नाडामा सहमतिको ‘च्याप्टर क्लोज’, कुनलाई कसको साथ ?

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को निर्वाचन नजिकिएसँगै अटो व्यवसायीहरूको दौडधुप बढेको छ । यसअघि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्ने विषयमा व्यापक छलफल भएपनि सहमति हुन नसक्दा अन्ततः उम्मेदवारहरू चुनावी दौडधूपमा लागेका हुन् । नाडाको अध्यक्ष पदका सर्वसम्मतको प्रयास भएपनि उम्मेदवारहरूबीच कुरा नमिल्दा अन्ततः चुनाव हुने भएको हो । उनीहरू अहिले सदस्यहरूसमक्ष भोट मागिरहेका छन् । नाडाको अध्यक्ष बन्नका लागि फोर्ड गाडीको आधिकारिक वितरक जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छा, सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङ्सका सञ्चालक करण चौधरीले र वर्तमान कार्यसमिति सदस्य प्रकाश कपुरीबिच प्रतिस्पर्धामा हुने देखिएको छ । यसअघि सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले पनि आफू अध्यक्षको दाबेदार भनेर प्रचार गर्दै आएका थिए । तर, चुनाव हुने संकेत देखिएपछि उम्मेदवार बन्नबाट पछि हटेका हुन् । अब श्रेष्ठले चौधरीलाई सघाउने चर्चा पनि बजारमा छ । चौधरीलाई अध्यक्षको बलियो उम्मेदवार बनाएर अगाडि बढ्ने योजना उनीहरूको छ । सीजी होल्डिङ्सका सञ्चालक करण चौधरी आफ्नो जित निश्चित भएर नै अगाडि बढेको बताउँछन् । ‘यसअघिको चुनावमा म पराजित भएको थिएँ, तर यस पटक जित्नका लागि आएको छु, जित सुनिश्चित भएर नै मैदान आएको हुँ,’ उनले भने । चौधरी आफूले सर्वसम्मतका लागि पहल गरेपनि अन्य उम्मेदवारले चासो नदेखाएको उनको भनाइ छ । ‘मैले यसअघि पनि चुनाव नगरौं नै भनेको हो । तर, चुनाव भयो, यसपटक पनि चुनाव नगरेर मिलेर जाने छलफल भइरहेको थियो, तर त्यसले सार्थकता पाएन, अब उम्मेदवारहरू चुनावको तयारी गरिरहनु भएको छ,’ उनले भने । आफूले उम्मेदवारी घोषणा गरिसकेकोले अब ब्याक नहुने उनको अडान छ । यस्तै, प्रबन्ध निर्देशक आकाश गोल्छा पनि निर्वाचन हुने संकेतले निर्वाचन तयारी जुट्न थालेका छन् । उनी पनि सर्वसम्मत भन्दै चुनावी गर्दा नै उपयुक्त हुने मनसायमा देखिन्छन् । गोल्छाले पनि आफू अध्यक्ष पदको आकांक्षी भएकाले अहिलेको अवस्थामा पछाडि हट्न नसक्ने बताउँछन् । निर्वाचनभए पनि सबैको साथ सहयोगले आफू अध्यक्षमा निर्वाचित हुने विषयमा विश्वस्त रहेको बताउँछन् । को कसको टिममा ? एक महिनापछि अर्थात् पुसको २० र २१ गते हुने नाडा चुनावमा अध्यक्षसँगै नयाँ कार्यसमितिको चयन हुँदैछ । अध्यक्ष पदका लागि उम्मेदवारहरूको चर्चा हुँदा कार्यसमितिमा को को अटाउने भन्ने विषय पनि चासोका साथ हेरिएको छ । अहिले अध्यक्षको टुङ्गो नलागेको कारण अन्य पदाधिकारी तथा सदस्यहरूको विषयले प्राथमिकता पाउन सकेको छैन । यद्यपि, चुनाव हुने चर्चाले सबै