लगातार दुर्घटनापछि तीन कम्पनीको उडानमा रोक, चपेटामा अन्नपूर्ण र मुस्ताङ हेलिकप्टर

काठमाडौं । हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै ती वटा हवाई कम्पनीको उडानमा रोक लगाएको छ । प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै सौर्य एयरलाइन्स, मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरलाई उडानमा रोक लगाएको हो । १५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले यी तीन कम्पनीलाई उडानमा रोक लगाएको जानकारी दिएको छ । प्राधिकरणले उडानमा रोक लगाउँदै उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको जानकारी दिएको छ । प्राधिकरणले सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम हुने कम्पनीलाई उडानमा रोक लगाएको बताएको छ । दुई साताअघि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । अहिले प्राधिकरणले सो एयरलाई उडानमा प्रतिबन्ध लगाएको हो । बुधबार पनि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । १५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले अन्नपूर्ण र मुस्ताङ हेलिकप्टरलाई पनि उडानमा रोक लगाएको छ ।

बीमा कम्पनीमा बढे कर्मचारी र शाखा, घट्यो पहुँच

काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा बीमा कम्पनीहरूको शाखा कार्यालयको संख्या बढेको छ । कार्यलयसहित बीमा क्षेत्रमा कर्मचारी संख्या पनि बढेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांकअनुसार गत आवमा बीमा कम्पनी कार्यालय संख्या ६.५३ प्रतिशतले बढेको छ । अघिल्लो आव २०७९/०८० को असार मसान्तसम्म बीमा कम्पनीहरूको जम्मा कार्यालय संख्या २ हजार ८०१ वटा रहेको थियो । यस्तो संख्या बढेर गत आवको असार मसान्तसम्म २ हजार ९८४ वटा पुगेको छ । शाखा कार्यालय जीवन बीमकको भन्दा निर्जीवनको धेरै बढेको छ । जीवन बीमकको कार्यालय २.४६ प्रतिशतले बढ्दा निर्जीवनको १३.७४ प्रतिशतले बढेको हो । अघिल्लो आवको अन्त्यसम्म जीवन बीमकको कार्यालय १ हजार ७८९ वटा तथा निर्जीवनको १ हार १२ वटा थियो । गत आवको अन्त्यसम्ममा जीवन बीमकको कार्यालय संख्या १ हजार ८३३ वटा पुगेको छ भने निर्जीवन बीमकको कार्यालय संख्या १ हजार १५१ वटा पुगेको छ । बीमा कम्पनीहरूमा कति छन् कर्मचारी ? पछिल्ले एक वर्षमा बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको संख्या ४.२८ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बीमा कम्पनीहरूमा ११ हजार २०५ जना कर्मचारी थिए । गत आवको अन्त्यमा कर्मचारी संख्या बढेर ११ हजार ६८५ जना पुगेका छन् । जीवन बीमा कम्पनीमाभन्दा निर्जीवन कम्पनीमा नै कर्मचारीको संख्या बढेको तथ्यांकले देखाउँछ । जीवनतर्फ ३.१० र निर्जीवनतर्फ ५.५० प्रतिशतले कर्मचारीको संख्या वृद्धि भएको छ । अघिल्लो आवमा जीवन बीमा कम्पनीमा ५ हजार ६८२ जना कर्मचारी थिए । गत आवको अन्त्यमा यस्तो संख्या ५ हजार ८३३ जना पुगेका छन् । निर्जीवन बीमा कम्पनीमा अघिल्लो आवको अन्त्यमा ५ हजार ५२३ जना कर्मचारी थिए । गत आवको अन्त्यमा ५ हजार ८२७ जना रहेका छन् । बीमाको पहुँच घट्यो कम्पनीको शाखा कार्यलय र कर्मचारी बढे पनि बीमाको पहुँच भने घटेको छ । प्राधिकरणका अनुसार अघिल्लो आवको अन्त्यसम्ममा ४४.३८ प्रतिशत जनसंख्यामा बीमाको पहुच पुगेको थियो । यस्तो पहुँच घटेर गत आवको अन्त्यसम्ममा आइपुग्दा ४३.२७ प्रतिशतमा ओर्लिएको छ ।

