कलेजोको टुक्रा जोड्ने डा. रमेशको संगीत मोह
काठमाडौं । एक पटक सोच्नुहोस् त, कलेजोको टुक्रा कसरी जोडिँदो हो ? एउटा मान्छेको शरीर चिरेर भित्री भाग कलेजो काटेर अर्को मान्छेको कलेजोमा कसरी राखिदो हो ? सोचे अचम्म । तर, चिकित्सकीय भाषामा नर्मल । किनकी स्वास्थ्य क्षेत्रको विश्व बजारमा अनेक किसिमका उपचार र प्रत्यारोपण सम्भव भइसकेका छन् । नेपालजस्तो विकासोन्मुख देशमा कलेजोको सफल प्रत्यारोपण गरिनु पनि ठूलो कुरा हो । आफ्नै अठोटले कलेजो प्रत्यारोपणको सुरुवात गरेका उनी अहिले नेपालमा आफ्नै नेतृत्वमा कलेजो प्रत्यारोपण गर्न सफल समेत भएका छन् । वि.सं २०७३ सालदेखि विदेशी विज्ञ डाक्टरहरूको सहयोगमा सुरु गरेको कलेजो प्रत्यारोपण ११औं प्रत्यारोपणमा पुगेर नेपाली डाक्टरको टीमले कलेजो प्रत्यारोपण गर्न सफल भयो । यसअघि गरिएका १० औं प्रत्यारोपण विदेशी चिकित्सकको नेतृत्वमा हुने गर्थे । यही माघ १८ गते नेपाली चिकित्सक नेतृत्वको टोली नै कलेजो प्रत्यारोपणमा सफल भयो । यसरी शरीरको अंग त्यसमा पनि महत्वपूर्ण कलेजोसँग खेलिरहने डाक्टरको मोह भने फरक पेशामा पनि उत्तिकै छ । पेशा डाक्टर, रहर अनेक । सबै रहर सबैको पुरा हुँदैनन् । तर, चटक्क रहर भुल्न पनि कहाँ सकिँदो रहेछ ? उनलाई दिनहुँ बिरामी र विद्यार्थीसँग व्यस्त रहनुपर्छ । बिरामीलाई उपचार गर्न र विद्यार्थीलाई सिकाउँदै उनका दिन बित्छन् । तर, बचेको समयमा उनी आफ्नै मोह तिर फर्कन्छन् । र, गाउँछन् कहिल्यै लय मिलाएर गीत त कहिले हान्छन् गोल । उनी अर्थात डाक्टर रमेशसिंह भण्डारी । भण्डारी त्रिवि शिक्षण अस्पतालका प्राध्यापक तथा कलेजो प्रत्यारोपण सर्जन हुन् । भण्डारीको तपाईं फेसबुक वा ट्विटर (एक्स)मा साथी हुनुहुन्छ भने उनको संगीतमोह पक्कै थाहा होला । कहिले गिटारमा गीत गुनगुनाउँदै गरेको त कहिले फुटबल हानिरहेको फोटो/भीडीओ देख्न सकिन्छ । कलेजो काट्दै जोड्दै गर्ने डाक्टरमा संगीत मोह कसरी छायो ? डाक्टर भण्डारीलाई प्रश्न गर्दा उनी भन्छन्, ‘संगीत मेरो प्यासन हो ।’ डा.रमेशलाई सानैदेखि गीत गाउन खुब मन पर्थ्याे । फुटबलमा पनि उत्तिकै रुची । उनी दुई कक्षा पढ्दा म्युजिकमा पनि सहभागी हुन्थे । ‘मैले गाउँदा सरहरूले राम्रो छ भन्नुहुन्थ्यो, सबैले राम्रो भन्दा झन मिहिनेत गर्न मन लाग्थ्यो,’ उनी संगीत सिक्दाका दिनहरू स्मरण गर्दै सुनाउँछन्, ‘त्यो यात्रा अहिले पनि चलिरहेको छ ।’ उनले राम्रो गाएको सुन्दा एकजना संगीत शिक्षकले गीत रेकर्डको लागि रेडियो नेपाल लिएर गए । तर, विविध कारणवस् गीत रेकर्ड भएन । ‘गाउने र सुन्ने रहर सानैमा थियो । विद्यालयमा हुने हरेक कार्यक्रममा उनी गीत गाउँथे । कलेजमा पढ्दा उनको संगीत मोह झन बढ्दै गयो । कहिलेकाहीँ त कार्यक्रममा गाउन नदिँदा झगडा गरेरै भएपनि गीत गाउने गरेको अनुभव उनीसँग प्रशस्त छन् । २०५३ सालमा एमबीबीएस पढ्दा उनी र साथीहरू मिलेर एउटा गीत बनाएर रेकर्ड गरे । गीत थियो ‘चिसो चिसो हावा चल्छ, मनै रमाउने, मायाले मन पोल्न थाल्छ कसरी बुझाउने ।’ साथीहरूसँग मिलेर गीत रेकर्ड भएपछि काठमाडौंका विभिन्न रेडियोबाट गीत बज्यो । तर, समय उही रहेन । संगीतमा लाग्न पैसा र समय दुवै चाहिन्थ्यो । दुवै उनीसँग भएन किनकी उनी एमबीबीएस पढ्न तर्फ लागे । ‘एकातिर एमबीबीएस पढ्नु पर्ने गीततिर लाग्दा समय नै पुगेन । अर्को, पढ्ने बेलामा पैसा नहुँदा उनी गीत संगीतबाट टाढा भएँ,’ उनले भने । ‘पढ्नको लागि घरमा बुबाले पठाएको पैसा पढाइमा खर्च गर्ने कि गीतमा खर्च गर्ने समस्या भयो,’ उनी भन्छन्, ‘समय पनि भएन, पैसा पनि भएन, त्यो भन्दा यो क्षेत्रबाट टाढै रहुँ भन्ने लाग्यो पढाइमा ध्यान दिएँ ।’ फुटबलमा पनि प्यासन उनलाई गीत गाउन मात्र होइन, खेलकुदमा पनि उत्तिकै रहर छ । खेल खेल्न र हेर्न पनि उत्तिकै रुचि लाग्छ उनलाई । यो रुची बच्चैदेखि थियो । उनी स्कुलमा साथीसँग पनि किक्रेट, फुटबल, बास्केट बल खेल्थे । ‘मलाई सबै खेल्न मनपथ्र्यो,’ उनी भन्छन्, ‘खेलमा पनि अझै सजिलो फुटबल लाग्थ्यो, एउटा फुटबल भए साथीलाई जम्मा पार्दै मैदानमा कुदिहाल्थ्यौँ ।’ गीतजस्तै स्कुल पढ्दा मन पर्ने खेल खेलिए पनि कलेज पढ्दा भने खेल्न पाइएन । ‘कलेज पढ्दा पढाइतिर बढी ध्यान दिनुपर्थ्याे, त्यसैले पनि खेल खेल्न पाइएन,’ डाक्टरले भण्डारीले भने, ‘बीबीएस पढ्नुपर्यो , मास्टर्स गर्नुपर्यो , पढिसकेपछि जागिर गर्नै पर्यो , त्यसैले पनि टाढा हुनुपर्यो , अहिले भने बेला-बेला हामी फुटबल पनि खेल्छौँ ।’ उनी अहिले डाक्टरहरूकै टीम बनाएर फुटबल पनि खेल्ने गरेका छन् । ओलीको कविताका गायक चार वर्ष अगाडि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिस्क भएर शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा डाक्टर भण्डारीले अप्रेसन गर्नुप¥यो । सल्यक्रिया गर्दा आइसीयूमा ओलीसँगै डाक्टर रमेश पनि बस्नुपथ्र्यो । गफगाफ गर्दा उनले आफुले गाएको गीत ओलीलाई सुनाए । ओलीले डाक्टरको स्वर सुनेपछि भने, ‘आहा ! डाक्टरसाब त गीत पनि गाउनु हुँदो रहेछ, ल अभ्यास गर्नुहोस्, रेकर्डपनि गर्नुपर्यो भन्दै प्रोत्साहन पनि गर्नुभयो, मलाई फेरि गीत गाउनुपर्यो कि भन्ने लाग्यो,’ उनले सुनाए । ओलीको कुराले डाक्टरभित्र मर्न लागेको प्रतिभा ब्युतियो । आफ्नो स्वर परीक्षण गर्न डाक्टरले ‘कुन मन्दिरमा’ भन्ने गीतको कभर गाए । कभर गीत सुन्दा सबैले राम्रो छ भन्ने प्रतिक्रिया दिए । त्यसपछि केपी शर्मा ओलीले लेखेको ‘बन्छ नमुना नेपाल’ शिर्षकको गीत उनै डा. भण्डारीले गाए । बैतडीमा जन्म, अष्ट्रेलियामा पढाइ डा. रमेशसिंह भण्डारीको घर