कार किन्न बुबाको पालामा ९०% कर्जा, छोराको पालामा ५०% मात्र, को बस्छ यो देशमा ?

देशको अर्थतन्त्रमा अटोमोबाइल्स क्षेत्रको योगदान महत्वपूर्ण छ । अर्थतन्त्रमा ठूलो योगदान रहेको यो क्षेत्रमा क्रियाशिल नेपाली अटो व्यवसायीहरूको भविष्य भने अहिले अन्यौलपूर्ण अवस्थामा छ । सरकारकाे नीतिमा अस्थीरता छ । सरकारको नीतिले अटो व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अहिले नेपाली अटो व्यवसाय दयनिय अवस्थामा छ । यस क्षेत्रलाई दयनिय बनाउने पनि सरकार नै हो । यसमा अरू कसैको दोष छैन । अटो व्यवसायको भविष्य राम्रो बनाउने कुरामा  व्यवसायीको हातमा मात्रै हुँदैन । विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ पछि यो क्षेत्र सुधारोन्मुख बाटोतर्फ लम्कदै थियो । त्यसको लगतै सरकारले गाडीको आयातमा प्रतिबन्ध लगायो । सरकारले विदेशी मुद्राको सञ्चितिको अभाव भएको भन्दै आयातमा कडाइ गरेको भनिएको थियो । सरकारले कुनै पनि अध्ययन तथा विश्लेषण नगरी गाडीको आयातमा प्रतिबन्ध लगायो । जसको असर आजसम्म अटो व्यवसायीहरूले भोग्नु परिरहेको छ । सरकारको कुल राजश्वमा २५ प्रतिशत योगदान यस क्षेत्रले दिएको छ । यस क्षेत्रबाट प्रत्यक्ष एक लाख र अप्रत्यक्ष रूपमा १५ लाख बढीले रोजगारी पाएका छन् । सरकालले जुन सेगमेन्टको आयातमा प्रतिबन्ध गरेको थियो । त्यो नेपालमा हुने कुल आयातको एक प्रतिशतको मात्रै क्षेत्र थियो । जसले कुल राजश्वमा ६ प्रतिशत योगदान दिन्थ्यो । यो तथ्याङ्कलाई हेर्दा सरकार अटो मोबाइल व्यवसायप्रति ठूलो भरोसामा रहेको जस्तो देखिन्छ । आयात प्रतिबन्धको चेन इफेक्ट गाडी उत्पादक कम्पनीहरूसम्म पर्यो । किनभने नेपाली व्यवसायीले गाडीको आयात गरेर बेच्ने हो । आयात गरेर बेच्ने बस्तुमा सरकारले गाडी तथा मोटरसाइकल मात्र देख्यो । तर, त्यहाँ पार्टपुर्जा लगायतका सामाग्री आयात भएको देखेन । त्यसले गाडीमात्र नभई सिस्टम र प्रोसेस नै बन्द भयो । एउटा कुनै उत्पादक कम्पनीसँग आयातकर्ताले गाडी आयात गर्दा लगभग ६ महिनाको योजना दिनु पर्छ । नत्र नेपालमा कति गाडी बिक्री हुन्छ ? यसको भोलुम कति छ ? यसतर्फ कुनै विश्लेषण नै भएन । अटो व्यवसाय क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भइसकेको छ । एउटा साधारण भन्दा साधारण डिलरले सोरुम खोलेर बस्नु पर्यो भने उसको ओभर हेड कति हुन्छ ? बैंक चार्ज कति हुन्छ ? यी सबै चिजको मूल्याङकन नगरी आयात प्रतिबन्ध गर्नले त्यसको चेन असर यस क्षेत्रमा परेको छ । पेट्रोल र डिजेलका गाडी आयात बन्द भएको बेलामा इलेक्ट्रिक भेहिकल (ईभी) ले केही राम्रो गर्याे । ईभी आउँदै थियो, नयाँ नयाँ प्रविधि आइरहेका थिए । तर, यहाँ जो ६० वर्षदेखि व्यवसाय गरी अर्बौं रुपैयाँ लगानी गर्नु भएको छ । त्यत्रो ठूलो लगानी गरेको क्षेत्र चाहिँ तहस नहस भयो तर त्यतातिर चाहिँ कासैको चासो भएन । अहिले गाडी व्यापार डामाडोल अवस्थामा छ । यदि अटो व्यवसायीको कारण विदेशी विदेशी मुद्रा सञ्चिति बाहिरिएको भए गाडीको आयात बन्द हुँदा अर्थतन्त्र बुम हुनु पर्ने हो । तर, त्यस्तो भएन । आज मान्छेको बिहान खायो भने बेलुका के खाने भन्ने अवस्था छ । हजारौंलाई रोजगारी दिएको एउटा कम्पनीमा आज २ सय जनाले काम गर्छन् । व्यापारमा कमी आएको कारण नै यो समस्या देखिएको हो । यस्तै, हामीलाई गाडी उत्पादक गर्ने कम्पनीहरूले पनि विश्वास गर्न छाड्यो । अर्डर दिएको छ तर गाडी ल्याउन पाइँदैन । अनि कसरी उत्पादक कम्पनीसँग सम्बन्ध राम्रो हुने ? सम्बन्ध बिग्रिएपछि व्यवसायी उत्पादक कम्पनीहरूसँग हात जोड्दै जाने अवस्था छ । २४० प्रतिशत कर तिरेर नेपालमा गाडी भित्र्याउनु पर्ने अवस्था छ । गाडीमा पनि बैंकले फाइनान्स गर्दैन । राजश्व तिरेर ल्याएको गाडी पनि यो देशमा सहज तरिकाले बच्न सक्ने वातावरण छैन । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटपछि कर्जाको जोखिम भार घटेर १०० मा आएको छ । त्यसले व्यापारमा सकारात्मक सन्देश देला । सरकारले यसलाई घटाएर ६०/७० पुर्याउनु पर्छ । नेपालमा पछिल्लो समय ईभीको ट्रेन्ड बढेको छ । तर, इन्धनबाट चल्ने सवारीमा ठूलो लगानी भइसकेको छ । एक पटक सबै कुरामा परिवर्तन हुँदैन । भौगोलिक अवस्थाले पनि इन्धनबाट चल्ने गाडी चाहिन्छ । निर्माणले कुन गति लिएको छ ? विकासका काम कति भए ? यी सबै विषयलाई मध्यनजर गर्दै कुन प्रडक्टलाई प्रोत्साहन गर्ने, कुनलाई नगर्ने भन्ने विषयमा छलफल गर्नुपर्छ । अहिले अर्थतन्त्रमा सुधारका संकेतहरु देखिरहेका छन् । बैंकको पनि ब्याजदर घटाउँदै गएका छन् । व्यवसायी पनि ब्याजदर घट्ने आशा लिएर बसेका छन् । किनभने बैंकमा मौजात बढेको छ । विदेशी मुद्रा सञ्चिति राम्रो कन्डिसनमा छ । त्यसले गर्दा केही चहलपहल होला । यस्तै, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो सोको सञ्चालन गरिरहेको छ । त्यसले पनि अटो मोबाइलको व्यापारलाई चलायमान बनाउनको लागि भूमिका खेल्छ । नाडा अटो शोमा राम्रो नै कारोबार भएको छ । सुधारोन्मुख बाटोमा अटो बजार जाने छ, हामी आशावादी छौं । सरकारले गाडीको आयात रोक लगाउने वित्तिकै सरकारसँग अब पैसा छैन भन्ने मान्छेमा सन्देश गयो । देश श्रीलंका बन्दैछ भन्ने भ्रम फैलियो । जसका कारण भएको पैसा पनि खर्च नगरी मान्छे पैसा लिएर पर्ख र हेरको अवस्थामा बसे । त्यसैले पनि आर्थिक संकट बढ्दै गयो । आर्थिक संकट भएपछि मान्छेमा किन गाडी चढ्ने ? ४/५ लाख रुपैयाँ भएपनि किन खर्च गर्ने ? भन्ने मानसिकतामा पुगे । हामीले आयात बन्ददेखि आर्थिक संकट करिब १८/२० महिना भोग्यौं । यो बीचमा अटो व्यवसायीहरूको सय भन्दा बढी व्यवसाय बन्द भइसकेको छ । व्यवसाय, सोरुम बन्द हुनु, लगानी डुब्नु व्यवसायीहरूको लागि ठूलो चिन्ताको विषय हो । एक सय वटा सोरुममा वर्कसप