चम्किँदै भिनिसियस जुनियर
काठमाडौं । विगतका केही वर्षमा भिनिसियस जुनियरले आफू विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक भएको प्रमाणित गरिसकेका छन् । ब्राजिलियन क्लब फ्लामेङ्गोको एकेडेमीबाट आफ्नो फुटबल यात्रा सुरु गरेका भिनिसियस धेरै समय नबित्दै युरोपका ठूला क्लबहरूको नजरमा परे । उनी त्यतिबेलाका सबैभन्दा रोमाञ्चक युवा प्रतिभामध्ये एक थिए। भिनिसियस केवल १६ वर्षको हुँदा नै स्पेनिस महारथी रियल म्याड्रिडले उनलाई अनुबन्ध गर्न पहल गर्यो । तत्काल स्पेन जान उमेर नपुगे पनि उनले १८ वर्ष पूरा गरेपछि २०१८ मा क्लबमा आबद्ध हुने सहमतिसहित रियलले उनको लागि ३ करोड ८० लाख पाउन्ड ट्रान्सफर शुल्क तिरेको थियो । त्यो स्थानान्तरण निकै चर्चित बन्यो । त्यसबेला भिनिसियस ब्राजिलका इतिहासकै दोस्रो सबैभन्दा महँगा फुटबलर बने । उनीभन्दा महँगो ट्रान्सफर केवल नेयमारको थियो, जो आफ्नो बाल्यकालको क्लब सान्तोसबाट करिब ४ करोड ८६ लाख पाउन्डमा बार्सिलोना पुगेका थिए । त्यसबाहेक १९ वर्षभन्दा कम उमेरका खेलाडीका लागि कुनै क्लबले तिरेको त्यो त्यतिबेलासम्मकै सबैभन्दा ठूलो ट्रान्सफर रकम पनि थियो । रियल म्याड्रिडलाई उनी भविष्यका सुपरस्टार बन्नेमा गहिरो विश्वास थियो । रियलको त्यो विश्वास सही सावित भयो । भिनिसियसले अहिलेसम्म ला लिगामा २४२ खेल खेल्दै ७७ गोल गरेका छन् भने ४१ गोलका लागि अवसर सिर्जना गरेका छन् । यसअनुसार उनले प्रत्येक ९० मिनेटमा औसत ०.६४ गोल योगदान दिएका छन् । उपाधिको हिसाबले पनि उनको उपलब्धि प्रभावशाली छ । उनले तीन ला लिगा उपाधि, दुई कोपा डेल रे, दुई युइएफए च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । साथै व्यक्तिगत रूपमा पनि उनले थुप्रै सम्मान प्राप्त गरेका छन् । उनले खेलेका दुवै च्याम्पियन्स लिग फाइनलमा निर्णायक प्रदर्शन गरेका छन् । २०२१–२२ मा लिभरपुलविरुद्ध र २०२३–२४ मा बोरुसिया डर्टमन्डविरुद्ध उनले विजयी गोल गर्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । सन् २०२४ को बालोन डीओर जित्ने होडमा पनि उनी निकै नजिक पुगेका थिए । उत्कृष्ट सिजन बिताए पनि अन्ततः उक्त प्रतिष्ठित अवार्ड म्यानचेस्टर सिटीका रोड्रीले जितेका थिए । तर २०२६ को फिफा विश्वकपमा भने भिनिसियस उत्कृष्ट लयमा देखिएका छन् । यद्यपि अन्तर्राष्ट्रिय फुटबलमा उनको यात्रा सधैं यति सहज थिएन । यसअघि भएका प्रमुख प्रतियोगिताहरूमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि ब्राजिलका समर्थकहरू उनीप्रति निराश बन्दै गएका थिए । क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीबाट राष्ट्रिय टोलीमा पनि त्यस्तै योगदानको अपेक्षा गरिएको थियो, तर त्यो पूरा हुन सकेको थिएन । ब्राजिलियन फुटबल विश्लेषक मार्कस आल्भेसका अनुसार अहिलेसम्म भिनिसियस ब्राजिल राष्ट्रिय टोलीको सबैभन्दा प्रभावशाली खेलाडी बनिसक्नुपर्ने अपेक्षा गरिएको थियो । ‘तर २०२२ को विश्वकप