सुदूरपश्चिमको बैतडी जिल्लाको रोडीदेवल हो । बैतडीबाट पनि दूरमा रहेको रोडिदेवलमा जन्मेका उनी गाउँमा भने धेरै बसेनन् । गाउँको सम्झना उनलाई मधुरो मात्र छ । उनी पाँच वर्षको हुँदा काठमाडौं आए । उनी नर्सरीदेखि १० कक्षासम्म भिएस निकेतनमा पढे । उनलाई बैतडीको त्यति सम्झना छैन । तर, उनी जाडो बिदामा गाउँ जाँदाको भने केही याद छ । ‘काठमाडौँबाट गाउँ जाँदा सहरबाट आएको भन्दै छुट्टै फुर्ती लाइन्थ्यो’ उनी मुस्कुराउँदै भन्छन्, ‘साथीमाई जम्मा हुने, खेतमा उफ्रिने, खोलामा जाने, पौडी खेल्ने, माछा मार्न जाने गरेको याद खुब आउँछ ।’ आजभोली भने उनका बुबाआमा पनि कञ्चनपुर झरिसकेका छन् । उनी सुदूरपश्चिम गएपनि महेन्द्रनगरबाटै फर्केर आउनुपर्छ । गाउँलाई सम्झदै उनी भन्छन्, ‘धेरै वर्ष भयो जान पाएको छैन, अब मलाई म जन्मेको गाउँमा सानो भएपनि स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी जान मन छ ।’ ‘म बैतडी नगए पनि शिक्षण अस्पतालमा जिल्लाको कोही बिरामी देख्दा मलाई गाउँ गएजस्तै अनुभव हुन्छ’ उनी भन्छन्, ‘मलाई उनीहरूको सेवा गर्न पाउँदा नै खुसी लाग्छ ।’ धरानबाट चिकित्सकीय पढाइ डा.भण्डारीले एमबीबीएस बिपी कोइराला मेमोरियल अस्पताल धरानबाट गरे । मास्टर सल्यचिकित्सबाट टिचिङ अस्पतालबाटै गरे । सर्जिकल ग्याष्ट्रो तीन वर्षको कोर्ष पनि टिचिङ अस्पतालबाटै गरे । सन् २०१० मा उनी अस्ट्रेलियाको रोयल अस्ट्रेलियन कलेज अफ सर्जनबाट छात्रवृत्ति पाएर अध्ययन गर्न गए । त्यहाँ उनले कलेजो प्रत्यारोपण सम्बन्धी थप सिक्ने अवसर पाए । त्यसपछि उनलाई लाग्यो- ‘म अब नेपाल फर्कदा स्वदेशमै कलेजो प्रत्यारोपण गर्न सक्ने गरी फर्कनुपर्छ ।’ अष्ट्रेलियामा पढाइ सके । र, नेपाल आइसकेपछि उनले किन नेपालमै कलेजो प्रत्यारोपण सुरु नगर्ने भन्ने सोचे र त्यही अनुसार अध्ययन गर्न थाले । उनले शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण गर्ने कुरा गर्दा धेरे साथीहरूले कुरा पनि काटे । त्यो पल स्मरण गर्दै उनी भन्छन्, ‘धेरै साथीहरूले मेरो कुरा सुनेर हाँसे । तर, केहीले सम्भव छ भन्दै आत्मबल थपे । र, सबैभन्दा पहिले म आफू तयार भएँ ।’ उनले कसरी नेपालमै काम गर्न सकिन्छ र त्यसका लागि कति जनशक्ति चाहिन्छ ? उपकरणहरू के चाहिन्छ ? भन्ने विषयमा अध्ययन गरे । उनले यो विषयमा आफू पढेको अस्ट्रेलियाका प्रोफेसरहरूसँग पनि सल्लाह लिए । उनीहरूले रमेशलाई अस्ट्रेलिया बोलाए । उनी सन् २०१४ मा फेरि अस्ट्रेलेलिया गए । उनले एक वर्ष त्यहाँ कलेजो प्रत्यारोपणबारे अध्ययन गरे । एक वर्षपछि नेपाल फर्केर उनले टिम बनाउन सुरु गरे । त्यसपछि सुरु भयो त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण । ‘जुनदिन पहिलो प्रत्यारोपण सफल भयो, त्यो दिन सबैभन्दा खुसी भएँ’ उनी भन्छन्, ‘मैले कलेजो प्रत्यारोपण सम्भव छ, मैले गर्छु, साथ दिनुस् भन्नेहरूपनि त्यो दिन बधाइ दिन आए, त्यसले थप ढाडस दियो, फेरि मिहिनेत गर्नुपर्छ भन्ने आत्मविश्वास आयो ।’ ६ वर्षमा उनले ११ जनाको कलेजो प्रत्यारोपण गरेका छन् । कलेजो प्रत्यारोपण सबैन्दा जटिल मानिन्छ । नेपालमा सबैभन्दा पहिले कलेजो प्रत्यारोपण मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा सुरु भएको थियो । त्यसपछि भरतपुरको एउटा मेडिकल कलेजमा सुरु भएको थियो । अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो पत्यारोपण भइरहेको छ । एमबीबीएसपछि उनले सल्यचिकित्सा पढे । सल्यचिकित्सा भित्र धेरै विषय हुन्छन् । उनले त्यसमध्ये ग्याष्ट्रो सर्जरीमा अध्ययन गरे । ग्याष्ट्रो सर्जरी भित्र पनि पेट, आन्द्रा र कलेजो लगायत विभिन्न अंगको छुट्टाछुट्टै अध्ययन गरिन्छ । रमेशलाई सबैभन्दा कलेजोमा रुचि लाग्यो । त्यसपछि उनी पढ्न विदेश तिर लागे । सल्यचिकित्सा सर्जरीमा सबैभन्दा ठूलो काम भनेको कलेजो पत्यारोपण हो । कुनैपनि काम गर्दा चुनौतीका पहाड हुन्छन् । तर, ती चुनौतीलाई चिर्न सक्नुपर्छ । यसो गर्न सक्नु नै सफलता हो । उनले सरकारबाट सुप्रवल जनसेवा श्री पदक पनि पाएका छन् । डाक्टर रमेशले पनि धेरै चुनौतीसँग सामाना गर्नुपर्यो । उनी २००६ मा उनी सर्जन बने । सर्जन बनेको १८ वर्षमा उनलाई कहिल्यै पछुतो लागेन । तर, कहिलेकाँही दुःखी पनि हुनु परेको छ । आफूले गर्न लागेको काम सफल नहुँदा, बिरामीलाई सञ्चो बनाउन नसक्दा मनमा चिसो पस्छ । उनी अहिले गरिरहेको कामलाई निरन्तर अगाडि बढाउने सोचमा छन् । ग्याष्ट्रो सर्जनमा पनि कलेजो सर्जरीलाई अझ राम्रो बनाएर जाने योजनामा उनी छन् । पहिले त्यति धेरै कलेजोको सर्जरी हुँदैन थियो । अहिले कलेजोको ठूला सर्जरी पनि गरिन्छ । अब उनको लक्ष्य अस्पतालमा सुरु गरेको कलेजो प्रत्यारोपणलाई स्थापित गर्नुछ ।
घट्दो बजारमा सेयर कर्जा बढाउँदै नबिल, यी सात बैंक प्रतिस्पर्धामा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वाणिज्य बैंकहरूले ६५ अर्ब ८६ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनामा बैंकहरूले सेयरधितो कर्जा बढाएका हुन् । सबैभन्दा बढी नबिल बैंकले सेयरधितो कर्जा लगानी गरेको छ । यस बैंकले पुस महिनासम्म ११ अर्ब ५६ करोड २० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले ६ अर्ब ४३ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको तथ्यांकमा उल्लेख छ । आधा दर्जन वाणिज्य बैंक भने सेयरधितो कर्जामा प्रतिस्पर्धामा देखिएका छन् । एनआईसी एशियाले ४ अर्ब ५८ करोड, नेपाल बैंकले ४ अर्ब ५४ करोड, सिद्धार्थले ४ अर्ब ४८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ३६ करोड, सिटिजन्स इन्टरनेशनलले ४ अर्ब २८ करोड र प्राइम कमर्सियलले ४ अर्ब २७ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको हो । यस्तै, कुमारीले ३ अर्ब ९७ करोड, प्रभुले ३ अर्ब ४४ करोड, लक्ष्मी सनराइजले ३ अर्ब २६ करोड, हिमालयनले २ अर्ब ४६ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब २२ करोड, एभरेष्टले १ अर्ब ७१ करोड र सानिमाले १ अर्ब ४० करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । यस्तै, कृषि विकास बैंकले १ अर्ब २३ करोड, एनएमबीले ९८ करोड, माछापुच्छ्रेले ४८ करोड र नेपाल एसबिआई बैंकले १४ करोड रुपैयाँ सेयरधितो कर्जा लगानी गरेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् सेयरधितो कर्जामा केही कडाइ गरेको थियो । त्यसपछिको समीक्षामार्फत् केही खुकुलो बनाएर अधिकतम् २० करोड रुपैयाँको सीमा तोकेको छ । यो समिा तोकेपछि बैंकहरूले पनि सेयरधितो कर्जा बढाइरहेका छन् । लामो समय तरलता अभाव खेपिरहेका बैंकहरूलाई अहिले तरलताको समस्या पनि छैन ।
त्रिविको उपकुलपतिमा तीन विवादित व्यक्तिको चर्चा, भ्रष्टाचार गरेकोदेखि थेसिस चोरेकोसम्म आरोप
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अहिले उपकुलपति छनोटको प्रक्रियामा छ । यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको चारवर्षे पदावधि कार्तिक १६ देखि सकिएपछि त्रिविमा सो पद रिक्त छ । शिक्षा मन्त्रालयअन्तर्गतको उपकुलपति सिफारिस समितिमार्फत् छनोट प्रक्रिया अघि बढिसकेको छ । हाल निमित्त उपकुलपतिको भरमा चल्दै आएको त्रिविको नेतृत्व गर्नका लागि ४३ जनाले आवेदन दिएका थिए । तर, १४ जनाको नाम सर्टलिष्टमा परेको छ । सर्टलिष्टमा कुशुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्र बहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, डा. तिर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भूसाल र सूर्यबहादुर थापाको नाम परेको छ । फागुन २ गतेसम्म उनीहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण हुनेछ । त्यसपछिको अन्तिम प्रक्रिया अन्तर्वार्ता हुनेछ । सोही आधारमा त्रिविको उपकुलपति छनोट हुने बताइए पनि तीन जनाको नाम उपकुलपति बन्ने चर्चा सुरु भइसकेको छ । तर, तीनै जना विवादित छवि भएका पात्रकारूपमा परिचित छन् । हजारौं विद्यार्थीको भविश्यसँग जोडिएको त्रिविको उपकुलपति छनोट राजनीतिक भागवण्डासँग जोडिनु विडम्बना हो । तर, पछिल्लो समय सो प्रवृति मौलाइरहेको छ । त्रिविको उपकुलपतिका लागि केहरजंग बराल, तिर्थराज खनियाँ र शिबलाल भुसालको नाम विवादित भएको कारण चर्चामा छ । राजनीतिक पुहँचका आधारमा पनि बलियो यी तीन जनाले विभिन्न ठाउँमा नेतृत्व गरेर पनि बदनामी भएका छन् । पाल्पा जन्मघर भएका केशरजंग बरालमाथि आर्थिक अनियमितता र भ्रष्टाचारको आरोप छ । उनी पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन् । सो विश्वविद्यालयको उपकुलपति हुँदा उनीमाथि भ्रष्टचारको आरोप लागेको थियो । वि.