बन्द हुँदा ३०/४० हजारको रोजगारी पनि गुम्यो । कुनै किसिमको मूल्याङकन नगरी नीतिगत रूपमै अप्ठ्यारो बनाउने नीति बनाउने हो भने भोलिका दिनमा को कहाँ रहन्छ भन्ने टुङ्गो छैन । उद्योग धन्दा बन्द हुने र विकास निर्माणको काम ठप्प हुने हो भने कुनै बेला निर्माण व्यवसायीले चलाएका सवारी पनि लिलाममा जाने अवस्था आउँछ । खर्बौंको लगानी गरेका व्यवसायीहरू घाटामा चलिरहेको बेलामा खबौंको नाफामा बैंकहरु चलिरहेको अवस्था छ । अर्थतन्त्रको अवस्था यस्तो हुँदा  ८ प्रतिशतको ब्याजदरलाई बैंकले बढाएर १६ प्रतिशत बनाए । सरकारले हस्तक्षेप गरेन । बाटो एउटै हो यात्रा सबै मिलेर गर्नुपर्छ । संकट आयो भन्दैमा कुनै पनि क्षेत्र डामाडोल होस् भनेर चाहिँ ठान्नु हुँदैन । सरकारले गरेका राम्रो कामको प्रशंसा जहिले पनि व्यवसायीहरूले गरिरहेका छन् । ईभीलाई सरकारले सपोर्ट गरेको छ । त्यो प्रशांसनिय काम गर्यो भनेर भनिरहेका छौं । भोलिका दिनमा सरकारलाई ईभीको ब्याट्री व्यवस्थापनमा पूर्ण रूपमा सहयोग गर्न अटो व्यवसायी तयार छन् । प्यासेन्जर गाडीमा बैंकले गरेको लगानी एक प्रतिशत पनि डिफल्ट छैन । देश निर्माणको काम बढाउँदै जाने हो भने अहिलेको गाडीले पुग्दैन । बुबाको पालामा ९० प्रतिशत फाइनान्समा गाडी चढ्न पायो । छोराले ५० प्रतिशत रकम नहाली हुँदैन । पहिला नै ५० प्रतिशत रकम हाल अनि मात्र गाडी पाउँछस् भन्ने पनि कुनै देश हुन्छ ? अनि मान्छे यो देशमा कसरी बस्छ ? भोलिका दिनमा अटो बजारको भविष्य राम्रो बनाउने हो भने एउटा स्पष्ट नीतिको आवश्यक छ ।  कुनै पनि व्यवसायलाई स्थीर रूपमा चलाउनको लागि कम्तीमा १० वर्षे योजना ल्याउनुपर्छ । देशभित्र व्यवसायीलाई एसेम्बल प्लान्ट, उद्योग चलाउन गाह्रो छ । जति सुकै सानो उद्योग चलाउँछु भनेता पनि मेरो उद्योग दर्ता गर्न पहिला नै ८ ठाउँ पुग्नु पर्छ । सबै स्टेक होल्डरसँग बसेर १० वर्षे योजना बनाऊँ । नेपालमा आज राम्रो राम्रो ब्राण्ड आएका छन् । टायर, ब्याट्री लगायतका धेरै उद्योग सुरु भएका छन् । बिस्तारै चार पाँग्रे सवारीको पनि एसेम्बल सुरु हुँदैछ । व्यवसायीलाई प्रोत्साहन गर्ने नीतिले हो । बैंकको ब्याजदर सुनिश्चित हुनु पर्छ । ब्याजदर बजारले निर्धारण गर्छ भनेको छ । त्यसमा हामीले विरोध जनाएको छैन । तर, बजारलाई चलायमान बनाइ राख्ने नीति पनि सरकारले ल्याउनु पर्छ । पेट्रोल तथा डिजेलमा विदेशी मुद्रा बाहिरियो भनेर गाडी आयात रोक्नु हुन्न। ढुक्को वातावरण सिर्जना गरेपछि व्यवसायीले लगानी गर्छन् । मन ढुकढुक बनाएर घर जग्गा जमिन सबै बैंकमा राखेर लिलामी सहनु पर्ने अवस्था छ । त्यसैले १० वर्षे बलियो नीतिको आवश्यक छ । (बराल नाडा अटो शोका सभापति हुन्)

