नाडा अध्यक्षमा चार जना आकांक्षी, चौधरी र श्रेष्ठको एक हुने ‘कमिटमेन्ट’
काठमाडौं । अटो व्यवसायीहरूको छाता संस्था अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को चुनावी माहोल रोचक बन्दै गएको छ । चुनाव नजिकिएसँगै नाडाको भावी अध्यक्षका लागि एकपछि अर्कोको आकांक्षा बढ्दै गएको हो । एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्ष पदका लागि अटोमोबाइल्स व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिने आकांक्षा व्यक्त गरिरहेका छन् । नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ, सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङ्सका करण चौधरीले र वर्तमान कार्यसमितिका सदस्य प्रकाश कपुरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसअघिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवार बनेर चौधरी पराजित भएका थिए । आकांक्षीहरूले अध्यक्ष पदमा सर्वसम्मतको प्रयास भइरहेको पनि बताएका छन् । सर्वसम्मत नभए प्रजातान्त्रिक अभ्यास अवलम्बन गर्दै चुनावी मैदानमा उत्रिनेछन् । अध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका गोल्छा नाडाको भावी अध्यक्षको लागि सर्वसम्मत प्रयास भइरहेको बताउँछन् । ‘मेरो चाहना अध्यक्षको हो, यसको लागि मेरो आफ्नो तयारी भइरहेको छ, सर्वसम्मतरूपमा कार्यसमिति छानिन सक्ने सम्भावना पनि छ, मैले उम्मेदवारहरूसँग छलफल गरिहरेको छु, सर्वसम्मत भएन भने चुनावी मैदानमा उत्रन्छौं,’ उनले भने । सर्वसम्मत नभए आफू चुनावी मैदानमा उत्रन तयार रहेको उनको भनाइ छ । ‘मिलेर अगाडि बढ्नका लागि उहाँहरूबाट प्रस्ताव आएको छ, मेरो तर्फबाट पनि अध्यक्ष बनाउनु पर्यो भनेर प्रस्ताव गएको छ, त्यो प्रस्तावमा छलफल भइरहेको छ,’ उनले भने, ‘त्यसको निर्णय भने भइसकेको छैन, मलाई लाग्छ म सहमतिमै अध्यक्ष बन्छु ।’ चुनाव भए समर्थन पाउने र आफूले जित्ने विषयमा विश्वस्त रहेको उनको भनाइ छ । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ पनि सर्वसम्मतको पक्षमै छन् । श्रेष्ठ र प्रतिस्पर्धी करण चौधरीबीच सहकार्य हुन सक्ने सम्भावना देखिएको छ । त्यो विषयको स्वीकार स्वयम् श्रेष्ठ पनि गर्छन् । ‘हाम्रो टिम नेतृत्वमा रहेर राम्रो काम गर्न सक्छ, यदि चुनाव नै हुने भयो र करण अध्यक्षमा उठ्नु भयो भने म छाड्छु, म उम्मेदवार भएँ भने उहाँले छाड्न सक्नु हुन्छ, निर्णय चाहिँ बाँकी छ,’ उनले भने । वर्तमान नाडाका उप–सभापति समेत रहेका श्रेष्ठले अटो क्षेत्र नै समस्यामा परेको बेला चुनाव गर्नु उपर्युक्त नहुने धारणा राखे । अर्का उम्मेदवार प्रकाश कपुरी पनि आफ्नो जित निश्चित भएर नै मैदानमा होमिएको बताउँछन् । कपुरी भने चुनावी प्रक्रियामै अगाडि बढ्नुु पर्ने धारणा राख्छन् । ‘सर्वसम्मत भए मलाई अध्यक्ष छाडिदिनु पर्छ, होइन भने चुनाव गर्नुपर्छ,’ उनी भन्छन्, ‘चुनाव भयो भने म जित्नेमा विश्वस्त छु ।’ सर्वसम्मतको प्रयासमा अध्यक्ष नाडाका अध्यक्ष ध्रुब थापा सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने बताउँछन् । ‘उहाँहरू मिल्नुभयो भने सर्वसम्मतरूपमा एक जना अध्यक्ष बन्नुहुन्छ, मिल्नु भएन भने चुनाव हुन्छ तर, यस्तो समयमा चुनाव हुनु हुन्न भन्ने पक्षमा म छु,’ उनले भने । निर्वाचन भए कडा प्रतिस्पर्धा हुने थापाको भनाइ छ । नाडाको निर्वाचन भएमा अध्यक्षहरूको छुट्टाछुट्टै प्यानल हुने सम्भावना देखिन्छ । थापा नाडाको विकासको लागि सबैले एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राख्छन् । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । हालसम्म अध्यक्षको उम्मेदवारको चर्चा भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूको भने टुङ्गो लागेको छैन ।
