सुन किन्ने कि सेयर ?
काठमाडौं । पछिल्लो केही महिनायता मुलुकमा दुईथरी बजारको चर्चा चुलिएको छ । एक, सेयर बजार र अर्कोे सुन बजार । सेयर बजारको चर्चा यसकारण चुलिएको छ कि यो पछिल्लोपटक खर्लप्पै ओरालो लागेको छ । अनि, सुन बजारको चर्चाचाहिँ नेपालको इतिहासमै उच्च मूल्यमा कारोबार भएकाले चुलिएको हो । सेयर बजार निरन्तर ओरालो लाग्दा ६० लाख लगानीकर्ताको पोर्टफोलियो नकारात्मक भएको छ । अर्थात् सेयर घटेर पुर्पुरोमा हात लगाउनु पर्ने बाध्यता सिर्जना भएको छ । सिडिएससीको पछिल्लो तथ्यांकअनुसार हालसम्म ६० लाख ३ हजार ७ सय १३ डिम्याट खाता खुलिसकेका छन् । तर, निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताको लगानी कहिले उठ्छ भन्ने टुंगो छैन । अब कुरा सुनको । दसैंतिहार बिदापछि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साउन १ गते सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ थियो । यस्तै, भदौ १ गते सुनको मूल्य १ लाख १० हजार ४ सय रुपैयाँ थियो । असोज १ गते आइपुग्दा प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने कात्तिक १ गते १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंसिरसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनको तुलनामा मंसिरमा सुनको मूल्य ६.३२ प्रतिशतले बढेको छ । साउन महिनामा मात्रै सुनमा लगानी गर्नेले तोलाको ७ हजार १ सय रुपैयाँ फाइदा गरे । यो तथ्यांक केलाउँदा साउनमा एक तोला सुन खरिद गर्नेले मंसिरमा ७ हजार १ सय रुपैयाँ कमाएको देखियो । यदि कुनै लगानीकर्ताले गत साउनमा १ करोड रुपैयाँको सुन खरिद गरेको थियो भने यो चार महिनाको अवधिमा उसले ६ लाख ३२ हजार रुपैयाँ नाफा गर्यो । फेरि, सेयर बजारमै फर्किऔं । गत साउन १ गते सेयर बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब ९१ करोड रुपैयाँबराबर थियो । भदौ ३ गते बजार पुँजीकरण ३० खर्ब १० अर्ब २० करोड रुपैयाँमा ओर्लियो । साउन महिनामा लगानीकर्ताले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ गुमाए । लगानीकर्ताको पोर्टफोलियोमा ४.४६ प्रतिशतले नकारात्मक प्रभाव पर्यो । यस्तै, असोज २ गते बजार पुँजीकरण २९ खर्ब ९२ अर्ब २५ करोड रुपैयाँ थियो । भदौ महिनामा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँ गुमाए । यसले लगानीकर्ताको लगानीमा ०.५९ प्रतिशतले नकारात्मक प्रभाव पर्यो । त्यसैगरी कात्तिक १ गते बजार पुँजीकरण २९ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ थियो । यस आधारमा लगानीकर्ताले असोजमा ७४ अर्ब ३२ करोड रुपैयाँ गुमाए । सो महिना २.१९ प्रतिशतले लगानीकर्ताको पोर्टफोलियो घट्यो । लामो समय चाडपर्व बिदापछि मंसिर ४ गते बजार खुलेको थियो । उक्त दिन बजार पुँजीकरण २८ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँ थियो । यस आधारमा लगानीकर्ताले कात्तिक महिनामा मात्रै ७० अर्ब १७ करोड रुपैयाँ गुमाए । यस महिनामा लगानीकर्ताको लगानीमा २.४५ प्रतिशत प्रभाव पर्यो । पछिल्लो एक साता अवधि (मंसिर १३ गते) बजार पुँजीकरण २८ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँबराबर छ । यस आधारमा लगानीकर्ताले ३५ अर्ब ६४ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्तामा यसले १.