संकटमा बैंकको फराकिलो हृदय, अर्बपति बने कन्जुस

काठमाडौं । गत असोज ११ गते र १२ गते देशभर अविरल वर्षा भयो । वर्षाका कारण  देशका अधिकांश ठाउँ बाढी-पहिरो र डुबानमा परे । बाढी-पहिरोमा परी हालसम्म २४६ जना बढीको ज्यान गएको छ । साथै १७८ जना घाइते भएका छन् भने १८ जना अझै बेपत्ता छन् । सबैभन्दा धेरै बागमती प्रदेशमा १३९ जनाको मृत्यु भएको बताइएको छ । मानवीय क्षतिसँगै अर्बाैंको पूर्वाधारमा क्षति पुगेकाे छ । हजारौं परिवारको बिचल्ली बनाएको छ । हजारौंका घर बगाएर सर्वसाधारणहरू खुला आकाशमा बस्न बाध्य छन् । देश बाढी-पहिरोको संकटमा परेका बेला सरकारले राहत तथा उद्धारका कार्य पनि जारी राखेको छ । तर, यस्तो बेलामा सरकार मात्रै एक्लैले सबै काम गर्न सक्दैन । त्यसैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्न सरकारले नै आह्वान गरेको छ । सोही बमोजिम विभिन्न संघसंस्थाहरू निरन्तर सहयोग गरिरहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ५७ करोड ९७ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ । एक साताको अवधिमा विभिन्न संघसंस्थाले कोषमा २० करोड रुपैयाँ सहयोग गरेका छन् । सहयोग गर्ने संस्था बढिरहेकाले आगामी दिनमा रकम बढ्न सक्ने देखिन्छ । सिटिजन्स बैंकको २५ लाख सहयोग अविरल वर्षासँग बाढी-पहिरो जारी थियो । सोही समयमा सिटिजन्स बैंकले बाढी पहिरो पीडितका लागि २५ लाख रुपैयाँ सहयोग गर्‍याे । अविरल वर्षाले बाढी, डुवान, पहिरोका कारण देशका विभिन्न स्थानहरूमा ठूलो धनजनको क्षति भएपछि राहतस्वरूप बैंकले २५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकले असोज १४ गते उक्त रकम कोषमा जम्मा गरिसकेको छ । भाटभटेनीको १ करोड ११ लाख रुपैयाँ भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री ओलीमार्फत उक्त सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रदान गरेका हुन् । अविरल वर्षाका कारण हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गरेको अध्यक्ष गुरुङले बताए । उक्त रकम असोज १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । राष्ट्रिय वाणिज्य बैंकको २ करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकले भारी वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरो र डुबानबाट प्रभावित तथा पीडितका लागि २ करोड रुपैंयाँ सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति अध्यक्ष दिलीपकुमार ढुंगानाले प्रधानमन्त्री ओलीलाई उक्त रकम बराबरको चेक रकम हस्तान्तरण गरेका हुन् । उक्त रकम असोज १५ गते जम्मा भएको कोषले जनाएको छ । कृषि विकास बैंकको १ करोड ५० लाख रुपैयाँ कृषि विकास बैंकले १ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । हालै मुलुकभरि आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण ठूलो धन जनको क्षति भएपछि बैंकले उक्त रकम सहयोग गरेको हो । बैंकका अध्यक्ष रामशरण पुडासैनी, सञ्चालक दीर्घराज मैनाली र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङ लगायतको उपस्थितमा प्रधानमन्त्री ओलीलाई चेक हस्तान्तरण गरिएको हो । आइएमई ग्रुपको ५  करोड रुपैयाँ आइएमई ग्रुपले हालै आएको बाढी, पहिरो र विपदमा सहयोग पुर्याउन ५ करोड रुपैयाँ रकम सहयोग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमई बैंक, आइएमई ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपदपछि सञ्चालित उद्धार कोषमा सहयोग भएको मध्ये सबैभन्दा बढी रकम हो । प्रभु समूहको १ करोड ७५ लाख रुपैयाँ प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री ओलीलाई १ करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । प्रभु