प्रेममा पनि आर्थिक मन्दी, ‘युवा विदेशिए, बुढापाकालाई के भ्यालेन्टाइन्स-के रोज डे’

काठमाडौं । प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे नजिकिँदै छ । फेब्रुअरी १४ मा पर्ने प्रणय दिवस आउनुअघि विभिन्न दिवस (डे) मनाउने गरिन्छ । प्रेम दिवसको सुरुको दिन आज बुधबार (फेब्रुअरी ७ तारिख) प्रेमिप्रेमिकाले रोज डे मनाउँदैछन् । पश्चिमा संस्कृति भए पनि यस्ता दिवसले पूर्वीय संस्कृतिमा पनि राम्रै प्रभाव पारेको छ । आज रोज डेका दिन प्रेमी प्रेमिकाले एकापसमा गुलाफको फूल साटासाट गरेर थप प्रेमिल अनुभूति गर्ने गर्छन् । तर, तिनै गुलाफ फूलहरूको खरिद/बिक्री गर्ने व्यवसायी भने यस पटकको प्रेम दिवसमा खासै चहलपहल नभएको भन्दै चिन्तामा छन् । काठमाडौं कमलादीस्थित एक फूल पसलको बाहिर पेटीमा एक अर्धबैंसे महिला एउटा बकेटभरि राता गुलाफका फूल लिएर उभिरहेकी छिन् । उनले त्यही पेटी भएर हिँडिरहेका एकजना युवा पैदल यात्रुलाई रोक्दै भनिन्, ‘तपाईंको प्रेमिकाका लागि एउटा गुलाफ लैजानुस् न !’ ती युवक मुस्कुराउँदै सरासर आफ्नो बाटो लागे । उनले फेरि भनिन्, ‘८० रुपैयाँमा दिँदा पनि अहिलेसम्म पाँच वटा गुलाफ बेच्न सकिएन, साँच्चिकै प्रेममा पनि मन्दी लाग्यो कि क्या हो !’ कमलादीमा २० वर्षदेखि ड्याफोडिल फ्लावर सप सञ्चालन गरिरहेका सुनिल तामाङ कोरोनापछि फूलको कारोबार राम्ररी अघि बढ्न नसकेको बताउँछन् । ‘प्रेम दिवस सप्ताहको पहिलो दिन ‘रोज डे’ मा पनि गुलाफको फूल बिक्री राम्रो छैन, सामान्य मात्रै छ,’ उनी भन्छन्, ‘एउटा फूलको ८० देखि १ सय ५० रुपैयाँमा बेचेका छौं, ग्राहकले बुकेट कस्तो माग गर्नुहुन्छ त्यसैअनुसार मूल्य निर्धारण हुन्छ । धेरै महँगो भनेको ३ हजार रुपैयाँसम्मको बन्छ ।’ उनका अनुसार अघिल्ला वर्षहरूमा विशेषगरी फूल किन्ने ग्राहक कलेजका विद्यार्थी र युवापुस्ता हुन्थे । अहिले १२ पास गरेपछि युवाहरू देश बस्न छाडे । भएकालाई पनि आर्थिक मन्दी छ भनिरहेका छन् । ‘देशमा आर्थिक मन्दी छ, त्यसकै प्रभाव पनि हो कि,’ उनी भन्छन्, ‘विगतका वर्षमा मध्याह्न १२ बजेसम्म २० देखि २५ हजार रुपैयाँको कारोबार हुन्थ्यो, आज त त्यस्तै ७ देखि ८ हजार रुपैयाँमात्रै भएको छ, साँझसम्म हेरौं कस्तो अवस्था रहन्छ ।’ त्यस्तै, अर्का व्यवसायी राजु तामाङ अहिले हरेक वस्तु धेरै अनलाइनबाटै बिक्री हुने भएकाले सटर व्यवसायमा खासै कारोबार नहुने बताउँछन् । ‘बिहानैदेखि सटर खोलेको हो, फूल बिक्री भएको छैन,’ उनी भन्छन्, ‘बिहान व्यापार भएन भने साँझ हुन्छ भन्ने होइन, मान्छेसँग पैसा छैन भन्छन्, विलासी वस्तुमा खर्च कटौती गरेर फूल बिक्री नभएको हुनुपर्छ, पैसा हुनेलाई त केही समस्या छैन, मध्यम वर्गीयले पनि खर्चको सीमा तोक्न थाले ।’ त्यस्तै, कमलादीमै २५ वर्षदेखि फूल पसल सञ्चालन गरिरहेकी कलंकीकी सबनम श्रेष्ठ युवापुस्ता विदेशिएका कारण पनि ‘रोज डे’ मा पहिलाको तुलनामा बिक्री घटेको बताउँछिन् । ‘युवापुस्ता विदेशिए, अब बुढापाकालाई के प्रेम दिवस, के रोज डे, बिक्री त घट्ने नै भयो,’ उनी भन्छिन्, ‘अब सांसद आरजु देउवाले त छोराको बिहेमा फूलमाला नल्याउनू भनेर उर्दी गर्नुभयाे, विवाह व्रतबन्धमा त फूलको प्रयोग कम हुन थाल्यो भनेपछि अरू बेला के होला र !’ नेपाली बजारमा ‘प्रपोज डे’ देखि ‘भ्यालेन्टाइन्स डे’ मा पनि गुलाफको फूलको अधिक माग हुन्छ । बजारमा व्यवसायीहरूले फूल बिक्री राम्रो नभएको बताए पनि फूल (पुष्प) व्यवसायीहरूको छाता संस्था फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले भने यो प्रेम दिवसमा करिब साढे ३ लाख स्टिम गुलाफको फूल खपत हुने जनाएको छ । गत वर्ष २ लाख ८० हजार गुलाफको फूल भारतबाट आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७० हजार फूलको माग बढी छ । साढे ३ लाख स्टिम गुलाफको फूल खपत हुने भए पनि अहिलेसम्म भारतबाट आयात रोकिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए । ‘वैध हिसाबले फूल आयात भएको छैन, अवैध हिसाबले चाहिँ आयात भइरहेको छ,’ उनले भने, ‘कति आयात भयो भन्ने यकिन तथ्यांक नै छैन यसपालि हामीसँग ।’ तामाङका अनुसार भारतबाट आयात हुने गुलाफ १६ वटा रोग किरा फ्री हुनुपर्छ । ‘प्लान्ट क्वारेन्टाइनले एउटा रिक्वायरमेन्ट बनाएको छ, त्यो रिक्वायरमेन्ट भारतले पूरा गर्न नसक्ने रहेछ,’ अध्यक्ष तामाङले भने, ‘त्यो प्रक्रिया पूरा नगरी वैधरूपमा आयात हुन सक्दैन । व्यापारीहरूले कसरी फूल ल्याइरहेका छन् त्यो थाहा छैन । तर, बजारमा फूल देखिएको छ ।’ तामाङका अनुसार नेपालको खुला सीमानाका कारण सजिलै फूल नेपाल भित्रिएको छ । तर, कति फूल भित्रिएको छ भन्ने यकिन तथ्यांक फ्यानसँग छैन । फूलको गुणस्तरअनुसार प्रतिस्टिम (डाँठसहित) ६० देखि १ सय रुपैयाँसम्म बिक्री हुने गरेको छ । एउटा गुलाफ १ सय रुपैयाँमा बिक्री गर्दा ३ लाख ५० हजार फूलको मूल्य ३ करोड ५० लाख रुपैयाँ हुन आउँछ । फ्यानका अनुसार आयातित गुलाफको फूलमध्ये ७० प्रतिशत काठमाडौं उपत्यकामा खपत हुने र बाँकी बाहिरी जिल्लामा खपत हुन्छ । यो वर्ष पनि ९० प्रतिशत गुलाफको फूल आयात हुने उनले बताए । यसपालि धेरै चिसो भएको र गुलाफ उत्पादनमा कमी भएकाले मागको १० प्रतिशत मात्रै देशको उत्पादनले धान्ने उनको भनाइ छ । ‘अहिले माघमा एकदमै चिसो बढ्यो,’ उनले भने, ‘हाम्रो उत्पादन पनि कम छ, गत वर्षको हाराहारी नै कारोबार हुने अनुमान हाम्रो छ ।’ नेपालमा १० हजार हेक्टरमा गुलाफको फूल उत्पादन हुने एसोसिएसनले जनाएको छ । नेपालको उत्पादनले चैतदेखि मंसिरसम्म पुग्ने तामाङले बताए । नेपालमा केही क्षेत्रमा हाइटेक शैलीमा गुलाफकोफफूल खेती गरिए पनि अधिकांश क्षेत्रमा परम्परागत शैली कायमै रहेकाले उत्पादन नबढेको फ्यानका अध्यक्ष तामाङ बताउँछन् । यसपालि माघ महिनामा धेरै चिसो बढेको हुँदा गुलाफको फूल उत्पादन १० प्रतिशतमात्रै भएको उनको भनाइ छ ।

अब व्यवसाय गर्न घरजग्गा धितो राख्न नपर्ने, राष्ट्रिय वाणिज्य बैंकले बिनाधितो २५ लाख ऋण दिने

