बैंकले सस्तो ब्याजमा घरकर्जा बढाउँदै, ३ खर्ब लगानी
काठमाडौं । वाणिज्य बैंकहरूले घरकर्जा बढाएका छन् । प्रत्येक महिना वाणिज्य बैंकबाट प्रवाह हुने घर कर्जाको परिमाण बढ्दै गएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूले माघ महिनामा कुल ३ खर्ब ५ अर्ब ५१ करोड १० लाख रुपैयाँ होम लोन प्रवाह गरेका छन् । घर कर्जाको परिमाण् बढ्दै जाँदा कर्जाको ब्याजदर भने घट्दै गएको छ । माघमा बैंकहरूले औसत ११.६७ प्रतिशत ब्याजमा कर्जा प्रवाह गरेका छन् । यस्तै, पुसमा बैंकहरूले औसत ११.७४ प्रतिशत ब्याजदरमा ३ खर्ब ६१ करोड १ करोड, मंसिरमा १२.११ प्रतिशत ब्याजमा ३ खर्ब ४ अर्ब ३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कात्तिकमा औसत १२.३१ प्रतिशत ब्याजमा ३ खर्ब ३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ, असोजमा १२.३८ प्रतिशत ब्याजमा ३ खर्ब २ अर्ब ११ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै, भदौमा औसत १२.०७ प्रतिशत ब्याजमा २ खर्ब ९३ अर्ब ६७ करोड ५० लाख, साउनमा ११.९७ प्रतिशत ब्याजमा २ खर्ब ८८ अर्ब ६५ करोड २० लाख र असारमा औसत १२.४३ प्रतिशत ब्याजमा २ खर्ब ६४ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए ।
सरकारको ८ महिनामा खर्च र आम्दानी लक्ष्यको ४५ प्रतिशत मात्रै
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव)को ८ महिनामा लक्ष्यको ४५.०८ प्रतिशत राजस्व आम्दानी गरेको छ भने खर्च पनि ४५.७७ प्रतिशत गरेको छ । चालु आवको ८ महिना अवधिमा सरकारले ६ खर्ब ६३ अर्ब ८३ करोड ३२ लाख ९० हजार आम्दानी गरेको छ भने खर्च ८ खर्ब १ अर्ब ५८ करोड २८ लाख रुपैयाँ गरेको छ । सरकारले चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ राजस्व आम्दानीको लक्ष्य निर्धारण गरेको थियो भने १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर, चालु आवको ४ महिना अवधि मात्रै बाँकी रहँदा सरकारले लक्ष्यको ४५ प्रतिशत मात्रै आम्दानी र खर्च गर्न सकेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सरकारले चालु आवको ८ महिना अवधिमा कर आम्दानीमार्फत ५ खर्ब ७८ अर्ब ६७ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ भने गैरकर आम्दानीमार्फत ६० अर्ब ३७ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै समीक्षा अवधिमा सरकारले अनुदानबापत २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । जबकी चालु आबमा सरकारले अनुदानबापत ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार विगतमा जस्तै चालु आवमा पनि सरकारको पुँजीगत खर्च क्षमता निकै कमजोर देखिएको छ । चालु आवमा सरकारले ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा हालसम्म जम्मा ८१ अर्ब २१ करोड ४८ लाख रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ । जुन पुँजीगत खर्च लक्ष्यको २६.८९ प्रतिशत मात्रै हो । तर, साधारण खर्चतर्फ भने सरकारले चालु आवमा लिएको लक्ष्यको ५०.९८ प्रतिशत खर्च गरेको छ । त्यस्तै समीक्षा अवधिमा वित्तीय व्यवस्थातर्फ सरकारले लक्ष्यको ४४.९७ प्रतिशत अर्थात १ खर्ब ३८ अर्ब २५ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ ।
सेबोनको अध्यक्ष बन्न चापागाईंसहित १९ जनाको आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका छन् । बुधबार अन्तिम दिनसम्म तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंसहित १९ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा धितोपत्र बोर्डका निमित्त प्रमुख डा. नवराज अधिकारी, कार्यकारी निर्देशक कृष्णराज पोख्रेल, कार्यकारी निर्देशन मुक्तिनाथ श्रेष्ठ रहेका छन् । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्की, नेपाल बैंकका पूर्व सीईओ कृष्ण बहादुर अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, बोर्डका पूर्व कार्यकारी निर्देशक नीरज गिरी, डा।केशब प्रसाद श्रेष्ठ, मुक्ति अर्याल, नेप्सेका पूर्व सीईओ सिताराम थपलिया, बिमल तिवारि, प्रविण पन्दाक, रघु काफ्ले लगायतले आवेदन दिइएका हुन् । सन्तोष नारायण श्रेष्ठ, सुर्य प्रसाद अधिकारी, रामदेव यादव, राम कृष्ण खतिवडा र खगेन्द्र कटुवालले पनि धितोपत्र बोर्डको अध्यक्ष बन्न आवेदन दिएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति छ । यस समितिले आवेदन दिएकामध्ये ५ जनाको नाम सर्ट लिष्ट गर्नेछ । ५ जनाको प्रस्तुती र अन्तवार्तापछि ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गर्नेछ । गत फागुन १६ गते धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।