२३ प्रतिशतले प्रभाव पर्यो । गत साउनको तुलनामा हालसम्म सेयर मार्केटका लगानीकर्ताले ८.१७ प्रतिशतले पोर्टफोलियो घटेको छ । अर्थात् यो आधारमा गत साउनमा कुनै लगानीकर्ताले १ करोड रुपैयाँको सेयर खरिद गरेको थियो भने पार्टफोलियो ९१ लाख ८३ हजार रुपैयाँमा झरेको छ । उसको पोर्टफोलियो ८ लाख १७ हजारले घटेको छ । ००० सुनको मूल्य ह्वात्तै उकालो लागिरहनुमा के कारण हुन सक्ला, छोटो अवधिमा किन सुनको मूल्य आकासिएको होला ? सुन व्यापारी के भन्छन् ? नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले प्यालेस्टाइन (हमास) र इजरायल युद्धका कारण विश्वबजारमा सुनमा लगानी बढेको बताउँछन् । यो युद्धले तेस्रो विश्वयुद्धको रूप लिन्छ कि भन्ने त्रासमा अरू सेक्टर त्यति सुरक्षित नभएको हुँदा सुनमा लगानी बढेको उनको भनाइ छ । करिब एक वर्ष अगाडि अन्तर्राष्ट्रिय विज्ञहरूले पनि ३ हजार अमेरिकी डलर प्रतिऔससम्म पुग्छ भनेर प्रक्षेपण गरेको महासचिव बज्राचार्य बताउँछन् । ‘विज्ञले भनेअनुसार अहिले त्यति पुगिसकेको त छैन,’ बज्राचार्यले विकासन्युजसँग भने, ‘तर, जुन युद्धहरू अहिले भइरहेका छन्, त्यसलाई हेर्दा यसले नै टेवा पुर्याएर अझै बढ्ने संकेत देखिएको छ ।’ सुनको मूल्य बढ्नुमा कुनै पनि नेपाली कारण नभएको उनी बताउँछन् । ‘नेपालमा सुनको मूल्य जुन कायम छ, त्यो सबै अन्तर्राष्ट्रिय कारणबाट भइरहेको छ,’ उनी भन्छन्, ‘यसमा चाहिँ हिजो पनि नेपालको कारण थिएन र भोलि पनि हुँदैन ।’ नेपाली बजारमा सुनको व्यापार पहिलाको तुलनामा अहिले धेरै कम भएको बज्राचार्य बताउँछन् । ‘अहिले मंसिर आधाआधी भइसक्यो, त्यति धेरै सुन बिक्री हुन सकेको छैन,’ काठमाडौं अर्नामेन्ट्सका सञ्चालकसमेत रहेका बज्राचार्य भन्छन्, ‘लगनका बेला भनेर पहिला–पहिलाको वर्ष यो समय दिनको ५० देखि ६० किलोसम्म सुन खपत हुन्थ्यो । अहिले मुस्किलले २० किलोमात्रै खपत भइरहेको अवस्था छ ।’ मान्छेले मूल्य घटेको बेला सुन किन्ने र बढेको बेला सुन बेच्ने नौलो कुरा होइन । अहिलेको अवस्थामा नेपालमा घरमा भएको सुन बेच्ने ‘ट्रेन्ड’ चलेको बज्राचार्य बताउँछन् । ‘कतिपय मान्छेले सुनको भाउ अझै माथि पुग्ला भनेर राखेको अवस्था पनि छ,’ उनी भन्छन्, ‘अहिले विस्तारै नेपालीको क्रय शक्ति पनि घटेको छ । सुनको भाउ बढेको बेलामा यसलाई नै बेचेर अरू नै काममा प्रयोग गरौं भनेर सुन बेच्ने पनि हावी भएको अवस्था छ ।’ एक वर्षअघि नै विज्ञले भनेअनुसार नेपालमा सुनको मूल्य २ लाख रुपैयाँसम्म बढ्ने अनुमान रहेको र ठ्याक्कै यही समयमै पुग्छ भनेर भन्न नसकिने अवस्था रहेको बज्राचार्य बताउँछन् । ‘सुनको मूल्य २ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिए पनि अहिले तत्कालको अवस्थामा १ लाख २५ हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ,’ उनी थप्छन् । पछिल्लो समय सुनको मूल्य उकालो लाग्दै गएको र सेयर बजार ओरालो लाग्दै गएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने सुनको मूल्य र सेयर बजारको त्यति धेरै ‘कनेक्सन’ नहुने बज्राचार्य बताउँछन् । विदेशमा जस्तै नेपालमा यी क्षेत्रमा धेरै लगानी गर्ने लगानीकर्ता हावी नभएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार चाँदी प्रतिऔंस २४.