भदौमा बीमा प्राधिकरणले कार्यकारी निर्देशक पाउने, यी हुन् निर्देशक बन्ने मुख्य दाबेदार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ महिनाभित्र कार्यकारी निर्देशक नियुक्त गर्ने भएको छ । दुई महिनासम्म रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पद लोक सेवा आयोगबाट सहमति पाएपछि भदौभित्र नियुक्त गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । गत जेठ ११ गते कार्यकारी निर्देशक (ईडी) पदबाट राजुरमण पौडेलले अवकाश पाएपछि दुई महिनादेखि प्राधिकरण कार्यकारी निर्देशकविहीन छ । तर, त्योबेला आवश्यक प्रक्रिया नपुगेको भन्दै प्राधिकरणले कार्यकारी निर्देशक नियुक्त गर्न आनाकानी गरेको थियो । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीका अनुसार कार्यकारी निर्देशक नियुक्त गर्न लोक सेवा आयोगको सहमतिका लागि पत्र पठाइसकिएको छ । एक/दुई दिनभित्र लोक सेवा आयोगको सहमतिपत्र पाएपछि कार्यसम्पादन फाइल खोल्ने तयारी रहेको उनको भनाइ छ । ‘कार्यकारी निर्देशक नियुक्तिका लागि लोक सेवा आयोगबाट सहमति लिनुपर्ने हुन्छ, पद रिक्तबारे लोक सेवा आयोगलाई प्राधिकरणले जानकारी गराइसकेको छ, अब एक/दुई दिनभित्र सहमतिपत्र पाएपछि प्रक्रिया अघि बढ्छ,’ उनले भने । उनका अनुसार भदौमा अन्य तहका कर्मचारी पनि भर्ना गरिने भएका छन् । प्राधिकरणले रिक्त रहेका दरबन्दीमा कर्मचारी भर्ना एकैपटक नियुक्त गर्ने तयारी गरेको उनले बताए । ११४ जना कर्मचारीको दरबन्दी रहेको बीमा प्राधिकरणमा ७/८ जना कर्मचारी भर्ना गर्नुपर्ने छ । कुन-कुन पदमा रिक्त ? बीमा प्राधिकणमा अध्यक्षपछि दोस्रो वरियतामा कार्यकारी निर्देशक पद हुन्छ भने तेस्रो वरियतामा निर्देशक हुन्छ । प्राधिकरणको कर्मचारी विनियमावली, २०६८ अनुसार हाल निर्देशक रहेका व्यक्तिहरूबाटै कार्यकारी निर्देशक छनोट गर्नुपर्ने व्यवस्था छ । बीमा प्राधिकरणमा ४ जना निर्देशक रहने व्यवस्था छ । तर, गत जेठ ३२ गते दिनेशकुमार लाल अवकाश भएर बाहिरिएपछि प्राधिकरणमा हाल ३ जना निर्देशकमात्रै कार्यरत छन् । निर्देशकहरू कमलप्रसाद रेग्मी, सुशीलदेव सुवेदी र पुजन ढुङ्गेल अधिकारीमध्ये एक जना प्राधिकरणको कार्यकारी निर्देशक बन्ने छन् । यी तीन जनामध्ये एक जना कार्यकारी निर्देशक बनेपछि निर्देशक पदमा २ जना रिक्त रहनेछन् । रिक्त रहेको निर्देशक पदमा पनि आन्तरिक प्रक्रियाबाटै बढुवा गर्नुपर्ने प्रावधान छ । उपनिर्देशकमा कार्यरत वरिष्ठ उपनिर्देशकलाई बढुवा गरेर निर्देशक नियुक्त गरिनेछ । दुई जना निर्देशक बन्ने र गत जेठमा कुशुम शर्माले अवकाश पाएपछि उपनिर्देशकमा पनि ३ जनाका लागि ठाउँ खाली हुनेछ । कमर्चारीहरू लबिङ गर्दै प्राधिकरणको कार्यकारी निर्देशक (ईडी) बन्न तीन जना निर्देशकबीच प्रतिस्पर्धा हुनेछ । कर्मचारी विनियमावलीअनुसार प्राधिकरणको कार्यकारी निर्देशक बन्न कम्तीमा पाँच वर्ष निर्देशक पदमा काम गरेको अनुभव हुनुपर्छ । महिला र समावेशीको हकमा भने चार वर्ष काम गरेको भए पुग्छ । राजुरमण पौडेलले अवकाश पाउँदा कमलप्रसाद रेग्मी र पुजन ढुङ्गेल अधिकारीमात्रै कार्यकारी निर्देशक बन्ने प्रतिस्पर्धामा थिए । यदि प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले चाहेको भए पौडेलले अवकाश पाएको दोस्रो दिन नै रेग्मी र ढुङ्गेलमध्ये एक जना कार्यकारी निर्देशक बन्ने थिए । किनभने रेग्मी निर्देशक बनेको ८ वर्ष बढी भइसकेको थियो भने ढुङ्गेल महिला कोटाबाट पनि कार्यकारी निर्देशक बन्न सक्थिन् । तर, अध्यक्ष सिलवालले नचाहेका कारण विभिन्न बहाना देखाएर कार्यकारी निर्देशक नियुक्त प्रक्रिया पछि धकेलेका हुन् । अब रेग्मी र ढुङ्गेलबीचको प्रतिस्पर्धामा सुवेदी पनि थपिएका छन् । उनी प्रतिस्पर्धाको लाइनमा मात्रै नभइ अबको सम्भावित कार्यकारी निर्देशक पनि हुन् । स्रोतका अनुसार सुवेदी कार्यकारी निर्देशक बन्ने प्रबल सम्भावना छ । ‘प्राधिकरणका अध्यक्ष सिलवाल र सुवेदीको ट्यूनिङ मिल्छ, यदि प्रक्रियाअनुसार अघि बढेको भए उतिबेलै प्राधिकरणले कार्यकारी पाउँथ्यो, तर अध्यक्षज्यूको चाहना सुवेदीजीलाई कार्यकारी