सिजन सुरु नहुँदै बुकिङको चटारोले पर्यटन व्यवसायी उत्साहित, ८० प्रतिशत अकुपेन्सीको अपेक्षा
काठमाडौं । पर्यटन व्यवसायी राममणि रिजाललाई अहिले ट्रेकिङको लागि विदेशीले गरेका बुकिङ लिन भ्याइनभ्याइ छ । गत वर्ष सोचे अनुसारको बुकिङ नआएर चिन्तित भएका उनी अहिले भने उत्साहित छन् । ‘गत वर्ष सिजनमै न्यून संख्यामा मात्रै बुकिङ आएको थियो, कोभिड महामारीका कारण बुकिङ आएन भनेर चित्त बुझाएको थिएँ, तर अहिले सिजन सुरु नहुँदै धेरै बुकिङ आउँदा गत वर्षको तनाब भुलेको छु’, रिजालले भने । आउटडोर हिमालयन ट्रेकर्सका सञ्चालक रहेका रिजालकोसँग विशेषगरी पोल्याण्डका नागरिक ट्रेकिङका लागि सम्पर्कमा आउँछन् । ‘मेरो कम्पनीमा आउने ८० प्रतिशतभन्दा बढी नागरिक पोल्यान्डका हुन्छन्, बाँकी २० प्रतिशत अमेरिका, क्यानडा लगायतका हुन्छन्’, उनले भने, ‘पोल्यान्डसँगै हाल अमेरिका, अष्ट्रेलिया लगायत देशका नागरिकले समेत चासो देखाउन थालेका छन् ।’ उनको कम्पनी मार्फत गत वर्षको सिजनमा २ सयको हाराहारीमा विदेशीहरु नेपाल आएका थिए, तर हाल सिजन सुरु हुनु अगाडी नै ३ सयभन्दा बढीको बुकिङ भैसकेको छ । ‘गत वर्ष ट्राभल्स र ट्रेक्सका लागि थोरै संख्यामा विदेशीहरुले इच्छा देखाएका थिए, तर अहिले सिजन सुरु हुनु भन्दा अगाडि नै धेरै बुकिङ आइसकेको छ’, उनले भने । पर्यटन तथा होटल व्यवसायीहरु सेप्टेम्बर सुरु भएसँगै नेपालमा पर्यटकीय सिजन सुरु भएको बताउँछन् । उनीहरूले वर्षभरिमा हुने कारोबारभन्दा सेप्टेम्बर, अक्टुबर र नोभेम्बरका तीन महिनामा बढी कारोबार हुने बताउने गरेका छन् । ८० प्रतिशत अकुपेन्सीको अपेक्षा नेपालमा पर्यटकीय सिजन सुरु हुन लागेसँगै होटलमा बुकिङहरु आउन थालेका छन् । ट्रेकिङ र ट्राभल्सको सिजन सुरु हुन लागेसँगै काठमाडौं लगायतका पर्यटकीय क्षेत्रमा सञ्चालित होटलमा बुकिङ आउन थालेको हो । होटल एसोसिएसन अफ नेपाल (हान)ले होटलमा बुकिङ आउन सुरु भएको बताएको छ । हानका महासचिव साजन शाक्य होटलहरुमा बुकिङ बढ्न थालेको बताउँछन् । उनले वर्षभरीमा भन्दा सेप्टेम्बर दोस्रो सातादेखि डिसेम्बरसम्म सबैभन्दा धेरै पर्यटक आउने भन्दै होटलको अकुपेन्सी बढ्ने बताए । ‘सेप्टेम्बर मिडदेखि सिजन सुरू हुन्छ, विस्तारै बुकिङ आउन थालेको छ, अक्टोबरदेखि डिसेम्बरसम्मको तीन महिना वर्षकै धेरै पर्यटन आउने सिजन हो’, उनले भने । उनले काठमाडौं लगायत पर्यटकीय स्थलका होटलमा बुकिङ आउन थालेको भन्दै तीन महिनाको अबधिमा होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको बताए । ‘ट्राभल, ट्रेकको सिजन हो, अहिले ट्रेकिङ तथा ट्राभल्सका लागि नेपाल आउने पर्यटकहरुले होटलहरु बुक गर्न थाालिसके’, उनले भने, ‘विस्तारै सिजन सुरु हुन लागेको छ, तीन महिनाको अबधिमा ८० प्रतिशतसम्म होटल बुक हुने हाम्रो अनुमान हो ।’ उनले अहिले ३५ प्रतिशत हाराहारीमा होटल अकुपेन्सी रहेको बताए । कोभिडपछि पर्यटक आगमनमा सुधार आए पनि कोभिड अघिका वर्षमा जस्तो होटलको अकुपेन्सी छैन । उनले कोरोना संक्रमणभन्दा अघिसम्म सिजनमा होटल अकुपेन्सी फूल हुने गरेकोमा पछिल्लो समय बढ्न सकेको छैन् । ‘कोरोना अघिको तुलनामा अहिले झन्डै दोब्बरको संख्यामा होटल छन् । नयाँ होटलहरु थपिदा पूर्ण रुपमा सञ्चालनमा ल्याउनै सकिएको छैन’, उनले भने । विमानस्थल पूर्ण सञ्चालनमा नआउँदा विदेशी ल्याउन सकिएन ।’ हानका अध्यक्ष विनायक शाह होटल व्यवासायीहरु पूर्ण रुपमा तयार भएर पर्यटकको स्वागतका लागि तम्तयार रहेको बताउँछन् । व्यवसायीहरु तयारी अवस्थामा रहे पनि विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसक्नु तथा बाटाघाटाहरु अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आउनसक्ने शंका व्यवसायीमा रहेको बताउँछन् । उनले सञ्चालनमा आएका नयाँ दुई विमानस्थल सञ्चालन गर्न नसक्दा नेपाल आउन खोज्ने विदेशीलाई समेत ल्याउन नसकिएको गुनासो गरे । ‘होटलमा बुकिङ आउन थालेको छ्, तर पर्यटकलाई कसरी ल्याउने, भएका एयरपोर्ट सञ्चालनमा आउन सकेको छैन, बाटोको समस्या झन बढ्दो छ’, शाहले भने । नेपालको पूर्वाधारकै कारण होटलहरु एक तिहाइ क्षमतामा पनि सञ्चालन हुन नसकेको भन्दै उनले नेपालमा पर्यटक भित्र्याउन कुनै सिजन नै आवश्यक नपर्ने उनले बताए । ‘नेपाल फर अल सिजन, होटलमा कुनै सिजन आवश्यक पर्दैन, हाम्रो पूर्वाधारकै कारण हामीलाई समस्या भैरहेको छ’, उनले भने । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा डिलक्ससहितका पाँचतारे होटलको संख्या १७३ पुगेको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष प्रदीप पण्डित ट्राभल्स र ट्रेक्सका विदेशीहरु नेपाल आउने योजनामा रहेको बताए । ‘अहिले धेरै देशका पर्यटकले नेपाल आउनका लागि बुकिङ गरिसकेका छन्, गत वर्षको तुलनामा सिजन सुरु हुनु अगाडि नै बुकिङ आउन थालिसक्यो’, उनले भने । उनले डिसेम्बरसम्म १० लाख पर्यटक नेपाल भित्रने अनुमान गरिएको भन्दै नेपालको पर्यटन क्षेत्र पूरानै अवस्थामा फर्कन थालेको बताए । विदेशीको गुनासो : एयर फेयर महङ्गो टानका उपाध्यक्ष पण्डित विदेशी पर्यटकले नेपालको एयर फेयर मँहगो भएको गुनासो गर्न थालेको बताउँछन् । ‘सरकारले बजेट मार्फत आन्तरिक हवाई टिकमा १३ प्रतिशत भ्याट लागू गरेको छ, टिकटमा भ्याट लागू भएपछि विदेशीहरुले उडान महँगो भयो भनेर गुनासो गर्न थालेका छन्’, उनले भने । यस्तै, उनले नेपाल नागरिक उडड्यन प्राधिकरणले लुक्का उडान रामेछाप सारेपछि विदेशी पर्यटकलाई असहज हुने गरेको गुनासो गरे । ‘सिजनको समयमा क्यानले लुक्लाको उडान रामेछापको मन्थली विमानस्थलबाट गर्न अनुमति दिन्छ, रामेछापमा पर्यटकका लागि सुविधा नभएपछि काठमाडौंबाट रातारात लैजानुपर्ने बाध्यता छ’ उनले भने । उनले रामेछापमा पर्यटक लक्षित पूर्वाधार तयार नहुँदा काठमाडौंमा बसेका विदेशीलाई रातको १ बजे नै उठाएर विमानस्थल लैजानुपर्ने बाध्यता रहेको बताए ।
