काठमाडौं । तरुण दलको नेतृत्व, अर्थ राज्यमन्त्रीको जिम्मेवारी र ललितपुर–१ बाट पटक-पटकको चुनावी प्रतिस्पर्धा पार गर्दै उदयशमशेर राणा नेपाली कांग्रेसको महामन्त्री बनेका छन् ।
उनको राजनीतिक यात्रामा जित र हार, संगठनात्मक अनुभव र पार्टीभित्रको निरन्तर सक्रियता रहेको छ । जसले नै आज उनलाई महामन्त्री बनाएको हो ।
उदयशमशेर राणाको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट सुरु भएको हो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदै कांग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्वमा पुगेका उनी संविधानसभा सदस्य बने, अर्थ राज्यमन्त्रीको जिम्मेवारी सम्हाले र पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भए ।
अहिले उनी नेपाली कांग्रेसको महामन्त्रीका रूपमा पार्टीको संगठनात्मक राजनीतिमा नयाँ जिम्मेवारीमा निर्वाचित भएका छन् ।
विसं २०२६ फागुन १६ गते ललितपुरमा जन्मिएका राणाले नेपाल, भारत र अमेरिकामा अध्ययन गरेका छन् । दिल्ली विश्वविद्यालयअन्तर्गत सेन्ट स्टेफेन्स कलेजबाट स्नातक र अमेरिकाको कर्नेल विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गरेका उनी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए ।
राणाको राजनीतिक परिचय निर्माणमा नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको भूमिका महत्वपूर्ण छ ।
दिल्ली विश्वविद्यालयमा अध्ययन गर्दा उनी नेविसंघको संस्थापक अध्यक्ष बनेका थिए । त्यहीँबाट उनको राजनीतिक यात्रा सुरु भएको हो । त्यसपछि अन्तर्राष्ट्रिय युवा राजनीतिमा पनि उनी सक्रिय रहे । राणा सन् १९९७–१९९८ मा इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथका उपाध्यक्ष बनेका थिए ।
नेपाल फर्किएपछि उनले कांग्रेसको युवा संगठन तरुण दलमा विभिन्न जिम्मेवारी सम्हाले । ललितपुर जिल्ला अध्यक्षबाट सुरु भएको उनको संगठनात्मक यात्रा केन्द्रीय सचिव, महासचिव र उपाध्यक्ष हुँदै अध्यक्षसम्म पुग्यो ।
तरुण दलको नेतृत्वले उनलाई कांग्रेसको युवापंक्तिमा स्थापित हुने अवसर दियो । संगठनभित्रको यही अनुभवलाई उनले पछि पार्टीको मूल राजनीतिमा विस्तार गरे ।
उदय श्री ३ चन्द्रशमशेर राणाका पनाति तथा मृगेन्द्रशमशेर राणाका नाति, सागरशमसेर राणाका छोरा हुन् ।
चुनावी राजनीतिमा हार र पुनरागमन
राणाको चुनावी यात्रा भने सधैं सफलताले मात्रै भरिएको छैन । ललितपुर–१ बाट उनले पटकपटक प्रतिस्पर्धा गरे। कुनै निर्वाचनमा विजयी भए, कुनैमा पराजयको नमीठो पनि चाखे । तर पराजयपछि पनि उनी यही क्षेत्रको राजनीतिमा सक्रिय रहिरहे ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी ललितपुर–१ बाट पराजित भए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने १८ हजार ५६० मत प्राप्त गर्दै विजयी भए । यससँगै उनी संविधानसभा सदस्य बने ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका नवराज सिलवालसँग पराजित भएपछि उनको संसदीय यात्रा रोकियो । तर २०७९ सालको निर्वाचनमा उनले पुनरागमन गरे । यसपटक सिलवाललाई नै पराजित गर्दै २३ हजार ८९२ मतसहित प्रतिनिधिसभा सदस्य निर्वाचित भए ।
२०७९ को विजयपछि प्रतिनिधिसभामा फर्किएका राणा २०८२ सालको निर्वाचनमा भने पुनः पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जनले २३ हजार ३७३ मत प्राप्त गर्दा राणाले १३ हजार ५२० मत पाए ।
संविधानसभा र प्रतिनिधिसभाका निर्वाचन जोड्दा राणाले पाँच पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका छन् । तीमध्ये दुई पटक विजयी र तीन पटक पराजित भएका छन् ।
तर पार्टीमा भने अत्यन्तै छोटो समयमा राणाले अधिकतम् सफलताको सिँडी चढेका छन् । ७८ को १४ औं महाधिवेशनवाट पार्टीको केन्द्रीय सदस्य बनेका राणा ८२ मा सम्पन्न विशेष महाधिवेशनवाट सहमहामन्त्री बनेका थिए ।
त्यसको ६ महिनापछि भएको १५ औं महाधिवेशनमा उनले २ हजार ३३० मतसहित महामन्त्री निर्वाचित भएका हुन् ।
अर्थ राज्यमन्त्रीदेखि पार्टीको केन्द्रीय नेतृत्वसम्म
२०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राणा अर्थ राज्यमन्त्री बनेका थिए । सरकारमा जानुअघि उनले संसद्को अर्थ समितिमा रहेर काम गरिसकेका थिए ।
अर्थसम्बन्धी संसदीय काममा संलग्न रहँदा बैंक तथा वित्तीय संस्था, सहकारी र सार्वजनिक खरिदसम्बन्धी कानुनी विषयमा उनको भूमिका रहेको थियो । अर्थ राज्यमन्त्रीको जिम्मेवारीले उनलाई पार्टी संगठनबाहिर सरकारको आर्थिक प्रशासनमा काम गर्ने अवसर पनि दियो ।
२०७८ सालमा कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका राणा त्यसपछि पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहे । कांग्रेसको विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेपछि उनको संगठनात्मक जिम्मेवारी थपिएको थियो ।
१५औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएसँगै उनी पार्टीको केन्द्रीय नेतृत्वको महत्त्वपूर्ण तहमा पुगेका हुन् ।