राजधानीका पाँचतारे होटलमा पाँचखालको मासु र तरकारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैछिन उभिएर हेर्यौँ भने नेपालका सयौँ युवा रोजगारीका लागि विदेश जाने लाइनमा बसेको देख्न सकिन्छ । बडो टिठलाग्दो देखिन्छ त्यहाँको दृश्य । वृद्ध बाआमा तथा परिवार, छोराछोरीलाई बिदाइ गर्न नसकिरहेको दृश्य झन कारुणिक हुन्छ । आँखाभरि आँशु पार्दै मनले नमान्दै परिवारका सदस्यले बिदाइ गरिरहेका हुन्छन् । यो देख्दा लाग्छ, यो देशमा रोजगारीको सम्भावना नै छैन । त्यसैले गरेर खाने उमेरका युवायुवती यसरी दिन प्रतिदिन हजारौँको सङ्ख्यामा विदेशिएका छन् । अर्कातर्फबाट बाकसमा भित्रिएका शव बुझ्न आउनेको हालत त झन हेर्न नसकिने छ । त्यो दृश्यको बयान यहाँ शब्दले कोर्न कठिन छ । यी दृश्य देखेपछि जसका मनमा पनि प्रश्न उब्जिन्छ- के देशमा काम गरेर खाने वातावरण नै छैन त ? अधिकांश यस्तै मानसिकताले ग्रसित भएर युवाले देश छोडेका छन् र खाडी पसेका छन् । अनि बजारमा सधैँभरि सुनिने निरासा त छँदैछ, जसले यहाँ केही हुँदैन भन्ने नकारात्मक सन्देश मात्र पर्वाह गर्ने गरेको छ । तर नराम्रा दृश्य र अवस्था मात्र छैन देशमा । गर्नसके देशभित्रै सबथोक छ भन्ने सन्देश पनि खोजीपसे प्रसस्तै भेटिन्छ । यसका लागि धेरै टाढा जानुपर्दैन, राजधानीबाट केही किलोमिटर पर काभ्रेको पाँचखाल नगरपालिका बाँस्कोट पुगे हुन्छ । यहाँ पुग्ने जोसुकैले पनि देशिभित्रै सम्भावनाको थुप्रो देख्न सक्छ । यहाँका स्थानीय गोविन्द थपलियाको कृषि फार्ममा पुग्नेले रोजगारीका लागि विदेशिनु पर्दैन भन्ने सन्देश मात्र पाउँछन् । यतिमात्र नभएर बजारमा जताततै पोखिने गरेको ‘यो देशमा केही हुँदैन’ भनिने निरासा पनि यहाँ पुग्ने मानिसको दिमागबाट हटेर जान्छ । गोविन्दको पौरख देख्ने जोसुकैको मनमा पनि यही माटोमा पसिना पोख्न सके सुन फल्दोरहेछ भन्ने सोच पलाउँछ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द थपलियाले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका बाँस्कोटमा १५ वर्षअघि ‘फार्म एग्रो प्रालि’ खोले । प्रहरी सेवामा रहँदा देशविदेश देखेका उनलाई कृषिकर्म गर्ने हुटहुटीले छोयो । त्यसपछि आफ्नै पैत्रिक जमिनको करिब ९० रोपनीमा उनले तरकारी र फलफूल खेती सुरु गरेका हुन् । ऊ बेलादेखि नै उनले काठमाडौंका तारे होटललाई बजारको ‘टार्गेट’ गरेका हुन् । उनको लक्ष्य अहिले विस्तारित हुँदैछ । गोविन्दले कोरोना महामारीपछि त्यही जमिन वरपर थप विस्तारित स्वरुपमा पशुपन्छी पालन थाले । त्यसपछि सो फार्ममा मिट मेकर प्रालि र मिट प्रोसेसिङ एण्ड मार्केटिङ कम्पनी हुँदै अहिले फार्म ग्रो ट्रेडिङ प्रालि सञ्चालित छन् । मागअनुसार जिउँदा तथा मासु बनाएरै उनले आपूर्ति गरेका छन् । अहिले त बजार खोज्न उनीहरु काठमाडौंसम्म आउनुपरेको छैन, बजारले उनीहरुलाई खोज्दै पाँचखाल पुगको छ । थप ५४ रोपनी जमिन लिजमा लिएर पशुपन्छी पाल्न थालेका उनका फार्ममा अहिले तरकारी र फलफूलका अतिरिक्त करिब ३० हजार ब्रोइलर कुखुरासहित