९८ डलर भएको छ । गत साउनमा १ करोड रुपैयाँको सुन खरिद गरेका लगानीकर्ताले ४ महिनामा करिब साढे ६ लाख रुपैयाँ नाफा गरेका छन् भने सेयर किन्नेले ८ लाख १७ हजार रुपैयाँ गुमाएका छन् । ००० आखिर सेयर बजार यसरी ओरालो लागेको लाग्यै हुनुका कारण के होलान् ? सेयर बजार किन माथि उठ्न सकेको छैन ? सेयर लगानीकर्ता के भन्छन् ? नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नीति राम्रो नबन्नु, सहजै तरलता उपलब्ध नहुनु, लामो समयदेखि बैंकको ब्याजदर पनि एकल अंकमा झर्न नसक्नु र जोखिम भार पनि १ सय प्रतिशतबाट १ सय ५० प्रतिशत पुर्याइनुको परिणाम सेयर बजार ओरालो लाग्नुका प्रमुख कारण रहेको बताउँछिन् । ‘जबसम्म बजार उठ्दैन, तबसम्म सेयर बजारमा डुबेको लगानी पनि उठ्ने कुरै भएन,’ पोखरेल दाबीका साथ भन्छिन्, ‘३२ सय पुगेको सेयर बजार १७ देखि १८ सयको हाराहारीमा झरेको छ । त्यसैले सेयर बजार जबसम्म उकालो लाग्दैन, तबसम्म लगानीकर्ताको लगानी पनि डुब्छ ।’ उनका अनुसार बजार घटेको समयमा सेयर किन्नु उपयुक्त हो । तर, भोलिका दिनमा बजार उकालोमात्रै लागिरहन्छ भन्ने कुनै ‘ग्यारेन्टी’ भने छैन । भोलि बजार २० अंकले घट्यो वा त्योभन्दा माथिकै अंकले घट्यो भने पनि त्यसको परिणामका लागि तयार हुनुपर्छ । ‘बढेको बजारमा भन्दा घटेको बजारमा लगानी गर्नु उपयुक्त नै मानिन्छ । ऋण खोजेको पैसा सेयर बजारमा लगानी गर्ने हो भने अवश्य नै त्यसको कुनै फाइदा छैन,’ उनी भन्छिन्, ‘सेयर बजार घट्दै जाने र ऋणको ब्याज बढ्दै जाने हो भने उसले गरेको लगानी डुब्ने नै भयो । आफूसँग पैसा भएर बजार घटे पनि मैले होल्ड गर्न सक्छु भन्ने लाग्छ भने यो क्षेत्र उपयोगी नै छ ।’ जब सेयरबजार घट्दै जान्छ तब मान्छेले अन्य क्षेत्रमा लगानी गर्न थाल्ने उनी बताउँछिन् । ‘अहिले सुनको मूल्य बढिरहँदा र सेयर बजार घटिरहँदा मान्छेले सेयर बेचेर सुनमा लगानी गरिरहेका छन् । सुन आज किने भोलि १ हजार रुपैयाँले बढिरहेको छ,’ पोखरेल भन्छिन्, ‘अहिले सुनमा लगानी गर्दा त्यसको प्रतिफल भोलि नै लिन पाइने अवस्था छ । तर, सेयर बजार निरन्तर घटेकाले भन्न सकिने अवस्था छैन ।’
नाफासँगै बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी बढ्यो
काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । गत असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत ५.११ रुपैयाँ बढेर १७.८ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत १२.६८ रुपैयाँ थियो । गत असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ११.६७ प्रतिशत बढेर ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेका छन् । निर्जीवन बीमाको प्रतिसेयर आम्दानी उच्च बढेको भएपनि जीवन बीमा कम्पनीहरूको भने सामान्य बढेको छ । गत असोजसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ०.२० रुपैयाँ बढेर ११.८० रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा जीनव बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ११.७८ रुपैयाँ थियो । गत असोजसम्म जीवन बीमाको खुद नाफा ३६.६३ प्रतिशत बढेर १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेका छन् । ८ निर्जीवन बीमाको ईपीएस बढ्यो पुँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये विभिन्न ८ कम्पनीको ईपीएस बढेको छ भने ४ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ३१.