‘नम्बर वान’को ताज फर्काउने रणनीतिमा एलआईसी नेपाल, व्यवसाय ४५२ प्रतिशतले वृद्धि

काठमाडौं । कुनै समय बीमा गर्ने भनेपछि पहिलो नाम लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) नेपालको आउँथ्यो । एलआईसी नेपाल सहरदेखि गाउँसम्म सर्वसाधारणको रोजाईमा पर्थ्यो । कम्पनी बीमा बजारमा नम्बर वान थियो । भारतीय बीमा कम्पनी एलआईसीले सन् २००१ सेप्टेम्बरमा शाखाका रूपमा एलआईसी नेपाल सञ्चालनमा ल्याएको हो । नेपालको ठूलो व्यावसायीक घराना विशाल ग्रुपसँगको सहकार्यमा उक्त कम्पनी सञ्चालनमा आएको थियो । सुरुवाती चरणमा बीमामा एलआईसी नेपालप्रति सर्वसाधारणको विश्वास बढ्दो थियो । तर, बीमाको पहुँच थप विस्तार गर्ने उद्देश्यले प्राधिकरणले नयाँ कम्पनीहरूलाई लाइसेन्स दिएपछि भने बीमा बजारमा प्रतिस्पर्धा बढ्यो । बीमा कम्पनीबीच बजार हिस्सा बढाउने प्रतिस्पर्धा भयो । परिणामस्वरूप एउटा कम्पनीले अर्को कम्पनीको बिजनेस खोस्ने अवस्था बन्यो । यति हुँदा पनि एलआईसी नेपालले बीमा बजारमा आफ्नो बजार हिस्सा बढाउँदै गयो । प्रतिस्पर्धी कम्पनीहरूका माझ थप बलियो बन्दै गयो । १० वर्षको अवधिमा कम्पनीले व्यवसायमा ठूलो फड्को मारेको देखिन्छ । आर्थिक वर्ष २०७९/८०को असारसम्म कम्पनीको व्यवसाय ४५२ प्रतिशत बढेको छ । कम्पनीले यो अवधिमा १७ अर्ब ३९ करोड ३८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । आर्थिक वर्ष २०६९/७०मा कम्पनीको व्यवसाय ३ अर्ब १५ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०६९/७० मा कम्पनीले ३ अर्ब २७ करोड रुपैयाँ बराबरको खुद दाबी भुक्तानी गरेको थियो । तर, पछिललो १० वर्षको अवधिमा खुद दाबी भुक्तानी २ हजार ६३४ प्रतिशत बढेर ८ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा कम्पनीको चुक्ता पुँजी ५५५ प्रतिशत बढेर २ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । जबकी आर्थिक वर्ष २०६९/७० मा ४० करोड ५० लाख रुपैयाँमा सीमित थियो । आर्थिक वर्ष २०७९/८०मा कम्पनीको जगेडा कोष ३६७.९५ प्रतिशत बढेर १ अर्ब २७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०६९/७०मा २७ करोड २४ लाख रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोष ८१२ प्रतिशत बढेको देखिन्छ । आर्थिक वर्ष २०६९/७०मा ११ अर्ब ७७ करोड रुपैयाँ रहेको कोष आर्थिक वर्ष २०७९/८०मा १ खर्ब ७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरी कम्पनीको संख्या बढेसँगै प्रतिस्पर्धा पनि बढेको र कम्पनीले पृथक रणनीति बनाएर आफूलाई बलियो कम्पनीका रूपमा अगाडि बढाइरहेको बताउँछन् । यसका बाबजुत पनि कम्पनीको ‘नम्बर वान’ बन्ने प्रतिस्पर्धामा भने रहेको उनी बताउँछन् । ‘विगतमा एलआईसी नेपाल नम्बर वान थियो, बीमा गर्ने भनेपछि सबैले एलआईसी नै रोज्थे । तर, बीमा प्राधिकरण (तत्कालीन बीमा समिति)ले नयाँ कम्पनीलाई पनि लाइसेन्स दिएपछि स्वतः आकर्षण घट्यो, १९ वटा कम्पनी भएपछि व्यवसाय पनि बाँडिन पुग्यो, बीमाको बजार नै सानो छ,’ उनले भने, ‘अब कम्पनीलाई पुरानै अवस्थामा फर्काउन वा नम्बर वान कायम गर्न विभिन्न रणनीति अपनाइरहेका छौं ।’ एलआईसी नेपालमा भारतीय कम्पनीको लगानी भएकाले कुनै पनि निर्णय गर्नु पर्दा उक्त कम्पनीसँग समन्वय गर्नु पर्ने हुन्छ । एलआईसी नेपालले आफैं निर्णय गर्न सक्ने अवस्था छैन । जसको प्रभाव कम्पनीको व्यवसायमा पनि पर्ने गरेको उनको भनाइ छ । साथै, पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा मौलाएका कारण त्यसको प्रभाव समग्र बीमा क्षेत्रमै परेको उनले बताए । नेपाली बीमा क्षेत्रमा बीमा गर्नेहरू अधिकांश मध्यम वर्गका छन् । बीमा गर्नेहरूमध्ये थोरै मात्रै प्रोफेसनल छन् । प्रोफेसनल नभएका व्यक्तिहरूले नकारात्मक सन्देश बजारमा प्रवाह गरेका कारण व्यवसाय विस्तारमा असर गरिरहेको उनको बुझाइ छ । गिरीका अनुसार कोरोना महामारी पछि समग्र बीमाको व्यवसाय घटेको छ । ‘बजारमा ब्यापक प्रतिस्पर्धा छ, यही बिचमा अर्थतन्त्र एक किसिमको सकसमा छ, प्रिमियम तिर्न सक्ने मान्छेले पनि सकेनौं भनेर सरेण्डर गरिरहेका छन्,’ उनले भने, ‘यो समस्या सबैलाई परेको हो, अहिले बीमा क्षेत्रकै बजार घटिरहेको अवस्था हो ।’ तर, एलआईसी नेपालले व्यवस्थापन खर्च नियन्त्रणमा राखेको उनको भनाइ छ । उनका अनुसार अन्य कम्पनीको तुलनामा एलआईसी नेपालको खर्च कम छ । आन्तरिक लक्ष्य राखेर कम्पनीले व्यवसाय वृद्धिमा जोड दिइरहेको उनले बताए । ‘विगतको लक्ष्यभन्दा कम लक्ष्य राखेर कम्पनीले आफ्नो व्यवसाय गरिरहेको छ, खासै उत्साहजनक अवस्था छैन,’ गिरीले भने, ‘प्राधिकरणको लगानी निर्देशिका अनुसार कम्पनीले लगानी गरिरहेको छ, वाणिज्य बैंकको मुद्दती निक्षेप र सूचीकृत कम्पनीहरूमा लगानी धेरै छ ।’ साथै, नियामकको नीतिगत कडाइका कारण पनि बीमा व्यवसायमा केही प्रभाव परेको उनी बताउँछन् । कोरोना महामारीमा बीमा गराएपछि भुक्तानी नहुँदा त्यसको नकारात्मक प्रभाव समग्र बीमा क्षेत्रले भोग्नु परेको उनको बुझाइ छ । ‘प्राधिकरणले कोरोनाको बीमा गरेपछि पैसा आउँछ भनेर सबैले बीमा गरे । तर, बीमाको पैसा नआएपछि त्यसको नकारात्मक असर समग्र बीमा क्षेत्रमा परेको छ, यसले बीमा कम्पनीहरूप्रतिको विश्वसनियता पनि घटेको छ,’ उनले भने । उनका अनुसार एजेन्टहरूलाई बीमा लेख अवधिभर कमिसनको व्यवस्था गर्याे भने सेवामा गुणस्तरीयता कायम हुन्छ । तर, एजेन्टहरू कमिसन पाइसकेपछि ग्राहकहरूसँग राम्रो सम्बन्ध नराख्दा समस्या आउने गरेको उनको भनाइ छ । कमिसनको स्ट्रक्चर परिवर्तन गर्नु पर्ने उनको माग छ । बीमाप्रति सकारात्मक सन्देश पनि प्रवाह गर्न एजेन्टलाई सधैं कमिसनको व्यवस्था हुनु पर्ने उनले बताए । ‘कमिसनको स्ट्रक्चर परिवर्तन गर्नुपर्छ, बीमा पोलिसको अवधिभर कमिसनको व्यवस्था गर्नुपर्छ । तर, पोलिसीबाट कमिसन पाएपछि वास्तै नगर्ने अवस्था छ, त्यसैले जति समय पोलिसी चल्छ, त्यति नै समय कमिसन पाउनु पर्ने व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘एजेन्टले प्रत्येक वर्ष कमिसन पायो भने ग्राहकलाई प्रिमियम बुझाउन सहजीकरण गराउँछ, सर्भिस पनि गतिलो हन्छ ।’ डिजिटलमा जोड बीमा कम्पनीहरू पनि आफ्ना सबै काम डिजिटल्ली बनाउन जोड दिइरहेका छन् । एलआईसी नेपालले अधिकांश कामहरू डिजिटल्ली बनाइसकेको उनले बताए । बीमा लेख खरिददेखि भुक्तानीसम्म सबै कामहरू अनलाइन माध्यम बाटै हुने गरेको उनको भनाइ छ । ‘सबै काम डिजिटल्ली भइरहेको छ, नभएका कामहरू गरिरहेका छौं, अधिकांश शाखाको पेपरहरू स्क्यानिङ गरेर डिजिटल्ली गरिसकेको छ, अब हामीले कुनै पनि तथ्याङ्क हेर्नु पर्याे भने हार्ड कपी हेर्नु पर्दैन, कम्प्युटरमा सबै सहज रूपमा हेर्न सकिन्छ,’ उनले भने, ‘अब यो वर्ष भित्र सबै शाखाको कागजपत्र स्क्यानिङ गरेर विद्युतीय योजना छ, १६/१७ लाख इमेज हामीले स्क्यानिङ गरिसकेका छौं, काठमाडौं उपत्यकाका सबै शाखाको सम्पन्न भइसकेको छ, उपत्यका बाहिरका शाखमा क्रमिकरूपमा गरिरहेका छौं ।’ कम्पनीले आफ्नो व्यवसायलाई फराकिलो बनाउँदै ब्यापक बनाउने योजना बनाएको उनको भनाइ छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बीमा कम्पनीका रूपमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लाई सम्मान गरेको थियो । कम्पनीले बीमितलाई पनि उत्कृष्ट सेवा दिने र सरकारको नजरमा पनि उत्कृष्ट कम्पनी बनेर बीमा बजारमा व्यवसाय गर्ने योजनाका साथ काम गरिरहेको छ ।

एक हजारका नक्कली नोटको बिगबिगी, एकै गाडीमा भेटियो २ करोडको गड्डी

