सौर्य एयरले हटाएको थियो तीन दर्जन कर्मचारी, नेपाली बैंकले नपत्याएपछि विदेशीलाई गुहार्दै थियो ऋण
काठमाडौं । बुधबार दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका मालिक ठूलो आर्थिक संकटमा परेको विषय विकासन्युजले यसअघि पनि प्रकाशित गरिसकेको थियो । सौर्य एयरका अध्यक्ष दिपक पोखरेल आर्थिक संकटमा परेर व्यवाय नै अगाडि बढाउन नसक्ने अवस्थामा पुगेको बुझिएको छ । जेट जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयर विगत दुई÷तीन वर्षदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको बुझिएको छ । मेडिकल व्यवसायीका रुपमा रहेका पोखरेल नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण नदिएपछि विदेशी कम्पनीसँग ऋण मागेका पनि बुझिएको छ । यसअघिको समाचार तयार पार्दा सौर्य एयरका उपमहाप्रबन्धक उमेश आचार्यले नेपाली बैंक तथा वित्तीय संस्थाहरुले आफूहरुलाई नपत्याएको गुनासो गरेका थिए । जहाजको सञ्चालन खर्च महँगो भएपछि एटीआर जहाज ल्याउने तयारी थालिएको पनि उनले बताएका थिए । ‘अहिले हामीलाई नेपालका बैंक तथा वित्तीय संस्थाले ऋण उपलब्ध गराएका छैनन्, नेपाली बैंकबाट ऋण नपाएपछि हामीले अन्तर्राष्ट्रिय कम्पनी मार्फत नै ऋणमा एटीआर जहाज ल्याउने तयारी थालिसकेका छौँ ।’ निजी क्षेत्रका अन्य वायुसेवा कम्पनीले समेत विदेशी कम्पनीसँग ऋण लिएको भन्दै सौर्यले त्यसको सिको गर्दै ऋण लिने तयारी गरेको थियो । तर, बैंकले ऋण नदिएको बुझिएको छ । अध्यक्ष पोखरेल अहिले भद्रपुरको पाथीभरा अस्पतालका सञ्चालक हुन् भने झापाका विभिन्न ठाउँमा चिया बगान समेत सञ्चालन गर्दै आएका छन् । खर्च धान्न नसकेपछि कर्मचारी कटौती तीन वर्षदेखि कम्पनी नोक्सानीमा सञ्चालित भएको भन्दै सौर्यले ३४ जना कर्मचारीलाई हटाएको पनि थियो । कम्पनीले धेरै कर्मचारी भएको भन्दै ३४ जना कर्मचारीलाई हटाएको थियो । जसमा २ जना क्यापटेन, ३ जना इन्जीनियर र बाँकी मार्काेटीङका कर्मचारीहरु रहेको एयरलाइन्सले जनाएको छ । ‘अरु वायुसेवा कम्पनीले सञ्चालन गरेको भन्दा हाम्रो जहाजको उडान खर्च नै बढी हुन्छ, लामो समयदेखि नोक्सानीमा उडान हुँदै आएपछि धेरै भएका कर्मचारी कटौती गरिएको हो,’ एयरलाइन्सका उपमहाप्रबन्धक उमेश आचार्यले भनेका थिए । उनका अनुसार कम्पनीले हाल सञ्चालित सिआरजे जहाज फेजआउट गरेर एटीआर जहाज भित्र्याउने तयारी गरेको थियो । ‘हामीले एटीआर जहाज ल्याउने तयारी सुरु गरिसकेका छौँ, एटीआर ल्याएपछि थप कर्मचारी आवश्यक पर्ने भन्दै भएका कर्मचारी कटौती गरिएको थिएन, तर जहाज आउन केही समय लाग्ने भएपछि पछि राख्ने शर्तमा कर्मचारी कटौती गरिएको हो’, उनले भनेका थिए । स्रोतका अनुसार सौर्य एयर बन्द हुनेसम्मको हल्ला बजारमा चलेको थियो ।
सौर्य एयरको बीमा प्रभुमा, ३० करोडसम्म दाबी आउन सक्ने, विदेशबाट आउँदै सर्भेयर