निर्देशक बनाउने थियो, त्यसैले त्यतिबेला विभिन्न कारण देखाएर प्रक्रिया पछि धकेल्नुभयो,’ प्राधिकरण स्रोतले दाबी गर्यो । गत साउनमा सुवेदीको पाँच वर्ष निर्देशकका रूपमा कार्यानुभव पुगेको छ । निर्देशक बन्न तीन जना प्रतिस्पर्धी प्राधिकरणको कार्यकारी निर्देशकसँगै भदौमा अध्यक्ष सिलवालले निर्देशक र उपनिर्देशक नियुक्त गर्नुपर्ने छ । रिक्त रहने दुई जना निर्देशक पदका लागि तीन जना उपनिर्देशक कुन्दन सापकोटा, ध्रुव तिमिल्सिना, शम्भराज लामिछाने प्रतिस्पर्धामा छन् । यी तीन जनामध्ये दुई जना निर्देशक बन्नेछन् । निर्देशक बन्न तीनै जना अध्यक्ष सिलवालसँग लबिङ गरिरहेको प्राधिकरण स्रोतको दाबी छ । यस्तै, दुई जना निर्देशक बन्ने र गत जेठमा शर्माले अवकाश पाएपछि उपनिर्देशक पदमा तीन जना रिक्त रहनेछन् । त्यसैले अध्यक्ष सिलवालले भदौमा उपनिर्देशक पनि नियुक्त गर्नेछन् । उपनिर्देशक बढुवाका लागि पनि चार जना मुख्य प्रतिस्पर्धामा देखिएका छन् । सहायक निर्देशक प्रदीप गौतम, शम्भु मिश्र, जमुना अर्याल आचार्य र गिता आचार्यमध्ये उपनिर्देशक बन्नेछन् । प्राधिकरणको अब बस्ने सञ्चालक समिति बैठकमा कर्मचारी नियुक्तिसम्बन्धी प्रस्ताव पेस गर्ने स्रोतले बतायो ।
भरत महर्जन र जीवी राईदेखि देव नेपालीविरुद्ध रेड नोटिस जारी, यी हुन् विदेशबाट समात्नैपर्ने १८ सहकारी सञ्चालक
काठमाडौं । सहकारी छानबिन समितिले विदेशमा रहेका भनिएका जीबी राईसहित सहकारीका १८ जना सञ्चालक तथा व्यवस्थापकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकपछि समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताए । उनले विदेश फरार रहेका व्यक्तिहरू संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि उनीहरू विदेशमा भएकाे हुँदा सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको बताए । उनले बचतकर्ताहरूको दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताए । उनले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राई, सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतमलाई स्वदेश झिकाउन निर्देशन दिएको बताए । यस्तै, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्विरण खातुन र असरफ अली, सहारा बचत तथा ऋण सहकारी र सुप्रिमका सुवास केसी, कान्तिर सहकारीका प्रेमध्वज लामा, मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको उनले बताए । अध्यक्ष थापाले भने, ‘उनीहरूलाई स्वदेश ल्याएपछि मात्र छानबिन समिति निष्कर्षमा पुग्नेछ, यसका लागि सरकारलाई आवश्यक निर्देशन दिएका छौं, यसमा गृहमन्त्रालय पनि सहमत भइसकेको छ ।’ यस्तै, बैठकले कारागारमा रहेका सहकारीका सञ्चालक तथा व्यवस्थापकसँग पनि सोधपुछ गर्ने निर्णय गरेको उनले बताए । उनले भने, ‘यसका लागि गृह मन्त्रालयलाई प्रबन्ध मिलाउन भनिएको छ ।’
राष्ट्र बैंकमा गुणाकरलाई शक्तिशाली विभाग, पौडेललाई प्रवक्ताको जिम्मेवारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका छन् । गभर्नर अधिकारीले आइतबार उनलाई अनुसन्धान विभागको जिम्मेवारी दिएका हुन् । यसअघि डा. भट्टले प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए । अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएपछि डा. भट्टलाई जिम्मेवारी दिइएको हाे। भट्टले यसअघि पनि अनुसन्धान विभागको जिम्मेवारी सम्हालिसकेका छन् । डा. भट्ट यसअघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए । भुक्तानी प्रणाली विभागमा भने वरिष्ठ निर्देशक विनोदराज आचार्यलाई कायमुकायमको जिम्मेवारी दिएको छ । यस्तै, नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल नियुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेललाई आज (साउन १४ गते) देखि लागु हुने गरी राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिइएको हो । प्रवक्ता पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तरसम्मको उपाधि हासिल गरेका छन् । साथै, उनले बैंक सुपरिवेक्षण विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् ।