समूहअन्तर्गत प्रभु बैंक, प्रभु महालक्ष्मी लाइफ, प्रभु क्यापिटल र प्रभु इन्सोरेन्स रहेका छन् । नेपाल बैंकको २ करोड रुपैयाँ सहयोग नेपाल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैयाँ सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष चेक हस्तान्तरण गरेका हुन् । प्राइम बैंकले ३१ लाख रुपैयाँ सहयोग गर्ने प्राइम कमर्सियल बैंकले बाढीपहिरो पीडितका लागि ३१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । असोज ११ गते शुक्रबार र १२ गते शनिबार अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण भएको जनधनको अपूरणीय क्षतिको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले सहयोगको घोषणा गरेको हो । बैंकका तर्फबाट बाढी पीडितहरूको तत्काल राहत सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने बैंकले जनाएको छ । नागरिक लगानी कोषको ५१ लाख सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री ओलीलाई कोष सञ्चालक समितिका अध्यक्ष सूर्यबहादुर थापा र कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । नेपाल एसबिआई बैंकको २५ लाख सहयोग नेपाल एसबिआई बैंकले पहिरो र बाढीबाट प्रभावितलाई राहत स्वरूप प्रधानमन्त्री विपद् राहत कोषमा २५ लाख रूपैयाँ योगदान गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी चेक हस्तान्तरण गरेका हुन् । एनएमबी बैंकको कोषमा ५१ लाख सहयोग एनएमबी बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत र बिग्रिएका, भत्किएका संरचनाको पुनर्निर्माण गर्न योगदान पुग्ने विश्वास बैंकले लिएको छ । निर्माण व्यवसायी विकास परिषद्को १ करोड रुपैयाँ नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेकमार्फत सो रकम हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री उद्धार कोषमा एमालेको ५० लाख सहयोग नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेट गरी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतले उक्त चेक हस्तान्तरण गरेका हुन् । कांग्रेसको ५० लाख सहयोग नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । एनआरएनएको १ करोड रुपैयाँ सहयोग गर्ने गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले १ करोड रूपैयाँ सहयोग गरेको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्री केसीले पहिलो चरणमा बाढीपीडितका लागि १ करोड रूपैयाँ सहयोग गरेको जनाएका हुन् । यस्तै, नेपाल इन्स्योरेन्सले ५० लाख, मेटलाइफ इन्स्योरेन्सले २५ लाख र ओरिएन्टल इन्स्योरेन्सले २५ लाख रुपैयाँ सहयोग गरेका छन् । विभिन्न देशमा यस्तो किसिमको संकट पर्दा त्यहाँका उद्योगी व्यवसायीहरूले हात फराकिलो पार्छन् । आफूले सकेसम्मको सहयोग सरकारलाई गर्छन् । अहिलेको बाढी पहिरोमा पनि देशका ठूला उद्योगपति तथा व्यवसायीहरुले सहयोग गर्लान् भन्ने अपेक्षा सरकारको थियो । तर, देशमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने ठूला धनाड्य तथा अर्बपतिहरुले भने सरकारलाई सहयोग गरेको देखिएन । ठुलो उद्योगी तथा अर्बपति विनोद चौधरी, नेपालको ठूलो भनिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, नेपालको ठूलो व्यावसायिक घराना विशाल ग्रुप, शंकर समूह, खेतान समूह, मुरारका ग्रुप, शारदा ग्रुप, बैद्य अर्गनाइजेसन, पञ्चकन्या समूह, गोल्यान ग्रुप, दुगड ग्रुप, एमएस समूह, एनई समूह, एमएडब्लू ग्रुप अफ कम्पनिज, गोयन्ता ग्रुप लगायत ठूला व्यावसायिक घरानाहरूको नाम देश संकटमा परेको बेला सहयोग गर्नेको सूचिमा छैन ।

फाइनान्सबाट ऋण लिने घटे, बैंकबाट किन कर्जा लिन चाहँदैनन् नेपाली ?