क्वार्टरफाइनलमा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएको चार वर्ष बितिसक्दा पनि उनीबारेका शंका पूर्ण रूपमा हटेका छैनन्,’ उनले भने । पूर्व ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि रियल म्याड्रिडमा देखिने उत्कृष्ट प्रदर्शन राष्ट्रिय टोलीमा दोहोर्याउन नसकेको भन्दै सार्वजनिक रूपमा उनको आलोचना गरेका थिए । सन् २००३ मा ब्राजिलका लागि एक खेल खेलेका फाबियो लुसियानोले भनेका थिए, ‘भिनीसँग एउटा समस्या छ । दुर्भाग्यवश, नेयमार टोलीमा नहुँदा उनी आफैले नेयमार बन्नुपर्छ भन्ने सोच्न थाल्छन् । त्यो उनको काँधमा धेरै ठूलो जिम्मेवारी हो ।’ ‘त्यो बोझ उनले आफ्नो काँधबाट हटाउनुपर्छ र राष्ट्रिय टोलीले पनि त्यो जिम्मेवारी बाँड्नुपर्छ । तपाईं नेयमार हुनुहुन्न । सबै कुरा एक्लैले समाधान गर्न सक्नुहुन्न । हामी सबैले तपाईंलाई सहयोग गर्नेछौं । तपाईंले सबैभन्दा राम्रो गर्न सक्ने काममा ध्यान दिनुहोस् र आफ्नै शैलीमा खेल्नुहोस् ।’ भिनिसियसले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गर्न पनि निकै समय कुर्नुपरेको थियो । उनले सन् २०२२ मा चिलीविरुद्धको विश्वकप छनोट खेलमा आफ्नो १९औं अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गरेका थिए । २०२१ को कोपा अमेरिका, २०२२ को विश्वकप र २०२४ को कोपा अमेरिकासहित तीन प्रमुख प्रतियोगितामा उनले कुल ६१७ मिनेट खेल्दै मात्र तीन गोल र दुई असिस्टमात्र गरेका थिए । ठूला प्रतियोगिताबाहेक पनि ब्राजिलका लागि उनको समग्र प्रदर्शन समर्थकहरूले राखेको उच्च अपेक्षाअनुसार थिएन । यस विश्वकपअघि उनले खेलेका ४९ अन्तर्राष्ट्रिय खेलमा औसत प्रत्येक दुई खेलमा एकपटक मात्र गोलमा प्रत्यक्ष योगदान दिएका थिए । तथ्याङ्कका हिसाबले हेर्दा पनि उनले प्रत्येक ९० मिनेटमा औसत २.५ पटक शट सिर्जना गर्ने अवस्थासम्म बल पुर्याएका थिए भने १.५ स्पष्ट गोल अवसर सिर्जना गरेका थिए । तर २०२६ विश्वकपमा लगभग हरेक तथ्याङ्कमा उल्लेखनीय सुधार देखिएको छ । यसपटक उनले आफ्नो देशका लागि निर्णायक भूमिका खेल्न थालेका छन् । ब्राजिलका लागि विश्वकपका सुरुआती चार खेलमै उनले चार गोल र एक असिस्ट गरेका छन् । यससँगै उनी विश्वकप गोल्डेन बुटको बलियो दाबेदार बनेका छन् । यो लेख तयार पार्दासम्म केवल केलियन एम्बाप्पे (६), लियोनल मेसी (६), अर्लिङ हालान्ड (५) र ह्यारी केनले (५) ले मात्र उनीभन्दा बढी गोल गरेका छन् । अन्य पठनीय सामग्रीहरू : गोल्डेन बुटका दाबेदार विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
एसियन ब्याट्रीजको आम्दानी साढे ६५ करोड, २०२७ देखि नयाँ उद्योग सञ्चालनमा ल्याउँदै