४३ रुपैयाँ बढेर ५१.६३ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ । नेपाल इन्स्योरेन्सको २१.१२ रुपैयाँ बढेर ३९.१२ रुपैयाँ, नेको इन्स्योरेन्सको ९.४३ रुपैयाँ बढेर १७.५० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, युनाइटेड अजोडको २.७५ रुपैयाँ बढेर ८.१३ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २.५९ रुपैयाँ बढेर १४.७३ रुपैयाँ, हिमालयन एभरेष्टको १.४१ रुपैयाँ बढेर ९.३० रुपैयाँ र शिखर इन्स्योरेन्सको ०.२३ रुपैयाँ बढेर १६.९४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । गत असोजसम्म सगरमाथा लुम्बिनीको ०.१८ रुपैयाँ घटेर ८.७० रुपैयाँ, आइजिआई प्रूडेन्सियलको ०.४० रुपैयाँ घटेर ६.७५ रुपैयाँ, सानिमा जिआईसीको ४.१० रुपैयाँ घटेर ६.७६ रुपैयाँ र सिद्धार्थ प्रिमियरको ५.९५ रुपैयाँ घटेर १९.९६ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएका हुन् । जीवन बीमामा ८ कम्पनीको बढ्दा ५ कम्पनीको घट्यो दोस्रो बजारमा सूचीकृत कारोबार भइरहेका जीवन बीमा कम्पनीहरूमध्ये विभिन्न ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ५ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै सन नेपाल लाइफको वृद्धि हुँदा सिटिजन लाइफको घटेको हो । सन नेपाल लाइफको ९.०७ रुपैयाँ बढेर २०.६७ रुपैयाँ, सूर्यज्योति लाइफको ५.९२ रुपैयाँ बढेर ११.६२ रुपैयाँ, एलआईसी नेपालको ४.२३ रुपैयाँ बढेर ९.०१ रुपैयाँ, हिमालयन लाइफका ३.१५ रुपैयाँ बढेर १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, एशियन लाइफको २.६३ रुपैयाँ बढेर २१.०७ रुपैयाँ, सानीमा रिलायन्सको ०.८८ रुपैयाँ बढेर १०.६० रुपैयाँ, नेपाल लाइफको ०.७० रुपैयाँ बढेर ७.७० रुपैयाँ र राष्ट्रिय जीवन बीमाको ०.१४ रुपैयाँ बढेर ८.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । समीक्षा अवधिमा प्रभु महालक्ष्मीको २.४८ रुपैयाँ घटेर ९.३५ रुपैयाँ, नेशनल लाइफको २.४३ रुपैयाँ घटेर १०.४० रुपैयाँ, रिलायबल नेपालको ४.९५ रुपैयाँ घटेर ११.९४ रुपैयाँ, आइएमई लाइफको ८.१० रुपैयाँ घटेर १३.०४ रुपैयाँ र सिटिजन लाइफको ८.४५ रुपैयाँ घटेर ७.६३ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएको छ ।
बैंकहरुले बेस रेटभन्दा कममा कर्जा दिन पाउनुपर्छ
चार वर्षअघि कोभिड संक्रमणसँगै सुरु भएको नेपाली अर्थतन्त्रमाथिको नकारात्मक प्रभाव यसबीच अल्पकालिन रुपमा तथा चाडवर्पको अतिरिक्त मागका कारण मौसमी रुपमा केही लयमा फर्किन खोजेजस्तो देखिए पनि अर्थतन्त्रले भने अहिले पनि जटिल अवस्थाबाट पार पाउन सकेको छैन । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिँदै गर्दा यसमा ढुक्कसँग सन्तोष मानेर बस्न सक्ने अवस्था हो जस्तो लाग्दैन । आर्थिक गतिविधिमा झन् झन् गहिरिँदो सुस्तता र उद्योग व्यवसायको उत्पादन तथा कारोबारमा मन्दीको बहुआयामिक प्रभाव आन्तरिक अर्थतन्त्रका सूचकहरुसँगै बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रतिवेदनहरुमा समेत प्रतिबिम्बित भएका छन् । महिनौंयता राजस्व आयको निराशाजनक आँकडा र यसले सार्वजनिक वित्त