बैंकको सीडी रेसियो ६० प्रतिशतमा झर्यो, आम्दानी घट्ने चिन्तामा बैंकर

काठमाडौं । निक्षेप रकम थुप्रिँदा र कर्जा लगानी नहुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७८.५१ प्रतिशतमा झरेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को असारसम्मको तथ्याङ्क अनुसार  केही बैंकको सीडी रेसियो ६० प्रतिशत र औसत ७८.५१सम्म झरेको हो । गत वर्ष २०८०/८१ को असारसम्म वाणिज्य बैंकहरूले ५६ खर्ब ६५ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४३ खर्ब ६६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस आधारमा बैंकहरूको सीडी रेसियो औसत साढे ७८ प्रतिशतमा झरेको हो । अर्थात् बैंकहरूसँग १२ खर्ब ९९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप थुप्रिएको हो । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई सीडी रेसियोको अधिकतम सीमा ९० प्रतिशत कायम राख्नुपर्ने व्यवस्था गरेको छ । यदि सीडी रेसियो ९० प्रतिशत कट्यो (बढी) भने बैंकहरूलाई राष्ट्र बैंकले कारवाही गर्छ । तर, सीडी रेसियोको न्यूनतम सीमा भने तोकिएको छैन । गत असारसम्मको तथ्याङ्क अनुसार सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६०.८२ प्रतिशतमा झरेको छ । गत असारसम्मकाे अवधिमा यस बैंकले ४ खर्ब २९ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४८ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । तर, कर्जा लगानी गर्न नसक्दा बैंकमा १ खर्ब ८० अर्ब २७ करोड रुपैयाँ थुप्रिएको छ। बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देवेश प्रसाद लोहनीका अनुसार तीन महिनाको अवधिमा ८० अर्ब रुपैयाँ निक्षेप बढेको छ । बैंकले कर्जा लगानी गर्न नसकेकाे कारण सीडी रेसियो कम भएकाे हाे । सीडी रेसियो कम हुँदा निक्षेपतर्फको ब्याज खर्च बढ्ने र आम्दानीमा असर गर्ने उनको भनाइ छ । ‘बैशाख, जेठ र असार गरी ९० दिनको अवधिमा ७०/८० अर्ब रुपैयाँ निक्षेप बढ्यो, त्यसपछि सीडी रेसियो स्वाट्टै तल झर्याे, तीन महिनाको अवधिमा निक्षेप बढेपछि यस्तो भएको हो,’ उनले भने । चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिना सकिन लाग्दा समेत सीडी रेसियो मेन्टेन गर्न नसकेको उनको भनाइ छ । गत असारसम्म प्राइम बैंकले २ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप र १ अर्ब ८१ अर्ब रुपैयाँ कर्जा, एनएमबी बैंकले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब १० अर्ब रुपैयाँ कर्जा, नबिल बैंकले ४ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा, हिमालयन बैंकले २ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप २ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा, माछापुच्छ्रे बैंकले १ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । सिटिजन्स बैंकले १ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा, कुमारी बैंकले ३ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा, सानिमा बैंकले १ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा र एभरेष्ट बैंकले २ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सामान्यतया ८० प्रतिशतदेखि ८५ प्रतिशतको बीचमा सीडी रेसियो कायम राख्दा उत्कृष्ट मानिने बैंकरहरू बताउँछन् । सीडी रेसियो ८० प्रतिशतभन्दा तल झर्दा नराम्रो नभएपनि बैंकको पफर्मेन्स खासै सन्तोषजनक मानिँदैन । त्यो बेलामा बैंकको आम्दानी घट्न गई नाफामा समेत स्वतः असर गर्छ । गत असारसम्म प्राइम कमर्सियल बैंकले ८३.९१ प्रतिशत, एनएमबीको ८३.९१ प्रतिशत, नबिलको ८३.६ प्रतिशत, हिमालयनको ८३.३७ प्रतिशत, माछापुच्छ्रेको ८३.३२ प्रतिशत, सिटिजन्सको ८२.४ प्रतिशत, कुमारी को ८१.४८ प्रतिशत, सानिमाको ८०.५३ प्रतिशत र एभरेष्टले ८०.२९ प्रतिशत सीडी रेसियो कायम राखेका छन् । विभिन्न ११ वटा बैंकको सीडी रेसियो भने ८० प्रतिशतभन्दा तल झरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ७९.२२ प्रतिशत, सिद्धार्थ बैंकको ७८.७ प्रतिशत, एनआईसी एशिया बैंकको ७७.९८ प्रतिशत, कृषि विकास बैंकको ७७.८ प्रतिशत, स्टयाण्डर्ड चार्टर्ड बैंकको ७६.८३ प्रतिशत, ग्लोबल आइमएई बैंकको ७५.८७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ७५.८३ प्रतिशत, प्रभु बैंकको ७४.६६ प्रतिशत, नेपाल एसबीआई बैंकको ७४.३५ प्रतिशत, नेपाल बैंकको ७२.९९ प्रतिशत सीडी रेसियो छ । गत असारसम्म एनआईएमबीले ४ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ७ अर्ब रुपैयाँ कर्जा, सिद्धार्थ बैंकको २ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा, एनआईसी एशिया बैंकको ३ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा, कृषि विकास बैंकको २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब १ अर्ब रुपैयाँ कर्जा, स्टयाण्डर्ड चार्टर्ड बैंकको १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप र ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै, ग्लोबल आइमएई बैंकको ४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप र ३ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा, लक्ष्मी सनराइज बैंकको ३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप र २ ५० अर्ब रुपैयाँ कर्जा, प्रभु बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा, एसबीआई बैंकले १ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब रुपैयाँ कर्जा, नेपाल बैंकको २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप र १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत वर्ष अपेक्षा अनुसारको कर्जा विस्तार नहुँदा सीडी रेसियो पनि घट्न पुगेको बैंकरहरू बताउँछन् । बैंकको सीडी रेसियो कम हुँदा बैंकले कर्जा लगानी गर्न नसकेको भनेर जनाउँछ । बैंकमा निक्षेप थप्रिँदा ब्याज खर्च बढ्ने भएकाले आम्दानीमा ब्रेक लाग्ने बैंकरहरूको भनाइ छ । गत वर्ष बैंकिङ क्षेत्रमा निक्षेप थुप्रिएको र कर्जा लगानी हुन नसकेर सकसमा रहेका बैंकहरू चालु आर्थिक वर्षमा भने कर्जा वृद्धि हुने आशामा छन् । नेपाल राष्ट्र बैंकका सहप्रवक्ता भागवत आचार्यले बैंकहरुको सीडी रेसियो ९० प्रतिशत सीमा पार भयो भने मात्रै राष्ट्र बैंकले हेर्ने भएकोले कम हुँदा खासै चासो नहुने धारणा राखे । ‘सीडी रेसियो कम हुनु भनेको बैंकले लगानी गर्न सकेन भनेर बुझ्नुपर्छ, बैंकहरुको सीडी रेसियो कम हुँदा बैंकहरु आम्दानी नै नभएर जोखिममा हुन्छन्, सीडी रेसियो घटेमा राष्ट्र बैंकको खासै चासो हुँदैन,’ उनले भने ।