काठमाडौं । एसियन ब्याट्रीज लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ६५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीका अनुसार वितरण सञ्जाल विस्तार, उत्पादन क्षमता अभिवृद्धि र बजार पहुँच बढेकाले बिक्रीमा उल्लेख्य सुधार आएको हो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ६२ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २०.११ प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँ बढी हो । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ५१ करोड ७० लाख रुपैयाँ रहेको थियो भने २०७९/८० मा ४३ करोड रुपैयाँ आम्दानी गरेको थियो । यसले पछिल्ला वर्षहरूमा कम्पनीको कारोबार निरन्तर विस्तार भइरहेको संकेत गरेको छ । नाफातर्फ पनि कम्पनीले सुधार देखाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको ब्याज, लिज, ह्रासकट्टी र करअघिको नाफा मार्जिन १२.४२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष १२ प्रतिशत थियो । कच्चा पदार्थ तथा अन्य इनपुट लागतमा केही कमी आउनु मार्जिन सुधारको मुख्य कारण मानिएको छ । त्यस्तै, कम्पनीको सकल नगद आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ । अघिल्लो वर्ष २ करोड ३० लाख रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष ३ करोड ५० लाख रुपैयाँ पुगेको थियो भने चालु आर्थिक वर्षको ११ महिनामा ३ करोड ९० लाख रुपैयाँ पुगेको छ । सन् २०१२ मेमा स्थापना भएको एसियन ब्याट्रीजले अटोमोटिभ, इलेक्ट्रिक भेहिकल (ईभी) तथा ट्युबुलर ब्याट्री उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले नेपालमै ब्याट्री उत्पादन विस्तार गर्दै बजारमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने रणनीति अघि बढाएको जनाएको छ । कम्पनीको उत्पादन केन्द्र मोरङको विराटनगरमा रहेको छ । उक्त उद्योगको वार्षिक उत्पादन क्षमता ५४ मेट्रिक टन लेड तथा लेड अक्साइड उत्पादन गर्ने रहेको कम्पनीले जनाएको छ । बढ्दो विद्युतीय सवारीसाधन र ऊर्जा भण्डारणसम्बन्धी मागलाई लक्षित गर्दै कम्पनीले ईभी तथा ट्युबुलर ब्याट्री उत्पादनमा विशेष जोड दिएको छ । कम्पनीको प्रबन्ध निर्देशक सुरेश लोहानी रहेका छन् । सञ्चालक समितिमा सैशब लोहनी, कपिल न्यौपाने, सात्रित्रि दाहाल र लक्ष्मी भट्टराई सदस्यका रूपमा रहेका छन् । कम्पनीको सकारात्मक आधारमध्ये स्थापित बजार सञ्जाल र कच्चा पदार्थ आपूर्तिमा रहेको भौगोलिक लाभलाई महत्वपूर्ण मानिएको छ । विराटनगरस्थित कम्पनीले सामान्य अटोमोटिभ ब्याट्रीदेखि ई-रिक्सा तथा विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री बजारमा उल्लेख्य उपस्थिति बनाएको छ । कम्पनीले देशभर ४०० भन्दा बढी डिलर र १० शाखामार्फत आफ्नो वितरण सञ्जाल विस्तार गरेको छ, जसले शहरीसँगै ग्रामीण क्षेत्रमा पनि उत्पादनको उपलब्धता सुनिश्चित गर्न सहयोग पुर्याएको छ । यस्तो वितरण संरचनाले बिक्री विस्तार, ब्रान्ड उपस्थिति सुदृढीकरण र ग्राहकसम्म छिटो पहुँच पुर्याउन सहज बनाएको कम्पनीको भनाइ छ । विराटनगर भारतीय सीमासँग नजिक रहेकाले कच्चा पदार्थ आयातका हिसाबले पनि कम्पनीलाई रणनीतिक लाभ पुगेको छ । कच्चा पदार्थको एक हिस्सा भारतबाट आयात गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दा सीमावर्ती क्षेत्रमा उद्योग हुनु ढुवानी