सन्तानहरुलाई कुरिरहेको सुवासको शव

काठमाडौं । व्यक्तिलाई कहिले अपत्यारिलो खबरले रुवाउँछ, कहिले अप्रत्यासित मृत्युले रुवाउँछ त कहिले देशको दर्दनाक तस्वीरले भावविभोर बनाउँछ । त्यो भावविभोरता र त्यो अप्रत्यासित रुवाइको घटना नेपाल र नेपालीका लागि मंगलबार पनि घट्यो । नेकपा एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको मृत्युले देश शोकमा डुब्यो । एक शालिन र कुशल राजनीतिज्ञ, आफ्नै पार्टीका सहकर्मीसँगै अन्य राजनीतिक दलका प्रतिस्पर्धी नेताहरुसँग पनि सुमधुर सम्बन्ध कायम गर्नमा खप्पिस उनको निधनले देशलाई ठूलो क्षति पुर्याएको छ । उनको सोही क्षमताको यतिखेर सिंगो देशले जयजयकार गर्दैछ । उनी अहिले सञ्चार माध्यमको हेडलाइन बनिरहेका छन् । विपक्षी दल तथा असन्तुष्ट पक्षलाई पनि सहमति र समझदारीमा ल्याउने वातावरण निर्माण गर्न सक्ने खुवी भएका उनको निधनले नेकपा एमालेसँगै देशलाई पनि ठूलो नोक्सानी भएको छ । उनको मृत्युको दुःखद खबरसँगै अर्को एउटा समाचारले तपाईं/हामीलाई भावविभोर बनाएको छ । उसो त त्यो भावविभोरता तपाईं/हामीले दिनहुँ महसुस गर्नु परेको छ, देख्नु परेको छ र सुन्नु परेको छ । दैनिक हजारौं युवाहरुले त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आँसु चुहाउँदै यो देश छोड्नु परेको छ । एकछिन कल्पना गर्नुस् त ! तपाईं/हाम्रो छोराछोरी, भाई/बुहारी, भतिज/भतिजी वा श्रीमान/श्रीमतीलाई बिदाइ गर्दाका ती पलहरु कति हृदयविदारक बनिदिन्छन् । अझ काँधभरी खादामालाहरु भिडाएर बिदाइका हातहरु हल्लाएको त्यो तपाईंको मान्छे एउटा बाकसमा मृत शरिर बनेर फर्कियो भने आफुलाई सम्हाल्न सक्नु हुन्छ ? अर्थात्, तपाईंले अँगालो मारेर बिदाइ गरेको त्यो प्रिय मान्छे तपाईंको मृत्युमा उपस्थित हुन सकेन भने तपाईंले स्वास छोडेर यो संसार छोड्दै गर्दा कस्तो गाह्रो र असह्य हुन्छ होला । देशको सभामुख भइसकेको व्यक्ति । संविधानसभा अध्यक्ष भएर देशको प्रमुख राजनीतिक दल नेकपा एमालेको उपाध्यक्ष जस्तो मान्छेको मृत्युमा उनका उत्तराधिकारी अर्थात् दुइटै छोराहरु उनको अन्तिम स्वासमा उपस्थित छैनन् । बुबाको मृत्यु भएको दुई दिनपछि उनका छोराहरु विदेशबाट स्वदेश आइपुग्दैछन् । कस्तो विडम्वना ! कसैलाई छोरा नभएर दुःख । कसैलाई छोरा बढी भएर दुःख त कसैलाई छोरा विदेश भएर दुःख । दुःख सबैका आ-आफ्नै किसिमका । स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ बेलायतबाट बुधबार दिउँसो चार बजे नेपाल आइपुग्दैछन् । उनी सपरिवार बेलायत बस्दै आएका छन् । उनका कान्छा छोरा सुहाङ नेम्वाङ आज राति ११ बजे फर्किने बुझिएको छ । देशको ठूलो राजनीतिज्ञको छोराहरु विदेश भएको कारण उनको मृत्युमा उनका छोराहरु उपस्थित हुन सकेनन् । उनीहरु बुबाको अन्तिम स्वासमा सारथी बन्न सकेनन् । हामी स्वदेशमै रोजगारीको कुरा गर्छौं । त्यो कुरा सबैभन्दा बढी गर्ने राजनीतिक नेतृत्वले नै हो । तर, एकछिन सरसर्ती हेरौं त, यो देशका शिर्ष नेताहरुका छोराछोरीहरु कहाँ छन् ? के गर्दैछन् ? के राजनीतिक नेतृत्वहरुले भनेजस्तै उनीहरुका छोराछोरी पनि स्वदेशमै रोजगारी गरिरहेका छन् ? स्वदेशमै पढिरहेका छन् ? वा स्वदेशमै उद्यमी बनेका छन् ? यो सामग्री तयार गर्दै गर्दा पंक्तिकारले पनि देशका शिर्ष नेताहरुका छोराछोरी कहाँ छन् ? स्वदेशमै कार्यरत छन् वा विदेशमै छन् ? भन्ने विषय सरसर्ती केलाए । तर, अधिकांश शिर्ष नेताका छोराछोरीहरु विदेशमा भेटिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयबिर देउवा विदेश–स्वदेश गर्दै आइरहेका छन् । उनी नेपालमा भन्दा बढी विदेशमा बस्छन् । उनले बेलायतबाट नै राजनीतिकशास्त्रमा विद्यावारिधी गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेल पनि बेलायतमै बस्ने गरेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका छोरा सौरभ नेपाल पनि अष्ट्रेलियामा रहेको बुझिएको छ । स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ भनेर गफ दिने पूर्व अर्थमन्त्री जनार्दन शर्माका छोरा प्रकाश शर्मा र छोरी कविता शर्मा पनि अमेरिकामै बस्छन् । पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी श्रृखला खतिवडा पनि विदेशमै छिन् । उनले केही समयअघि अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् । उर्जामन्त्री शक्ति बस्नेतको छोरी पनि अमेरिकामै रहेको बुझिएको छ । यी केही प्रतिनिधि पात्रहरु मात्रै हुन् । अहिले मन्त्रिमण्डलमा भएका अधिकांश मन्त्रीहरुका छोराछोरीहरु विदेशमा छन् । उनीहरु विदेशमै पढेर उतै सेटल भइसकेका छन् । नेताहरु देश बनाउँछौैं, स्वदेशमै राजगारी सिर्जना गर्छौं भनेर दिनप्रतिदिन गफको ग्राफ बढाउँदैछन् । उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरुको ग्राफ बढ्दो छ । त्यो ग्राफमा तिनै देश बनाउँछु भनेर लागेका नेताहरुका छोराछोरी पनि समाहित छन् । आफ्ना छोराछोरीलाई विदेश पठाएर म देश बनाउँछु भनेर देश बन्छ ? आफ्ना सन्तानलाई विदेशी महँगा विश्वविद्यालयहरुमा पढाएर यता गरिबका छोराहरुलाई निःशुल्क शिक्षा प्रदान गर्छौं भन्दै गफ लगाएर हुन्छ ? आफु र आफ्ना छोराछोरीहरुलाई विदेशी सुविधा सम्पन्न अस्पतालहरुमा उपचार गराएर देशमा स्वास्थ्य क्षेत्रमा कायापलट गर्छौं भनेर गफ दिन मिल्छ ? नेताज्यूहरु ख्याल गर्नुस्, तपाईंको मरणमा पनि तुलसी जल पिलाउनेहरुको कमि हुन सक्छ । प्राण प्यारा तपाईंका छोराहरु तपाईंको अगाडि नहुन सक्छन् । त्यतिखेर तपाईंलाई डलरभन्दा तुलसी पानीको प्यासले छटपटाउन बाध्य पार्न सक्छ । त्यतिखेर तपाईंलाई डलरको गड्डीभन्दा प्रिय पुत्रको प्यास बढी लाग्न सक्छ । अहिले देश दुखेको छ । तपाईंहरुको मन दुखेको छैन । पछि तपाईंको मन दुख्न सक्छ । तर, त्यतिबेला तपाईंहरुसँग न गर्न सक्ने पद रहन्छ , न प्रतिष्ठा हुन सक्छ नत गर्न सक्ने हैसियत नै । समुन्द्र पारी रहेको छोरालाई भिडिओ कल गर्दै घर फर्किने विलौनासहितको विकल्प तपाईंसँग हुने छैन । परिणाम निस्कन्छ, सुवास नेम्वाङ । जसले आफ्नो छोराको हातबाट दागबत्ती पाउन दुई दिन कुर्नु पर्ने । आदारणिय नेता सुवास नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली ।

माथिल्लो त्रिशूली–१ तीन वर्षभित्र निर्माण सम्पन्न गरिने

काठमाडौं । रसुवामा निर्माणाधीन हालसम्मकै ठूलो २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय शक्ति बहादुर बस्नेतले नेपालको आन्तरिक खपतका लागि कोरियन कम्पनीहरुको प्रत्यक्ष वैदेशिक लगानीमा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको शिलान्यास गरेका हुन् । मंगलबार आयोजित विशेष समारोहकाबीच आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स) निर्माण कार्यको शिलान्यास गरिएको हो । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकूमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका १ मा भूमिगत विद्युतगृहलगायतका संरचनाहरु निर्माणाधीन छन् । शिलान्यासमा मन्त्रीले नेपालको जलविद्युत विकासमार्फत आर्थिक रुपमा समृद्धि हासिल गर्न यस क्षेत्रमा सरकारले स्वदेशी तथा विदेशी लगानीका लागि वातावरण बनाइरहेको उल्लेख गरे । मुख्य रुपमा हिउँदको विद्युत् माग पूरा गर्न आकर्षक रहेकाले नमुना आयोजनाको रुपमा तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक सहजीकरण गरिने उनले बताए । समारोहमा आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट पावर (कोइन)का सभापति एमम् प्रमुख कार्यकारी अधिकृत होउ चुन किमले नेपालको अपार जलस्रोतको प्रयोग गरी स्वच्छ हरित ऊर्जाको आन्तरिक रुपमा खपत बढाइ  अतिरिक्त भएको ऊर्जा छिमेकी देशहरुमा निर्यात गरी आर्थिक समृद्धि हासिल गर्न र जलवायु परिवर्तनको असर न्यूनिकरणमा ठूलो योगदान गर्न सकिने बताए । आयोजनाको मुख्य निर्माण गत २०७८ पौषबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरुको निर्माण सबैतिरबाट तिब्र गतिमा भइरहेको छ । आयोजनाको समग्र  भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने छ । आयोजना निर्माणमा हाल करिब १ हजार श्रमिक परिचालित छन् । त्यसमध्ये करिब ५ सय रसुवा जिल्लाका स्थानीय बासिन्दा छन् । आयोजना निर्माण अवधि (५ वर्ष)मा ७००–१००० जना नेपाली श्रमिकले दैनिक रुपमा रोजगारी पाउने छन् । आयोजना सञ्चालन अवधि (३० वर्ष)मा ७०–८० जनाले रोजगारी पाउने छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले कार्य गरिरहेको छ । आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्पमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमलगायतको शेयर लगानी रहेको छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तराष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (ईक्विटी)बाट जुटाइएको छ । आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित उर्जा नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युतको अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ ।

टोखा-छहरे सुरुङमार्ग बनाउन ५० अर्ब खर्च लाग्ने, चीनले सहयोग गर्ने अपेक्षामा सरकार

नुवाकोट । सरकारले टोखा-छहरे सुरुङमार्ग राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त आयोजनाका रूपमा अगाडि बढाइने तयारी गरेको छ । मंगलबार उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को स्थलगत अवलोकन एवं निरीक्षणमा गएका तीन जना मन्त्रीले सरकारले प्राथमिकतामा राखेर निर्माण अगाडी बढाउने बताएका हुन् । सुरुङ निर्माण गर्न काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् । प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न तीनवटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । तीन दशमलव तीन, तीन दशमलव छ र चार दशमलव दुई किलोमिटर लम्बाइको हुनसक्ने अध्ययनमा देखिएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलले स्थलगत अवलोकनका क्रममा सो कुरा बताएका हुन् । अर्थमन्त्री डा महतले सरकारले छिट्टै इआइए सकेर निर्माण सुरु गर्ने बताए । अहिले हामीले इआइएको स्थलगत अवलोकन गरेका छौँ, यसको प्रतिवेदन सार्वजनिक भएसँगै सुरुङमार्ग निर्माणको काम सुरु गछौँ, सम्भवत चालू आर्थिक वर्षभित्र आयोजना निर्माणको सुरुवात गरिसक्छौँ’, उनले भने । उनले सरकारले चालू आर्थिक वर्षका लागि एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेकोे भन्दै निर्माणको काम सुरु हुने दाबी गरे । सरकारले यो आयोजनालाई उच्च प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्रीको