अब्बल बन्दै नेपाली बैंकर, विदेशी बैंकको कमाण्ड सम्हाल्दै
काठमाडौं । एउटा समय थियो, ‘विदेशी लगानीकर्ता नेपालमा आएपछि उसले व्यवस्थापक अर्थात् लगानी गर्ने कम्पनीमा काम गर्ने उच्च तहका कर्मचारी पनि उतैबाट लिएर आउनु पर्ने ।’ ती लगानीकर्ताहरुले नेपालीलाई न पत्याउँथे नत नेपालमा काम गर्ने क्षमतावान कर्मचारीहरु नै पाइन्थे । त्यसैले पनि बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले लगानीसँगै व्यवस्थापक पनि विदेशी नै हुनु पर्ने नीतिगत व्यवस्था गर्यो । विदेशी लगानीकर्ताले नेपालमा बैंक खोल्न चाहेमा त्यो बैंकको व्यवस्थापकीय नेतृत्व पनि विदेशबाट नै ल्याउने अभ्यास थियो । केही नेपाली बैंकमा त्यो अभ्यास अहिले पनि छ । हाल सञ्चालनमा रहेको विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा अहिले पनि विदेशी नेतृत्व छ । नेपाल एसबिआई बैंकले पनि अहिलेसम्म नेपाली सीईओ राखेको छैन । एभरेष्ट बैंकले नेपाली सीईओ पाएको धेरै समय भएको छैन । एभरेष्ट बैंकका लागि सुदेश खालिङ पहिलो नेपाली सीईओ हुन् । नबिल बैंकको पहिलो नेपाली सीईओ पनि अनिल केशरी शाह नै हुन् । तर, अहिले विदेशी लगानीकर्ता भएको बैंकहरुमा पनि विस्तारै नेपाली बैंकरले नै नेतृत्व लिइरहेका छन् । कुनै बेला बैंकमा काम गर्ने कर्मचारी नै नपाउने अवस्थाबाट सुरु भएको नेपाली बैंकिङ अहिले विदेशी बैंकको कमाण्ड सम्हाल्ने जनशक्ति उत्पादन गर्नेसम्म पुगेको छ । नेपाली अनुभवी पुर्व बैंकर तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे सुरुवाती दिनहरुमा नेपाली बैंकमा काम गर्ने कर्मचारी पाउन नै सकस भएको अनुभव सुनाउँछन् । ‘चार दशक अगाडि देशमा बैङ्कर पाउन सकस थियो, बैङ्क तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैङ्कले पनि चार्टर्ड एकाउन्टेन्ट (सीए) पाउन मुस्किल थियो, विदेशी बैंकहरु आएपछि बैंक चलाउने नेतृत्व पनि उनीहरुले नै लिएर आउँथे, बैंकिङका सुरुवाती दिनहरु स्मरण गर्दै विकासन्युजले यसअघि गरेको कुराकानीमा उनले भनेका थिए । उनका अनुसार यो अवधिमा नेपाली बैंकिङ उद्योगले ठूलो फड्को मारेको छ । नेपालमा बैंक खालेपछि निश्चित कर्मचारी पनि विदेशी नै हुनु पर्ने नीति तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र महतले गरेका थिए । उनले नेपाली बैंकिङ क्षेत्रमा एक किसिमको ग्रोथका लागि सो व्यवस्था गरेको उनी सुनाउँछन् । ‘त्यतिबेला विदेशी बैंक ल्यायो भने तिनले हाम्रो राष्ट्रिय सम्पत्ति लुट्छन् भन्ने बुझाइ धेरैमा थियो, जुन बकम्फुसे कुरा थियो, मैले नै नेपालमा नयाँ बैंक खोल्नु पर्छ भन्ने कुरा गरेँ, बैंक नेपाली नै हुनु पर्यो, विदेशी लगानी र बैंक म्यानेज्मेन्ट पनि विदेशी आउनु पर्यो भन्ने नीति बनायौं, ‘थ्री इन वान’को सिद्धान्त अघि