एसिया बैंक र माछापुच्छ्रे बैंकबाट पनि ५ करोड १० करोड बढी ऋण लिएको स्रोतको दाबी छ । बैंकहरुको सो रकम ठूलो जोखिममा रहेको स्रोतको भनाइ छ । उनी पनि अब छ्टिै प्रहरीको नियन्त्रणमा जाने निश्चित छ । त्यसपछि झन् बैंकको ऋण जोखिममा पर्नेछ । किनकी उनले कमजोर धितो राखेर बैंकबाट ऋण लिएका छन् । प्रभु बैंकले पटक-पटक सार्वजनिक सूचना निकालेर उनलाई ऋण तिर्न ताकेता पनि गरिरहेको छ । यस्तै, सहकारीभन्दा फरक पृष्ठभूमिका व्यवसायी हुन् दुर्गाप्रसाद प्रसाईं । प्रसाईं पनि पछिल्लो समय आफु ठूलो संकटमा परेको बताइरहेका छन् । उनले पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न सकेका छैनन् भने बैंकहरुले उनलाई थप कर्जा प्रवाह नगर्ने सहमति नै गरिसकेका छन् । प्रसाईंले बैंकबाट साढे ५ अर्ब ऋण लिएर बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल, रियलस्टेट, चिया बगानमा लगानी गरेका छन् । प्रसाईंले बनाएका बी एण्ड सी मेडिकल कलेज, पूर्वाञ्चल क्यान्सर अस्पताल, पाँच तारे ‘होटल एट्रियम’ असफल बन्दैछन् । प्रसाईंका अनुसार सरकारले अनुमति नदिँदा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन । होटल निर्माणको ६० प्रतिशत मात्र काम भएको छ । तर, बैंकले थप कर्जा दिन नमानेपछि निर्माण कार्य रोकिएको छ । बैंकले पहिलो चरणमा १२५ करोड र दोस्रो चरणमा ७४ करोड रुपैयाँ कर्जा बैंकबाट स्वीकृत गराएको थियो । तर, पुरै पैसा नपाएपछि होटल निर्माण रोकिएको प्रसाईंले बताए । उनले बैंक तथा वित्तीय संस्थाको चौतर्फी रुपमा विरोध गरेर बैंकरलाई कालोमोसो दल्ने अभियान अगाडि बढाएपछि बैंकरहरु उनीप्रति कठोर बनेका हुन् । परिणामस्वरुप उनलाई थप कर्जा प्रवाह नगर्ने र लगानी भएको ऋण पनि उठाउने प्रयासमा बैंकर लागेका हुन् । तर, उनले ऋण नतिरेर अदालत धाउन थालेका छन् । प्रसाईंले ग्लोबल आइएमई, कुमारी र प्रभु बैंकबाट एक/एक अर्ब रुपैयाँ ऋण लिएका छन् भने नबिलबाट ७६ करोड, राष्ट्रिय वाणिज्यबाट ७० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड र गुडविल फाइनान्सबाट १० करोड रुपैयाँ ऋण लिएको खुलेको छ । तर, यी सबै बैंकले उनको किस्ता रोकिरहेका छन् । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी कुल १ अर्ब रुपैयाँ ऋण तिर्न ताकेता गरेपछि उनी उच्च अदालत विराटनगर पनि पुगे । प्रसाईंले माग गरे बमोजिम अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । बैंकबाट ऋण लिएर ठूला प्रोजेक्टहरुका मालिक बन्न खोजेका उनलाई बैंकले पत्याउन छोडेपछि अहिले उनी आत्तिएका छन् । झापामा एक सामान्य परिवारमा जन्मिएका उनले सुरुमा कृषि गर्थे । झापामा ठूलो चिया बगान चलाएर बसेको गिरि परिवारको छोरीसँग विवाह गरेपछि उनलाई व्यवसाय गर्ने चेत आएको उनी निकटहरु बताउँछन् । त्यसपछि उनी स-सानो व्यवसाय गर्न थाले । सुरुमा उनले कृषि विकास बैंकबाट ऋण लिएर भैंसी पालन गरे । उनको आर्थिक हैसियत विस्तारै उकासिँदै गयो । बैंकले पनि पत्याउन थाले । एकपछि अर्को व्यवसायमा हात हालेपछि उनी समाजमा चिनिन थाले । तर, उनलाई सम्पत्तिको मात लागेपछि उनले भने अरुलाई चिन्न छाडे र तथानाम गाली बेइज्जतमा उत्रिए । जसको बलमा ठूला प्रोजेक्टहरु निर्माण गरेका थिए उनकै विरोधमा उत्रिएपछि अहिले उनी संकटमा परेका हुन् । उनी संकटमा पर्दा उनीमाथि कर्जा लगानी गरेका बैंकहरु पनि समस्यामा परेका हुन् । अहिले ठूला ऋणीहरुले बैंकको सावाँ ब्याज नतिर्दा बैंकलाई ऋण असुलीमा समस्या भइरहेको बताइरहेका छन् । चालु आर्थिक वर्षको अन्तिम त्रैमासमा राम्रो रिकभरि गरेर बैंकको वित्तीय विवरण बलियो देखाउने रणनीतिमा रहेका बैंकरहरुलाई ठूला व्यवसायीले ऋण नतिर्दा वित्तीय विवरणमै ठूलो असर पर्ने देखिन्छ । यसले गर्दा बैंकको खराब कर्जा पनि बढ्ने आँकलन बैंकरले गरेका छन् भने २२ अर्ब बढी कर्जा डिफल्ट हुने जोखिम छ । सम्बन्धित सामग्री : सहकारी खोलेर रातारात अर्बपति, संस्था डुबाएर नातेदारलाई नेतृत्व जसलाई सहकारीले अर्बपति बनाएर सडकमा पुर्यायो