अटोमा अब्बल राजनबाबु, ‘सिप्रदीलाई ५० अर्बको बनाउँछु’
काठमाडौं । नेपाली अटोमोबाइल्स क्षेत्रमा अधिकांशले चिन्ने नाम हो राजनबाबु श्रेष्ठ । देशको सबैभन्दा ठूलो अटोमोबाइल्स कम्पनी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रेष्ठले अटोमोबाइल क्षेत्रमा काम गरेको तीन दशक भयो । तीन दशकको अवधिमा उनले धेरै उतार चढाव, आरोह अवरोह तथा सफलता र अफलताका फेहरिस्तहरूको अनुभव गरे । सिप्रदीलाई देशकै सबैभन्दा ठूलो अटोमोबाइल्स कम्पनी बनाउनु र त्यसको सीईओ बन्नु आफैंमा ठूलो चुनौतीको विषय हो । त्यसका लागि एउटा अब्बलता र नेतृत्व क्षमताको आवश्यकता त पर्छ नै । भारतीय टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीमा उनले काम सुरु गरेको साढे दुई दशक भयो । यो अवधिमा कम्पनीको देशभर सञ्जाल विस्तार गर्न, ग्राहकलाई कम्पनीप्रति आकर्षण बढाउन, टीमलाई मोबिलाइज गर्न र कम्पनीलाई आर्थिक रूपमा पनि सबल बनाउनका लागि उनले चालेका रणनीतिक योजना र खेलेको भूमिकाभित्र ठूलो संघर्ष लुकेको छ । त्यो अथाह परिश्रमपछि मात्रै उनी प्रशंसाका पात्र बनेका हुन् । उनले कम्पनीमा काम सुरु गरेर सिप्रदीको विगतको साख मात्रै जोगाएनन्, कम्पनीलाई थप विस्तार गर्न ठूलो भूमिका समेत खेलेका छन् । एउटा असल व्यवस्थापकको कुशलता राजनबाबुले प्रमाणित गरिसकेका छन् । अहिले कम्पनीको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा छ । त्यसैले पनि राजनबाबु बजारमा पनि सधैं अपेडट र अभ्यस्त भइरहेका हुन्छन् । त्यसका लागि उनलाई उनको टीमको साथ र सहयोग पनि अथाह छ । उनी भन्छन्, ‘नेतृत्व सफल हुनका लागि टीमको भूमिका महत्वपूर्ण हुन्छ, जसले समग्र संस्थालाई एउटा उचाइमा पुर्याउन मद्दत पुग्छ ।’ यो किसिमको सफलता कसरी प्राप्त गर्न सकिन्छ ? हामीले उनै सीईओ राजनबाबुलाई प्रश्न गर्यौं । उनले जवाफमा भने, ‘आफूलाई विश्वास गर्न सक्नुपर्छ, टीमलाई मोविलाइज गरेर काम लिन सक्नुपर्छ, टीमवर्क नै सफलताको सुत्र हो, जबसम्म आफ्नो टीमलाई विश्वास गर्न सकिँदैन, तबसम्म कम्पनी सही दिशामा अगाडि बढ्न सक्दैन ।’ यो सफलताको पछाडि राजनबाबुको ठूलो मिहिनेत लुकेको छ । काठमाडौंको रैथाने राजनबाबुको जन्म भने गोरखामा भयो । सरकारी जागिरे बुबा गोरखामा काम गर्ने भएकोले उनको जन्म पनि सन् १९७० मा गोरखामै भयो । विद्यार्थी जीवन उनको गोरखामै बित्यो । बिहान तीन बजेर पढ्न बसेका विद्यार्थी जीवनका ती दिनहरू राजनबाबुको दिमाखमा अहिले पनि ताजै छन् । उनी आफैंलाई प्रश्न गछर्न्- ‘यदि मेरो बुबाले बिहानै उठाएर तीन बजेदेखि नपढाएको भए, पढेर ठूलो मान्छे बन्नुपर्छ बाबु भनेर झकझक्याएको नभए,’ उनी रोकिन्छन् । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठका अनुसार नेपालको बजारमा कमर्सियल तथा प्यासेन्जर दुबै सेगमेन्टमा सबैभन्दा ठूलो हिस्सा टाटा ब्राण्डले लिएको छ । सिप्रदी ट्रेडिङ र यसका प्रवर्द्धक सिद्धार्थ शमशेर राणालाई नेपाल सरकारले सबैभन्दा धेरै पटक उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । हुनत हरेक आमाबुबाको चाहना मेरो छोराछोरी ठूलो मान्छे बनुन्, राम्रो पढाइ गरून्, धेरै कमाउन्, परिवारलाई खुसीका साथ राखुन् भन्ने नै हुन्छ । राजनबाबुका आमाबुबा पनि त्यही सोच्थे । सोही कारण पनि उनी प्लसटु पढ्नका लागि गोरखाबाट काठमाडौं आए । ललितपुरको पाटन क्याम्पसनमा विज्ञान विषय पढाइ सुरु गरे । उसो त विज्ञान विषय लिएपछि कि डाक्टर कि इन्जिनियरिङ पेसा रोज्नु पर्थ्यो । राजनबाबुले इन्जिनियरिङ रोजे र पढाइका लागि भारततर्फ लागे । उनले भारतको पञ्जावमा रहेको पञ्जाव इन्जिनियरिङ कलेजमा मेकानिकल इन्जिनियरिङ पढे । सन् १९९३ मा इन्जिनियरिङ पास गरेर नेपाल फर्किए । हुन त त्यतिखेर इन्जिनियरहरूको माग विश्व बजारमा प्रयाप्त थियो । राजनबाबुसँगै पढेका साथीहरू कति विदेशतिर लागे । कतिपय भारतमै बसे । तर, उनी स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किए । ‘त्यतिखेर पनि विद्यार्थी विदेसिने अभ्यास बढी थियो, अझै इन्जिनियर पढेको मान्छे त नेपालमा किन बस्ने भन्ने प्रश्न गरिन्थ्यो । तर, मैले आफ्नै देशमा केही काम गर्नुपर्छ भनेर भारतबाट इन्जिनियरिङ पास गरेपछि नेपालमै फर्किएँ,’ उनी भन्छन्, ‘अहिले जे छु, जस्तो छु, जे काम गरिरहेको छु, धेरै खुसी छु ।’ साढे दुई दशकदेखि एउटै संस्थामा राजनबाबु सन् १९९३ मा भारतबाट फर्केपछि टोयटाको डिलर युनाइटेड ट्रेडर्स सिन्डिकेटमा काम सुरु गरे । त्यहाँ धेरै कुरा सिक्ने अवसर पाएको उनको भनाई छ । त्यहाँ काम गरेको केही समयपछि उनी मारूती सुजुकीको अरुण इन्टरकन्टिनेन्टलमा आवद्ध भए । उनले त्यहाँ पनि केही समय काम गरेपछि सन् १९९९ मा सिप्रदीसँग जोडिए । सिप्रदीमा उनले टेक्निकल म्यानेजरको रूपमा काम सुरु गरे । सिप्रदी नै उनको सफलताको उत्तम केन्द्र बन्यो । यो साढे दुई दशकमा उनले आफूलाई अटो बजारमा अभ्यस्त बनाइसकेका छन् । राजनबाबुको करिअर ग्रोथका लागि सिप्रदी एउटा गतिलो प्लेटफर्म बन्यो । देश तथा विदेशका तालिम, सेमिनार, अटोमोबाइल्स सम्बन्धी विभिन्न कोर्षहरू लगायत क्षमता अभिवृद्धिका कार्यक्रममा भाग लिने अवसर उनले पाए । उनले फिलिपिन्सको एसियन इन्स्टिच्यूट अफ म्यानेज्मेन्ट र अमेरिकाको हार्वर्ड बिजनेस स्कूल लगायत शैक्षिक संस्थामा पनि अटोबजार सम्बन्धी विभिन्न कोर्षहरू पढेका छन् । परिणामस्वरूप उनी एउटा अब्बल व्यवस्थापकको रूपमा नेपाली अटो मोबाइल्स क्षेत्रमा परिचित छन् । एउटा अब्बल व्यवस्थापकमा आफू आवद्ध बिजनेसको विषयमा राम्रो ज्ञान हुनैपर्छ । भित्री र बाह्य वातावरण राम्रोसँग विश्लेषण गरेर कस्तो संस्था बनाउने भन्ने रणनीति नेतृत्वले बनाउन सक्नुपर्छ । बजार आज कस्तो छ र भोलि कस्तो हुँदैछ भन्ने बुझ्न सक्ने क्षमता नेतृत्वमा चाहिन्छ । सिप्रदीमा टेक्निकल म्यानेजरमा प्रवेश गरेका राजनबाबुले छिटोछिटो प्रमोशनको अवसर पाए । मिडिल म्यानेजर, म्यानेजर, कम्पनीको प्रमुख सञ्चालन अधिकृत, महाप्रबन्धक र भाइस प्रेसिडेन्ट हुँदै अहिले उनी सिप्रदीमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा काम गरिरहेका छन् । उनी सीईओ भएको ७ वर्ष भईसकेको छ । ‘म काम गर्न रुचाउँछु, म सधैं टीमलाई अगाडि बढाउँछु, एउटा कम्पनीको सम्पत्ति भनेको ग्राहक र कर्मचारी हो, यसमा हामीले ठूलो लगानी गरिरहेका छौं, त्यसको नतिजा पनि प्राप्त गरेका छौं, समयअनुसार सीप सिकाइरहेका हुन्छौं,’ उनी भन्छन्, ‘म रणनीतिक हिसाबमा काम गर्न रूचाउँछु ।’ नेतृत्व बजारसँग अपडेट हुन सक्नु पर्ने उनको भनाइ छ । हुन त नेपालमा अटो मार्केट सानो छ । यो सानो मार्केटमा धेरै कम्पनीहरूले प्रतिस्पर्धा गर्नु आफैंमा ठूलो चुनौती थियो र छ पनि । त्यो प्रतिस्पर्धाको परिवेशबाट अटो क्षेत्रमा होमिएका राजनबाबुलाई लाग्थ्यो, ‘म यो कम्पनीलाई पाँच हजार करोड रुपैयाँको बनाउँछु ।’ सरकारको नीति, विश्व महामारीका रूपमा फैलिएको कोरोना र त्यसअघिको विनासकारी भूकम्प उनको व्यवसायिक लक्ष्य प्राप्तिका लागि बाधक बने । उनको ५ हजार करोडको कम्पनी बनाउने योजना पुरा नभएपनि उनी त्यसमा अझैं लागिरहेका छन् । भन्छन्- ‘आफ्नो लक्ष्यप्रति म अहिले पनि दृढ छु । त्यो प्राप्त गर्न सकिन्छ । मलाई ग्राहक र कर्मचारीहरूको साथ चाहिएको छ ।’ ‘हामी ग्राहकप्रति धेरै जिम्मेवार छौं, ग्राहककै कारण हामी यहाँसम्म आइपुगेका हौं, ग्राहककै सन्तुष्टिका लागि हामी काम गरिरहेका छौं, ग्राहकको सेवामा कुनै कम्प्रमाइज गर्दैनौं,’ उनी खुसीका साथ भन्छन्, ‘त्यसैले त सिप्रदी अहिले देशको नम्बर वान अटो मोबाइल्स कम्पनी बनेको छ ।’ आफूले दिने सेवाप्रति ग्राहकलाई सन्तुष्ट बनाउन जे पर्छ, त्यो गर्न कम्पनीको सबै टिम परिचालित भएको उनले बताए । नेपालमा टाटाका ट्रक, बस, ट्रिपर र बिजुलीको गाडीलाई धेरै विश्वास गरिन्छ । त्यसको मुख्य कारण भनेको ग्राहकको चाहनाअनुसारको सेवा र कम सञ्चालन खर्च । सिप्रदी कमर्सियल भेहिकलतर्फ धेरै वर्ष अघिदेखि पनि नम्बर वान कम्पनीका रूपमा स्थापित छ भने इलेक्ट्रिक भइकल्सतर्फ पनि नम्वर वान कम्पनीको रुपमा उदाएको छ । अब्बल व्यवस्थापक राजनबाबु श्रेष्ठले सिप्रदीमा एउटा अब्बल व्यवस्थापकको छवि बनाएका छन् । जसरी उनी विद्यार्थी जीवनमा क्लासमा सधैं दोस्रो र तेस्रो हुन्थे त्यसरी नै अटो क्षेत्रमा पनि नम्बर वान सीईओको रूपमा काम गरिरहेका छन् । त्यो कम्पनीको संरचना होस्, कर्मचारीको अब्बलता र उत्पादकत्व होस् वा पाउने पारिश्रमिक नै किन नहोस् राजनबाबु अटोबजार क्षेत्रका एक आशलाग्दा र चाखलाग्दा सीईओ हुन् । नेपालका ठूला वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतकहरुले मासिक तलब १५/१८ लाख रुपैयाँ तलब सुविधा लिन्छन् । भनिन्छ वाणिज्य बैंकहरुको भन्दा बढी तलब सुविधा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृतले पाउँछन् । तर यस विषयमा राजनबाबुले बोल्न इच्छाएनन् । उनले भने- सिप्रदीका कर्मचारीलाई राम्रो सेवा सुविधा छ । त्यो हामीले भनिराख्नु पर्दैन । साथै, सिप्रदी सरकारी नीति नियमको पूर्ण परिपालना गर्ने कम्पनी हो । यो कम्पनीले धेरै पटक उत्कृष्ट कर बुझाउने कम्पनीको रुपमा सरकारबाट सम्मान पाएका छ ।’ आफूलाई विश्वास गर्न सक्नुपर्छ, टीमलाई मोबिलाइज्ड गरेर काम लिन सक्नुपर्छ, टीमवर्क नै सफलताको सुत्र हो, जबसम्म आफ्नो टीमलाई विश्वास गर्न सकिँदैन, तबसम्म कम्पनी सही दिशामा अगाडि बढ्न सक्दैन । यस कम्पनीका प्रवर्द्धक एवं सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर राणा पनि व्यक्तिगततर्फ अहिलेसम्म सबैभन्दा धेरै पटक उत्कृष्ट करदाताको रुपमा सरकारबाट सम्मानित भएका छन् । नियमअनुसार लाग्ने सबै प्रकारका कर तिर्नुपर्छ भन्ने संस्कार कम्पनीमा पूर्णतः लागू भएको छ । अध्यक्ष राणाले कम्पनीलाई एउटा लय र राणनीतिका साथ अगाडि बढाइरहेका छन्, त्यसमा हस्तेमा हैसे उनै राजनबाबुले गरिरहेका छन् । राणाले बनाउने नीतिलाई सफल कार्यान्वयन गराउन शतप्रतिशत भूमिका उनै राजनबाबुले खेलिरहेका छन् । ‘सिद्धार्थ सरले नीति, योजना तथा रणनीति बनाउनुहुन्छ, हामीले उहाँको भिजनलाई पुरा गर्नका लागि काम गर्ने हो, उहाँको भिजनले सकारात्मक नतिजा पनि आइरहेको छ, बोर्डको शतप्रतिशत साथ र सहयोग भएकै कारण हामी सफल पनि भइरहेका छौं,’ राजनबाबुले अनुभव सुनाए । अटो मोबाइल्स क्षेत्रसँग हरेक क्षेत्र जोडिएको छ । भेन्डर, सरकारी निकाय र ग्राहकको प्रतिक्रियाका आधारमा नै कम्पनीले आफूलाई परिस्कृत गर्दै गएको छ । ‘हामी कम्प्लायन्समा चुकेका छैनौं, सबैसँग हाम्रो समान व्यवहार हुन्छ, हाम्रोमा बोर्डको कुनै हस्तक्षेप हुँदैन, कम्पनी चलाउने भनेको कर्मचारीले भन्ने मानसिकता कम्पनीका सबैलाई छ,’ उनी भन्छन्,‘ एउटा व्यवस्थापकले सबै पक्षलाई समेटेर अगाडि बढ्न सक्नुपर्छ ।’ राजनबाबु सिप्रदीको प्रमुख कार्यकारी अधिकृत भएको सात वर्ष भयो । कम्पनीलाई समयसँगै कसरी स्मार्ट बनाउने, टीमलाई कसरी डेभलप गर्ने र बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने विषयमा उनी सजक र जानकार छन् । सिप्रदीको चार दशकको इतिहासलाई थप एउटा उचाइमा पुर्याउने लक्ष्य राजनबाबुको छ । एउटा अब्बल व्यवस्थापकमा आफू आवद्ध बिजनेसको विषयमा राम्रो ज्ञान हुन आवश्यक रहेको उनी बताउँछन् । ‘भित्री र बाह्य वातावरण राम्रोसँग विश्लेषण गरेर कस्तो संस्था बनाउने भन्ने रणनीति नेतृत्वले बनाउन सक्नुपर्छ, बजार आज कस्तो छ र भोलि कस्तो हुँदैछ भन्ने बुझ्न सक्ने अब्बलता नेतृत्वमा चाहिन्छ,’ उनी भन्छन् । उनी सिप्रदीको नेतृत्व गर्न पाउनुलाई अवसर ठान्छन् । यो अवसरसँगै बजारमा आफ्नो उपस्थिति र हिस्सा बढाउँदै लैजानु पर्ने चुनौती पनि रहेको उनको भनाइ छ । उनका अनुसार हाल नेपाली अटो बजारमा सिप्रदीको विद्युतीय गाडीको हिस्सा ४३ प्रतिशत छ भने विद्युतीय र आइस गाडीसहित ३५ प्रतिशत हिस्सा छ । उनी नेतृत्वको नियत सफा हुनुपर्ने बताउँछन् । ‘संस्थालाई कसरी अगाडि बढाउने भन्ने विषय नेतृत्वको नियतमा भरपर्छ । उसले कुन नियतले र कसरी काम गरिरहेको छ भन्ने विषय महत्वपूर्ण हुन्छ, जसले स्रोतसाधनको व्यवस्थापन तथा सही ढंगले प्रयोग गरेर अगाडि बढ्छ, ऊ नै सफल बन्छ,’ उनी भन्छन्, ‘जसले नियत सफा राख्दैन, त्यो असफल हुन्छ ।’ कर्मचारीलाई ‘पूर्ण अधिकार’ सिप्रदी ट्रेडिङ सिस्टममा चलेको कम्पनी हो । कम्पनीलाई प्रोफेसनलरूपमा अगाडि बढाउनका लागि बोर्ड र व्यवस्थापक लागिरहेका छन् । सिस्टम स्ट्रोङ बनाउनु नै सिप्रदीको प्रमुख प्राथमिकता हो । योसँगै कम्पनीले आफ्नो टीमलाई काम गर्नका लागि पूर्ण अधिकार प्रदान गरेको छ । ‘सिप्रदीलाई एउटा सिस्टमले गाइड गरेको छ, हामी सबै सिस्टममा बाँधिइरहेका हुन्छौं, प्रत्येक कर्मचारीलाई काम गर्नका लागि पूर्ण अथोरिटी हुन्छ, मैले के आधारमा निर्णय गरेको हुँ भन्ने आधार हुनुपर्छ,’ उनी भन्छन्, ‘त्यसले उक्त व्यक्तिलाई जिम्मेवार महसुस गराउँछ, विश्वसनियता पनि हुन्छ ।’ सिप्रदीमा ‘टप टु डाउन’ डिसिजन हुँदैन । निर्णय गर्दा पनि सबैको सहभागिता हुन्छ । सबैको सहभागितामा गरेको निर्णयले कार्यान्वयन गर्दा पनि सबैलाई आत्मबोध तथा अनरसिप हुने राजनबाबु बताउँछन् । पञ्जाव इन्जिनियरिङ कलेजबाट ब्याचलर्स इन इन्जिनियरिङ (बीई), साथै हार्डवर्ड बिजनेश स्कूल, आईआईएम अम्दावादबाट सीपमूलक एक्जियूटिम तालिम प्राप्त राजनबाबुसँग लिडरसिप कलासँगै प्राविधिक ज्ञान पनि राम्रो छ । उनी सीटीईभिटीको बोर्ड मेम्बर, राष्ट्रिय सीप परीक्षा बोर्डको बोर्ड मेम्बर समेत रहेका छन् । अर्को, महत्वपूर्ण विषय भनेको सिप्रदीले नेतृत्व वा महत्वपूर्ण पदका लागि बाहिरबाट मान्छे हायर गर्दैन । बरु त्यसका लागि कम्पनीभित्रकै कर्मचारीलाई तयार पार्छ । ‘सबैले ग्रोथको अवसर देखुन् भन्ने हो, हामीले प्रत्येक वर्ष कर्मचारीको मूल्यांकन गर्छौं, कसको कहाँ ग्याप छ, त्यहीअनुसार तालिम दिइरहेका हुन्छौं, सक्सेसरको प्लानिङ हुन्छ,’ राजनबाबुले भने । उनले कम्पनीले ब्राण्ड, प्रडक्ट र सर्भिसमा प्राथमिकता दिइरहेको बताए । ‘ग्राहकको प्रतिक्रियालाई हामीले सधैं सर्वोपरी ठानिरहेका छौं, त्यसले हामीलाई ग्रोथको अवसर पनि देखायो,’ उनले भने । हाल सिप्रदीमा १२ सय कर्मचारी छन् । पञ्जावमा प्रेम, काठमाडौंमा बिहे राजनबाबु भारतमा इन्जिनियर पढ्दै गर्दा काठमाडौंकी हिमा कर्माचार्यसँग भेट भयो । राजनबाबु इलेक्ट्रिक इन्जियिरिङ पढ्दै थिए भने हिमा स्ट्रक्चलर इन्जिनियरिङ । एउटै कलेज भएकोले पनि उनीहरूबीच भेटघाट भइरहन्थ्यो । उनीहरूको पञ्जावमै प्रेम बस्यो । पछि नेपाल फर्किएपछि विवाह भयो । अहिले उनको दुई छोरी छन् । जेठी छोरी एमबीबीएस सकेर एमडीको तयारीमा छिन् भने कान्छो छोरी एसईईको तयारीमा । राजनबाबुलाई कहिलेकाहीँ छोरीहरू विदेश जाने निर्णय गर्छन् कि भन्ने चिन्ता पनि छ । उनलाई अहिले युवाहरूको विदेशतिरको आकर्षणले चिन्तित पनि बनाउँछ । सरकारले युवालाई रोजगारीको सिर्जना गर्न नसक्दा उनीहरू विदेसिन बाध्य भएको उनी बताउँछन् । ‘नेपालमा राम्रो जागिरको अवसर सिर्जना गर्न नसकेको पनि हो, व्यवसायिक वातावरण राम्रो भएको छैन, आम्दानीलाई महँगीले धान्न सक्ने अवस्था छैन, घर र गाडी जोड्न पनि ठूलो चुनौती भयो, त्यसका लागि वर्षौं वर्ष समय लाग्ने देखियो, त्यही चिजका लागि विदेश गयो भने दुई/चार वर्षमा पुरा भइरहेको छ, त्यसैले पनि युवाहरू विदेशतिर आकर्षित भइरहेका छन्, यो एउटा चुनौतीको विषय हो,’ उनले भने । अहिले आफ्नो कम्पनीमा कर्मचारी टिकाउन गाह्रो भएको अनुभव राजनबाबुसँग छ । ‘सीपयुक्त कर्मचारी विदेश गइरहेका छन्, उनीहरूले विदेशमा अवसर देखिरहेका छन्,’ उनी भन्छन्, ‘यसले कुनै दिन ठूलो समस्या सिर्जना हुन सक्छ ।’ (देशविकासबाट) बैंकिङमा ‘बोल्ड’ बज्राचार्यः कडा स्वभाव, तत्काल निर्णय नेपालमा पाँच प्रकारका व्यवस्थापक; देशको खाँचो गगन प्रधान र मीनबहादुर गुरुङ्गजस्ताको बीमामा शिखर चुम्न सफल, नम्बर वानमा रहिरहने अठोट तीन दशकदेखि एउटै संस्थाको नेतृत्व हाँकिरहेका प्रभाकर, ‘पैसा र प्रख्यातिभन्दा प्लेटफर्म महत्वपूर्ण’ हामीले बैंक चलाए जसरी सरकारले देश चलाउन सक्यो भने धेरै अगाडि पुगिसक्थ्यौं : अध्यक्ष पौडेल कक्षा र कार्यकक्षमा कुशल कुलमान १५ वर्षमै सीईओ, ‘सपनाको सिटिजन बनाउँछु’ शक्तिशाली कम्पनी हाँक्ने महिला : ‘चुनौतीसँग जुध्छु, प्रतिस्पर्धीसँग डराउँदिनँ’ विश्वासिला व्यवस्थापक, सिर्जनशील सल्लाहकार अप्रेशन र प्रशासनमा काबिल रीता, ‘तिलगंगा अझै चलाउँछु’
न्यूरोडका लागि पार्किङको विकल्प खोज्दै महानगर, यी हुन् सम्भावित स्थानहरू
काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्यूरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौं महानगरपालिको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ । राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पको रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका लागि व्यवस्था गर्न लागिएको जानकारी दिए । प्रवक्ता अधिकारीले भने, ‘बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन् । यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ ।’ धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउनका लागि पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । उनले भने, ‘तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) ठाउँमा तीन सय चारपाङ्ग्रे सवारीसाधन र सात सय दुईपाङ्ग्रे सवारीसाधनलाई निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौं । सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौं ।’ सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका लागि भएको सम्झौताको समय सकिएपछि अब नविकरण नगर्ने निर्णय भएको जानकारी दिए । महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सापास गराएर व्यापारिक प्रयोजनका लागि सटर भाडामा दिएको आरोप लगाए । उनले भने, ‘सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो । आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो । तर कोषले पार्किङ प्रयोजन भनेर नक्सापास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ ।’ एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अन्य स्थानमा विकल्प खोज्न समय दिए पनि व्यापारीले सुनवाई नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे । अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ । महानगरपालिकाले मङ्गलबारदेखि लागू हुनेगरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पतालवरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीले महानगरले व्यवसायीसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फीरूपमा निर्णय गरेको भन्दै तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन् । व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक सङ्घसंस्था र सरोकारवाला सम्मिलित सङ्घर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरोरूपमा पार्किङ निषेधको निर्णय गरेको बताए । उनले भने, ‘पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन् । अहिले न्यूरोडको व्यावसायिक भविष्य सङ्कटमा देखियो । विकल्प नदिई पार्किङ निषेधित गर्नु न्यूरोड क्षेत्रका व्यवसायीलाई धरासायी र विदेश पलायन गराउनु हो ।’ नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्यूरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीले सामान ओसारपसार गर्न र सामान किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको बताए । पार्किङको व्यवस्था गरेर मात्रै निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए । अध्यक्ष श्रेष्ठले भने, ‘तीन-चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन । न्यूरोडमा दैनिक हजारौं सवारीसाधन आउजाउ गर्छन् । त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’को निर्णय गर्नुपर्ने हो ।’
महालक्ष्मी र ज्योति विकास बैंकमा किन टिक्दैनन् सीईओ ?
काठमाडौं । ज्योति विकास बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् झलक प्रसाद खनाल । बैंक स्थापना भएपछि सञ्चालक समितिले खनाललाई सीईओमा नियुक्त गर्यो । तर, खनाल साढे ३ वर्षमै बैंकबाट बाहिरिए । वि.सं २०६५ सालमा चार वर्षका लागि सीईओमा नियुक्त भएका उनी २०६८ सालमै बाहिरिए । वि.सं २०६९ सालमा बैंकको सीईओ बने कृष्ण बहादुर कुँवर । तर, कुवँर पनि पुरा कार्यकाल काम नगरी बैंकबाट बाहिरिए । बैंक तथा वित्तीय संस्था ऐन, (बाफिया) २०७३ अनुसार कुवँरको सीईओ बन्न योग्यता पुगेन । राष्ट्र बैंकले कैफियत देखाएपछि उनी बैंकबाट बाहिरिनु परेको बैंक सञ्चालक ध्रुव कोइरला बताउँछन् । कुवँर पनि बाहिरिएपछि हाल नबिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रूपमा काम गरिरहेका मनोज ज्ञवालीले बैंकको बागडोर सम्हाले । २०७५ बैशाखमा सीईओमा नियुक्त भएका ज्ञवाली पजि बिचमै काम छोडेर हिँडे । उनले बैंकमा काम गर्न चाहेका थिए । तर, सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नवीकरण नगर्ने संकेत पाएपछि उनले अगाडि नै राजीनामा दिए । उनले २०७७ बैशाखमा राजीनामा दिँदै बैंकबाट बाहिरिए । २ वर्षमै बैंकको सीईओबाट