चीन भ्रमणको मुख्य एजेण्डा नै सुरुङमार्ग भएको उनको भनाई छ । चीन सरकारको सहयोगमा यसअघि गरिएको सुरुङमार्गको प्रारम्भिक अध्ययनमा उपयुक्त हुने देखिएकाले काम सुरु गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । सुरुङमार्ग निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा इआइएसहितको काम अघि बढाउन आवश्यक कानुनी बाटो मन्त्रालयबाट खुला गरिने वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले बताए । स्थलगत अवलोकनपश्चात उनले आयोजना निर्माणबाट वनजङ्गल तथा निकुञ्जलाई दीर्घकालीन जोखिम नपर्ने देखिएकाले काम अघि बढाउन कानुनी समस्या नहुने प्रतिवद्धता व्यक्त गरे । सुरुङमार्ग निर्माणले नुवाकोटबाट काठमाडौँ जानका लागि अहिले सञ्चालनमा आइरहेको छहरेबाट टोखा पुग्न शिवपुरी निकुञ्ज पार गर्दै जानुपर्ने करिब १२ किमी सडक छोटो हुनेछ । चीन भ्रमणको मुख्य प्राथमिकता टोखा छहरे सुरुङमार्ग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५ असोजदेखि गर्ने चीन भ्रमणमा नेपालले टोखा-छहरे सुरुङमार्ग निर्माण अघि बढाउन प्रस्ताव गर्ने तयारी गरेका छन् । निर्माण क्षेत्रका अन्य योजनामध्ये उक्त सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौंको टोखा र नुवाकोटको छहरे जोड्ने सुरुङमार्ग निर्माणका लागि अनुदान सहयोग माग्ने तयारी सरकारको छ । असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको सयमा उक्त सुरुङमार्ग निर्माणको सम्झौता भएकको थियो । चिनियाँ राष्ट्रपतिले नै टोखा-छहरे-गुर्जुभञ्ज्याङ र बेत्रावती-रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति गरेका थिए । उक्त सहमति अनुसार चीन सरकारले नै डीपीआर बनाउन लाग्ने खर्च व्यर्हाेर्दै आएको छ । यस्तै, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) भने नेपाल सरकारले गर्ने सहमति भएको थियो । १५ वैशाखमा अर्थमन्त्री डा. महत र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भएको भेटवार्ता पनि टोखा-छहरे सुरुङमार्ग निर्माणबारे छलफल भएको थियो । चिनियाँ राजदूतले नेपालको पूर्वाधार निर्माणमा चीन सरकारले ८० अर्ब रुपैयाँ सहयोग उपलब्ध गराउने समेत प्रतिवद्धता व्यक्ति गरेका थिए । ५० अर्ब खर्च अनुमान, एक अर्ब विनियोजन सरकारले उक्त सुरुङमार्ग निर्माणका लागि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ । उक्त रकम खर्च हुने अनुमान गरेपनि सरकारले चालू आवका लागि सवा १ अर्ब रुपैयाँ मात्र विनियोजन गरेको छ । अर्थमन्त्री डा महतले स्रोत अभावका कारण कम रकम विनियोजन गरिएको भन्दै आवश्यकता अनुसार रकम थप गर्दै जाने बताए । उनले नेपालले मात्र निर्माण गर्न नसक्ने भन्दै चीन सरकारसँग निर्माणका लागि सहयोग माग गर्ने बताए । ‘अहिलेको प्रयासले पुग्दैन, प्रधानमन्त्रीज्यूको टोली चीन भ्रमणमा जाँदैहुनुहुन्छ, हामीले यो सुरुङमार्ग निर्माणमा चीन सरकारको सहयोग मागेका छौं। त्यो भयो भने यसले पूर्णता पाउँछ’, उनले भने- ‘यो निर्माणमा समय लाग्छ, त्यसैले धैर्यताको आवश्यकता छ ।’ भौतिक पूर्वाधारमन्त्री ज्वालाले आर्थिक स्रोतका लागि चीन सरकारसँग सहयोगको आश गरिएको बताए । ‘यो सुरुङमार्ग निर्माणका लागि अहिलेको मुख्य चुनौती लगानीको हो, आर्थिक स्रोतका लागि नेपाली टोलीको आसन्न चीन भ्रमणमा ‘टोखा-छहरे’ सुरुङमार्गसहित सडकतर्फ सातवटा आयोजनामा सहयोग माग्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रस्ताव तयार गरेको छ’, उनले भने ।