गम्भीर संकटमा भारतीय हीरा उद्योग, धमाधम मृत्यु रोज्दै व्यवसायी
काठमाडौं । भारतको हीरा क्षेत्रले गम्भीर संकट सामना गरिरहेको छ । पछिल्लो तीन वर्षमा भारतमा हीरा आयात र निर्यात दुवैमा भारी गिरावट आएको छ । यही कारण समयमा भुक्तानी हुन नसक्दा कारखाना बन्द हुन पुगेको र ठूलो संख्यामा रोजगारी गुमेको आर्थिक अनुसन्धान संस्थान जीटीआरआईले जानकारी दिएको छ । इकोनोमिक रिसर्च इन्स्टिच्युटले विज्ञप्ति जारी गर्दै निर्यात आम्दानी बढे पनि अर्डरमा गिरावट र प्रयोगशालाबाट उत्पादन हुने हीराको बढ्दो प्रतिस्पर्धाले प्रशोधन नगरिएका ‘रफ’ हिराको मौज्दात बढ्दै गएको जनाएको छ । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का संस्थापक अजय श्रीवास्तवले भने, ‘यसले भुक्तानी नहुने, फ्याक्ट्री बन्द र ठूलो मात्रामा रोजगारी गुमाएको छ । दुःखको कुरा, गुजरातको हीरा उद्योगसँग सम्बन्धित ६० भन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन्, जसले भारतको हीरा उद्योगमा परेको गम्भीर आर्थिक र भावनात्मक तनावलाई झल्काउँछ ।’ यी समस्या समाधान गरी यस क्षेत्रको भविष्य सुरक्षित गर्न तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । इकोनोमिक रिसर्च इन्सिच्युटको तथ्यांकअनुसार सन् २०२१/२२ मा रफ हीरा आयात १८ अर्ब ५० करोड अमेरिकी डलरबाट २०२३/२४ मा १४ अर्ब ५० करोड डलरमा झरेको छ । यो २४.५ प्रतिशत गिरावटले कमजोर विश्वव्यापी बजार र न्यून प्रशोधन आदेश (अनुबन्ध) प्रतिविम्बित गर्छ । संस्थापक श्रीवास्तकले रुस–युक्रेन द्वन्द्वले विश्वव्यापी हिरा आपूर्ति शृङ्खलालाई पनि असर गरेको बताए । प्रमुख रफ हीरा उत्पादक रुसविरुद्धको प्रतिबन्धले व्यापारलाई अझ जटिल बनाएको छ र विश्वव्यापी हीराको व्यापार सुस्त बनाएको छ । श्रीवास्तवले प्रयोगशालाबाट उत्पादन भएको हीराको बढ्दो उपभोक्ता मागले प्राकृतिक हीराको मागलाई असर गरिरहेको बताए । प्रयोगशालामा उत्पादन गरिएको हीरा अधिक किफायती र टिकाउ हुन्छन् भन्ने विश्वास गरिन्छ । जीटीआरआईले दुबईले हीरा उत्पादन गर्दैन, तर पनि भारतको रफ हीरा आयातमा यसको हिस्सा निरन्तर बढिरहेको बताएको छ । दुबईले बोत्स्वाना, अंगोला, दक्षिण अफ्रिका, रुसबाट रफ हीरा आयात गर्छ र त्यसपछि भारतमा निर्यात गर्छ । भारतीय हीरा उद्योगमा हीरा काट्ने, पालिस गर्ने र निर्यात गर्नेजस्ता विभिन्न गतिविधिमा संलग्न ७ हजारभन्दा बढी कम्पनी छन् । -एजेन्सी
‘आउटबाउन्ड’ पर्यटनमा अघि बढ्दै नेपाल, हजारौं नेपाली दशैंतिहारमा घुम्न तयार