काठमाडौं । नेपाली एक हजार रुपैयाँको नोट नक्कली भेटिएको घटना नयाँ होइन । बेला बेला ठूलो सानो गरेर नक्कली नोटहरू भेटिने गरेका छन् । सुनसरी प्रहरीले आइतबार भारतीय नम्बर प्लेटको गाडीबाट करिब २ करोड रुपैयाँ नक्कली नोट फेला पारेको हो । प्रहरीले गाडीबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले भारतीय गाडीमा भारतबाट नेपालमा ल्याउँदै गरेको अवस् नक्कली नोट बरामद गरेको बताए । उनका अनरसार नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद गरिएको हो । प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । पछिल्लो समय नेपालमा पनि नक्कली नोट भेटिएको भेटिने क्रम बढेको छ । भारतले भारतमा नक्कली नोटको कारोबार बढ्दा पाँच सय र एक हजारका नोट प्रतिबन्ध नै गरेको थियो । नेपालमा पनि बेलाबखत नोट प्रतिबन्ध गराएर नयाँ नोट छाप्नु पर्ने आवाज उठ्ने गरेको छ । कसरी चिन्ने नक्कली नोट ? धेरैलाई सक्कली र नक्कली नोट पहिचान गर्न नै सकसपर्छ । बैंक तथा वित्तीय संस्थाले नक्कली र सक्कली नोट पहिचानका लागि विभिन्न समयमा विभिन्न प्लेटफर्ममाफत् जानकारी पनि गराउँदै आएको छ । नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने। सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो । यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन । नोटको दाँया भागको पुच्छरमा १००० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महसुस हुन्छ । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ । नक्कली नोटमा सो अक्षर उठेको हुँदैन । नोटको बीच भागको तलपट्टी अंग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ । नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ । यस्तै, नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ । यसलाई सुरक्षण धागो भनिन्छ । सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ । यस्तै, सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।

बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । फागुन महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले फागुनमा पनि घटाएका छन् । बैंकहरूले घटाएको ब्याजदर भोलि फागुन १ गतेदेखि लागू हुनेछ । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार हिमालयन बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाको ब्याजदर नै फागुनमा लागू गर्ने छ । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यी बैंकले माघमा पनि सोही ब्याजदर लागू गरेका थिए । प्राइम बैंकको ०.६९ प्रतिशत घटेर संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले संस्थागततर्फ ६.१० प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर तोकेको थियो । कृषि विकास बैंकको संस्थागततर्फ १.३१७ प्रतिशत घटेर ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ०.८१ प्रतिशत घटेर ६.४४३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले संस्थागततर्फ ५.७६ प्रतिशत र व्यक्तिगततर्फ ७.२६ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल एसबिआई बैंकले ०.१५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याज दिएको थियो । कुमारी बैंकले ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको थियो । एनएमबि बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ०.६ प्रतिशत घटाएर ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज दिएको थियो । प्रभु बैंकले ०.५६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले ०.६४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले ०.०६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर तोकेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ०.७२ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ १.२५ प्रतिशत घटाएर ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो । नबिल बैंकले ०.३६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत घटाएर ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.९ प्रतिशत घटाएर ८.२५ प्रतिशत र संस्थागततर्फ ०.४५ प्रतिशत घटेर ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९.१५ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर तोकेको थियो ।