बाढीका कारण बीमा कम्पनीमा ७ अर्ब २८ करोडको दाबी पर्ने अनुमान, कुन कम्पनीमा कति ?

काठमाडौं । बाढी-पहिरोका कारण बीमा कम्पनीहरूलाई ७ अर्ब बढी भार पर्ने भएको छ । बीमा कम्पनीहरूले बाढी-पहिरोको क्षतिबाट ७ अर्ब २८ करोड रुपैयाँको दाबी पर्ने प्रारम्भिक अनुमान गरेका छन् । देशभर बाढीले विध्वंश मच्चाएपछि प्राधिकरणले बीमा कम्पनीहरूलाई सम्भावित दाबीको प्रारम्भिक तथ्यांक बुझाउन निर्देशन दिएको थियो । सोहीअनुसार कम्पनीहरूले प्राधिकरणलाई प्रारम्भिक तथ्यांक बुझाएका छन् । कम्पनीहरुले बुझाएको तथ्यांकमा २ हजार ३३७ वटा दाबी पर्ने अनुमान गरिएको छ । जसको दाबी रकम ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । हालसम्म ७०९ वटा दाबी परिसकेको कम्पनीहरूले जनाइएको छ । हालसम्म २ अर्ब ६७ करोड ७२ लाख रुपैयाँको दाबी परेको छ । कुन कम्पनीमा कति दाबी ? सबैभन्दा धेरै भार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई पर्ने अनुमान गरिएको छ । सिद्धार्थ प्रिमियरलाई १ अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी  पर्ने अनुमान छ । यो कम्पनीमा ३१९ वटा दाबी पर्नसक्ने जनाइएकाे छ । यसैगरी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दाबी परिसकेको छ । हिमालयन एभरेष्टमा १ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ । यसैगरी, शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी र नेपाल इन्स्योरेन्समा १५ करोड २४ लाख ९६ हजार रुपैयाँको १२८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

‘यात्रुको चाप बढ्दा भाडा महँगो भएको हो, एयरलाइन्सहरूसँग उडान थप्न आग्रह गरेका छौं’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन् । मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरूको संख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताए । उनले यात्रुहरू सहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको बताए । मन्त्री पाण्डेले सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि दाबी गरे । यस पटक धेरै टिकटहरू पहिला नै बिक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको जानकारी दिए । उनले यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरूसँग आग्रह गरेकाे पनि बताए ।

मलेसिया घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् उत्कृष्ट ५ पर्यटकीय गन्तव्य

काठमाडौं । मलेसिया दक्षिणपूर्वी एसियाको सुन्दर देश हो । मलेसियालाई संस्कृतिको भण्डार भनेर पनि चिनिन्छ । यही विशेषताका कारण विश्वभरिबाट ठूलो संख्यामा पर्यटकहरू यस देशमा घुम्न आउने गरेका छन् । यहाँ गएपछि तपाईं रात्रि जीवन, समुद्र तट, अन्य धेरै ठाउँहरू र सुन्दर पार्कहरूको आनन्द लिन सक्नुहुन्छ । मलेसियामा सस्तोमा पनि यात्राको आनन्द लिन सकिन्छ । पेनाङ हिलदेखि मलाक्का जस्ता सुन्दर ठाउँहरू देखेर तपाईं मंत्रमुग्ध हुनुहुनेछ । यसबाहेक तपाईं मलेसियामा यी ठाउँहरू पनि घुम्न सक्नुहुन्छ । पेनाङ हिल पेनाङ हिललाई प्रायद्वीप मलेशियाको पहिलो औपनिवेशिक हिल स्टेशन मानिन्छ । पेनाङ मलेसियाको प्रमुख पर्यटकीय गन्तव्य मध्ये एक हो । यहाँका स्थानीयले यसलाई बुकेट बान्देरा भन्ने गर्छन् । सामान्यतया यो ठाउँ जर्ज टाउनभन्दा १५ डिग्री चिसो छ । पेनाङलाई खानाको स्वर्ग पनि भनिन्छ । यस बाहेक स्नेक टेम्पल, केक लोक सि मन्दिर जस्ता धेरै मन्दिरहरू छन् । यस बाहेक यहाँको गाउँ नजिकै माछा मार्न पनि पाइन्छ । जुन निकै चर्चित छ । क्वालालम्पुर मलेसियाको राजधानी क्वालालम्पुरमा घुम्न चाहनेहरूका लागि धेरै कुरा छन् । यहाँको प्रतिष्ठित पेट्रोनास ट्विनटावर विश्वको सबैभन्दा अग्लो ट्विनटावरहरूका रूपमा प्रसिद्ध छन् । यहाँ तपाईं बाटु गुफा पनि हेर्न सक्नुहुन्छ । जसको संरचनाले तपाईंको मन चोर्नेछ । यस बाहेक स्क्वायर, केयर टावर, इस्लामिक आर्ट म्युजियम मलेशिया पनि यहाँ घुम्न पाइने छ । चाइनाटाउनको पार्टी सौन्दर्य, सुल्तान अब्दुल समद मस्जिद र बर्ड पार्कले तपाईंलाई मोहित पार्नेछ । यही कारणले गर्दा मलेसिया जाने पर्यटकलाई पहिले क्वालालम्पुर मन पर्छ । मलाक्का मलेसियामा रहेको मलाक्कालाई व्यापारिक बन्दरगाह भनिन्छ । यो बन्दरगाह हाल युनेस्कोको विश्व सम्पदा सूचीमा परेको छ । यहाँ अवस्थित पुरातन भवन र समुद्री तटले मानिसहरूलाई आकर्षित गर्दछ । जसका कारण यो मलेसियाका प्रमुख गन्तव्यमा परेको छ । तमन नेगार तमन नेगारा १०३ मिलियन वर्ष पुरानो वर्षावन भएको संरक्षित क्षेत्र हो । यसलाई साहसिक कार्यको खजाना पनि भनिन्छ । जङ्गलको बाटो भएर हिँड्दा निकै रमाइलो लाग्छ । रंगीन चराचुरुङ्गी हेर्ने र तहन हिमाल चढ्नुको आफ्नै अनौठो आनन्द छ । तमन नेगर मलेसियाको सबैभन्दा चुनौतीपूर्ण पदयात्रा मध्ये एक मानिन्छ । तपाईं यहाँ गुआ तेलिङ्गा चुने स्टोन गुफा भ्रमण गरेर मजा लिन सक्नुहुन्छ । कोटा किनबालु कोटा किनाबालु माउन्ट किनबालुको नामबाट नामाकरण गरिएको हो । यो ठाउँ यसको सुन्दर शहर, हिमाल र टापुहरूको लागि परिचित छ । यस बाहेक यो स्थान रेशमका साडी, डोरी र सुनका गहनाका लागि प्रसिद्ध छ । मलेसियाको यो सुन्दर ठाउँमा दैनिक ठूलो संख्यामा पर्यटकहरू आउने गर्दछन् । एजेन्सी