काठमाडौं । नेपालमा संसारका धेरै देशबाट पर्यटक घुम्न आउनु स्वाभाविक हो । तर, नेपालीहरू आफै पर्यटक बनेर विभिन्न देश घुम्न जानुलाई पनि अब स्वाभाविक नै मान्दा अतिशयोक्ति नहोला । केही वर्षयता सुरु भएको नेपालीहरूको विदेश घुम्ने क्रम पछिल्लो समय तीव्र गतिमा बढिरहेको देखिन्छ । यस्ता गतिविधिले व्यापकता पाउँदै गएको छ । नेपालमा सञ्चालित सयौं टुर तथा ट्राभल एजेन्सीहरूले दसैंतिहार र छठजस्ता चाडपर्व लक्षित गरेर विदेश भ्रमणका लागि आकर्षक ‘टुर प्याकेज’ ल्याउने गर्छन् । यस्ता प्याकेजले नेपालीहरूलाई विदेश भ्रमण गराउन धेरै नै सहज बनाइरहेको छ । यसबाट अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाली पनि पर्यटक हुन् है भन्ने सकारात्मक सन्देश प्रवाह भइरहेको सम्बद्ध पर्यटन व्यवसायीहरू बताउँछन् । त्यस्तै, टुर तथा ट्राभल प्याकेजका कारण नेपालीहरूको ‘आउटबाउन्ड टुरिज्म’ गतिविधि उल्लेख्य हिसाबमा बढिरहेको छ । अरू समयभन्दा चाडपर्वका बेला लामो छुट्टी हुने र चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन आएका कारण नेपालीहरू दशैंतिहार पारेर विदेश घुम्न जाने चलन बढ्दै गएको व्यवसायीहरूको भनाइ छ । यसबारे यो एउटा गतिलो उदाहरण काफी छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ मा थाइल्यान्डबाट २५ हजार ६ सय ७८ पर्यटक नेपाल घुम्न आएका थिए । तर, सोही वर्ष करिब २१ हजार नेपालीहरू पर्यटक बनेर थाइल्यान्ड घुम्न गएको एक पर्यटन व्यवसायीले जानकारी दिए । ‘यो संख्याले के पुष्टि गर्छ भने नेपालीहरू पनि पर्यटक बनेर संसार घुम्न सक्छन्,’ ती व्यवसायी भन्छन्, ‘विडम्बना, थाई पर्यटकलाई नेपालले अन अराइभल भिसा दिन्छ तर नेपालीलाई थाइल्यान्डले अन अराइभल भिसा दिँदैन । भिसा पाउन धेरै नै लामो प्रक्रिया पूरा गर्नुपर्छ । यसबारे सरकारले पहल गर्नैपर्छ ।’ सुलभ ट्राभल प्याकेज रामवाण नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) की वरिष्ठ उपाध्यक्ष तथा स्वाँ होलिडेजकी अध्यक्ष जिस्वाँ तुलाधर इन्टरनेटको बढ्दो पहुँचका कारण नजिकिँदै गएको बाह्य संसारका साथै विदेश जान सहज र सुलभ हुँदै गएको अवस्थाका कारण नेपालीहरू विभिन्न गन्तव्य जाने क्रम बढ्न थालेको बताउँछिन् । उनका अनुसार स्वाँ होलिडेजले दशैंलक्षित गरेर महिलाहरूलाई माल्दिभ्स घुम्न जानका लागि ‘स्पेसल प्याकेज’ ल्याएको छ । स्वाँ होलिडेजले परिवार नहुने महिला तथा परिवारमा अरू बाहिर घुम्न जान इच्छुक नभएर एक जना मात्रै जान इच्छुक भएका, माल्दिभ्स जान इच्छुक भएका तथा पैसाका कारण जान नसक्ने महिलाका लागि यो अफर ल्याएको अध्यक्ष तुलाधर बताउँछिन् । ‘यो हामीले एनआईएमबी बैंकसँग सहकार्य गरेर मासिक ११ हजार रुपैयाँ किस्ता १८ महिनामा तिर्ने गरी मिलाएका छौं,’ उनी भन्छिन्, ‘अरू प्याकेज त रेगुलर अन डिमान्डमै कस्टिङ गरिरहेका छौं, यो एउटा स्किममात्रै स्पेसल हो ।’ माल्दिभ्स नै रोज्नुको कारण पहिलो पटक यात्रा गर्दा भिसाको समस्या नहोस् र अर्को परिवारसँग जाँदा ८ देखि १० लाख रुपैयाँसम्म खर्च लाग्छ । महिलाहरूले पनि त्यहाँ फ्री भएर इन्जोय गर्न पाउने उनले जानकारी दिइन् । यो प्याकेज १ लाख ७७ हजार रुपैयाँमा आउँछ । अरू ट्राभल एजेन्सीहरूले दुबई (यूएई), भियतनाम, बाली (इन्डोनेसिया) लगायत देशका लागि पनि स्किमहरू निकालेका छन् । तर, स्वाँ होलिडेजले निकालेको यो स्किम महिला लक्षित भएको हुनाले बजारमा धेरै प्रतिस्पर्धा गर्नु नपरेको अध्यक्ष तुलाधर बताउँछिन् ।स्वाँ होलिडेजले दसैंतिहार ‘पिक सिजन’ भएकाले अन्य धेरै देशका लागि टुर तथा ट्राभल प्याकेज बेचिरहेको छ । तुलाधरका अनुसार अहिले नेपालीहरूको रोजाइको पर्यटन गन्तव्य दुबई हो । दुबईका लागि १ लाख १० हजार बढीको प्याकेज हुन्छ ।त्यस्तै, थाइल्यान्ड १ लाख हाराहारी, सिंगापुर र मलेसिया १ लाख ३० हजार रुपैयाँ हाराहारी हुने उनी बताउँछिन् । बालीका लागि १ लाख ५० हजार, भियतनामका लागि १ लाख ३० हजारदेखि ५० हजारसम्मका डेस्टिनेसन प्याकेज चलिरहेका छन् । अध्यक्ष तुलाधर नेपाली विदेश घुम्न जाने क्रम पहिलेभन्दा अहिले घटेको बताउँछिन् । ‘अहिले कस्ट एकदमै बढी भएको छ,’ उनी भन्छिन्, ‘अहिले पनि फ्लाइटहरू त म्याक्सिमम फुल नै छन्, टुरभन्दा पनि हवाई टिकट महँगो छ । अहिले भन्नुपर्दा नेपालीहरू दसैंतिहार र पछि ५० देखि ६० हजार विदेश भ्रमणमा जान्छन् ।’ उनका अनुसार अहिले धेरै संख्यामा कर्पोरेट संस्थाका माध्यमबाट घुम्न जान्छन् । कतिपय कर्पोरेट शुल्क महँगो भएर स्टाफ भएर बसेका छन् भने कतिपय घुम्न भ्याइसकेका छन् । त्यसैगरी, सन् २००० देखि नेपालमा चिनियाँ पर्यटक भित्र्याइरहेको सीएन्डके नेपाल ट्राभल कम्पनीका कार्यकारी निर्देशक विश्वेश श्रेष्ठ चाडपर्वको छुट्टीमा विदेश घुम्न जाने नेपालीको संख्या बढ्दै गएको बताउँछन् । ‘हामीले नेपाललाई पर्यटक ल्याउने देश भन्छौं, तर कतिपय देशमा त्यहाँबाट नेपाल आउनेभन्दा नेपालबाट त्यहाँ जाने पर्यटकको संख्या धेरै छ,’ उनी भन्छन्, ‘अहिले भियतनाम, इन्डोनेसिया र क्याम्बोडियाजस्ता गन्तव्य नेपालीको रोजाइमा परेको छ ।’ उनका अनुसार पहिला थाइल्यान्ड, मलेसिया, सिंगापुर र दुबई नेपालीका रोजाइमा पर्ने देश हुन् । तर, पछिल्लो समय यी देश धेरै घुमिरहेको हुनाले नयाँ गन्तव्य भियतनाम, कम्बोडिया आगाडि छन् । आउँदै गरेको दसैंतिहार लक्षित गरेर उनको सीएन्डके ट्राभलले भने अहिलेसम्म कुनै प्याकेज तथा स्किम ल्याएको छैन । ‘बजार प्रतिस्पर्धी छ र अरू ट्राभल कम्पनीहरूले यस्ता अफर सार्वजनिक गरिरहेका छन्, व्यापार पनि राम्रो गरिरहेका छन्,’ उनी भन्छन्, ‘यसपालि मैले टफ कम्पिटिसन भएकाले नै नल्याएको हो, म चाहिं पर्ख र हेरकै अवस्थामा छु ।’ श्रेष्ठका अनुसार वार्षिक साढे २ लाख नेपाली पर्यटक बनेर विदेश घुम्नकै लागि बाहिरिन्छन् । त्यसैगरी, अर्को ट्राभल कम्पनी जेनिथ एक्सपेरियन्सेस ट्राभल्सकी प्रबन्ध निर्देशक मिहिका शाह पनि अहिलेको दसैंतिहारलाई लक्षित गरेर कुनै पनि स्किम तथा प्याकेज आफ्नो कम्पनीले नल्याए पनि नेपालीहरू घुम्न जाने ‘ट्रेन्ड भने ह्वात्तै बढेको बताउँछिन् । उनका अनुसार अहिलेको अवस्थामा हवाई टिकट पाउनै सकस छ । हवाई भाडा महँगो भएकाले पनि त्यतातिर ध्यान नदिएको उनी बताउँछिन् । ‘अहिले हवाईजहाजकाे सिट पाउन मुस्किल छ,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘महँगो हुनु पनि एउटा कारण भइहाल्यो, हामीले इन्डिभिजुललाई प्याकेज पनि निकाल्दैनौं, रिक्वायरमेन्ट अनुसार मात्रै बनाउँछौं ।’ उनका अनुसार पछिल्लो समय नेपालीलाई विदेश भ्रमणमा पठाउनै सकस भएको छ । ‘घुम्न जानेभन्दा पनि पढ्न भनेर विद्यार्थीहरू नै बढी विदेश जान्छन्,’ प्रबन्ध निर्देशक शाह भन्छिन्, ‘यही कारणले सिट पाइँदैन, भ्रमण पठाउन एकदमै गाह्रो छ, घुम्न जानेको संख्या पनि कम छ ।’ उनका अनुसार महँगो हवाई भाडामा कहाँ घुम्न जाने भन्ने पनि छ । सरकारले हवाई टिकटमा पनि भ्याट लगाएको छ । टिकटमा १३ र प्याकेजमा ५ प्रतिशत जोड्दा १८ प्रतिशत कर हुन आउने भएकाले घुम्न जाने नेपाली समस्यामा छन् । ‘हवाई भाडा केही सरल हुन सके विदेश घुम्न जाने नेपालीको संख्या ह्वात्तै बढ्ने देखिन्छ,’ प्रबन्धक निर्देशक शाहले भनिन्, ‘सम्बन्धित निकायले पहल गरे यो समस्या समाधान हुने देखिन्छ ।’ अध्यागमन विभागका अनुसार सन् २०२४ अगस्ट महिनामा ९५ हजार ६ सय ८२ पुरुष र ४४ हजार ३ सय २२ महिला र अन्य १३ गरी कुल १ लाख ४० हजार १७ नेपालीहरू विदेश गएका छन् । यो हिसाबमा हेर्दा नेपालबाट वार्षिक औसत १६ लाखभन्दा बढी नेपाली विदेश गइरहेका छन् । तर, लामो समयदेखि नेपालीहरूलाई टुर तथा ट्राभल प्याकेज बेच्दै आएका एक पर्यटन व्यवसायीका अनुसार पछिल्लो पटक वार्षिक औसत २ लाख हाराहारी नेपालीहरू पर्यटकका रूपमा विभिन्न देश घुम्न जाने गर्छन् ।
शिक्षा दिवस : सिप र उद्यम नारामै सीमित, विद्यार्थी विदेश जान विवश
काठमाडौं । सरकारले बुधबार राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारासहित विभिन्न ठाउँमा शिक्षा दिवस मनाइँदैछ । सरकारले यस वर्षको शिक्षा दिवसमा जुन किसिमको नारा राखेको छ त्यो भने नारामै सीमित छ । नेपालका शिक्षा प्रणाली न सिपमूलक देखिन्छ नत उद्यमशिलतामा जोड नै । परिणामस्वरूप कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीहरू सिप र पैसाका