उम्मेदवारहरूले आ–आफ्नो निकटको व्यवसायीलाई साथमा लिन थालेका छन् । नाडाको निर्वाचनमा पहिला अध्यक्ष र सदस्यका लागि निर्वाचन हुने र निर्वाचन भएपश्चात् मात्र कार्यसमितिको छनोट हुने व्यवस्था छ । अब बन्ने कार्यसमिति १७ जनाको हुनेछ । अध्यक्षका उम्मेदवार चौधरीको टीममा लगभग पदाधिकारीहरुको टुङ्गो लागिसकेको छ । चौधरीलाई विभिन्न कम्पनीका अटो व्यवसायीहरूले साथ दिएका छन् । उनको टिममा सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठ, एमएडब्ल्यूका प्रबन्ध निर्देशक मिलनबाबु मल्ल, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुपकुमार बराल, आइएमई मोटर्सका निर्देशक निशान ढकाल, जेके ओटीआर टायरका सञ्चालक बिक्रमले साथ दिएका छन् । चौधरीको टिमबाट उनीहरूले नै पदाधिकारीका लागि चुनाव लड्ने बताइएको छ । यस्तै, उनको प्यानलबाट निल मणि पाठक, पंकज अग्रवाल, अभिक ज्योति, कपिल सिवाकोटी, निशान ढकाल, पंकज अग्रवाल, दिपेन्द्र मिश्र, मेगराज पौडेल तथा नवराज भुषालले सदस्यमा लड्ने बताइएको छ । यस्तै, गोल्छाको प्यानलबाट साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सञ्जय खेतान, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन ताम्राकार, प्रदीपमान शाक्य लगायत व्यवसायीले साथ दिएका छन् । गोल्छा आफ्नो टमि अझै फइनल भइनसकेको बताउँछन् । ‘अहिले हामीलाई धेरैले साथ दिन्छु भन्नु भएको छ । तर, अन्तिमसम्म को–को आउन चाहनुहुन्छ, त्यसको टुङ्गो भएको छैन, पदाधिकारीको टुङ्गो छिट्टै हुन्छ,’ उनले भने । हालसम्म अध्यक्षका उम्मेदवार प्रकाश कपुरीको टीमको भने टुङ्गो लाग्न सकेको छैन । नाडा स्रोतका अनुसार अन्तिमसम्म गोल्छा र चौधरीबीच नै प्रतिस्पर्धा हुने र कपुरीले एउटा उम्मेदवारलाई समर्थन गर्न सक्ने वातावरण बन्न सक्नेछ ।

नेपाल रिबाट बाहिरिए विशाल ग्रुप र नेपाल इन्स्योरेन्स, एक अर्बको कारोबार

काठमाडौं । दोस्रो बजारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको पौने १ अर्ब रुपैयाँबराबरको संस्थापक सेयर कारोबार भएको हो । नेप्सेका अनुसार बिहीबार कम्पनीको २९ लाख ७९ हजार ४२४ कित्ता सेयर खरिद बिक्री हुँदा ८६ करोड ५९ लाख ५३ हजार २ सय रुपैयाँबराबरको कारोबार भएको हो । स्रोतका अनुसार नेपाल इन्स्योरेन्स र विशाल ग्रुपले बिक्रीमा राखेको नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयर नै बिहीबार नेप्सेमा कारोबार भएको हो । पछिल्लो समय विभिन्न तीन वटा कम्पनीले नेपाल रिइन्स्योरेन्सको सेयर बिक्री गरिरहेका छन् । नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र विशाल ग्रुपले कम्पनीको संस्थापक सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेका थिए । जसमध्ये नेपाल इन्स्योरेन्स र विशाल ग्रुपको सेयर