व्यवस्थापनमा सरकारसामु ठूलो चुनौती खडा भएको छ । तर विडम्बना त के हो भने अर्थतन्त्र समस्यामा हुँदा हुँदै पनि यसलाई नेपाल सरकार, नेपाल राष्ट्र बैंकले स्वीकारेका छैनन् । त्यही कारण समाधानका लागि पहल भएको छैन् । अर्थतन्त्रसँग सम्बन्धित राम्रा तथ्यांकहरुमा विमति छैन । तर अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई स्वीकार गरी समाधानका लागि गम्भिर पहल थाल्न हार्दिक अनुरोध गर्दछु । यदी अर्थतन्त्र समस्यामा छैन भन्ने हो भने नेपाल सरकारले जीडीपीको तथ्यांक किन सार्वजनिक गरेको छैन् ? आर्थिक वर्ष २०७९/८० मा वार्षिक बृद्धिदर २.१६ हुने अनुमान गरिएको थियो । तर आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा आर्थिक बृद्धिदर ०.३४ प्रतिशतले ऋणात्मक र दोस्रो त्रैमासमा पनि ०.७३ प्रतिशतले ऋणात्मक देखियो । अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासमा पनि ०.२४ प्रतिशतले ऋणात्मक थियो । यसरी लगातार तीन त्रैमासमा आर्थिक बृद्धिदर ऋणात्मक भएकोले अर्थतन्त्र मन्दीमा गएको हामीले भन्दै आएको थियौं । सरकारले गत वर्षको तेस्रो र चौथो त्रैमासको र चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक अहिलेसम्म सार्वजनिक नगर्नुलाई हामीले कसरी लिने ? राष्ट्र बैंकको पुनःसंरचना नियामकीय व्यावसायिकता कायम गर्न तथा अर्थतन्त्रको खास आवश्यकता बमोजिम वस्तुनिष्ठ र गतिशील नीतिगत अभ्यासका लागि केन्द्रिय बैंकको संचालक समिति सदस्य विज्ञ व्यक्तिलाई बनाउने अभ्यास विश्वव्यापी रुपमा रहेको छ । सोहीअनुरुप नेपालको केन्द्रिय बैंक ‘नेपाल राष्ट्र बैंक’ को संचालक समितिमा पनि संचालकका रुपमा नियुक्त गरिने सदस्यहरु पहुँचका आधारमा नभएर विज्ञताका आधारमा नियुक्त गर्न आवश्यक छ । यसले केन्द्रिय बैंकको साख र भूमिकालाई झन् प्रभावकारी बनाउनेछ । मौद्रिक नीतिका लागि छुट्टै समिति छिमेकी भारतमा पनि केन्द्रीय बैंकका सीमित उच्च अधिकारीहरुका साथै विज्ञहरुसमेत सम्मिलित कुल ६ जनाको मोनिटरी पोलिसी कमिटी गठन गरिएको छ, जसको अभ्यास आरबीआईले सन् २०१६ देखि नै गरेको हो । यसबाहेक उन्नत बैंकिङ अभ्यास रहेका बेलायत, अमेरिका, युरोपेली युनियन र अन्य धेरैजसो देशमा मौद्रिक नीतिबारे सम्पूर्ण निर्णयका लागि अलग्गै विशेष कमिटि बनाउने अभ्यास रहेको छ, जसले मौद्रिक नीतिका लागि अध्ययन, गृहकार्य, नीति निर्माण, पुनरावलोकन लगायतका सम्पूर्ण कार्य सम्पादन गर्दछ । नेपालमा पनि गभर्नर, डेपुटी गभर्नर, र विज्ञहरु समेत सदस्यका रुपमा सम्मलित गराएर मौद्रिक नीति निर्माण तथा यसबारेको निर्णयका लागि विशेषाधिकार प्राप्त छुट्टै समिति स्थापना गरिनु आवश्यक छ । क्यामब्रिज युनिभर्सिटीको एक अध्ययन प्रतिवेदनअनुसार, मौद्रिक नीतिबारे सम्पूर्ण निर्णयका लागि केन्द्रिय बैंकमातहत यस्तो छुट्टै विशेष कमिटी गठन गरिएका देशहरुको संख्या एक दशकअघि नै ८० भन्दा धेरै पुगिसकेको छ । राष्ट्र बैंकले ऋणीसम्म नियमनमा चासो बढाउँदै लैजाँदा केन्द्रिय बैंक ‘माइक्रो म्यानेजमेन्ट’ तर्फ आकर्षिक भएको र मूल भूमिका तथा जिम्मेवारी भने फितलो हुँदै गएको हो कि भन्ने देखिएको छ, जबकि आफ्नो व्यवसाय तथा कर्जा लगानीको जोखिमबारे सम्बन्धित बैंक स्वयम् सतर्क र नियमनका लागि