काठमाडौं । आजका दिनसम्म बैंकिङ क्षेत्रमा सर्वसाधारणको ६६ खर्ब ६ अर्ब निक्षेप छ । त्यो निक्षेपबाट बैंकले ५२ खर्ब ५७ अर्ब ऋण प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रमा रहेको ६६ खर्ब निक्षेप ५ करोड ४३ लाख ५६ हजार खातावालहरूको हो । बैंकिङ क्षेत्रबाट प्रवाह भएको साढे ५२ खर्ब ऋण १८ लाख ९९ हजार ऋणीले प्रयोग गरिरहेका छन् । बर्सेनि बैंकका निक्षेपकर्ता ठूलो संख्यामा वृद्धि भइरहेको छ भने ऋणीको संख्यामा भने खासै वृद्धि हुन सकेको छैन । बैंकिङ व्यवसायको मुख्य खम्बा भनेको निक्षेप र कर्जा हो । बैंकहरूले निक्षेपकर्ताबाट निक्षेप ल्याएर ऋणीलाई कर्जा प्रवाह गर्छन् । निश्चित ब्याजदरमा निक्षेप संकलन गरेर बैंकले लागत र अन्य सेवा शुल्क थप गरेर ब्याजदर तोकेर कर्जा प्रवाह गर्छन् । बैंकिङ क्षेत्रमा पछिल्लो समय पर्याप्त निक्षेप भएपनि कर्जाको माग नआएको बैंकरहरू गुनासो गर्छन् । कर्जाको माग नआएपछि बैंकरहरू नयाँ ऋणीको खोजीमा सक्रिय रूपमा लागिरहेका छन् । तर, पनि कर्जाको माग भनेजस्तो नआएको उनीहरूको भनाइ छ । बैंकरहरूका लागि निक्षेपकर्ता खोज्न जति सहज छ, त्यति सहज छैन कर्जाका ऋणी खोज्न । नयाँ ऋणी खोज्न अर्थात् कर्जा लिने व्यक्ति तथा संस्था खोज्न बैंकका लागि फलामको चिउरा चपाउनुसरह हो । अथक मिहिनेत वा ठूलो संघर्षले ऋण लिने ग्राहक खोज्नु परेको बैंकरहरू बताउँछन् । जसलाई निक्षेपकर्ताको संख्या साढे ५ करोड पुग्दा कर्जाका ऋणीहरू १९ लाख रहेको तथ्याङ्कले पनि पुष्टि गर्छ । बैंकिङ क्षेत्रमा कर्जाका १९ लाख ऋणीले नै बैंकहरूमा रहेको खर्बाैं रुपैयाँलाई परिचालन गरेर व्यापार, व्यवसाय र उद्योगधन्दा चलाइहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रमा १८ लाख ९९ हजार ४८३ ऋणी छन् । जसमध्ये वाणिज्य बैंकहरूका ऋणीको संख्या १५ लाख ७४ हजार ४१४, विकास बैंकहरूमा २ लाख ८१ हजार ८१० र फाइनान्स कम्पनीमा ४३ हजार २५९ ऋणी रहेका छन् । १० वर्षमा ऋणीहरूको संख्या १० वर्षअघि अर्थात् वि.सं २०७० असारमा बैंकिङ क्षेत्रमा ८ लाख ४९ हजार ९०८ ऋणी थिए । जसमध्ये वाणिज्य बैंकमा ५ लाख ९५ हजार ८९७, विकास बैंकमा १ लाख ९६ हजार ४५४ र फाइनान्स कम्पनीमा ५७ हजार ५५६ ऋणी थिए । १० वर्षको अवधिमा १० लाख ४३ हजार ३६२ ऋणी थपिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । गत असारसम्म बैंकिङ क्षेत्रमा १८ लाख ९३ हजार २७० जना ऋणीमध्ये वाणिज्य बैंकमा १५ लाख ६७ हजार ५०८, विकास बैंकमा २ लाख ८२ हजार ६२७ र फाइनान्स कम्पनीमा ४३ हजार १३५ रहेका छन् । यसअवधिमा वाणिज्य बैंकमा ९ लाख ७१ हजार ६११ र विकास बैंकले ८६ हजार १७३ ऋणी थपिएका छन् भने फाइनान्स कम्पनीमा भने १४ हजार ४२१ ऋणी घटेका छन् । ऋणीहरूको १० वर्षको तथ्याङ्क केलाउने हो भने वर्षमा जम्मा एक लाख जना ऋणी जन्मिने गरेका छन् । तर, जसरी निक्षेपकर्ताको संख्यामा वृद्धि