काठमाडौं । अहिलेसम्म तपाईं हामीले सुन्दै आएको शब्द ‘धितो’ भनेको कुनै निश्चित वस्तुलाई उचित मूल्यांकनसहित बैंक तथा वित्तीय संस्थामा राख्नु हो । सो वस्तुलाई बैंकमा राखेर ऋणीले ऋण लिन्छ र ऋण तिर्न नसकेमा ऋणदाताले सो वस्तुलाई लिलाम गरेर ऋण असुल्छ । त्यो वस्तु सुन होस्, घरजग्गा होस्, सेयर होस् वा कुनै अन्य वस्तु नै । हामी यिनै वस्तुलाई धितोका रुपमा बैंकमा राखेर कर्जा लिन्छौं । तर, अब तपाईं हामीमा भएको ‘आइडिया’लाई पनि धितोमा राख्न पाइने भएको छ । यदि तपाईंसँग कुनै नयाँ आइडिया छ भने त्यो आइडियालाई बैंकमा धितोका रुपमा राखेर बैंकबाट २५ लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । त्यो सुविधा पाइनेछ राष्ट्रिय वाणिज्य बैंकबाट । राष्ट्रिय वाणिज्य बैंकले अब ‘स्टार्टअप’ कर्जा दिने अन्तगर्त २५ लाख रुपैयाँ ऋण दिलने भएको हो । अबदेखि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सिफारिसमा स्टार्ट अप कर्जा राष्ट्रिय वाणिज्य बैंकले दिने भएको हो । बुधबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका उद्यमीलाई परियोजना÷व्यवसाय विस्तार र दीगो सञ्चालन गर्नका लागि स्टार्टअप कर्जा दिइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले तयार गरेको स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८० अनुसार बैंकिङ प्रक्रियामार्फत स्टार्टअप उद्यम कर्जा दिने समझदारीमा उल्लेख छ । कर्जा लगानीको लागि वित्तीय स्रोतअन्तर्गत कर्जाको लागि वित्तीय स्रोत समझदारीपत्र अनुसारको स्टार्टअप उद्यम कर्जा प्रदान गर्न र निक्षेप तथा कर्जा सुरक्षणका लागि प्रतिष्ठानले बैंकलाई कर्जा सुरक्षणका लागि हाललाई २४ करोड २५ लाख रकम उपलब्ध गराउने उल्लेख छ । कर्जाको सेवा शुल्क र ब्याजदर सेवा शुल्क र कार्यविधबमोजिम हुनेछ । कार्यविधिअनुसार तीन प्रतिशत ब्याज तोकिन सक्ने व्यवस्था छ । बैंकले कर्जा प्रवाह गर्दा स्वीकृत व्यवसाय वा परियोजना नै धितोका रूपमा राख्नेछ । त्यस्तो व्यवसाय वा परियोजनाको बिमा उद्यमी आफैंले गर्नु पर्नेछ । कुनै उद्यमीले किस्ता अवधिअगावै कर्जा चुक्ता गर्न चाहेमा अतिरिक्त शुल्क लाग्ने छैन । तोकिएको भाखाभित्र कर्जाको साँवा र ब्याज भुक्तान नगरेमा बैंकले खराब कर्जामा गणना गरी चुक्ता गर्न बाँकी रकम असुल उपर गर्नेछ । समझदारी पत्रका अनुसार बैंकले कृषि तथा पशुपन्छीसँग सम्बन्धित, वन पैदावारसँग सम्बन्धित, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित, विज्ञान, प्रविधि, सूचना तथा सञ्चारसँग सम्बन्धित, मानव स्वास्थ्य सेवासँग सम्बन्धित, शिक्षा तथा शिक्षण सिकाइसँग सम्बन्धित, अटोमोबाइल सम्बन्धित, परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रिया सुधारसँग सम्बन्धित, घरायसी वा दैनिक जीवनयापनसँग सम्बन्धित,खाद्य उत्पादन तथा प्रशोधनसँग सम्बन्धित, सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिन सकिनेछ । चालु आवको बजेटमा सुरुवाती चरणमा देशभर रहेका १०० स्टार्टअपलाई समेट्ने गरी बजेट विनियोजन गरिएको थियो ।

किन निरन्तर घटिरहेको छ चीनको सेयर बजार ?