लागि विदेश जान विवश भइरहेका छन् । पछिल्लो समय नेपालको शिक्षा पद्धतिमै प्रश्न उठिरहेको बेला सरकारले यस पटकको शिक्षा दिवसमा ‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारालाई अगाडि सारेको छ । शिक्षा क्षेत्रमा सिप र उद्यमको विषय जोडतोडका साथ उठिरहे पनि व्यवहारमा सार्थकता पाउन सकेको छैन । कतिपय निजी विद्यालय तथा कलेजले केही अभ्यास थाले पनि त्यो पर्याप्त छैन । सरकारी तथा सामुदायिक विद्यालयले विद्यार्थीलाई कक्षाकोठाभित्र सीमित राखेर किताबको कुरा घोकाउने परम्परागत शैली अपनाइएको छ । वर्षभरि लगाएर पाठ्यपुस्तक सकाउने र त्यसको परिणाम तीन घण्टाको परीक्षाबाट दिने प्रवृतिले सिप, उद्यम र मौलिकतालाई जोड दिएको पाइँदैन । आजभोलि प्रविधिसहितको शिक्षासँगै सिप र उद्यमशीलतासहितको शिक्षामा जोड दिइएको खासै पाइँदैन । कतिपय शैक्षिक संस्थाले सीप सिकाएपनि प्रयोग गर्ने ठाउँ नहुँदा अर्काे समस्या छ । यस्ता विविध कारणले विद्यार्थी विदेश पलायन हुनेक्रम बढिरहेको छ । काठमाडौं विश्वविद्यालयका प्राध्यापक टीकाराम पौडेल धेरैजसो विद्यार्थीलाई भाषाकै कारण पनि पढाइमा समस्या भएको बताउँछन् । ‘एउटा बालकले घरमा बाआमाले जुन भाषा बोलेको छ, त्यही बुझ्छ । यहाँ घरमा एउटा, विद्यालयमा अर्को भाषा हुँदा बच्चाको बुझाइमा फरक पर्छ,’ उनी भन्छन्, ‘हामीले मौलिकताको कुरा गर्दा कला, भाषा र संस्कृति शिक्षामा समावेश गरेको पाइँदैन ।’ उनी सुदूरपूर्व र सुदूरपश्चिमका विद्यार्थी एसईई दिएर शहर पस्दा भाषाकै कारण एक वर्षसम्म समस्यामा पर्ने गरेको बताउँछन् । अहिले विद्यालयमा पनि मातृभाषाबाट पढाइ हुने कुराको चर्चा भएपनि विद्यालयमा लागु नहुँदा विद्यार्थीलाई समस्या हुने गरेको प्राध्यापक पौडेल बताउँछन् । विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान आवश्यक पर्छ । पढाइ सकी सर्टिफिकेट लिने र पछि काम खोज्ने दिन अहिले नरहेको बताउँदै विज्ञहरू पढाइसँगै काम गर्नसक्ने सीप क्षमता विद्यार्थीमा हुनुपर्नेमा जोड दिन्छन् । शिक्षाविद् विद्यानाथ कोइराला अहिले पनि धेरै शैक्षिक संस्थामा पाठ्यक्रममा भन्दा पनि पाठ्यपुस्तकमा जोड दिएर सिकाइ हुने गरेको बताउँछन् । अहिले केही स्थानीय तहले आफ्नो परम्परागत, सिप र प्रविधि यस्तो छ भन्दै पाठ्यक्रम बनाएर सिकाएको बताउँदै शिक्षाविद् कोइरालाले केही संस्थाले प्रयास गरिरहेको जानकारी दिए । अर्का शिक्षाविद् विनय कुशियत नेपालको शैक्षिक प्रणालीमा शिक्षण सिकाइ हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी ज्ञान संज्ञानात्मकसँग मात्र जोड्ने गरेको बताउँछन् । उनले शिक्षाले सिप, अभिव्यक्ति, समालोचानात्मक सोंच विचारसँग जोड्नुपर्नेमा