भएको छ, सोहीअनुसार ऋणीको संख्यामा भने वृद्धि हुन सकेको भने देखिँदैन । अर्थतन्त्रका लागि ऋणीको संख्या बढ्नु भनेको व्यवसायको दायरा वृद्धि हुनु र देशको अर्थतन्त्र बढ्नु हो । तर, नयाँ ऋणी वा उद्यमी व्यवसायी नथपिँदा भने यसको प्रत्यक्ष असर देशकै अर्थतन्त्रलाई पर्ने जानकारहरू बताउँछन् । नेपाल वित्तीय संस्था संघका अध्यक्ष तथा आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त कर्जाका फाइल अध्ययन गर्न समय लाग्ने भएकाले ऋणीहरूको संख्या कम हुने गरेको बताउँछन् । साथै वित्तीय संस्था मर्जरका कारण पोर्टफोलियो पनि बाहिरिएको उनको भनाइ छ । ‘१० वर्षअघि बैंकहरूको शाखा विस्तार भए, निक्षेपकर्ताको संख्या बढ्यो । तर, कर्जा विस्तार गर्दा भने बैंकहरू आक्रामक रूपमा जाँदैनन्, कर्जा दिनु भनेको पैसा बाँड्नु होइन, कर्जाको फाइल आएपछि अध्ययन गर्न समय लाग्छ,’ उनले भने, ‘कर्जा दिने प्रक्रिया पनि लामो हुन्छ, ठूला कर्जा दिँदा एग्रिगेट गर्न एक महिनासम्म समय लाग्छ ।’ ‘मान्छेले त्यत्तिकै कर्जा लिँदैनन्, कर्जा लिँदा कुन ठाउँमा छ, ठाउँ अनुसारको व्यावसायिक अवसर छ कि छैन, लगानी गर्ने वातावरण बनेको छ कि छैन भनेर हेर्ने गरिन्छ,’ उनले थपे । विगतमा धेरै बैंक वित्तीय संस्था हुँदा क्षेत्रीयस्तरका विकास बैंकहरू र विकास बैंकमा मर्ज भएर संख्या यथावत रहन पुग्यो । तर, फाइनान्स कम्पनीहरू एकआपसमा मर्ज भएनन्, एक/दुइटा बाहेक अधिकांश फाइनान्स कम्पनी बैंकसँग मर्ज भएका कारण कर्जाका ऋणीको संख्या पनि घटेको हो । फाइनान्सको पोर्टफोलियो पनि उतै गयो । एनआईसी एशिया बैंकका नायव प्रमुख कार्यकारी अधिकतृ (डीसीईओ) सन्तोषकुमार राठी कर्जाका ऋणीहरू थोरै भएपनि आकार भने ठूलो रहेको बताउँछन् । हाल रहेका १९ लाख ऋणीमा पनि निश्चित ऋणीले ठूलो कर्जाको रकम ओगटेको उनको भनाइ छ । साथै देशको अर्थतन्त्र सहज र लगानी गर्ने वातावरण बनेपछि मात्रै ऋणीहरूको संख्या थपिने उनको बुझाइ छ । ‘देशको अर्थतन्त्रको स्थिति सहज हुनुपर्छ, चालु पुँजी मार्गदर्शन आएपछि नयाँ ग्राहकहरूले माग गरेको कर्जा चालु पुँजी मार्गदर्शनअनुसार पुग्ने देखिएन, जष्टिफाई हुन सकेको छैन, त्यसबाट पनि अप्ठ्यारो पारिरहेको छ,’ उनले भने, ‘साथै अर्थतन्त्रको अवस्था हेर्दा ऋण लिएर लगानी कहाँ गर्ने ? यो देशमा लगानी गरेर के काम गर्ने ? के मा लगानी गर्ने भन्ने छ, त्यसैले यसमा ठूलो ग्याप देखिएको छ ।’ डीसीईओ राठीका अनुसार बैंकबाट कर्जा लिएर लगानी गर्नेभन्दा मुद्दती निक्षेपमा राखेर ब्याज खाँदा उपयुक्त हुने भएकाले कर्जाका ऋणीको संख्या आक्रामक रूपमा बढ्न नसकेको हो । तर, नयाँ ऋणी वा उद्यमी जन्माउन बैंकहरूले धेरै काम गरेको उनले दाबी गरे । ‘बैंकको काम भनेकै निक्षेप लिएर कर्जा दिने हो, बैंकमा मान्छे आएपछि कर्जा दिने हो, जबरजस्ती कर्जा दिने होइन, मान्छेको मनस्थिति, मनोबल माहोल हेर्दा