पूर्ण रुपमा बिक्री भएको बुझिएको छ । स्रोतका अनुसार नेपाल इन्स्योरेन्सले बिक्रीमा राखेको सेयर हिमालयन लाइफले खरिद गरेको हो । हिमालयन लाइफले कम्पनीको १९ लाख ७९ हजार २४२ कित्ता सेयर खरिद गरेको हो । उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले खरिद गरेको हिमालयन लाइफ स्रोतले जनाएको छ । स्रोतका अनुसार उक्त सेयर कम्पनीले ५९ करोड ३८ लाख २७ हजार २ सय रुपैयाँमा खरिद गरेको हो । विशाल ग्रुपले भने प्रतिकित्ता ३० रुपैयाँसम्म कम मूल्यमा सेयर बिक्री गरेको छ । विशाल ग्रुपले बिक्रीमा राखेको सेयर एशियन लाइफ इन्स्योरेन्सले खरिद गरेको स्रोतले बताएको छ । विशाल ग्रुपले १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । विशाल ग्रुपले बिक्रीमा राखेको संस्थापक सेयर छुट्टाछुट्टै मूल्यमा बिक्री भएको छ । नेप्सेका अनुसार प्रतिकित्ता २८० रुपैयाँका दरले २ लाख ७५ हजार ४५० कित्ता, प्रतिकित्ता २७८ रुपैयाँमा ५ लाख कित्ता र प्रतिकित्ता २७० रुपैयाँमा २ लाख २४ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएको हो । विशाल ग्रुपले प्रतिकित्ता २८० रुपैयाँका दरले बिक्री गर्दा ७ करोड ७१ लाख २६ हजार रुपैयाँ, प्रतिकित्ता २७८ रुपैयाँमा बिक्री गर्दा १३ करोड ३९ लाख ९० लाख रुपैयाँ र प्रतिकित्ता २७० रुपैयाँमा बिक्री गर्दा ६ करोड ६ लाख २८ हजार ५ सय रुपैयाँ असुल गरेको छ । यस आधारमा ग्रुपले कम्पनीको सेयर बिक्रीबापत् २७ करोड ६७ लाख ५४ हजार ५ सय रुपैयाँ संकलन गरेको हो । विशाल ग्रुपले पहिलो पटक प्रतिकित्ता ३३५ रुपैयाँमा १० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । तर, सो मूल्यमा कुनै पनि लगानीकर्ताले सेयर खरिद गर्न तयार नभएपछि प्रतिकित्ता २७० रुपैयाँका दरले सेयर बिक्रीमा राखेको थियो ।

नागरिकता त्याग्नेको अभिलेख नै छैन, कति गैर नागरिकले बेचेर लगे सम्पत्ति ?

काठमाडौं । भनिन्छ, सूचना प्रविधि विकासको कारणले विश्व नै साँघुरो बनेको छ । सूचना प्रविधिको कोणबाट हेर्दा विश्वका सूचनाहरू एउटा सानो चिप्समा अटाउँदै गएका छन् । तर, बिडम्बना नेपालसँग आफ्नै नागरिक कति छन्, कतिले नागरिकता त्यागिरहेका छन् र नागरिकता त्याग गरेकाले नेपालको कानुनसँग बाझिने के कस्ता गतिविधि गरिरहेका छन् भन्ने जस्ता विषय नै जानकारीमा छैन । जसको कारणले राज्यको कुन क्षेत्रमा कस्तो प्रभाव परिरहेको छ भन्ने विषयमा पनि राज्य अनविज्ञ छ । नागरिकता त्याग्नेहरूको तथ्यांकमा राज्यको छैन सरोकार आजको दिनमा लाखौं नेपालीहरू शिक्षा र रोजगारको सिलसिलामा विश्वका सयौं मुलुकमा पुगेका छन् । शिक्षा मन्त्रालयका अनुसार आर्थिक वर्ष ०७५/७६ देखि ०७९/८० सम्म ३ लाख ४८ हजार ५०८ जना नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि अनुमति लिएका