क्षमतायुक्त छन् । स्थानीय तहको रकम खर्च गर्ने हाल बैंकहरुमा राखिएको देशभरका स्थानीय सरकारहरुको रकम (संघीय सरकारले स्थानीय सरकारलाई दिने सशर्त अनुदान) खर्च गर्ने प्रणाली/व्यवस्था नभएकाले उक्त रकम बजारमा आउन सक्ने अवस्था छैन । यो एकातर्फ तरलता अभाव हलमा उपयोग हुन सकेको छैन भने उक्त रकम प्रणालीमा संचार नभएर खर्च गर्न नमिल्ने गरी बैंकमै पार्क भएर बस्दा तरलतामा परेको चापले बैंक ब्याजदर पनि महँगो बनाउनमा यसले बल पुर्याइरहेको छ । संस्थागत कोषहरु पूर्वाधार विकासमा परिचालन हाल अर्बौंको वित्तीय स्रोत (नगदै) भएका ठूला संस्थागत कोषहरु (कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सेना तथा प्रहरीका कल्याणकारी कोषहरु, र सामाजिक सुरक्षा कोषमा जम्मा हुन थालेको रकम समेत) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रकम राखेर ब्याज आम्दानीमा मात्र केन्द्रित भइरहेको अवस्था छ । यो रकम ठूला पूर्वाधार विकासमा परिचालन गर्नुपर्ने आवश्यकता छ । पुनर्कर्जा कोषको पूर्ण उपयोग उद्योग व्यवसायको संचालन तथा बजार मागलाई लयमा फर्काउन सहज र सुलभ वित्त अहिलेको प्रमुख मध्येको एक आवश्यकता भएकाले विद्यमान पुनर्कर्जा कोषको पूर्ण उपयोग हुने गरी उद्योग व्यवसायलाई कोषको सुविधा उपलब्ध गराउन अत्यावश्यक छ । ५६ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा कोषबाट हाल डेढ अर्ब रुपैयाँभन्दा कम मात्र उपलब्ध गराइएको छ। बाँकी करिब साढे ५४ अर्ब पुनर्कर्जा सुविधा प्रदानले बजारमा सुलभ कर्जा प्रवाहका साथै तरलता थप सहज बनाउन सहयोग पुर्याउनेछ । बैंक र ऋणीको आपसी सहमतिमा कर्जा पुनःसंरचनाको सुविधा प्रदान गर्नुपर्छ । ब्याजदरमा पुनरावलोकन गर्दा अघिल्लो महिना प्रकाशित दरमा १० प्रतिशतभन्दा धेरैले घटाउन वा बढाउन नपाउने व्यवस्था हटाउन मेरो सुझाव छ । आधार दर (बेस रेट) भन्दा कममा कर्जा राम्रा परियोजनाहरुले प्रतिस्पर्धी दरमा कर्जा पाउने ढोका यसले बन्द गरिदिएको छ । साथै, बैंकहरुलाई पनि मध्य तथा दीर्घकालिन दृष्टिले आकर्षक लाभ भएका राम्रा परियोजनाहरुमा लगानीको अवसरबाट बञ्चित गरेकाले हालको यो व्यवस्था खारेज गर्नुपर्ने देखिन्छ । राष्ट्र बैंकले गत भदौ ११ मा एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै निष्कृय कर्जाको वर्गीकरण तथा त्यसअन्तर्गत समूहको कर्जाका सम्बन्धमा गरिएका सम्पूर्ण नयाँ प्रावधानहरु खारेज गरिनु आवश्यक छ । चुनौतिपूर्ण अवस्थामा रहेको वर्तमान अर्थतन्त्रमा सुधार ल्याउन तुलनात्मक रुपमा खुकुलो र अनुकूल नीति लिनुपर्नेमा एकीकृत निर्देशिका २०७९ मा संशोधनमार्फत निष्कृय कर्जा वर्गीकरण तथा सामूहिक कर्जा (सुक्ष्म निगरानी) का सम्बन्धमा केन्द्रिय बैंकले लगाएको अंकुश अर्थतन्त्र तथा व्यवसायिक वातावरणको प्रतिकूलतासँगै अव्यवहारिक र असान्दर्भिक छ । यसबाट व्यवसायिक प्रतिष्ठानहरु ऐतिहासिक असहजता र बजार मागमा चरम संकुचनका बेला आर्थिक विस्तारमा प्रमुख भूमिका रहने ठूला उद्योग व्यवसाय थप समस्या पर्नेछ र लगानी तथा व्यवसाय विस्तारलाई पनि निरुत्साहित गर्नेछ । साथै रोजगारी कटौती हुन सक्ने जोखिम बढ्नेछ । (नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा व्यक्त गरेका मन्तव्यको सम्पादित अंश)