लागत कम गर्न, आपूर्ति प्रक्रिया छरितो बनाउन तथा खरिद व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोगी बनेको छ । यस्ता लजिस्टिक फाइदाले प्रतिस्पर्धात्मक उद्योगभित्र कम्पनीको सञ्चालनलाई समर्थन गरेको र आपूर्ति शृङ्खलालाई तुलनात्मक रूपमा स्थिर राख्न मद्दत पुगेको बताइएको छ। गत आर्थिक वर्ष कम्पनीमा ३० करोड रुपैयाँ बराबरको इक्विटी थपिएको थियो, जसमा ३ करोड ८५ लाख रुपैयाँको बोनस सेयर समावेश गरिएको छैन । त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनासम्म अग्रिम रकमसहित थप १२ करोड ८० लाख रुपैयाँ बराबरको इक्विटी इन्फ्युजन भइसकेको छ । कम्पनीले अघि बढाइरहेको पुँजीगत विस्तार (क्यापेक्स) लाई सहयोग गर्न प्रवद्र्धकहरूले चरणबद्ध रूपमा इक्विटी थप्दै गएको देखिन्छ । कम्पनीका अनुसार हाल पूर्ण स्वचालित भल्भ रेगुलेटेड लेड एसिड प्लान्ट निर्माणको प्रक्रिया अघि बढिरहेको छ । यस परियोजनाको कुल लागत ५३ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमा ऋण-इक्विटी अनुपात करिब ६६:३४ रहनेछ । परियोजनाको ऋण हिस्सा पूर्ण रूपमा सुनिश्चित भइसकेको र २०२६ जुन २८ सम्म वित्तीय प्रगति करिब ३० प्रतिशत हासिल भएको जनाइएको छ। कम्पनीका अनुसार उक्त प्लान्ट सन् २०२७ जनवरीदेखि सञ्चालनमा आउने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले केही महत्वपूर्ण चुनौती पनि सामना गरिरहेको जनाएको छ । कम्पनीले आवश्यक कच्चा पदार्थमध्ये अधिकांश स्वदेशमै खरिद गर्ने गरेको छ, जसमा सामान्यतया एक महिनासम्मको उधारो सुविधा पाउने गरेको बताइएको छ । त्यस्तै, भारतबाट समेत कच्चा पदार्थ आयात गरिने भएकाले एलसी/बैंक ग्यारेन्टी जस्ता बैंकिङ सुविधामा निर्भर रहनुपर्ने अवस्था छ । उत्पादन निरन्तरता कायम राख्न पर्याप्त मात्रामा कच्चा पदार्थ तथा तयारी वस्तुको मौज्दात राख्नुपर्ने हुन्छ । अर्कोतर्फ, बजारमा तीव्र प्रतिस्पर्धा भएकाले ग्राहक तथा वितरकलाई उधारो बिक्री सुविधा पनि दिनुपर्ने बाध्यता रहेको कम्पनीले जनाएको छ । वित्तीय विवरणअनुसार कम्पनीको इन्वेन्ट्री दिन अघिल्लो वर्ष १०६ दिन रहेकोमा गत वर्ष बढेर ११६ दिन पुगेको छ । यसले कच्चा पदार्थ तथा तयार वस्तु लामो समयसम्म स्टकमा रहने अवस्था देखाउँछ । त्यसैगरी, प्रतिस्पर्धात्मक बजारका कारण कम्पनीले आफ्ना मुख्य ग्राहक अर्थात् वितरकहरूलाई लामो समयसम्म उधारो सुविधा उपलब्ध गराउँदै आएको छ । औसत कर्जा असुली अवधि अघिल्लो वर्ष १६८ दिन रहेकोमा गत वर्ष पनि १६४ दिनकै उच्च स्तरमा कायम रहेको छ । आपूर्तिकर्तालाई भुक्तानी गर्ने औसत अवधि भने ६० दिनबाट घटेर ५८ दिनमा झरेको छ । अर्थात् कम्पनीले ग्राहकबाट रकम उठाउन लामो समय कुर्नुपरेको अवस्थामा आपूर्तिकर्तालाई भने तुलनात्मक रूपमा छिट्टै भुक्तानी गर्नुपरेको कम्पनीले जनाएको छ । यी सबै पक्षको संयुक्त प्रभावस्वरूप कम्पनीको सञ्चालन चक्र अघिल्लो वर्ष २१४ दिनबाट बढेर २२१ दिन पुगेको छ । सञ्चालन चक्र लामो हुँदा कम्पनीले