काठमाडौं । चीनको सेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताको निद्रा हराएको छ । तीन वर्षमा चीनको सेयर बजार पुँजीकरण ७ ट्रिलियन डलरकाे गिरावट आएको हो । यो गिरावटपछि चीनको बजार नियामक पनि सक्रियरूपमा काम गर्न लागेको छ । बजारको मनोबल बलियो बनाउन चिनियाँ बजार नियामकले बजार हेरफेर, गलत सर्ट सेलिंग र वित्तीय अपराध रोक्न नियम परिवर्तन गर्ने गर्ने बताइसकेको छ । चीनको सेयर बजारको नियामकले सेयरधितो सम्बन्धी नीति पनि परिवर्तन गरिने जनाएको छ । फेब्रुअरी २०२१ मा नयाँ उचाइमा पुगेपछि चीनको सेयर बजार लगातार घटिरहेको छ। सन् २०२४ को सुरुवातमै बजार नाजुक अवस्थाबाट गुज्रिरहेकाे छ । सबैभन्दा बढी गिरावट मिडक्याप र स्मलक्यापमा देखिएको छ । घरजग्गामा मन्दी चीनको घरजग्गा क्षेत्रको देखिएको संकट र देशको अर्थतन्त्रमा देखिएको सुस्सताले त्यहाँको सेयर बजारमा पनि असर गरिरहेको छ । अमेरिकासँगको चिसिदाने सम्बन्ध पनि सेयर बजार घट्नुको कारण रहेको जानकारहरूको भनाइ छ । यस्तो अवस्थामा सेयर बजारबाट घाटा बेहोरेका लगानीकर्ताले अमेरिकी दूतावासको ब्लग एकाउन्ट र अन्य सामाजिक सञ्जालमार्फत निराशा र असन्तुष्टि व्यक्त गरिरहेका छन् । सेयर बजारमा आएको यो गिरावटबाट चिन्तित चीनले अर्थतन्त्रमा विश्वास जगाउन र सेयर बजारमा लामो मन्दी आउन नदिन निरन्तर प्रयास गरिरहेको बताएको छ । तर, चीनको अर्थतन्त्रमा यति धेरै छिद्रहरू छन् कि ती भर्ने सबै प्रयासहरू अपर्याप्त साबित भइरहेका छन् । आर्थिक वृद्धिको कमजोर अनुमानले सेयर बजारमा प्रभाव अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान अनुसार चीनको वृद्धिदर सन् २०२३ मा ५.२ प्रतिशतबाट घटेर ४.६ प्रतिशतमा सीमित हुनेछ । यदि यो अनुमान सही साबित भयो भने यो विगत १० वर्षमा चीनको अर्थतन्त्रको सबैभन्दा खराब हुनेछ। २०२८ सम्म यो ३.५ प्रतिशतमा झर्न सक्ने अनुमान गरिएकाे छ। यही डरले चीनको सेयर बजारमा गिरावट आएको बुझाइ विश्लेषकहरूको छ । यो साता चीनको सेयर बजार शाङ्घाई कम्पोजिट सूचकांकमा ६.२ प्रतिशतले गिरावट आएको छ, जुन अक्टोबर २०१८ पछिको सबैभन्दा ठूलो  गिरावट हो । यो वर्षको सुरुदेखि नै यो परिसूचक ८ प्रतिशतभन्दा बढीले घटेको छ । जहाँ शेन्जेन कम्पोनेन्ट इन्डेक्स ८.