छन् । विसं. २०५० साल यता वैदेशिक ७० लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका छन् । तर, अध्ययन र रोजगारीका लागि विदेश गएकामध्ये कति जना नेपाल फर्किए भन्ने तथ्याङ्क सरकारसँग छैन । सरकारले नेपालको नागरिकता त्यागेर सार्क राष्ट्र बाहेक अन्य देशका नागरिकता लिनेहरूलाई एनआरएन कार्ड प्रदान गर्ने गरेको छ । साथै, पछिल्लो नागरिकता ऐन संशोधनमार्फत् एनआरएनहरूले आर्थिक र सांस्कृतिक अधिकार सहितको नेपाली नागरिकता समेत पाउन थालेका छन् । तर, राज्यलाई नै थाहा छैन कि कति नेपालीले के प्रयोजनका लागि नेपाली नागरिकता त्याग गरेर विदेशी नागरिक भइरहेका छन् ? नागरिकता दिने र त्याग गरेको प्रमाणपत्र दिने निकाय गृह मन्त्रालयको ‘नागरिकता सूचना व्यवस्थापन प्रणाली’ले नागरिकतासम्बन्धी अभिलेखहरूको अद्यावधिक गर्ने काम गर्छ । उक्त प्रणालीमा अहिलेसम्म ८०३ जनाले मात्रै नेपालको नागरिकता त्याग गरेको अभिलेख छ । परराष्ट्र मन्त्रालयले नेपाली नागरिकता त्याग गरेकालाई गैर-आवासीय नेपाली परिचय पत्र उपलब्ध गराउने गरेको छ । गैर-आवासीय नेपाली परिचय पत्र लिनका लागि सम्बन्धित व्यक्तिले नेपालको नागरिकता त्याग गरेको विवरण बुझाउनुपर्ने व्यवस्था छ । गैरआवासीय नेपाली नीति योजना, विकास कुटनीति तथा प्रवासी मामिलासम्बन्धी महाशाखाले उक्त कामबारे जानकारी राख्ने गर्छ । तर, उक्त शाखालाई नै अहिलेसम्म कति नेपालीले नेपाली नागरिकता त्याग गरेर गैर-आवासीय नेपाली परिचय पत्र लिए भन्ने जानकारी छैन । उक्त शाखाका उपसचिव कृष्णप्रसाद चापागाईंले गैर-आवासीय नेपाली परिचय पत्र विदेशस्थित नेपाली राजदूतावासबाट वितरण भइरहेकोले  अहिलेसम्म कति नेपालीले सो परिचयपत्र लिए भन्ने विषयमा महाशाखामा एकीकृत जानकारी नरहेको बताए । ‘यो विषयमा दूतावासहरूबाट तथ्यांक संकलन गर्नुपर्छ, हाम्रो प्रणालीमा पनि हेर्न मिल्दैन’, उपसचिव चापागाईंले भने, ‘आवश्यक पर्यो भने डेभलपरबाट माग्न पनि सकिन्छ ।’  सबै तथ्यांकलाई एकीकृत गर्ने स्तरको प्रणाली विकास गर्न आफूहरूसँग बजेटको व्यवस्था नभएको समेत उनको गुनासो छ । साथै, गृह मन्त्रालयले पनि कति नेपालीले वा कुन नेपालीले नागरिकता त्याग गरे भनेर अहिलेसम्म परराष्ट्र मन्त्रालयसमक्ष जानकारी माग गरेको छैन । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालयमा आएर नागरिकता त्याग गरेर प्रणालीमा प्रविष्ट हुने तथ्यांकमात्रै गृहसँग भएको र परराष्ट्रको सूचनासँग एकाकार नभएको बताए । जनगणना नै त्रुटिपूर्ण ! प्रत्येक १० वर्षमा प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय तथ्यांक कार्यालयले जनगणना गर्ने गर्छ । जनगणना गर्दा कति नेपालीले आफ्नो देशको नागरिकता त्याग गरेर सधैंका लागि विदेश पलायन भए भन्ने प्रश्न नै समावेश