दैनिक सञ्चालन खर्च, कच्चा पदार्थ खरिद र व्यापारिक गतिविधि धान्न बैंक ऋण तथा अन्य अल्पकालीन वित्तीय स्रोतमा बढी निर्भर रहनुपरेको कम्पनीको भनाइ छ । प्रतिस्पर्धा र नियामकीय चुनौति कम्पनीले सञ्चालन गरिरहेको लेड तथा लेड अक्साइडमा आधारित ब्याट्री उद्योग आफैंमा खण्डीकृत र प्रतिस्पर्धी प्रकृतिको छ । उद्योगमा पर्याप्त नियमनको अभाव, कतिपय कम्पनीले अझै पुरानो प्रविधिमा आधारित उत्पादन गरिरहनु, तथा कच्चा पदार्थका लागि आयातमा उच्च निर्भरता हुनुजस्ता पक्षले गुणस्तर, सुरक्षा र दिगोपनासम्बन्धी चुनौती थपिएको कम्पनीको भनाइ छ । विशेषगरी लेडमा आधारित ब्याट्री उत्पादन वातावरणीय दृष्टिले संवेदनशील क्षेत्र भएकाले यसको उत्पादन, भण्डारण, प्रयोगपछिको संकलन तथा पुनः प्रशोधन प्रक्रियामा पर्याप्त मापदण्ड र निगरानी आवश्यक पर्छ । तर उद्योगमा सबै कम्पनीले समान स्तरको वातावरणीय तथा प्राविधिक मापदण्ड पालना नगर्दा समग्र क्षेत्रमै जोखिम बढ्ने अवस्था रहेको बताइएको छ । तीव्र मूल्य प्रतिस्पर्धाका कारण कतिपय उत्पादकले लागत घटाउन गुणस्तर, सुरक्षा वा फोहोर व्यवस्थापनमा सम्झौता गर्न सक्ने जोखिम पनि रहेको छ । विशेषगरी प्रयोग भइसकेका ब्याट्रीको पुनः प्रशोधन तथा रिसाइक्लिङ व्यवस्थित नहुँदा वातावरणीय जोखिम बढ्न सक्ने र यसले दीर्घकालमा उद्योगकै विश्वसनीयतामा असर पार्न सक्ने देखिन्छ । यद्यपि, उद्योगभित्र केही कम्पनीहरूले उत्पादन प्रविधि आधुनिकीकरण, क्षमता विस्तार तथा निर्यात सम्भावना खोज्ने प्रयास गरिरहेका छन्। तर समग्र क्षेत्रलाई दिगो, सुरक्षित र प्रतिस्पर्धी बनाउन नीतिगत स्पष्टता, प्रभावकारी नियमन, आधुनिक प्रविधिमा लगानी तथा उद्योगभित्र सहकार्यको आवश्यकता औँल्याइएको छ । कम्पनी आफैं पनि नियामकीय जोखिमबाट मुक्त छैन । कम्पनीले लेड तथा लेड अक्साइड उत्पादनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेकाले वातावरणीय, औद्योगिक सुरक्षा तथा फोहोर व्यवस्थापनसम्बन्धी नियम-मापदण्डसँग प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसैले वातावरणीय वा सुरक्षा सम्बन्धी मापदण्डमा कडाइ, सरकारी नीतिमा परिवर्तन, वा नियामकीय व्यवस्था थप कठोर बनेमा कम्पनीको सञ्चालन तथा विस्तार योजनामा असर पर्न सक्ने देखिएको छ। विशेषगरी कम्पनीको स्क्र्याप रिसाइक्लिङ व्यवसाय र कच्चा पदार्थ आपूर्ति प्रणालीमा नियामकीय परिवर्तनले प्रत्यक्ष प्रभाव पार्न सक्छ। लेडमा आधारित कच्चा पदार्थको प्रयोग, भण्डारण, प्रशोधन तथा पुनः प्रशोधन प्रक्रियामा वातावरणीय स्वीकृति, प्रदूषण नियन्त्रण मापदण्ड र औद्योगिक सुरक्षासम्बन्धी नियमहरू महत्वपूर्ण हुने भएकाले ती क्षेत्रमा कडाइ बढेमा कम्पनीको लागत, प्रक्रिया र समयतालिकामा असर पर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीले अघि बढाइरहेको विस्तार योजना, विशेषगरी निर्माणाधीन वा आगामी उत्पादन इकाइसम्बन्धी योजना, पनि नियामकीय चुनौतीबाट मुक्त छैन । नयाँ उद्योग स्थापना, क्षमता विस्तार, वातावरणीय स्वीकृति, सञ्चालन अनुमति तथा विकसित हुँदै गएका औद्योगिक मापदण्डअनुसार थप अनुमतिहरू आवश्यक पर्न सक्ने भएकाले परियोजना कार्यान्वयनमा ढिलाइ वा अतिरिक्त लागतको जोखिम रहन्छ ।