बाख्रा, गाई, भैँसी, बङ्गुर, स्थानीय जातका कुखुरा, टर्की आदि छन् । एकै स्थानमा रहेको करिब डेढ सय रोपनी जमिनमा अहिले तरकारी र फलफूलका साथै मासु उत्पादन हुन्छ । काठमाडौंका प्रमुख पाँचतारे होटलमा आपूर्ति गरिने मासु यिनै कम्पनीमा प्रोसेसिङ गरेर पठाउने गरिएको उनी बताउँछन् । यही फार्मबाट नै काठमाडौंका याक एण्ड यति, होटल र्याडिसन र हायात होटलमा उनकै फार्मबाट तरकारी, फलफूल र मासु आपूर्ति हुँदै आएको छ । अहिले यहाँ करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । यिनै कृषि फार्मबाट वर्षमा रु ७० करोडभन्दा बढीको कारोबार हुने गरेको थपलिया बताउँछन् । पन्ध्र वर्षअघि एक करोडबाट सुरु भएको उनको कृषि कर्मको यात्रा अहिलेको मूल्याङ्कनमा कम्तीमा ४५ करोड रुपैयाँ बराबरमा उक्लिएको छ । त्यसमा २० करोड रुपैयाँ जति बैंकको ऋण पनि रहेको उनी बताउँछन् । सन्ताउन्न वर्षीय थपलियाको यो फार्म १५ वर्षे यात्राको क्रममा नै नमूना बनेको छ । यसको अध्ययनका लागि स्वदेश तथा विदेशबाट पनि मानिस आउने गरेका छन् । उनको पशुपन्छी पालनलाई जर्मनीको पशु सेवासम्बन्धी संस्थाले एक सफल कृषक र सफल फार्म भनी संसारका पशुपालकको साइटमा राखेको छ । त्यसको अध्ययन गर्ने र थप बुझ्न उनको फार्ममा आउने विदेशी पनि थपिँदैछन् । ‘सबैको प्रश्न हुन्छ- काम गर्ने वातावरण कतिको छ ? बजारको सुनिश्चितता के छ ?’ थपलिया भन्छन्, ‘यो सबै नकारात्मक बजारको उपज हो । किनभने हामी जताततै सुन्छौँ कि अहिले देशमा गरिखाने वातावरण नै छैन । तर मलाई त्यस्तो छैन । मैले त्यस्ता ठूला चुनौतीको सामना गर्नुपरेको छैन ।’ उनको यो आत्मबल नै व्यावसायिक सफलताको जग हो । मानिस आफूले काम थालिहाल्न डराउने र सुरुमै वातावरण नभएको देख्ने गरेको बताउने थपलियाको प्रश्न छ- ‘उद्यम नै सुरु नगरी उद्योगी या व्यवसायी कसरी बन्ने ? कामै नथाली सफल कसरी हुने ?’ सफलताको सबैभन्दा प्रभावकारी सूत्र मेहनत, स्पष्ट ‘भिजन’ र विश्वास हो भन्छन् थपलिया । पछिल्लो समय उनको कुखुरापालनबाट स्वदेश मात्र होइन विदेशीले पनि राम्रोसँग सिकेका छन् । ब्रोइलर कुखुरा पालनबाट आम्दानी धेरै भए पनि सबै सफल हुँदैनन्, कुखुराको मृत्युदर तीन/चार प्रतिशतसम्म हुने गर्दछ । उनको फार्ममा मृत्युदर त्यस्तै एक प्रतिशत छ । उनले हरेक दुई महिनामा एक लट कुखुरा बजारमा पठाउँछन् । वर्षमा छ लटसम्म कुखुरा उत्पादन गर्ने गरेका छन् । अहिलेका ३० हजारको बुकिङ भइसकेको छ अर्काे लटको तयारी सुरु भएको छ । बजारमा अहिले बुङ्गुरको मासु अभाव छ । तर वर्षमा केही लाख कमाइका लागि नेपालका लाखौँलाख युवा खाडी पसेका छन् । मानिसले पाँच/सात लाख रुपैयाँबाटै बङ्गुरपालन थाल्ने हो भने यहीँ राम्रो कमाइ छ । दसैँ आयो खसीको आयात पहिलेभन्दा झन् बढेका समाचार आउँछन् । तिहारमा फूल या भाइमसलालगायतका सामग्रीका लागि विदेशमै भर पर्नु परिरहेको छ । यसको शूक्ष्म अध्ययन गरेर देशभित्रै काम गर्ने वातावरणका लागि सरकारले युवा जनशक्तिलाई प्रेरित गर्नुपर्छ भन्छन् थपलिया । उनी भन्छन्, ‘डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट आएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं, आखिर के अर्थ भयो त ?’ सरकारले कृषिमा दिएको अनुदान वास्तविक किसानले नपाएको उनको अनुभव छ । सरकारले किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम नल्याउँदासम्म कृषि क्रान्ति सम्भव नभएको उनको बुझाइ छ । रासस

१ करोडभन्दा बढी मूल्य पर्ने यी सुविधा सम्पन्न गाडी, क्यास ब्याकदेखि बीमासम्मको सुविधा

काठमाडौं । भृकुटीमण्डपमा गत भदौ २६ गतेबाट सञ्चालनमा आएको ‘नाडा अटो शो–२०२३’ रौनक बेग्लै छ । प्रदर्शनीमा अवलोकन गर्न आएका अवलोकनकर्तालाई गाडीको बारेमा बुझाउन कम्पनीलाई भ्याइनभ्याई छ । अटो शो चौथो दिन आज पनि अवलोकनकर्ताको उपस्थिति बाक्लो देखिन्छ । गाडी प्रदर्शनीले मात्र नभई गाडीको मूल्यले पनि शोलाई थप आकर्षित बनाएको छ । शोमा दर्जनौं पेट्रोल र ईभीबाट चल्ने गाडीहरू राखिएका छन् । लामो समयपछि भएको उक्त अटो शो गाडी किन्न चाहनेहरूको लागि अवसर पनि हो । शोमा लाखदेखि करोडौं मूल्य पर्नेसम्म गाडीहरू उपलब्ध छन् । गाडी अनुसारका विशेषता र आधुनि प्रविधिका गाडी हेर्न लागि भए पनि अवलोकनकर्ता शोमा पुग्ने गरेका छन् । प्राय जसो कम्पनीले शोमा निश्चित गाडी राखेका छन् । अहिले शोमा न्यूनतम १७ लाख रुपैयाँदेखि २ करोड रुपैयाँ मूल्य पर्ने गाडी शोमा राखिएका छन् । अटो शोमा यी गाडीहरुमा क्यास ब्याकदेखि बीमाको सुविधा दिएको छ । निसानको नवरा  निसान गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले अटो शोमा विभिन्न मोडलका गाडीहरू राखेको छ । केही गाडी शोमै उपलब्ध छन् भने केही शोरुममा छन् । निसानका नेपाली बजारमा धेरै मोडलका गाडी उपलब्ध छन् । जसमध्ये एक्स–ट्रेल मोडलका दुई वटा भेरियन्टका गाडीको मूल्य करोड भन्दा बढी तोकिएको छ । त्यसमध्ये कम्पनीले एक्स–ट्रेलको ५ सिटर भेरियन्टको गाडीको मूल्य एक करोड ४९ लाख ९९ हजार रुपैयाँ तोकेको छ भने एक्स–ट्रेलकै ७ सिटर भएको १९९७ सीसीको गाडीको मूल्य एक करोड ५४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले निसारको नवरा एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १५ लाख रुपैयाँ तोकेको छ । २४८८ सीसीको उक्त गाडीमा आधुनिक विशेषता रहेको कम्पनीले बताएको छ । नवरा एटीको भेरियन्ट गाडीको मूल्य एक करोड २५ लाख रुपैयाँ तोकेको छ । महिन्द्राको स्कोर्पियो र एक्सयुभीको मूल्य एक करोड नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले पनि आफ्ना गाडीहरू नाडा अटो शोमा राखेको छ । अटो शोमा कम्पनीले गाडीका सबै मोडल नराखेता पनि टप मोडल भने राखेको छ । महिन्द्राका केही गाडीको मूल्य एक करोडभन्दा