गरिएको छैन । त्यहाँ केवल विदेश गएको मात्रै जानकारी लिइएको छ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नेतृत्वहरूले विभिन्न मञ्चमार्फत् ५० लाखभन्दा बढी एनआरएनए भएको दाबी गर्दै आएका छन् । तर, एनआरएनएको पछिल्लो विवादित महाधिवेसनको मतदाता नामावलीलाई हेर्दा एनआरएनएको संख्या ३ हजार ५ सय ८९ रहेको देखिन्छ । श्रम वा शिक्षाको निम्ति विदेश गएका बाहेक वास्तविकरूपमा सधैंका लागि विदेशी नागरिक कति नेपाली भए भन्ने तथ्यांक एनआरएनएसँग पनि छैन । जनगणनाको क्रममा नागरिकता त्याग गर्नेहरूको अभिलेख नलिनु र त्याग गरेकाहरूको तथ्यांक नै राज्यको निकायसँग साझेदारी गरेर जनसंख्यासँग तालमेल नगरिनुले नेपालको वास्तविक जनसंख्या नै कति भइरहेको छ भन्ने विषयमा स्वभाविक प्रश्न उब्जिएको देखिन्छ । नागरिकता त्याग गरेकाहरूको विवरण अद्यावधिक नहुँदा कुन–कुन क्षेत्रमा पर्छ असर ? नागरिकता ऐनअनुसार नेपाली नागरिकले दोहोरो नागरिकता लिन पाइँदैन । तर, राज्यले नै विदेश गएका नागरिकहरूको विषयमा अभिलेख नराख्ने र त्यसलाई नियमित अद्यावधिक नगर्दा दोहोरो नागरिकता लिएका कति नेपाली छन् भन्ने तथ्यांकमा नै छैन । यो नेपालको कानुन कार्यान्वयनमा राज्यको तर्फबाट जिम्मेवारीवोधसँग पनि जोडिएको प्रश्न हो । अमेरिका, क्यानडा, अष्ट्रेलिया, ब्राजिल, जर्मनी, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्डलगायत मुलुकहरूले दोहोरो नागरिकता प्रणालीलाई पनि स्वीकार गर्ने गरेका छन् । तर, नेपालसँग त्यहाँ पुगेर कति नेपालीले दोहोरो नागरिकता बोकिरहेका छन् भन्ने सन्दर्भमा जानकारी अद्यावधिक गर्ने गरेको छैन । नेपालको नागरिकतासँग नेपालको आन्तरिक सम्पत्ति संरक्षणको प्रश्न पनि जोडिएर आउँछ । नेपाल राष्ट्र बैंक वैदेशिक विनिमय विभागका प्रमुख तुलसीप्रसाद घिमिरेले नेपाली नागरिकता त्याग गरेका व्यक्तिले आधिकारिकरूपमा नेपालमा रहेको आफ्नो पैतृक सम्पत्ति बेचबिखन गरेर पैसा विदेशमा लैजान नपाउने बताउँछन् । तर, नेपाली नागरिकता त्याग गरेका कुन नेपालीको सम्पत्तिको अवस्था कस्तो छ भन्ने विषयमा भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई जानकारी छैन । किनकि नागरिकता त्याग गरेकाहरूको विवरण उक्त विभागसँग समायोजन नै भएको छैन । पछिल्लोपटक नागरिकता ऐन संशोधन गरेर गैर-आवासीय नेपालीलाई नागरिकता दिने प्रावधान कायम गरेपछि दुई जना गैर-आवासीय नेपाली आफ्नो पैत्रिक सम्पत्ति औपचारिकरूपमा बेचेर विदेश लैजाने विषयमा बुझ्न आएको भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्यालले बताए । औपचारिकरूपमा नागरिकता त्याग गरेका व्यक्तिले नेपालबाट सम्पत्ति बेचेर लैजान नपाइने भएकाले उनीहरूले हुण्डीलगायत अन्य मार्ग प्रयोग गरिरहेको सरकारी अधिकारीहरूकै दाबी छ ।