कहाँ लगानी गर्ने भन्ने छ, अहिले पनि फालाफाल निक्षेप छ । तर, कर्जा लिनका लागि मान्छे आएका छैनन्,’ उनले भने, ‘बैंकहरूले इनोभेसन गर्न नसकेको, सिर्जनात्मक काम गर्न नसकेको, प्रविधिको विकास गर्न नसकेको हो, प्रविधिमा लगानी नगरेका होइनन्, त्यसमा हाम्रो धेरै मेहेनतत छ,’ उनले थपे, ‘तर, नयाँ व्यावसायिक मोडलमा बैंकहरू जान नसकेका पक्कै हुन्, पुरानै शैलीमा बैंकहरू सञ्चालन भए, नयाँ ढंगबाट अघि बढ्नुपर्थ्याे भनेर सोचेका छन्, त्यसका लागि लगानी गर्ने माइण्डसेट त हुनुपर्‍याे नि, त्यो वातावरण बन्नु पर्‍याे नि, बैंक एक्लैले मात्रै कर्जा बढाउन सक्दैन ।’ गुडविल फाइनान्सका सीईओ सरोजकाजी तुलाधर ऋण लिने संख्या कम हुने भएकाले ऋण खाता पनि कम हुने गरेको बताउँछन् । साथै, फाइनान्स कम्पनीको आधारदर बढी हुने भएकाले ऋणीको संख्या बढ्न नसकेको उनको भनाइ छ । विगतमा साना कर्जामा बढी जोड दिएको तर पछिल्लो समय ठूलो आकारको कर्जामा जोड दिएको हुँदा ऋणीको संख्या घटेपनि कर्जाको आकार भने बढेको उनले बताए । ‘१ सय जनाले १ सय रुपैयाँको निक्षेप राख्छ भने कर्जा लिने १० जना मात्रै हुन्छन्, विगतमा सानो कर्जामा जोड दिने गरेका थिए भने अहिले ठूलो आकारको कर्जामा जोड दिने गरेका छन् । ठूलो आकारमा जाँदा पोर्टफोलियो पनि बढ्छ, त्यसैले ऋणीको संख्या घटे पनि कर्जा रकम भने बढेको नै देखिन्छ,’ उनले भने, ‘फाइनान्स कम्पनी एकआपसमा मर्ज नभई बैंकहरूसँग मर्ज हुँदा फाइनान्सको पोर्टफोलियो पनि बाहिरिएको छ ।’ ‘ऋणी बढी हुनु भनेको व्यवसायी बढी हुनु हो, उद्यम बढी हुनु र अर्थतन्त्र बढ्नु हो । तर, ऋणीको सख्या कम छ भने कर्जाको आकार भने बढेको देखिन्छ । अधिकांश मानिसहरु ऋण लिएर जोखिम मोल्न नसकेर बैंकमा निक्षेप राख्नेहरू बढ्दै गएको बैंकरहरू बताउँछन् । निक्षेपमा ब्याज पाउने भएकाले मानिसहरू आफ्नो पैसा बचत गर्न बैंकमा राख्छन् । तर, कर्जा लिन ब्याज तिर्नुपर्ने भएकाले कम व्यक्तिहरूले मात्र कर्जा लिन चाहन्छन् । ब्याजदरको यो अन्तरले पनि निक्षेपको खाता संख्या बढी र कर्जाको खाता संख्या कम हुने गरेको जानकारहरू बताउँछन् । धेरै मानिसहरू भविष्यमा आफ्नो आर्थिक स्थितिलाई ध्यानमा राखेर कर्जा लिनबाट टाढै बस्छन् । बैंकहरूले कर्जा दिनुअघि विभिन्न प्रक्रिया र मापदण्डहरू पूरा गर्नुपर्ने हुन्छ । कर्जा लिँदा बैंकमा धितो राख्नुपर्ने र आम्दानीको पनि स्थायित्व हुनुपर्ने भएको हुँदा धेरैले बैंकबाट कर्जा लिने हैसियत नराख्ने बैंकरहरु बताउँछन् ।

दिल्ली र मुम्बईलाई पछि पार्ने दौडमा नोएडा, प्रोपर्टीको हबमा छिरे डेभलपर्स

