
काठमाडौं । फागुन महिनामा वैदेशिक लगानीको प्रतिबद्धतामा उच्च अंकले वृद्धि भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनामा नेपालमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको नयाँ उद्योग तथा व्यवसाय स्थापना वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । जबकी अघिल्लो माघ महिनामा जम्मा ३४ करोड ५० लाख रुपैयाँ मात्रै नयाँ लगानीको क्षेत्रमा लक्षित गरेर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो ।
विभागका अनुसार फागुन महिनामा १२ वटा विभिन्न क्षेत्रमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । माघ महिनामा १५ वटा नयाँ लगानीको क्षेत्रमा यस्ताे प्रतिबद्धता आएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिना यता फागुनमा आएको वैदेशिक लगानीको प्रतिबद्धताको अंक सबैभन्दा धेरै हो ।
फागुन महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रका ५८ प्रतिशत, म्यानुफ्याक्चरिङ क्षेत्रमा १७ प्रतिशत, सेवा क्षेत्रमा १७ प्रतिशत र पूर्वाधारको क्षेत्रमा ८ प्रतिशत लगानीक प्रतिबद्धता आएको विभागले जनाएको छ । फागुन महिनामा आएका वैदेशिक लगानीका प्रतिबद्धता भने साना उद्योग लक्षित मात्रै रहेका छन् ।
नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले चालु आर्थिक वर्षको फागनु मसान्तसम्ममा रोयल्टी र लाभांश वापत ८ अर्ब ५० करोड ६६ लाख ७ हजार ९१५ रुपैयाँ लगेका छन् । यस्तो रोयल्टी र लाभांश गत आवको सोही अवधिमा कम्पनीहरुले १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ रुपैयाँ लगेका थिए । तथ्यांकअनुसार नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुको रोयल्टी र लाभांश स्वीकृति गत आर्थिक वर्षको तुलनामा झण्डै अर्ब रुपैयाँले घटेको देखिएको छ ।
विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा वैदेशिक लगानीकर्ताहरुको आकर्षणमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा १५९२ जना वैदेशिक लगानीकर्ताहरुले लगानीको प्रतिबद्धता जनाएका छन् भने अघिल्लो आवको सोही अवधिमा जम्मा १०६९ जनाले त्यस्तो प्रतिबद्धता जनाएका थिए ।
विभागका अनुसार अहिलेसम्म नेपालमा ६११२ वटा विभिन्न विदेशी कम्पनीहरुले ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख ३८ हजार ३०५ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।