सानिमा र आइएमई प्रतिस्पर्धामा, नेपाल लाइफलाई पछ्याउँदै हिमालयन
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको नाफा २०.५१ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरूले ३ अर्ब ८ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । कम्पनीहरूले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५५ करोड ९० लाख रुपैयाँ नाफा गरेका थिए । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीहरूले ५२ करोड ५१ लाख रुपैयाँ बढी नाफा गरेका हुन् । समीक्षा अवधिमा २ वटा जीवन बीमा कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै सानीमा रिलायन्स लाइफको नाफा बढेको छ । यस कम्पनीको नाफा ९६.४७ प्रतिशत बढेर २१ करोड ९७ लाख रुपैयाँ नाफा गरेको छ । यस्तै, आइएमई लाइफको ९६.१३ प्रतिशत बढेर २३ करोड ४७ लाख रुपैयाँ पुगेकाे छ । नाफा बढाउनका लागि सानिमा र आइएमई लाइफबीच प्रतिस्पर्धा देखिएको छ । सूर्यज्योति लाइफको ६३ प्रतिशत प्रतिशत बढेर २३ करोड ६६ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी)नेपालको ५९.७८ प्रतिशत बढेर १३ करोड ६६ लाख रुपैयाँ नाफा गरेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीको ४४.१४ प्रतिशत बढेर १ करोड ४२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ३६ प्रतिशत बढेर १७ करोड ६४ लाख रुपैयाँ, मेट लाइफको ३३.५३ प्रतिशत बढेर १९ करोड ३८ लाख रुपैयाँ, नेशनल लाइफको १६.९१ प्रतिशत बढेर २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेका हुन् । बढी नाफा गर्नेमा भने नेपाल लाइफ नै अगाडि देखिएको छ । नेपाल लाइफपछि हिमालयन लाइफ देखिएको छ । नेपाल लाइफको १२.८९ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ र हिमालयन लाइफको ८.२३ प्रतिशत घटेर ३४ करोड ६० लाख रुपैयाँ कायम भएकाे छ । यस्तै, एशियन लाइफको ११.४५ प्रतिशत बढेर १५ करोड ९८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ४.९६ प्रतिशत बढेर २३ करोड ९ लाख रुपैयाँ, सिटिजन लाइफको २.७३ प्रतिशत बढेर १२ करोड ३६ लाख रुपैयाँ नाफा गरेका छन् । पुस मसान्तसम्म २ जीवन बीमा कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ । हिमालयन लाइफकाे ८.२३ प्रतिशत र सन नेपाल लाइफको ७.२२ प्रतिशत नाफा घटेकाे छ ।
निर्जीवन बीमा कम्पनीहरूको नाफा ४२.१७ प्रतिशत बढ्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । पुस मसान्तसम्ममा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ३ अर्ब १३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २० करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरूले ४२.१७ प्रतिशत अर्थात् ९२ करोड ९१ लाख रुपैयाँ धेरै नाफा गरेका हुन् । चालु आर्थिक वर्षमो ६ महिनामा नेशनल इन्स्योरेन्स कम्पनीबाहेक अन्य सबै कम्पनीको नाफा बढेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा वृद्धि गर्नेमा नेपाल इन्स्योरेन्स रहेको छ । यस कम्पनीको नाफा २३२.३३ प्रतिशत बढेर ४९ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सको १ सय प्रतिशत बढेर २५ करोड ८३ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ७१.५४ प्रतिशत बढेर ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ६३.७२ प्रतिशत बढेर १८ करोड ४३ लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सको ५१.०८ प्रतिशत बढेर १८ करोड ३७ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको ४८ प्रतिशत बढेर १३ करोड १८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४० प्रतिशत बढेर १० करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेका हुन् । सानिमा जिआईसी इन्स्योरेन्सको २१ प्रतिशत बढेर १० करोड ५५ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १६ प्रतिशत बढेर २० करोड ८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीको १५.५१ प्रतिशत बढेर ५४ करोड ९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १५.२३ प्रतिशत बढेर २२ करोड १२ लाख रुपैयाँ नाफा कमाएका छन् । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्स भने १ करोड ७ लाख रुपैयाँ नोक्सानीमा छन् । गत वर्ष यस कम्पनीको नाफा १६ करोड ९१ लाख रुपैयाँ थियो ।
संस्थागत निक्षेपकर्ताप्रति राष्ट्र बैंक उदार, ऋणको ब्याज घट्दै जाने विश्वास
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुआर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् पाँच वटा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै केही नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंकदर र नीतिगत दरलाई भने यथावत राखेको छ । हाल कायम रहेको बैंकदर ७ प्रतिशत र नीतिगत दर ५.५ प्रतिशतलाई राष्ट्र बैंकले यथावत राखेको हो । यस्तै, राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याज बढाउन पाउने नीति बनाएको हो । मौद्रिक नीतिको समीक्षामार्फत् राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा ब्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ । यसअघि व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदरमा २ प्रतिशत बिन्दु अन्तर हुनुपर्ने व्यवस्था थियो । ब्याजअन्तर कम गर्नका लागि संस्थागत निक्षेपकर्ताले राष्ट्र बैंक समक्ष लबिङ गरिरहेका थिए । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार बैंकहरुले २ करोडसम्मको कर्जालाई रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोड रुपैयाँसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरेको हो । यस्तै, राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधा (एसएलएफ)लाई कार्यान्वयनमा ल्याउने भएको छ । ‘ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ,’ समीक्षामा भनिएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भै निष्कृय कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असूलीमा समेत सुधार आउँदै जानेअनुमान राष्ट्र बैंकको छ । राष्ट्र बैंकले अर्थतन्त्र लयमा फर्किरहेकोले ब्याज घट्दै जाने पनि बताएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ अर्थतन्त्रका सूचकहरू सकारात्मक नै रहेकोले राष्ट्र बैंकले ठूलो नीतिगत हेरफेर गर्न नचाहेको दिएको बताउँछन् । उनले संस्थागत निक्षेपकर्ताको ब्याज र व्यक्तिगत ब्याजबीचको १ प्रतिशतकाे फरकले संस्थागत निक्षेपकर्तालाई केही राहात हुने बताए ।