सं २०७१ सालमा निजी कलेजलाई सम्बन्धन दिँदा आर्थिक चलखेल गरेको भन्दै उनी विरुद्ध अख्तियारमा समेत मुद्दा परेको थियो । पाल्पा घर भएका बरालमाथि प्रक्रिया नपु¥याएका कलेज तथा शैक्षिक संस्थालाई विश्वविद्यालयबाट सम्बन्धन दिई आर्थिक चलखेल गरेको आरोप लागेको छ । तर, यी आरोपमा भने उनले सफाइ पाइसकेका छन् । यस्तै, सर्टलिष्टमा परेका अर्का विवादित व्यक्ति हुन् तिर्थराज खनियाँ । त्रिविको पूर्वउपकुलपति समेत रहेका उनीमाथि पनि ‘बौद्धिक चोरी’को आरोप छ । उनी त्रिभुवन विश्वविद्यालयको शिक्षा शाखामा हुँदा ‘बौद्धिक चोरी’ गरेको आरोप लागेको थियो । उनले टर्कीको फेरिट मिडिल इस्ट टेक्निकल विश्वविद्यालयका प्राध्यापक फेरिट किलिकायाको थेसिस हुबहु कपि गरेको आरोप लागेको थियो । यस्तै, २००६मा ‘नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसियेसन’ (नेल्टा) द्वारा प्रकाशित जर्नलमा लेखेको लेख पनि चोरेको आरोप लागेको थियो । बौद्धिक चोरीको आरोप लागेकै समयमा उनलाई तत्कालीन प्रधानमन्त्री स्व.शुसिल कोइरालाले त्रिविको उपकुलपतीमा नियुक्त गरेका थिए । उनको उपकुलपतिको रूपमा सो कार्यकाल पनि विवादित नै बन्यो । उनले त्रिभूवन विश्वविद्यालयको जग्गा बाँडफाँड गरेको, निजी मेडिकल कलेजलाई नियम विपरित सम्बन्धन दिएको लगायतका विभिन्न आरोप उनीमाथि लागेको थियो । उनीमाथि विभिन्न आरोप लागे पनि राजनीतिक दलको संरक्षणमा रहँदै आएका छन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् । गत कात्तिक १६ गते तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको पदावधी सकिएपछि निमित्त उपकुलपतिमा नियुक्त भएका थिए शिबलाल भुसाल । अर्घाखाँची घर भएका उनी अहिले पनि सोही पद सम्हालिरहेका छन् । उनको नाम पनि उपकुलपतिको सर्टलिष्टमा परेको छ । उनी पनि विवादरहित व्यक्ति भने होइनन् । उनीमाथि सूचना लुकाएको आरोप छ । त्रिभुवन विश्वविद्यालयमै रहँदा विद्यार्थीलाई सूचना नदिएको आरोप लागेपछि भुसाललाई राष्ट्रिय सुचना आयोगले कारवाही गरेको थियो । वि.सं २०७७ सालमा विद्यार्थीलाई सूचना नदिएर लुकाएको आरोप लागेपछि भुसाललाई पाँच हजार रुपैयाँ जरिवाना गरिएको थियो । यसरी विभिन्न विषयमा विवादमा रहेका व्यक्तिको नाम सर्टलिष्टमा परेको भन्दै सर्वसाधारणले पनि विरोध गरिरहेका छन् भने संसदीय समितिमा पनि सांसदहरूले छनोट समितिलाई समेत प्रश्न गरिरहेका छन् । छनोट मापदण्ड नै गलत त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको लागि बनाएको मापदण्ड नै गलत