काठमाडौं । यसअघि भारतमा जहिले पनि ठूला सहरमा सम्पत्ति किन्ने कुरामा दिल्ली र मुम्बईको नाम अगाडि आउने गर्दथ्यो । तर, पछिल्ला केही वर्षमा तस्बिर फेरिएको छ । भारत र संसारभरिका मानिसहरू निवास र व्यापारको लागि उत्तर प्रदेश र एनसीआरको प्रमुख सहर नोएडातिर लागिरहेका छन् । यही कारणले गर्दा नोएडामा जग्गाको मूल्य आकाशिन थालेको छ । त्रैमासिक आधारमा सन् २०२४ मा यहाँ जग्गाको मूल्य ७ प्रतिशतले बढेको एक प्रतिवेदनले देखाएको छ । नोएडा एनआरसीको प्रमुख सहरमा पर्छ । दिल्लीसँग जोडिएको पश्चिमी उत्तर प्रदेशको यो सहरले पछिल्ला केही वर्षमा धेरै ठूला परिवर्तनहरू देखेको छ । यस्ता परिवर्तनले व्यवसायलाई मात्रै गति दिएको छैन, रोजगारीको अवसर पनि बढाएको छ । देशकै ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि यहीँ बनिरहेको छ । उक्त विमानस्थल आगामी अप्रिलबाट सुरु हुने अपेक्षा गरिएको छ । यसैबीच, सेमीकन्डक्टर र अन्य धेरै क्षेत्रहरूसँग सम्बन्धित कम्पनीहरूले पनि नोएडामा आफ्नो प्लान्ट स्थापना गर्न लागेका छन् । नोएडामा भइरहेको विकासलाई देखेर यहाँ रियल इस्टेटमा उछाल आएको छ । पहिले धेरै किफायती मूल्यका परियोजनाहरू हुने गरेको भए पनि अहिले प्रिमियम लक्जरी दायराका परियोजनाहरू सुरु भएका छन् । विकासकर्ताहरूले ५ करोडभन्दा माथिको प्रिमियम लक्जरी परियोजनाहरू सुरू गर्दैछन् । यो परिवर्तनले बलियो पूर्वाधार र विलासी जीवन बिताउने इच्छालाई झल्काउँछ । नोएडामा महँगो बन्नुका कारण जेवर विमानस्थल जेवर विमानस्थल ग्रेटर नोएडामा निर्माण भइरहेको देशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । यसको काम द्रुत गतिमा भइरहेको छ । आगामी अप्रिलदेखि यहाँबाट उडान सुरु हुनेछ । तर, यो विमानस्थल पूर्णरूपमा तयार हुन अझै समय लाग्ने छ । मेट्रो कनेक्टिभिटी  मेट्रो दिल्लीका जनताको जीवन रेखा बनेको छ । नोएडामा पनि यो द्रूत गतिमा फैलिरहेको छ । हाल नोएडामा ब्लू लाइन र एक्वा लाइन चल्छ । यी मेट्रोलाई विस्तार गर्ने र नयाँ रुटमा मेट्रो सञ्चालन गर्ने काम पनि तीव्र गतिमा भइरहेको छ । नमो भारत ट्रेन नोएडामा पनि चल्नेछ । यसबाहेक अन्य धेरै प्रकारका यातायात सञ्चालन हुन थालेका छन् । अन्य सहरहरूसँग कनेक्टिभिटी नोएडा एक्सप्रेसवेको हब पनि बनिरहेको छ । जसमा यमुना एक्सप्रेसवेदेखि इस्टर्न पेरिफेरल एक्सप्रेसवेसम्म पर्दछन् । साथै, नोएडासँग राष्ट्रिय राजमार्ग २४, र राष्ट्रिय राजमार्ग ९१ सहित धेरै राजमार्गहरूसँग जोडिएको छ । दिल्ली–मुम्बईबीच निर्माण भइरहेको एक्सप्रेसवे पनि नोएडा हुँदै जानेछ । यस्तो अवस्थामा नोएडाबाट सडक हुँदै देशको कुनै पनि कुनामा सजिलै पुग्न सकिन्छ । सेमीकन्डक्टर हब नोएडालाई सेमीकन्डक्टर हब बनाउने तयारी भइरहेको छ । यसका लागि ठाउँ तयार छ । धेरै कम्पनीहरूले यहाँ आफ्नो प्लान्ट स्थापना गर्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले हालै कौटिल्य कन्क्लेभमा भनेका थिए कि विश्वमा ‘मेड इन इन्डिया’ चिप्स हुनेछ । यस्तो अवस्थामा यहाँ भविष्यका उद्योगहरूको सेटअप भइरहेका छन्, जसका कारण आगामी दिनमा यो सहर विश्वको नक्सामा चम्किने देखिन्छ । एजेन्सी