एनसेलको सेयर खरिदबिक्री रोक्नुपर्ने माग, कारोबार नेपालभित्रै गर्नुपर्ने (रिटसहित)
काठमाडौं । लामो समय पुँजीगत लाभकरको विषयमा विभिन्न न्यायिक निकायहरूमा पुगेको एनसेलको मुद्दा पुनः अदालतमा प्रवेश गरेको छ । आजियाटाले एनसेलमा रहेको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको स्पेकट्रलाइट युके लिमिटेडलाई बिक्री गरेपछि विषय उच्च अदालतसम्म पुगेको हो । एनसेलको सेयर बेच्ने निर्णय गरेको मलेसियन कम्पनी आजियाटाको निर्णय विरुद्ध अधिवक्ता गोकुलबहादुर रोकायाले गत शुक्रबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले दुवै पक्षलाई बोलाइ पनि सकेको छ । उनले दिएको रिटमा शुक्रबार नै सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले पहिलो सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । निवेदक रोकायाले कम्पनी ऐन, २०६३ को पहिलो संसोधनको (२०७४/०१/१९) दफा १२ ले पाँच करोडभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनिले २ बर्ष भित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्नु पर्ने अनिबार्य व्यवस्था गरेको भएपनि एनसेलले उक्त कानूनी अबधि भित्र आफुलाई पब्लिक लिमिटेडमा रुपान्तरण नगरेको भन्दै रिट दायर गरेका हुन् । कम्पनी ऐनको दफा १२ को अबधि भित्र पब्लिक लिमिटेडमा परिणत गर्न लगाई सर्बसाधरणको पहुँचका लागि शेयर बिक्रि वितरण खुल्ला गर्नु गराउनु पर्ने दायित्व र जिम्मेवारी भए पनि एनसेलले सेयर जारी नगरेको रिटमा उल्लेख छ । उनले एनसेलले आईपीओ जारी गर्नु पर्ने उनको माग छ । यस्तै, निवेदक रोकायाले नेपाल धितोपत्र बोर्डमा दर्ता भई सार्वजनिक खरिद बिक्रिका लागि सेयर निश्कासन नगरेसम्म एनसेलको सेयर बिक्री वितरण वा हस्तान्तरण गर्न नपाउने गरी आदेश दिन माग गरेका छन् । एनसेल पब्लिक लिमिटेडमा रूपान्तरण भए पश्चात् एनसेलको कुनै पनि सेयरधनीले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरी सेयर बिक्री÷वितरण, हस्तान्तरण गरेको सम्बन्धि सम्पूर्ण रेकर्ड दस्ताबेज बिपक्षीहरुबाट मगाई सो संँग सम्बन्धित सम्पूर्ण कार्य निर्णय पत्राचार समेत गर्नुपर्ने माग निवेदकको छ । यस्तै, समय सीमा तोकेर सो समय सीमाभित्र एनसेलको अधिकतम सेयर सार्बजनिक रूपमा बिक्रि वितरण गर्नका लागि आदेश दिनु पर्ने र खरिदबिक्रीको कारोबार नेपालभित्रै हुनु पर्ने माग पनि राखिएको छ । रोकायाको पक्षबाट बहस गर्ने अधिवक्ता डा. सुरेन्द्र भण्डारीले यसअघि पनि टेलियासोनेरा कम्पनीले विदेशमै खरिदबिक्रीको कारोबार गरेको र नेपाललाई लाभकर छली गरेकोले अब आजियटाले नेपालभित्रै खरिदबिक्रीको कारोबार गर्नु माग राखेको बताए । उनका अनुसार यसअघि नै सर्वोच्च अदालतले आगामी दिनमा कारोबार गर्दा नेपालभित्र नै गर्नु भनेर आदेश दिएकोले त्यसको कार्यान्वयन पनि हुनु पर्छ । आजियटाले ६ अर्ब ६६ करोड रुपयाँमा ८० प्रतिशत सेयर बिक्री गरेको छ । यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने सहमति दुवै पक्षबीच भएको छ । [pdf id=449789]
यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला सेयरधनी, कसको स्वामित्व कति ?