काठमाडौं । बुधबार त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको सौर्य एयरलायन्सको बीमा प्रभु इन्स्योरेन्समा गरेको पाइएको छ । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्चित बज्रचार्यका अनुसार सौर्य एयरका सबै विमानको बीमा प्रभु इन्स्योरेन्समा गरिएको छ । विमान दुर्घटनाको सबै विवरण आउन बाँकी रहेकाले दाबी भुक्तानी कति आउँछ भन्ने विषय यकिन हुन बाँकी छ । तर, प्रारम्भिक अनुमानका आधारमा ३० करोड रुपैयाँसम्म बीमा दाबी भुक्तानीको फाइल आउन सक्ने सीईओ बज्राचार्यको भनाइ छ । यस बीमा पोलिसीको विदेशी कम्पनीमा पुनर्बीमा गरिएको हुँदा प्रभु इन्स्योरेन्सलाई धेरै भुक्तानी दायित्व नपर्ने उनले बताए । ‘ठ्याक्कै तथ्याङ्क अहिले नै भन्न सकिँदैन, किनभने दुर्घटनामा भएको क्षतिको सबै विवरण आउन बाँकी छ । तर, करिब ३० करोड रुपैयाँसम्म दाबी गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘यो सबै भुक्तानीको दायित्व प्रभु इन्स्योरेन्सलाई भार पर्दैन, प्रभुको भुक्तानी दायित्व ०.३ प्रतिशत मात्रै पर्न सक्छ ।’ विमानको दुर्घटनाको जानकारी पाएका र दाबी भुक्तानीका लागि कम्पनीले प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले बताए । सातै विमान दुर्घटनामा भएको क्षतिको विवरण संकलनका लागि विदेशबाट सर्भेयर बोलाउने उनको भनाइ छ । जहाज दुर्घटना र यात्रुहरूको बीमा कभर सोही बीमा पोलिसीमा हुने उनले बताए । ‘मृतक व्यक्तिले कति रकम पाउँछन् भनेर सबै विवरण कम्पनीले बीमा पोलिसी चेकजाँच गरिरहेको छ, कम्पनीले बीमा गरेवापत तीन/चार करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गर्छ, यसमा अन्य तीन/चार वटा विमानको पनि बीमा गरिएको हुन्छ,’ उनले भने । बुधबार सौर्य एयरको विमान दुघर्टनामा परेर १८ जनाको मृत्यु भएको छ । जहाज मर्मतका लागि पोखराको उड्दै लाग्दा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको हो । नागरिक उडड्यन प्राधिकरणले विज्ञप्ति जारी गर्दै १८ जनाको शव संकलन गरिएको र एक जना घाइतेलाई उद्धार गरि अस्पताल लगिएको जानकारी दिएको छ ।
पाइलट शाक्यको होस आयो, गत वर्ष पाएका थिए युवा अपरेसन डाइरेक्टरको अवार्ड
काठमाडौं । बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । जहाज दुर्घटनामा परेलगत्तै पाइलट शाक्यको उद्धार गरी केएमसी अस्पतालमा पुर्याइएको थियो । अस्पतालले दिएको जानकारी अनुसार उनको निधारमा काटिएकाे छ भने टाउकोमा गहिरो चोट लागेको छ । अहिले पाइलट शाक्य होसमा आएको र परिवारका सदस्यसँग कुराकानी गरिरहेको अस्पताल स्राेतलेले जानकारी दिएकाे छ । चालक दलका सदस्यसहित १९ जना सवार सौर्य एयरलाइन्सको ९ एन एएमई जहाज बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको थियो । उक्त जहाज प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । पाइलट शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसनसमेत हुन् । सन् २००९ मा नागरिक उड्डयन प्राधिकरणबाट को-पाइलटको लाइसेन्स पाएका उनले गुण (अहिलेको सिम्रिक) एयरलाइन्समा को-पाइलटकै रूपमा काम थाले । उनले उक्त एयरलाइन्समा सन् २०१४ सम्म काम गरेका थिए । त्यसपछि उनी सौर्य एयरलाइन्स गएका हुन् । सौर्य एयरलाइन्समा को-पाइलट भएको दुई वर्षपछि उनले अमेरिका गएर पाइलटको लाइसेन्स लिएका थिए । त्यसपछि सन् २०१७ देखि नै शाक्य पाइलटका रूपमा कार्यरत छन् । क्याप्टेन शाक्यले गएको वर्ष युवा अपरेसन डाइरेक्टरको अवार्ड पनि पाएका थिए ।