शैक्षिक संस्थाहरू ल्याब सामग्री, फिल्ड स्टडीमा अझै जान नसकेको उनी बताउँछन् । कोर्स पूरा गर्ने, शिक्षकले जानेको कुरा भटभट्याउने यसबाट विद्यार्थीले सिक्ने परम्पराबाट नेपालका शैक्षिक संस्था अझै चलेको बताउँदै शिक्षाविद् कुशियत यस्तो सिकाइबाट विद्यार्थी सिपमूलक शिक्षाबाट टाढिएको बताउँछन् । ‘शिक्षा प्रणालीमा जुन खालको सिकाइको प्रणाली छ, यसमा परिवर्तन गर्न सक्नुपर्छ,’ उनी भन्छन्, ‘यसका लागि शिक्षकलाई त्यहीअनुसारको तालिम दिनुपर्छ, त्यहीअनुसारको सामग्री निर्माण गर्नुपर्छ । त्यो नहुँदासम्म सिकाइ राम्रो हुँदैन ।’ केही शैक्षिक संस्थाको प्रयास प्राध्यापक टीकाराम पौडेल पहिलेको भन्दा अहिले सरकारी र निजी विद्यालयले सिपलाई जोड दिन थालेको बताउँछन् । उनी १० वर्षयता हेर्दा सिकाइमा सुधार भएको बताउँछन् । काठमाडौं महानगर, बुटवल उपमहानगरलगायत केही ठाउँमा विद्यालय तहको शिक्षा राम्रो भइरहेको बताउँदै उनले ती ठाउँका विद्यार्थीको एसईईको नतिजा पनि राम्रो आएको बताए । प्राध्यापक पौडेलले भने, ‘केही ठाउँका विद्यालयमा अपेक्षा गरेअनुसारको सुधार हुन सकेको छैन । तर, पहिलेको भन्दा अहिले व्यावहारिक शिक्षामा जोड दिएको पाइन्छ ।’ अक्सब्रिज कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगाना अहिले धेरैजसो संस्थाले विद्यालय शिक्षादेखि नै उद्यमशीलता र सीपसँग जोडेर अध्यापन गराइरहेको बताउँछन् । सीप, संस्कार अनि प्रविधिसहितको शिक्षा आजको आवश्यकता भन्ने प्याब्सनकै नारा रहेको बताउँदै उनले विद्यार्थीको प्रविधिसहितको सिपमा बढी जोड दिएको बताए । ‘अहिले पाठ्यक्रममै प्राक्टिकल नम्बर राख्नुपर्ने तय छ, यसो हुँदा पनि विभिन्न शैक्षिक संस्थाले सिपलाई जोड दिएका छन्,’ अध्यक्ष ढुंगाना भन्छन्, ‘यो कुरालाई विद्यार्थीको व्यवहारमा उतार्ने किसिमले विभिन्न विधाजस्तै खेलकुदका विधा, गीत संगीतका विधा जहाँबाट विद्यार्थी गरिखान सक्छन्, त्यही विधामा संस्थाले जोड दिएका छन् ।’ उनी अहिले कक्षाकोठाको पठनपाठन मात्र सिकाइको आधार हो भन्ने कुराबाट बाहिर आएर विद्यार्थीसँग सीप आवश्यक छ भन्ने कुरामा सञ्चालकहरूको ध्यान दिएको बताउँछन् । अहिले निजी क्षेत्रमा अधिकांश विद्यालयले शैक्षिक क्यालेण्डरमा र वार्षिक शैक्षिक योजनामा सीपसँग जोडिएका पाठ्यक्रम डिजाइन गरेर अघि बढिरहेको जानकारी दिए । केही वर्षभित्र सबै विद्यालयले यसको सिको गर्ने अध्यक्ष ढुंगानाको दाबी छ । ’सबै ठाउँ एकनास नहुन सक्छ,’ अध्यक्ष ढुंगाना भन्छन्, ‘शहरमा प्रविधिको कुरा, ग्रामीण क्षेत्रमा कृषिका कुरा, हिमाली भेगमा जडीबुटीका विषय होलान् । सीप विकाससँग जोड्ने ठाउँ अनुसारका कुरा बिस्तारै आउँछन्, अहिले एक किसिमको