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा विभिन्न २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा २५ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ । बैंकमा सबैभन्दा ठूला सेयरधनी थानेश्वर पौडेलको २.२८ प्रतिशत अर्थात् ९ करोड ७७ लाख ७२ हजार ६२१ रुपैयाँ रहेको छ । यस्तै, धनेन्द्र कार्कीको १.०३ प्रतिशत अर्थात् ४ करोड ३९ लाख ८७ हजार ८८६ रुपैयाँ, राजेन्द्र प्रसाद श्रेष्ठको १.०२ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ६३ हजार ८०१ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, बालकृष्ण भुषालको ०.९८ प्रतिशत अर्थात् ४ करोड १७ लाख ८५ हजार ७३६ रुपैयाँ, कृष्णप्रसाद शर्माको ०.९१ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९६ हजार ५७५ रुपैयाँ, दिलिपराज मास्केको ०.७९ प्रतिशत अर्थात् ३ करोड ४० लाख ३९ हजार ३७६ रुपैयाँ, भुवन भण्डारीको ०.७५ प्रतिशत अर्थात् ३ करोड २० लाख ८७ हजार ७४८ रुपैयाँ सेयर स्वामित्व रहेको छ । यस्तै, मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत अर्थात् २ करोड ९३ लाख ९० हजार ३०८ रुपैयाँ, कृष्ण प्रसाद भण्डारीको ०.६७ प्रतिशत अर्थात् २ करोड ८६ हजार ५६ लाख ६६ रुपैयाँ, मिन कुमारी श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख ६१ हजार २१३ रुपैयाँ, सुरेन्द्रप्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार ३२२ रुपैयाँ सेयर स्वामित्व रहेको छ । बैंकको तथ्याङ्क अनुसार इश्वरी प्रसाद पौड्यालको ०.६० प्रतिशत अर्थात् २ करोड ५६ लाख २४ हजार २६६ रुपैयाँ, जनक प्रधानको ०.६० प्रतिशत अर्थात् २ करोड ५५ लाख ४१ हजार ५४६ रुपैयाँ, दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत अर्थात् २ करोड ५१ लाख ४० हजार १२५ कित्ता, महेश्वर प्रसाद श्रेष्ठको ०.५७ प्रतिशत अर्थात् २ करोड ५४ लाख ४० हजार ९९ कित्ता सेयर स्वामित्व रहेको छ । केदारमान कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार ५६९ रुपैयाँ, मेघराज कक्षपतिको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ४८ हजार २०८ रुपैयाँ, विष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत अर्थात् २ करोड ४४ लाख ३३ हजार १४३ रुपैयाँ, हरि प्रसाद प्रधानको ०.५५ प्रतिशत अर्थात् २ करोड ३६ लाख ६८ हजार ७६९ रुपैयाँ, सुरेश कुमार धरेवालको ०.५५ प्रतिशत अर्थात् २ करोड ३५ लाख ४७ हजार ८६१ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले जनाएको छ । सुश्मा क्षेत्रीको ०.५३ प्रतिशत अर्थात् २ करोड २८ लाख २१ हजार ६२६ रुपैयाँ, नारायण प्रसाद अग्रावलको ०.५३ प्रतिशत अर्थात् २ करोड २४ लाख ९६ हजार ४९६ रुपैयाँ, सुरज उप्रेतीको ०.५२ प्रतिशत अर्थात् २ करोड २२ लाख ३९ हजार ४७८ रुपैयाँ, टंकेश्वर खनालको ०.५१ प्रतिशत अर्थात् २ करोड १७ लाख ४७ हजार ५४२ रुपैयाँ र विरेन्द्र भुषालको ०.५० प्रतिशत अर्थात् २ करोड १६ लाख १५ हजार ८८ रुपैयाँ सेयर स्वामित्व रहेको बैंकले बताएको छ । बैंकको तथ्याङ्क अनुसार ४९ प्रतिशत अर्थात् १ अर्ब ८५ करोड २६ लाख ९४ हजार रुपैयाँ सेयर स्वामित्व सर्वसाधारण समूहको छ भने ५१ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड ८३ लाख १४ हजार रुपैयाँ संस्थापकहरुको लगानी छ ।