रहेको शिक्षाविद्हरू बताउँछन् । शिक्षाविद प्राध्यापक डा. विनय कुशियत सर्टलिष्टमा पर्ने उम्मेदवारभन्दा पनि सर्टलिस्टमा पर्ने प्रक्रिया गलत भएको बताउँछन् । ‘यो प्रक्रिया उपकुलपति छनोट गर्नेभन्दा पनि विभिन्न प्राध्यापक, सहायक प्राध्यापक छान्ने जस्तो भयो,’ उनी भन्छन्, ‘सरकारको काम खोजी गर्ने हो । तर, यहाँ खोजी नगरेर छनोट गर्न खोजियो, व्यक्ति को आउँछ भन्दा पनि यो प्रक्रिया नै गलत भयो ।’ उनी कुनै व्यक्तिलाई आक्षेप लागेको छ भने त्यसको सोधखोज हुनुपर्ने बताउँछन् । ‘कुनै पनि सार्वजनिक व्यक्ति यस्तो विवादमा मुछिन्छ र पब्लिकले नै प्रश्न गरिसकेपछि सोधखोज हुनुपर्छ,’ उनी थप्छन्, ‘कसैलाई बौद्धिक चोरीको आरोप लागेको छ, कसैलाई सूचना चोरीको आरोप छ, यदि यो सत्य हो भने त्यही अनुसारको दण्डित गर्नुपर्छ ।’ उपकलपति छनोट गर्दा उसको भिजन कस्तो छ ? उसले अरु ठाउँमा कस्तो नेतृत्व गरेको छ ? त्यो व्यक्तिबाट के-कस्तो आशा गर्न सकिन्छ ? भन्ने लगायतका अपेक्षा हुने भए पनि आरोप लागेका व्यक्तिहरूलाई सर्टलिष्टमा राखेर उपकुलपतिका लागि योग्य बनाउन खोज्नु विडम्वना भएको बताउँछन् । ‘सिंगो विश्वविद्यालयको छवि धमिलो बन्न सक्छ’ कुनैपनि आरोप लागेका व्यक्ति सार्वजनिक पदमा रहन उचित हुँदैन । वरिष्ठ अधिबक्ता दिनेश त्रिपाठी विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा छनोट हुने व्यक्ति विवादित हुन नहुने धारणा राख्छन् । ‘शिक्षा जस्तो पवित्र संस्थाको कार्यकारी व्यक्तित्व चरम विवादमा परेको राम्रो हुँदैन, विवादित व्यक्तिलाई उपकुलपति बनाउन खोज्नु र सर्टलिष्टमा नै राख्नुले राम्रो सन्देश प्रवाह हुँदैन, यस्ता व्यक्तिले विश्वविद्यालयमा कसरी प्राज्ञिक वातावरण बनाउन सक्छन् ? यसमा स्वच्छ वातावरण हुनै सक्दैन,’ उनी भन्छन् । उनी प्रतिस्पर्धाबाट उत्तम व्यक्तिलाई छनोट गर्नु पर्ने बताउँछन् । राजनीतिक पहुँचका आधारमा उपकुलपति छनोट गर्दा त्यसले सिंगो विश्वविद्यालयको छवि माथि नै प्रश्न उठ्ने धारणा उनको छ । ‘छनोट समितिले सत्ताको ग्यालरीबाट आएका नामहरूलाई प्रस्ताव गरेको देखियो, यो प्रक्रिया नै स्वच्छ, स्वतन्त्र र निस्पक्ष भएन,’ उनी भन्छन्, ‘योग्य, विवादरहित र स्वच्छ छवि भएको उम्मेदवारलाई छनोट समितिले छनोट गर्नुपर्छ, यो छनोट समितिको क्षमता परीक्षण गर्ने समय पनि हो,’ उनले भने । एक पटक उपकुलपति भएर धेरै विवादमा परेकोलाई पुनः उपकुलपतिका लागि छनोट गर्दा शिक्षा क्षेत्र नै पतनको बाटोमा जाने र सिंगो विश्वविद्यालयको छवि धमिलो हुन सक्ने तर्क उनको छ । उनी भन्छन्, ‘उपकुलपति एउटा प्राज्ञिक व्यक्ति हुनुप¥यो, शिक्षा क्षेत्रमा ठूलो योगदान भएको हुनुप¥यो, जसको चरित्र, नैतिकताबारे कहीँ पनि प्रश्न र विवाद उठेको हुनु हुँदैन ।’