सार्यौं, सुरुमा नेपाल अरब बैंक आयो । त्यसमा एक तिहाई उसको, एक तिहाई नेपालको व्यवसायी र एक तिहाई सर्वसाधारणको सेयर हुने भनेर नीति बनायौं, त्यसको उद्घाटन मैले नै गरेँ, त्यसपछि अरु बैंकहरु आउने क्रम सुरु भयो,’ विगत स्मरण गर्दै पूर्व अर्थमन्त्री लोहनीले भने । आफुले अघि सारेको सो नीतिले नेपाली बैंकिङ क्षेत्रले पनि ठूलो फड्को मारेको र जनशक्ति पनि प्रयाप्त मात्रामा उत्पादन भएको उनका बुझाइ छ । ‘म अर्थमन्त्री हुँदा धेरै निजी क्षेत्रलाई बढावा दिने नीतिहरु बनेका थिए, जसले अहिलेसम्म पनि निजी क्षेत्रका लागि महत्वपूर्ण काम गरिरहेका छन्, नेपाली बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुका लागि म अर्थमन्त्री भएपछि नै धेरै उपलब्धि हासिल भएको छ,’ उनले भने । सो नीतिपछि नेपालमा विदेशी बैंकर ल्याउनु नपर्ने वातावरण सिर्जना भएको उनको भनाइ छ । हाम्रो नीतिले ‘नलेज ट्रान्सफर’ भयो, बरु नेपाली बैंकरहरु विदेशी बैंकमा काम गर्न गइरहेका छन्, विदेशबाट सीईओ ल्याउनु पर्ने बाध्यता हटेको छ,’ उनले भने, ‘अब नेपाली बैंकर पनि अब्बल बनिसकेका छन् ।’ सोही नीतिको कारण अहिले नेपाली बैंकर विदेशी बैंकको पनि कमाण्ड सम्हालिरहेका छन् । विदेशी बैंकमा गएर पनि नेतृत्व सम्हाल्ने अवस्थामा नेपाली बैंकर पुगेका छन् । त्यसको ढोका खुला गर्ने पहिलो नेपाली बैंकर हुन् गोविन्द गुरुङ । अहिले सरकारी स्वामित्व समेत रहेको कृषि विकास बैंकको सीईओ भएर काम गरिरहेका गुरुङले म्यानमारको म्यानमार सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा काम गरे । तत्काली सिभिल बैंकको सीईओ भएर काम गरिसकेका उनले म्यानमारमा गएर पनि आफ्नो कार्यकुशलता देखाए । तयसपछि स्वदेशमै फर्केर उनी कृषि विकास बैंकको सीईओको रुपमा काम गरिरहेका छन् । कृषि विकास बैंकमा पनि उनले जिम्मेवारी लिएपछि अधिकांश सूचकमा बैंक बलियो देखिएको छ । गुरुङले नै काम गरिसकेको म्यानमार सिटिजन्स बैंकको नेतृत्व अहिले नेपाली बैंकर भेषराज खतिवडाले नै सम्हालिरहेका छन् । एक वर्षअघि म्यानमार सिटिजन्स बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) भएर म्यानमार पुगेका उनी हालै मात्रै सीईओमा नियुक्त भएका छन् । सो बैंकबाट गुरुङले राजीनामा दिएपछि खतिवडाले कायमुकायम सीईओको जिम्मेवारी पाएका थिए । अहिले उनी सीईओ बने । उनै सीईओ खतिवडा म्यानमारभन्दा नेपाली बैंकिङ अगाडि रहेको सुनाउँछन् । ‘नियमनदेखि अन्य विषयमा नेपालको बैंकिङ्ग म्यानमारको तुलनामा अगाडि नै छ, अहिले नेपाली बैंकरले जुनसुकै देशमा पनि गएर काम गर्न सक्ने क्षमता बनाएका छन्,’ उनले भने । उनका अनुसार बैंकिङ अभ्यास र विकास अनुसार नै जनशक्ति पनि त्यसरी नै विकास हुने गर्छ । ‘१५-१६ वर्ष अघि नेपालमा पनि नेपाली सीईओ हुनै सक्दैन भन्ने खालको भाष्य थियो, विदेशबाटै सीईओ ल्याउनु पर्छ भन्ने थियो, त्यो विकासको प्रारम्भिक अवस्था थियो, त्यतिबेला नेपाली बैंकमा कोही सीईओ भयो भने नेपालीले पनि सीईओ चलाउन सक्छ र ? भन्थे । तर विस्तारै जनशक्ति पनि विकास हुँदै जान्छ, म्यानमारमा पनि केही बैंकमा नेपालीहरु कार्यरत छन्, उनी भन्छन्, ‘त्यो भनेको नेपालीहरु जहाँ गएर पनि काम गर्न सक्छन् भन्ने सन्देश हो ।’ यस्तै, अहिले सिभिल बैंकको सीईओको रुपमा काम गरिसकेका सुनिल पोखरेल पनि अहिले विदेशी बैंकको सीईओका रुपमा काम गरिरहेका छन् । उनी पपुवा न्यूगिनीको टिसा बैंक लिमिटेडको नेतृत्व गरिरहेका छन् । सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि पोखरेल विदेशी बैंकको सीईओ बन्न पुगेका हुन् । पोखरेलसँगै सोही बैंकको चिफ रिस्क अफिसरमा पनि नेपाली बैंकर सचिनजंग रायमाझी कार्यरत छन् । यसअघि रायमाझी हिमालयन बैंकको असिस्टेन्ट चिफ एक्जिक्यूटिभ अफिसरका रुपमा काम गर्थे । उनी केही दिनअघि देखि मात्रै विदेशी बैंकमा काम गर्न थालेका हुन् । यी त केही प्रतिनिधि पात्रहरु हुन् । हाल धेरै नेपालीहरु विदेशी बैंकमा कार्यरत छन् । उनीहरुले आफ्नो अब्बलता विदेशी बैंकमा देखाइरहेका छन् । अब नेपाली बैंकमा विदेशी बैंकर ल्याएर काम गराउनु पर्ने बाध्यता पनि सदाका लागि अन्त्य भएको छ ।
कम्पनी दर्ता गर्नेको संख्या पाँच वर्ष यताकै कम, आर्थिक मन्दीको असर
काठमाडौं । पछिल्लो समय देशको अर्थतन्त्रमा आएको मन्दीको असर प्रत्यक्ष असर उद्योग क्षेत्रमा देखा परेको छ । अर्थतन्त्रमा देखिएको सुस्तताको कारण कम्पनी दर्ता गर्नेहरुको संख्यामा कमी आएका बताइएको छ । कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/०८० मा कम्पनी दर्ता गर्नेको संख्या उल्लेख्यरुपमा घटेको छ । कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २१ हजार ३७३ कम्पनी दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २९ हजार १७ कम्पनी दर्ता भएका थिए । अघिल्लो आव २०७८/७९ को तुलनामा गत आवमा सात हजार ६४४ ले कमी आएको हो । कम्पनी रजिष्ट्रार महेश बरालले अर्थतन्त्रमा देखिएको सुस्तताको प्रत्यक्ष असर कम्पनी दर्तामा देखिएको बताए । ‘विगत ५ वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनी दर्तामा कमी आएको हो, हामीले आर्थिक सुस्तताकै कारण कम्पनी दर्तामा कमी आएको अनुमान गरेका हौँ’, उनले भने । कम्पनीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा २६ हजार ५०५, आर्थिक वर्ष २०७६/०७७ मा १८ हजार ६३८, आर्थिक वर्ष २०७५/०७६ मा २५ हजार ५०० र आर्थिक वर्ष २०७४/०७५ मा २२ हजार ३३० वटा नयाँ कम्पनी दर्ता भएका थिए । पछिल्लो समय देशमा सञ्चालित उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुनै सकेका छैनन् । अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण उद्योगहरु कुल क्षमताको आधा क्षमतामा मात्रै सञ्चालन भइरहेको उद्योगीहरुले बताएका छन् ।