१ प्रतिशतले घटेको छ र यो ३ वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो । र, यो वर्षको सुरुदेखि अहिलेसम्म यो सूचकांक १५ प्रतिशतभन्दा बढीले घटेको छ । सबैभन्दा खराब हप्ता  यो साता चीनको अर्थतन्त्रका लागि निकै खराब भएको छ । हप्ताको सुरुवात विश्व र चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी एभरग्रान्डको आसन्न बिक्रीबाट भएको थियो । हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको थियो । यो संसारको सबैभन्दा ठूलो ऋणमा डुबेको घर जग्गा विकासकर्ता हो। हङकङको अदालतले एभरग्रान्डलाई उसको ३०० अर्ब डलरको ऋण तिर्न बेच्न आदेश दिएको छ । चीनको दोस्रो ठूलो कम्पनी कन्ट्री गार्डेन डिफल्टर बनेको छ । यससँगै चीनको सम्पत्ति बजारमा संकट गहिरिएको छ । यस घरजग्गा संकटले विकासकर्तालाई ऋण दिने बैंकहरू पनि समस्यामा पर्न सक्ने डर बढ्दै गएको छ । यस्तो अवस्थामा चीनको अर्थतन्त्रको एक चौथाइ हिस्सा ओगटेको चीनको घर जग्गा क्षेत्रको संकटले त्यहाँका नीति निर्माताहरूलाई असर गरेको छ । पहिले नै संकटग्रस्त घरजग्गा क्षेत्रलाई चीनको कमजोर अर्थतन्त्रको लागि दोष दिइन्छ । यस्तो अवस्थामा चीन सरकारका लागि घरजग्गा क्षेत्र बचाउनु निकै महत्वपूर्ण छ । चीनको रियल इस्टेट क्षेत्रको अवस्था यति दयनीय बनेको छ कि यहाँ लाखौं फ्ल्याटहरू खाली छन् । यी फ्ल्याटहरूमा बस्न कोही पनि तयार छैनन् । यस्तो अवस्थामा कम्पनीहरूले घर बेच्न अनौठो अफर दिन थालेका छन् । चीनमा ग्राहकको पर्खाइमा रहेका रियल स्टेट कम्पनीले घरको मूल्य घटाउन थालेका छन् । बजारमा माग कम र आपूर्ति बढी भएकाले घरको भाउ घटेको हो । चीनका चार ठूला सहरमा घरको मूल्य १४ प्रतिशतले घटेको छ । नयाँ घरको बिक्री पनि ६ प्रतिशतले घटेको छ । २०२०–२३ को बीचमा घरजग्गा विकासकर्ताहरूको डिफल्ट १२५ अर्ब डलर नाघेको छ। चीनमा ५० भन्दा बढी विकासकर्ताहरू पतनको कगारमा छन् । जग्गा बिक्रीबाट आम्दानी गर्ने चीनमा स्थानीय सरकारको ऋण ८०० अर्ब डलर नाघेको छ । चीनका ७० सहरमा हरेक महिना घरको मूल्य घटिरहेको छ । चीनको विकासदरलाई लिएर पनि प्रश्न उठिरहेको छ । चीनको हरेक क्षेत्रमा यति खराब अवस्था छ भने ५.२ प्रतिशतको दरले विकास कसरी हुन्छ ? भनेर प्रश्न पनि उठिरहेको छ । विगत ४० वर्षमा चीनको वृद्धि लगानी, आन्तरिक उपभोग र निर्यातका कारण भएको हो। तर, कोभिड–१९ पछि यी तीनै ठाउँमा चीनको स्थिति कमजोर भएको छ । घरजग्गा क्षेत्रलगायत चीनका धेरै ठाउँमा जुन प्रकारको अवस्था आएको छ, त्यसले ५.२ प्रतिशतको दरले वृद्धि हुने देखिएको छैन । बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा चीनका करिब ३० करोड जनता ऋणी हुने सम्भावना छ । घरजग्गा क्षेत्र संकटबाट बाहिर आउन १० वर्ष लाग्ने भएकाले भविष्यमा स्थितिमा सुधार आउने आशा छैन । ‘वुल्फ वारियर डिप्लोमेसी’का कारण चीनलाई विकसित मुलुकसँग व्यापार गर्न गाह्रो भइरहेको कारण निर्यातमा कमी आएको हो । एजेन्सी