ज्ञवाली बाहिरिएपछि बैंकको सीईओ बने श्रीचन्द्र भट्ट । २०७७ असारदेखि लागू हुने गरी भट्टलाई ४ वर्षका लागि सीईओ बनाइएको थियो । भट्टले पनि कार्यकाल पुरा नगरी गत मंसिर ३ गते राजीनामा दिए । हाल बैंकको सीईओ कपिल ढकाल छन् । स्थापनाकालदेखि हालसम्म बैंकले ५ वटा सीईओ पाएको छ । तर, सबैले कार्यकालको बीचमै काम छोडेर घर फर्के । यस्तै, तत्कालीन यति डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकको मर्जपछि सीईओ बने रमेश भट्टराई । तर, केही महिनामै उनी बैंकको सीईओबाट राजीनामा दिएर बाहिरिए । उनी बाहिरिनुको कारण बैंकको मर्जर बुझिएको हल्ला चलेको थियो । उनले बैंकबाट बाहिरिएपछि नयाँ योजनाका साथ काम गर्ने बताउँथे । पछि उनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्व गर्न पुगे । भट्टराईले सीईओको पद छाडेपछि २०७४ कात्तिक २६ गते बैंकको सीईओ बने कृष्णराज लामिछाने । ४ वर्षका लागि नियुक्त भएका लामिछाने बिचमै राजीनामा दिन बाध्य भए । उनको बहिर्गमनपछि वि.सं २०७७ चैत २ गते बोधराज देवकोटा बैंकको सीईओमा नियुक्त भए । तर, १४ महिना अगाडि नै राजीनामा दिएर देवकोटा बैंकबाट बाहिरिए । ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकको बागडोर सम्हाल्न आँट गरेर बिचमै छोड्ने सिलसिला सुरुवातदेखि नै छ । यी दुई बैंकमा कुनै पनि सीईओले आजसम्म कार्यकाल अवधिभर काम गर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ बमोजिम सीईओको कार्यकाल अधिकतम ४ वर्ष र दुई कार्यकालसम्म नियुक्त गर्न मिल्ने व्यवस्था छ । कतिपय बैंकले ४ वर्षभन्दा कम अवधि राखेर पनि करारमा नियुक्त गरेका हुन्छन् । कतिपयले २ वर्षको प्रगति हेरेर नवीकरण गर्ने गरेका छन् । कतिपयको काम चित्त नबुझेपछि नवीकरण नगर्दा राजीनामा दिएर २ वर्षमै बाहिरिन्छन् । ज्योति बैंकका सञ्चालक ध्रुब कोइराला सञ्चालक समितिले जहिले पनि सीईओलाई स्वतन्त्र रूपमा काम गर्न दिएको बताउँछन् । सञ्चालक समितिसँग ट्याकल नमिल्ने, काममा स्वतन्त्रता नभएको,र सञ्चालक समितिले दबाब दिने काम नभएको उनको दाबी छ । ‘विभिन्न कारणले उहाँहरूले राजीनामा दिनु भएको हो, बैंकमा काम गर्न समस्या भएर सीईओले राजीनामा दिएको भन्ने सन्देश प्रवाह भएको छ । तर, वास्तवमा त्यो होइन,’ उनले भने, ‘विकास बैंकहरूमध्ये काम गर्ने सीमा धेरै दिएको, व्यवस्थापनलाई स्वतन्त्र छोडेको ज्योति विकास बैंकले मात्रै हो । तर, कतिपय अवस्थामा त्यसको गलत प्रयोग हुँदो रहेछ ।’ ‘मनोज ज्ञवालीको रिभ्यूको टम्स थियो । तर, सञ्चालक समितिले नवीकरण नगरेपछि राजीनामा दिनु भयो, बाफिया अनुसार योग्यता नपुगेका कारण कृष्ण बहादुर कुँवरले राजीनामा दिनु पर्यो, उहाँको व्यवस्थापनमा स्नातकोत्तर उत्तिर्ण थिएन,’ उनले भने, ‘श्रीचन्द्र भट्टको कार्यकालमा प्रवाह भएका अधिकांश कर्जा बिग्रिए, म हट्दा कर्जा उठाउन सजिलो होला भन्ने आशयले उहाँले राजीनामा दिनु भएको हो ।’ तर, कार्यकालको बिचमै काम छोडेका सीईओको अनुभव भने बेग्लै छ । महालक्ष्मी विकास बैंकको सीईओ बनेर बिचमै काम छोडेएका एक सीईओले सञ्चालकको अनावश्यक दबाबले काम छोड्नु परेको अनुभव सुनाए । उनका अनुसार एउटा सीईओले बीचमा छोड्दा व्यक्तिगत कारणले छोडेको होला भन्ने बुझिन्छ । तर, पटक(पटक एउटै बैंकमा धेरै व्यक्तिले पुरा अवधि काम नगरी छोड्दा केही कारण हुन सक्ने उनको भनाइ छ । बैंकमा सीईओ नटिक्ने विषयमा राष्ट्र बैंकले पनि अध्ययन गर्नु पर्ने उनको राय छ । ‘४ वर्षको लागि सीईओमा नियुक्त भएको व्यक्ति बिचमै छोडेर जाँदा त समस्या भएको हुन्छ, होइन भने किन पुरा कार्यकाल नसकी सीईओले छोड्नु पर्यो रु उनले प्रश्न गर्दै भने, ‘एउटै बैंकमा पटक(पटक सीईओले राजीनामा दिँदा यो विषय पनि राष्ट्र बैंकको नियमन भित्र पर्नुपर्छ ।’ उनका अनुसार कुनै व्यक्ति सीईओ नियुक्त हुँदा टिओर दिएको हुन्छ । आफ्नो कार्यकालमा यति काम गर्छु भनेर लक्ष्य दिएको हुन्छ, बैंकको सीईओ भएपछि राष्ट्र बैंक र बैंकको नीति निर्देशनभित्र रहेर काम गर्नुपर्छ, सबै सीमाभित्र रहेर सीईओले व्यवसाय गर्दा सञ्चालक समितिले टर्चर दिन्छ । ‘सञ्चालक समितिमा ७ जना सदस्य हुन्छन् । ७ जनामध्ये १र२ जनाले सीईओलाई असहयोग गर्दा केही फरक पर्दैन । तर, अध्यक्षले नै पटक(पटक हस्तक्षेप, अनावश्यक दबाब सीईओले सहन सक्दैन । एकरदुई जना सञ्चालकलाई मिलाउन सक्छ । तर, अध्यक्ष नै खराब निस्कियो भने सीईओ टिक्दैन,’ महालक्ष्मी विकास बैंकका एक पूर्व सीईओले भने । प्रोफेसनल सीईओलाई सञ्चालक समिति पनि प्रोफेसनल भइदियोस् भन्ने चाहना हुन्छ । सञ्चालक समितिले कानुनसम्मत दिएका सबै निर्देशन पालना गर्न सीईओ पनि तयार हुन्छ । तर, सञ्चालकहरूले फाइभ स्टार होटलमा अनावश्यक गरेको मिटिङको खर्चको बिल भुक्तानी गर्न सीईओलाई दबाब दिने गरेको उनको अनुभव छ । ‘फाइभस्टार होटलमा २५ हजार रुपैयाँ पर्ने बोतलको रक्सी खान्छन्, त्यसको बिल सीईओलाई पेश गर्छन्, २५ हजार रुपैयाँको रक्सी खाएको बिल सीईओले के आधारमा भुक्तानी गर्ने रु त्यो बेलामा समस्या आउँछ, सीईओलाई पनि बिल पेश गर्न गाह्रो हुन्छ,’ उनले भने । उनका अनुसार कतिपय सञ्चालकहरू इनसाइडर ट्रेडिङ गर्छन् । बोर्डका अध्यक्ष तथा सञ्चालकहरू एकाघरभित्र नपर्ने व्यक्तिको नाममा सेयर खरिबिक्री गर्छन् । त्यस विषयमा सीईओलाई जानकारी भएपनि कुनै एक्सन लिन नसक्ने अवस्थामा हुने गरेको अनुभव सुनाए । ‘सञ्चालकहरूले कर्मचारीलाई अनावश्यक टर्चर दिने, फलानोलाई कर्जा देउ, कुनै ग्राहकको कर्जा नतिरेर डिफल्ट भयो भने कानुनी कारवाही गर्न नदिएका हुन्छन्,’ उनले भने, ‘तर, सीईओलाई एनपीएल डाउन र व्यवसाय बढाउनु पर्ने दबाब हुन्छ, काम गर्ने वातावरण नभएपछि राजीनामा दिन बाध्य हुन्छन् ।’ अध्ययन गर्छौं : राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले यस विषयमा अब अध्ययन गर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट यस्ता विषयमा हालसम्म कुनै गुनासो नआएको तर आएपछि अध्ययन गर्ने बताउँछन् । साथै, व्यक्तिगत कारण र सञ्चालकसँगको सम्झौता अनुसार सीईओ आउने र विदा हुने गरेको उनको भनाइ छ । ‘व्यक्तिले कुनै अन्य नयाँ अवसर पाएर राजीनामा दिएकाे, सञ्चालकसँगको सम्झौता अनुसार अवधि सकेर पनि राजीनामा दिएका हुन सक्छन्, राष्ट्र बैंकको ऐन बमोजिम एउटा व्यक्ति दुई कार्यकालसम्म सीईओ पाउने व्यवस्था छ,’ उनले भने, ‘यस विषयमा राष्ट्र बैंकमा कुनै गुनासो आयो भने अध्ययन गर्छौं । तर, व्यक्तिले छोड्छु भनेर राजीनामा दिएको विषय सामान्य हो ।’ उनका अनुसार व्यक्तिको इच्छा, आवश्यकता र बाध्यता अनुसार आउने जाने भइरहने हुन्छ । यदि सुशासनमा कुनै कैफियत देखियो र संस्थामा कुनै असर प र्यो भने मात्रै राष्ट्र बैंकले हेरिरहेको हुने उनको भनाइ छ । ‘सुशासनमा कुनै कैफियत भयो भने राष्ट्र बैंकले हेर्छ, इण्डष्ट्रिमा मान्छे आउने जाने भइरहन्छ, बैंक कति बलियो छ भनेर त्यसलाई राष्ट्र बैंकले हेर्छ, समग्रमा सीईओको टर्नओभर थोरै छ, कतिपय संस्था ८ वर्ष पनि एउटै व्यक्तिलाई सीईओ बनाउनु पर्ने माग पनि आएका छन्,’ उनले भने ।