सुरुवात चाहिं भएको छ । ’ हुनुपर्ने के हो ? अहिले सिप र सिकाइको कुरा गर्दा प्रविधिको कुरा धेरै सुनिन्छ । यो अहिलेको आवश्यकता पनि हो । सिप प्रविधिभित्रको विज्ञान के हो ? गणित के हो ?, सामाजिक के हो ?, अर्थशास्त्र के हो ? त्यसको राजनीति के हो ? त्यसको सांस्कृतिक के हो ? भन्नेबारे जानकारी हुन आवश्यक हुने जानकारहरू बताउँछन् । विद्यार्थीलाई आफ्नो मौलिक ज्ञान जुन छन् ती के–कस्ता छन् ?, कृषिमा के ज्ञान छ ? शिक्षा, स्वास्थ्य , प्रविधि, विज्ञानमा के छन् वा नैतिकताको कुरामा के छन् भन्ने विषयमा जानकारी गराउनु उत्तिकै आवश्यक छ । शिक्षाविद् कोइराला अहिले केही न केही मानिसले आंशिक रूपमा खोज्ने प्रयास गरिरहेको बताउँछन् । ‘चाहे संगीतको कुरा होस् या वाद्यवादनको या कुनै अरू क्षेत्र । केहीले प्रयास गरिरहेका छन्,’ उनी भन्छन्, ‘ती छुटफुट मान्छेले खोजिरहेका कुरालाई संकलन गरेर त्यसलाई अगाढि बढाउने ठाउँ नहुँदा झन समस्या हुने गरेको छ ।’ कतिपय नेपालीले वाद्यवादनका थुप्रै कुरा संकलन मात्र नभइ मौलिक सामग्रीको संकलन गर्दा पनि लगेर राख्ने कहाँ भन्ने टुंगो नभएको उनले बताए । पीएचडी गरिरहेका केही व्यक्तिले भने अहिले यस्ता खालका खोज गरिरहेका छन् । छिटफुटरूपमा कुनै व्यक्तिले यस्तो खोजी गरेको भएपनि शैक्षिक संस्थाबाट भने यस्तो कुनै काम गरेको पाइँदैन । के हुन्छ स्थानीय तहको भूमिका ? अहिले शिक्षालाई कस्तो बनाउने, कस्तो सिप आफ्नो पालिकाभित्रका विद्यार्थीलाई आवश्यक छ भन्ने विषयमा जानकार हुन स्थानीय तहलाई आवश्यक देखिन्छ । कस्ता विद्यालय बनाउने ? ती विद्यालयबाट कस्ता विद्यार्थी बनाउने ? भन्ने अधिकार स्थानीय तहलाई छ । यस्तो कार्यको चासो जो सुकैले गर्दा हुन्छ । तर यसको संयोजन पालिकाले गर्नुपर्छ । संविधानले यो अधिकार अहिले स्थानीय तहलाई दिएको छ । यो अधिकारबाट स्थानीय तहले ज्ञान, सीप र प्रविधिको कुरा खोज्नुपर्ने शिक्षाका जानकारहरू बताउँछन् । नेपालको संविधानको धारा ४० ले दलितका सीपहरूमा भएको सीपलाई उद्यमीकरण अनि आधुनिकीकरण गर्ने आदि इत्यादि भनेको छ । यो कार्यान्वयन गर्नुपर्ने काम पालिकाको हो । पालिकाले विद्यालय, शिक्षकहरूसँग सहकार्य गरेर यो काम गर्न सक्यो भनेमात्र विद्यार्थीले सीप सिक्न सक्ने कोइरालाको सुझाव छ । शिक्षाविद् कुशियत यो सबै कुरा गर्नुपर्ने काम भनेको स्थानीय तह र शिक्षकको भएको बताउँछन् । उनी भन्छन्, ‘शिक्षक मोटिभेट हुनुपर्याे, आफैले पनि विधि छान्नुपर्याे र पाठ्यक्रमले पनि त्यहीअनुसारको सामग्री निर्माण गर्नुपर्याे र तिनै सामग्रीबाट सिकाइनुपर्याे । यसो गर्न सक्यो भने हामीले सोंचेजस्तो र चाहेजस्तो शिक्षासहितको सीप दिन सकिन्छ ।’