६ जनाको २ अर्ब लगानीमा ३० मेगावाटाको सौर्य आयोजना बन्दै, १० वर्ष आयकर छुट
काठमाडौं । दाङ जिल्लाको लमही नगरपालिका क्षेत्रमा ३० मेगावाट एसी (३७.४९९ मेगावाट पिक डीसी) क्षमताको राप्ती दोभान सौर्य आयोजना निर्माण हुने भएको छ । लमही इनर्जी लिमिटेडले उक्त आयोजना अघि बढाएको हो । सन् २०२६ जुनसम्मको विवरणअनुसार कम्पनीमा गोग्रिन इनर्जी लिमिटेडले ७ करोड ४२ लाख ३० हजार रुपैयाँ, सुशील गुप्ताले ६ करोड ३८ लाख ३० हजार रुपैयाँ, अनिल कुमार रुंगटाले ६ करोड रुपैयाँ, दिनेश कर्माचार्यले २ करोड ५७ लाख ५० हजार रुपैयाँ, प्रकाश काफ्लेले १ करोड ११ लाख ९० हजार रुपैयाँ तथा राजन धितालले १ करोड ११ लाख ९० हजार रुपैयाँ लगानी गरेका छन् । आवश्यक परियोजना इक्विटीमध्ये करिब ७२ प्रतिशत पुँजी प्रवर्द्धकहरूले हालसम्म लगानी गरिसकेका छन् । अग्रिम सेयर पुँजीसहित कुल २८ करोड ५५ लाख रुपैयाँ बराबरको पूँजी प्रवाह भइसकेको छ, जसमा २० करोड ३० लाख रुपैयाँ अग्रिम सेयर पुँजी रहेको छ । कम्पनीको सञ्चालक समितिको नेतृत्व अध्यक्ष सुशील गुप्ताले गरिरहेका छन् भने राजन धिताल र दिनेश कर्माचार्य सञ्चालकका रूपमा रहेका छन् । कम्पनीले सन् २०२७ नोभेम्बरभित्र आयोजना सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । राप्ती दोभान सौर्य आयोजनाबाट उत्पादन हुने सम्पूर्ण विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरिनेछ । यसका लागि कम्पनीले २०२५ नोभेम्बरमा प्राधिकरणसँग दीर्घकालीन विद्युत खरिद-बिक्री सम्झौता गरिसकेको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादित विद्युत २५ वर्षको सञ्चालन अवधिभर प्रति युनिट ५ रुपैयाँ ९४ पैसाको स्थिर दरमा बिक्री हुनेछ । यो दर प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत निर्धारण गरिएको हो । पीपीएअनुसार आयोजनाको वार्षिक सम्झौताबद्ध ऊर्जा ५९.२६ मिलियन युनिट (एमयू) रहेको छ । साथै, प्रत्येक आर्थिक वर्षमा कम्तीमा १५ प्रतिशत क्षमता उपयोग कारक बराबर, अर्थात् करिब ३९.४२ मिलियन युनिट विद्युत आपूर्ति गर्नुपर्ने दायित्व कम्पनीसँग रहनेछ । आयोजनाबाट उत्पादित विद्युत ४.१८ किलोमिटर लामो ३३ केभी डबल-सर्किट प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको विद्यमान लमही सब-स्टेसनमा निर्माण हुने नयाँ १३२/३३ केभी इन्टरकनेक्सन बेसम्म पुर्याइनेछ । ऊर्जा उत्पादन क्षेत्रलाई सरकारले अनुकूल कर नीतिमार्फत पनि सहजीकरण गरेको छ । हालको व्यवस्थाअनुसार ऊर्जा आयोजनाले व्यावसायिक सञ्चालन सुरु भएको पहिलो १० वर्षसम्म सतप्रतिशत आयकर छुट पाउने व्यवस्था छ भने त्यसपछिका अर्का पाँच वर्षका लागि ५० प्रतिशत कर छुटको सुविधा उपलब्ध छ । यस्ता प्रोत्साहनात्मक व्यवस्थाले सौर्य