बढी छ । महिन्द्राको एक्सयुभी ७०० एएक्स७एल गाडीका दुई भेरियन्ट छन् । कम्पनीले एमटी पीईटी एफडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड ५ लाख राखेको छ । यस्तै, एटी पीईटी एफडब्लुडी भेरियन्टको गाडी मूल्य एक करोड १० लाख रुपैयाँ राखेको छ । इन्धनबाट चल्ने यी दुवै गाडी १९९७ सीसीका छन् भने ७ जनाले एक पटकमा यात्रा गर्न सकिन्छ । नेपाली बजारमा महिन्द्रा स्कोर्पियोका दुइटा भेरियन्टका गाडीको मूल्य एक करोडभन्दा बढी पर्छ । जेटएट फोरडब्ल्यूडी एमटी भेरियन्टको गाडीको मूल्य एक करोड १४ लाख रुपैयाँ छ । अर्को भेरियन्ट जेट८ फोर डब्लुडी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ तोकिएको छ । यो गाडी पनि सात सिटको हो । जीडब्लूएमका हवलको मूल्य पनि एक करोड नेपालको लागी ग्रेट वाल मोटर्स (जीडब्लूएम) गाडीको आधिकारिक बिक्रेता भी.जी इम्पेक्सले पनि एउटा मोडलको गाडीको मूल्य करोड बढी राखेको छ । हवल मोडलको एटी एडब्लुडी भेरियन्टको गाडीको मूल्य एक करोड १६ लाख ९५ हजार रुपैयाँ रहेको छ । कियाको स्पोर्टेज पनि करोडमा कियाको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले स्पोर्टेज मोडलको गाडी एक करोड बढी मूल्यमा उपलब्ध गराउँदै आएको छ । उक्त मोलडको २.० एल भेरियन्टको गाडीको मूल्य एक करोड २५ लाख ९० हजार रुपैयाँ तोकेको छ । सिट्रोनको मूल्य १ करोड सिट्रोनको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले सिट्रोनको सिट्रोन सी ५ एयरक्रोस मोडलको गाडीको मूल्य १ करोड ३५ लाख रुपैयाँ राखेको छ । यस गाडीमा अन्य गाडीमा पनि नपाइने विभिन्न सुविधाहरु छन् । फोर्डको दुई मोडलको मूल्य करोड माथि फोर्डको आधिकारिक बिक्रेता जिओ अटोमोवाइल्सका दुई मोडलका विद्युतीय गाडीको मूल्य करोड माथि पर्छ । फोर्डको गाडीको रेंजर मोडलको दुई वटा भेरियन्टमा उपलब्ध छन् । एक्सएल एटीभेरियन्टको मूल्य एक करोड १० लाख छ भने एक्सएलटी एटी को मूल्य १ करोड १५ लाख रुपैयाँ रहेको छ । यस्तै, नेक्स्ट जीईएन फोर्ड रेंजर मोडलको गाडी पनि दुइटा भेरियन्टमा उपलब्ध छन् । जसमध्ये एक्सएल एटीको मूल्य १ करोड १० लाख ९० हजार, एक्सएलटी एटीको मूल्य एक करोड २४ लाख रुपैयाँ छ । हुन्डाई आइकोनिक हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेताले लक्ष्मी इन्टर कन्टिनेन्टलले अटो शोमा विभिन्न कम्पनीहरुको गाडी राखेको छ । जसमध्ये हुन्डाई आइकोनिक-५ धेरैको आकर्षण बनेको छ । जसको मूल्य कम्पनीले एक करोड २९ लाख ६ हजार रुपैयाँ तोकेको छ । यो ईभी गाडी हो । यस्तै, टक्सनमोडलको तीन वटा मोडलको मूल्य पनि डेढ करोडको बिचमा रहेको छ । टक्सन मोडलको जीएलएक्स-२डब्ल्यूडी-एटी भेरियन्टको १९९९ सीसीको गाडीको मूल्य एक करोड ३७ लाख ९६ हजार रुपैयाँ थियो । जुन गाडी पेट्रोलबाट चल्छ । हुन्डाई यीभन्दा बढी मूल्य पर्ने गाडी पनि उपलब्ध छन् ।