ऊर्जा आयोजनाको निर्माणमा योगदान पुर्याएको कम्पनीले जनाएको छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले ऊर्जा क्षेत्रलाई प्राथमिकता प्राप्त कर्जा क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । जसले बैंक तथा वित्तीय संस्थाबाट ऊर्जा आयोजनामा लगानी प्रवाह बढाउन सहयोग गरेको छ । यससँगै सीमापार प्रसारण पूर्वाधारको विस्तार हुँदै जाँदा भविष्यमा विद्युत व्यापार तथा ऊर्जा आपूर्ति व्यवस्थापनका सम्भावना पनि थप बलियो बन्दै गएका छन् । सन् २०२६ जुन मध्यसम्म आयोजनाले अग्रिम भुक्तानीसहित करिब ३२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । यद्यपि आयोजना अझै निर्माणाधीन चरणमै रहेकाले यसको समग्र कार्यान्वयनसँग सम्बन्धित जोखिम भने कायम रहेको रहेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत करिब १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ, जुन प्रति मेगावाट करिब ६ करोड ६० लाख रुपैयाँ बराबर पर्छ । परियोजनाको वित्तीय संरचना ८०:२० ऋण-इक्विटी अनुपातमा आधारित रहेको छ, जसअनुसार अधिकांश लगानी बैंक ऋणमार्फत व्यवस्थापन गरिँदैछ भने बाँकी हिस्सा प्रवर्द्धक पुँजीबाट जुटाइएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ६४ करोड रुपैयाँ ऋण लिएको छ । आयोजनामा ६५० वाट क्षमता भएका ५७ हजार ६९२ वटा उच्च दक्षतायुक्त जेए सोलार एन प्रकारका बाइफेसियल मोनोक्रिस्टलाइन सौर्य मोड्युल जडान गरिनेछ । प्राविधिक विवरणअनुसार सौर्य मोड्युलको उत्पादन क्षमता सञ्चालनको पहिलो वर्ष करिब १ प्रतिशतले घट्नेछ भने त्यसपछि २५ वर्षे सञ्चालन अवधिभर प्रत्येक वर्ष करिब ०.४ प्रतिशतका दरले उत्पादन क्षमता क्रमशः घट्दै जाने अनुमान गरिएको छ । आयोजना क्षेत्रको औसत ग्लोबल होरिजन्टल इराडियन्स प्रतिदिन ५.३६ किलोवाट-घण्टा प्रति वर्गमिटर रहेकोले सौर्य ऊर्जा उत्पादनका लागि स्थान उपयुक्त मानिएको छ । तथापि, मौसमीय परिवर्तनका कारण हुने सौर्य विकिरणको अस्थिरता आयोजनाको प्रमुख सञ्चालन जोखिमका रूपमा रहनेछ । विशेषगरी मार्चदेखि मे महिनासम्म विद्युत उत्पादन उच्च रहने अपेक्षा गरिएको छ भने मनसुन लगायतका प्रतिकूल मौसमीय अवस्था, बादल तथा वर्षाका कारण सौर्य विकिरण घट्दा वार्षिक विद्युत उत्पादन लक्ष्यमा असर पर्न सक्ने कम्पनीले जनाएको छ । आयोजनाका लागि आवश्यक जेए सोलारका सौर्य पीभी मोड्युल तथा स्ट्रिङ इन्भर्टर जस्ता प्रमुख प्राविधिक उपकरण विदेशबाट आयात गरिँदै छन् । यस्ता उपकरणको खरिद अमेरिकी डलर वा अन्य विदेशी मुद्रामा हुने भएकाले नेपाली रुपैयाँको विनिमय दर कमजोर भएमा कम्पनीको वास्तविक लागत बढ्न सक्ने कम्पनीको भनाइ छ । आयोजना स्थल पश्चिम राप्ती नदी नजिक भएकाले सम्भावित जलसम्बन्धी जोखिमबाट पनि प्रभावित हुन सक्ने बताइएको छ । यद्यपि, कम्पनीले यस जोखिम न्यूनीकरणका लागि ९०० मिटर लामो तटबन्ध निर्माण गर्ने तथा संरचनाको जग जमिन सतहभन्दा १ मिटर माथि राख्ने योजना अघि सारेको छ ।